काठमाडौँ । सिन्धुपाल्चोकमा जन्मेका नवराज न्यौपानेलाई कुवेतका चिकित्सकले साढे दुई वर्ष अघि बढीमा ९ महिना बाँच्छौ भनेका थिए । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका उनी ब्लड क्यान्सर भएपछि आफ्नै देशमा मर्छु भनेर नेपाल फर्किए ।
चिकित्सकले मृत्युको समयसीमा तोकेपछि नवराजले जीवनको महत्त्वमात्र बुझेनन्, कविता लेखनमा आफूलाई समर्पित गरे । आफू मरे पनि आफ्नो कृति बाँचिरहन्छ भनेर उनले अस्पतालको शय्याबाटै कविता लेखन थाले ।
माया गर्नेहरूको भिडमा म एक्लै छु
बोनम्यारो क्यान्सरले ग्रस्त भएको शरीरमा
अझै पनि मुस्कान बोकी बाँचिरहेछु
तीन महिनादेखि अस्पतालको खाटमा लाचार
माया गर्नेहरूको भिडमा म एक्लै छु ।
३६ वर्षीय नवराज २०७५ चैतमा वैदेशिक रोजगारीका लागि कुवेत गएका थिए । काम गर्दै जाँदा २०७८ चैतमा बिरामी परे । सुरुमा औंलाका काप, पैताला बेस्सरी चिलाउने गर्थ्यो । जुत्ता, मोजा लगाएको बेला केही नहुने तर चप्पल लगाएको समयमा धेरै चिलाउने गर्थ्यो । न्यानोमा बस्दा खासै केही नहुने तर अलि चिसो भएपछि समस्या हुन्थ्यो ।
काम सकेर कोठामा आएपछि साथीभाइले खाना बनाउँथे, न्यानोका लागि उनी भने ओछ्यानमा बस्ने । बिस्तारै खानामासमेत गन्ध आउन थाल्यो । ‘खाना खान थाल्यो कि साह्रै गन्ध आउने । भात रुच्न छाड्यो । खाना नै नखाइ काममा कसरी जानु ? त्यसपछि चाउचाउ वा अन्य कुरा खाएर ड्युटीमा जान्थेँ,’ क्यान्सर पुष्टि हुनु केही महिना अघिको अवस्थाबारे जानकारी दिँदै नवराजले भने ।
डाक्टरले उनलाई यही अवस्थामा ९ महिनाभन्दा बढी बाँच्दैनौ भनेर मिति तोकिदिए । बोनम्यारो प्रत्यारोपण गर्ने हो भने भन्न नसकिने चिकित्सकको भनाइ थियो ।
बिस्तारै गर्धन दुख्न थाल्यो । नजिकैको अस्पताल गएर औषधि लिएर आउँथे उनी । १/२ दिन ठिक हुन्थ्यो, फेरि त्यस्तै समस्या देखिन्थ्यो । त्यो समस्या देखिन थालेको एक महिनाजति भएको थियो होला । एक दिन नुहाइरहेको बेला उनी एकाएक ढले । बेहास अवस्थामै साथीभाइले उनलाई तत्काल अस्पताल पुर्याए । पाँच दिनसम्म आईसीयूमा राखेर उनको उपचार भयो । रगत परीक्षण गर्दा केही समस्या देखियो ।
२०७८ चैतको अन्तिमतिर नवराजलाई क्यान्सर पुष्टि भयो । कुवेतमै केमो गरियो । २०७९ असार ७ गते उनी नेपाल आए । नेपाल आएर बोनम्यारो प्रत्यारोपण गर्ने कुरा भयो ।
क्यान्सर पुष्टि भएपछि उनले डाक्टरलाई सोधे, ‘मसँग अब कति समय छ ?’
डाक्टरले उनलाई यही अवस्थामा ९ महिनाभन्दा बढी बाँच्दैनौ भनेर मिति तोकिदिए । बोनम्यारो प्रत्यारोपण गर्ने हो भने भन्न नसकिने चिकित्सकको भनाइ थियो ।
घरको जेठो छोरा, घर परिवारका लागि केही गर्न नसकिने भइयो भनेर नवराज चिन्तित भए । ‘घरको कमजोर आर्थिक अवस्थाका कारण विदेश गएको थिएँ । डाक्टरले मेरो आयु ९ महिना तोकिदिएपछि आफूलाई भन्दा पनि परिवारलाई सम्झेर पीडा भयो,’ उनले भने, ‘गरिब भए पनि आफ्नै पाखुरीले कमाएर खाइरहेको थिएँ । अब त गाह्रो हुने भयो । ९ महिना के गरी बाँच्नु भन्नेमा दिमाग गयो ।’
त्यही बेलादेखि उनी कविता लेख्न थाले । आफू मरेपनि आफ्ना भावना, रचना जीवित रहिरहुन् भनेर अस्पतालकै शय्याबाटै उनी कविता लेख्न थाले ।
वैदेशिक रोजगारीले सकिएको जीवन
वैदेशिक रोजगारीका लागि नवराज २०६६ चैतमा मलेसिया गए । मलेसियामा उनी ब्यूटी प्रोडक्ट कम्पनीमा काम गर्थे । ‘म जुन कम्पनीमा काम गर्थे त्यो कम्पनीमा स्किन प्रोडक्ट, ब्यूटी प्रोडक्ट सामग्रीहरू बन्थे । मैले त्यसमा प्रोसेसरको काम गर्थें । केमिकल खेलाइन्थ्यो,’ उनले भने ।
मलेसियाबाट २०७२ साल वैशाख ९ गते उनी नेपाल फर्किए । नेपाल आएको तीन दिनपछि अर्थात् वैशाख १२ गते विनाशकारी भूकम्प गयो ।
हस्तलिखित राहदानीवाहक उनले ‘एमआरपी’ बनाउनुपर्ने थियो । भुइँचालोका कारण सबै सरकारी कार्यालय बन्द थिए । एमआरपी बनाउन नसक्दा उनी सोही कम्पनीमा फेरि काम गर्न जान पाएनन् ।
त्यसपछि अर्कै कम्पनीमा काम गर्न उनी मलेसिया नै गए । त्यहाँ २ वर्ष बसे । त्यसपछि नेपाल फर्किएर उनी साउदी अरेबिया गए । साउदी अरेबिया गएको केही समयमै उनको ढाडमा समस्या आयो । काम गर्न नसक्ने भएपछि तीन महिनामै उनी नेपाल फर्किए । नेपाल आएर उपचार गराइ निको भएपछि उनी रोजगारीका लागि नै कुवेत गएका थिए ।
आफ्नै जन्मभूमिमा मर्ने अठोटसहित नेपाल फर्किए
कुवेतमा नवराजको उपचार भइरहेको थियो । बोनम्यारो प्रत्यारोपण गराउन अनेकन प्रयास भए । तर, सफल हुन सकेन । त्यसपछि अन्तिम सत्य मृत्युलाई सहर्ष स्वीकार गर्दै उनले नेपाल फर्किने निधो गरे ।
कुवेतको अस्पतालमा उनी तीन महिना बसे । बोनम्यारो प्रत्यारोपणका लागि भाइलाई कुवेत नै लैजान खोजे पनि भिजिट भिसामार्फत कुवेत जान सकिने अवस्था थिएन । भाइ कुवेत जान नमिलेपछि उनी नै नेपाल फर्किने निधो गरे ।
२०७९ असारमा अस्पताल भर्ना भएका नवराजले त्यहाँ तीन महिना उपचार गराए । तीन महिना कुवेत र तीन महिना नेपालमा गरेर उनको ६ महिना बितिसकेको थियो । अब डाक्टरले तोकेको तीन महिनामात्रै समय बाँकी थियो ।
‘भाइ जान खोजेपछि उसको भिसा प्रोसस हुन सकेन । भाइको नमिलेपछि म नेपाल फर्किएँ । बाँचे पनि, मरे पनि आफ्नै बाआमाको काखमा हुन्छु भनेर नेपाल फर्किएँ,’ नवराजले भने ।
नेपाल आएपछि उनी जाउलाखेलस्थित ब्लड एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा भर्ना भए । त्यसका लागि अनुप्रस्थ ब्याण्डका संस्थापक निरन शाहीले उनलाई धेरै सहयोग गरे ।
२०७९ असारमा अस्पताल भर्ना भएका नवराजले त्यहाँ तीन महिना उपचार गराए । तीन महिना कुवेत र तीन महिना नेपालमा गरेर उनको ६ महिना बितिसकेको थियो । अब डाक्टरले तोकेको तीन महिनामात्रै समय बाँकी थियो ।
अबको तीन महिनाभित्रमा प्रत्यारोपण गराउनुपर्ने थियो । त्यसबिचमै २०८० वैशाख ७ गते उनलाई रोगले फेरि च्याप्यो । ६ महिना लगाएर रोकथाम गरिएको रोग बल्झिएपछि उनलाई पुनः अस्पताल भर्ना गरियो ।
भुलाई दुःख सारा
म त शब्दभित्र छु
मेरो आत्मा बुझ त सही
म तिम्रै मित्र हुँ ।
अनि कविता लेख्न थाले
बोनम्यारो प्रत्यारोपण गर्न नसकिएपछि रोग बल्झिएर नवराज फेरि अस्पताल पुगे । त्यसपछि डाक्टरले उनको आयु पुनः ८ महिना तोकिदिए । डाक्टरले केमो थेरापी गरेको भरमा ८ महिनाभन्दा बढी बचाउन नसकिने बताए । तर दृढ आत्मविश्वासका धनी उनले १९ महिना कटाइसकेका छन् ।
बाँच्ने रहर, पूरा गर्न नसकिएका सपनाहरूलाई समेटेर ‘सपनाका लहरहरू’ नामक कविता संग्रह तयार गरे नवराजले । एउटै शीर्षकमा उनले चार भाग निकालिसकेका छन् । ‘म बाँचेकै छु भनेर बुझाउन मैले यही शीर्षकमा लेखिरहेको हुँ । अहिले भाग चार आएको छ । भाग पाँच लेखिरहेको छु । लेख्दालेख्दै म मरिहालेँ भने मजस्तै क्यान्सर पीडितलाई सहयोग हुन्छ भन्ने छ,’ उनले भने ।
नवराजलाई कविता संग्रह प्रकाशित गर्न विभिन्न दाताले सहयोग गर्दै आएका छन् । ‘किताब निकाल्न कम्तीमा डेढ लाख जति खर्च हुन्छ । साहित्य र सिर्जना लिएर अगाडि बढ्दै जाँदा मनकारी व्यक्तित्वहरूले सहयोग गर्नुहुन्छ,’ उनले भने, ‘किताव बेचेर औषधि खान पुगेको छ । अन्य मनकारी व्यक्तित्वहरूले आर्थिक सहयोग दिनुहुन्छ । मसँग छ भने मजस्तै अन्य बिरामीलाई दिइहाल्छु ।’
उनी विद्यार्थी जीवनदेखि नै कविता, गीत लेख्थे । तनाव, पीडा, खुसी, दुःख सबै किताबमार्फत नै व्यक्त गर्छन् उनी ।
उनले देशमा भइरहेको अवस्थालाई समेत आफ्ना साहित्यमार्फत नै व्यक्त गर्छन् । गत वर्षको ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर कोरिया जाने तयारीमा रहेका दुई युवा मारिएका थिए । त्यही घटनालाई लिएर उनले कविता लेखे ।
एउटा सपना निदाए
अर्को सजाउन मिल्थ्यो ।
हिउँदमा सुके पनि
बर्सामा क्रुलाई कटाउन मिल्थ्यो
अब त आँखै सदाका लागि निदायो
त्यो खोलीले आफ्नै मूल सुकायो ।
जीवन उमार्न हिँडेको युवा
आज ऊ मार्न आदेश मिल्यो ।
छर्राको आँधीबेरी चल्यो
बालकुमारी नामको बगैँचामा हेर
त्यहाँ अचेत भइ ढल्यो ।
उपचारमा पैसाको खोला
उनी साढे दुई वर्षदेखि उपचार गराउँदै आएका छन् । उपचारका क्रममा उनले अहिलेसम्म ५०/६० लाख रूपैयाँ खर्च गरिसकेका छन् । वैदेशिक रोजगारीमा रहँदा कमाएको सबै पैसा, चन्दा सङ्कलन गरेर आएको सबै पैसा खर्च उपचारमै खर्च भइरहेको उनको भनाइ छ ।
उनलाई आफू मर्दैछु भन्नेमा कुनै चिन्ता र पीडा छैन । तर, घरको जेठा छोरा भएकाले घर परिवारका लागि केही गर्न नसकेकोमा पीडा हुन्छ । मर्नुअघि एउटा राम्रो घर बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ उनलाई । राम्रो घर बनाएर सबैलाई त्यही घरमा राख्ने उनको अन्तिम इच्छा छ ।
‘उपचारका लागि पैसाको त खोलो बग्छ । अहिलेसम्म आफूले कमाएको, सहयोगी मनबाट प्राप्त भएको सहयोग गर्दा ५०/६० लाख खर्च भयो,’ नवराजले भने, ‘यति खर्च गरेर पनि कति बाँचिने हो भन्ने यकिन छैन । तर पनि कति बाँच्छु भनेर रोएर, कराएर, डराएर केही हुँदैन । त्यसैले जति दिन बाँच्छु, हाँसीखुसी बाँच्छु ।’
उनलाई आफू मर्दैछु भन्नेमा कुनै चिन्ता र पीडा छैन । तर, घरको जेठा छोरा भएकाले घर परिवारका लागि केही गर्न नसकेकोमा पीडा हुन्छ । मर्नुअघि एउटा राम्रो घर बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ उनलाई । राम्रो घर बनाएर सबैलाई त्यही घरमा राख्ने उनको अन्तिम इच्छा छ ।
नवराज अविवाहित हुन् । यद्यपि कहिलेकाहीँ विवाहित भएझैँ भावनामा डुब्छन् उनी ।
तिमी जाँदा त्यो तिम्रो गन्ध अलिकति दिएर जानु
प्रिय फेरि भेट नहुन सक्छ,
एउटा जादुको झप्पी दिएर जानु
फेरि भेट नहुन सक्छ
तिमी जाँदा थोरै त्यो तिम्रो गन्ध दिएर जानु ।
साथीहरू उनलाई उपन्यास लेख्न सुझाउछन् । तर, उनलाई मृत्युको मिति कुरेर बसेर कसरी उपन्यास लेख्न सक्छु जस्तो लाग्छ । ‘डाक्टरले मलाई समय दिइसकेको छ, उपन्यास लेख्न नसकिएला । उपन्यास नसकिँदै म सकिउँला । त्यो अधुरो रहला । त्यही भएर मैले कविताका संग्रह निकाल्दै जाने हो । बाँचुञ्जेल लेखिरहन्छु । बाँचेर लेखेजस्तो, लेखेरै बाँचेजस्तो छ,’ उनले भने ।
संसारमा सबैभन्दा ठुलो पीडाको कुरा आफू मर्दैछु भन्ने हो । अरु कोही मर्छ भने २ दिन रोइन्छ, त्यसपछि बिर्सिन्छ । तर, आफू मर्दैछु भन्ने थाहा भएपछि कति पीडा होला, त्यो कल्पना गर्न सकिँदैन । त्यो कुरा पनि हाँसीहाँसी स्वीकार्न सक्छु भन्ने हिम्मत भयो भने सामान्य लाग्ने नवराज बताउँछन् ।
क्यान्सर रोगले दिनदिनै मरिरहेको छु
तर पनि मैले बाँच्नैपर्छ ।
मलाई लाग्छ मैले प्रयास गर्नैपर्छ ।
कमलको फूल बन्न हिलो लेउमा जेलिनुपर्छ,
लालीगुराँस हुन वन, पाखामा भिरमा हुर्किनुपर्छ
मलाई लाग्छ मैले बाँच्नैपर्छ ।
नेपालमा उपचार गराइरहेकै बेला नवराज आफ्नो रहर पूरा गर्नतिर पनि लागे । उनी अस्पतालको शय्यामा थिए, यता पोइट आईडलको अडिशन खुल्यो । अस्पतालको शय्याबाटै उनले डिजिटल अडिसन दिए ।
त्यो बेला उनले ‘सपनाका लहरहरू’ को पहिलो भाग निकालेर बेचिसकेका थिए । अस्पतालबाट घर गएपछि आइडलको फिजिकल अडिसनका लागि बोलाइयो । त्यहाँ जाँदा उनलाई थप हौसला मिल्यो ।
पोइट आइडलमा जाँदा उनले दोस्रो भाग पनि निकालिसकेका थिए । त्यहाँ गएपछि उनलाई छुट्टै खालको खुसी मिल्न थाल्यो । ‘अर्कै खालको माया पाउन थालेपछि छुट्टै उत्साह हुन थाल्यो । मनकारी मान्छेहरू भेटिन थाले । मागेरमात्रै कति दिन उपचार गराउने ? त्यही भएर कविता लेख्ने र त्यही बेचेर उपचार गराउने भन्ने थियो,’ उनले भने ।
‘हिरो छ नि मेरो छोरो’
घरमा उनको प्रत्यक्ष रेखदेखमा खटिने उनको ममी (आमा) हुन् । उनको ममीले छोराको आत्मबल बढाउन हरसम्भव प्रयास गर्छिन् । कहिले आफैँ किताब बेच्न सडक, गल्लीगल्ली हिँड्छिन्, कहिले औषधि उपचारका लागि अस्पताल दौडिन्छिन् ।
जति बाँचे पनि छोराको स्याहार सुसार गर्ने उनको अठोट छ । आत्मबल बलियो बनाउदै छोरालाई सँगै राख्छिन् । छोराले हरेस नखाओस् भनेर बारम्बार उनी भन्छिन्– मेरो छोरो हिरो छ ।
नवराजले पनि आमाको ढाडसलाई नबुझेका होइनन् । आफू के हो, कुन अवस्था छ भन्ने उनले राम्ररी बुझिसकेका छन् । र त, कविता मै ध्यान दिन्छन् उनी ।
दुईटै हातमा पालैपालो पानी र रगत
नसाभरि सुईको डामै डाम देख्छु,
आफैंलाई जीर्ण अवस्थामा पाउँछु,
ऐना हेर्छु, बेला बेलामा आफैं तर्सन्छु ।
न त खाना रुच्छ, न त पिउन नै,
हर चिज वाक वाक लाग्छ
आफ्नै हालतदेखि म त दंग छु
म त छक्क छु
माया गर्नेहरूको भिडमा म एक्लो छु ।
प्रतिक्रिया