गीतकार नेत्र अर्याललाई प्रश्न– ‘म त ढलेँ ढलेँ’ गीतले भन्न खोजेको के हो ?
गीत–सङ्गीत प्रेमीका लागि नेत्र अर्याल परिचित नाम हो । लोक, आधुनिकलगायत थुप्रै विधामा गीत लेखेका अर्यालका अहिलेसम्म करिब एक हजार गीत रेकर्ड भइसकेका छन् । २०६५देखि नियमित गीत लेखनमा रहेका अर्यालका ‘झ्यालमा पर्दा छ’, ‘कट्टा हान्दिन्छु’, ‘रमरम मरौती’, ‘सोचे झैँ जिन्दगी रैनछ’, सुर्ती माड्दा माड्दै’, ‘अरेली काँडैले’जस्ता गीतले केही अगाडिसम्म साङ्गीतिक बजार तताएका थिए ।
पछिल्लो समय उनका ‘म त ढलेँ ढलेँ’ गीत चर्चामा छ । शान्तारानी परियारको स्वर र खेम सेन्चुरीको मेलोडी रहेको गीतले युट्युबमा तीन महिनामा ३ करोडभन्दा बढी भ्यूज पाउन सफल छ । एकातिर गीतको चर्चा चुलिँदैछ भने अर्कोतिर गीतले भन्न खोजेको के हो, गीत बुझिएन, गीत भल्गर भयो भन्नेजस्ता कुरा उठिरहेका छन् ।
यसै विषयमा गीतकार अर्यालसँग रातोपाटी कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
‘म त ढलेँ ढलेँ’ गीतको चर्चा धेरै हुँदा कस्तो लागिरहेछ ?
एकदमै खुसी छु । राम्रो लागिरहेछ । मेहनत सफल भयो भन्छु ।
- यस गीतको चर्चा यति धेरै हुन्छ भन्ने लागेको थियो त ?
मैले आशा गरेको गीत हो यो । तर, यस्तो चर्चा र सफलता हुन्छ भन्ने लागेको थिएन । राम्रो हुन्छ कि भनेर सोचेकोचाहिँ थिएँ ।
- कस्तो गीत भन्ने यसलाई ?
यो विशुद्ध मनोरञ्जनात्मक गीत भन्नुपर्छ । गीत–सङ्गीतको उद्देश्य मनोरञ्जन दिनु नै हो । यो गीत मायाप्रेममै आधारित छ ।
- गीतमा ‘ढलेँ ढलेँ’ भनिएको छ । कतिले गीत सुनेर किन ढले भन्ने नै बुझिएन भनेर प्रश्न गरेका छन् नि ?
हरेक चिजको एउटा विशेषता हुन्छ । हामीले धेरै गीत बनाएका छौँ । सबै गीतको फरक–फरक स्वाद र विशेषता छन् । यो गीत अलिकति सस्पेन्स खालको बनाएको हो । त्यो नगरेको भए यति लोकप्रिय नहुन सक्थ्यो ।
‘ढलेँ ढलेँ’पछि खाली छोड्नु भनेको दर्शक–श्रोताका लागि सोच्ने समय दिएको हो । यसमा ढल्ने अनेक कुरा हुन सक्छन् । गीत लेख्दा मानिसले अपेक्षा गरेभन्दा धेरै पाएपछि एक किसिमको झट्का लाग्छ नि । त्यो बुझाइ र कल्पनामा लेखिएको हो । कतै अफिसमा २० हजार तलबको अपेक्षा गरेर जाँदा ५० हजार दिन्छु भन्यो भने के हुन्छ ? हो, त्यस्तै भावनाको कुरो गीतमा मैले गरेको हो । बुझ्नेले के–के बुझे, म कसरी भन्नु ?
- गीतको भिडियोले ‘भल्गर’ बुझाउँछ त ?
गीतले भनेको ढलाइका पाटा अनेक छन् । भिडियो निर्देशकले गाउँघरको कथामा भिडियो बनाउँदा राम्रो हुन्छ भनेर बनाउनुभयो । भिडियोले देखाएको विषय गीतको सार भने होइन ।
- कहिले र के उद्देश्यले लेखिएको गीत थियो यो ?
मिति त ठ्याक्कै याद भएन । जेठ, असारको सेरोफेरोमा लेखेको होला । राम्रो गीत–सङ्गीत दिनुपर्छ भन्ने उद्देश्यले लेखेको हो । गीतको भाग्य, मानिसको कर्मको कुरो पनि हुन्छ । मसँग गीतका लागि कलाकार आइरहनु हुन्छ । राम्रो चित्तबुझ्दो मानिस आउनुभयो भने दिनुपर्छ, नत्र कुनै समय आफैँ गरौँला भनेर लेखेको थिएँ ।
- गीतको भिडियो तपाईँले परिवारसँग बसेर हेर्नुभएको छ त ?
हेरेको छु । भाले लागेको दृश्य देखेर दर्शन फेर्छन्, समाज भड्किन्छ भन्ने लाग्दैन । गाउँघरमा कुखुराको भाले लाग्ने भन्ने कुरो नर्मलजस्तै हो । अहिले हराउन थालेको अवस्था आउँदा ‘ओहो’ भन्ने भएको होला ।
- अहिलेसम्म धेरै गीत हिट छन् । नयाँ गीत लेख्दै गर्दा राम्रो गीत दिनुपर्ने प्रेसर कति महसुस हुन्छ ?
मैले अहिलेसम्म कुनै पनि प्रेसर फिल गरेको छैन । गीत कोर्दा राम्रो चर्चा होला भन्ने उद्देश्य पनि राख्दिनँ । चर्चा भएन पनि आत्तिन्नँ । सुरुसुरुमा यो कुराले डर लाग्थ्यो होला । अहिले त्यो कुरो सम्झना छैन । सुरुवातको २/३ गीतपछि नै श्रोता–दर्शकले शब्दको रूपमा मलाई मन पराइदिनुभयो । मानिस नचिने पनि गीत मन पराइदिनु भएकाले अहिलेसम्म प्रेसर हुन्छ भन्ने लाग्दैन । एकपछि अर्को गीत झनै राम्रो गरौँ भन्ने मनमा आउँछ ।
- अहिलेसम्म लेखेकोमध्ये धेरै सन्तुष्टि मिलेको गीत कुन हो ?
सुरुका गीत लेख्ने भोक हुँदा पहिलो गीत रेकर्ड हुँदाको समय धेरै सन्तुष्टि मिलेको थियो । त्यसपछि एक, दुई गीत चल्यो । गीत चल्दा ‘ओहो’ भन्ने भयो । सन्तुष्टि पनि परिस्थिति अनुसार फरक–फरक हुने रहेछ ।
- अब कस्तो गीत लेख्न मन छ ?
राम्रा–राम्रा, दर्शक–श्रोताले धेरै माया दिने सबै प्रकारको गीत दिन्छु । एउटा गीतकार कहिले पनि सन्तुष्ट हुन सक्दैन । एउटा लेख्यो, त्योभन्दा राम्रो अर्को लेख्न मन लाग्छ ।