बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : रविको हिरासतबारे ज्ञानेन्द्र शाही चिन्तितदेखि धनगढीका मेयर हमाललाई ब्रेन अट्याकसम्म

शनिबार, २२ मङ्सिर २०८१, २३ : ५९
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. राष्ट्रपति डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसार राष्ट्रपति पौडेललाई शनिबार दिउँसो डिस्चार्ज गरिएको हो ।

२. विकास बजेटको परिचालन
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौँ रुपियाँ भुक्तानी पाउन सकेका छैनन् । 

३. सहकारी ठगी प्रकरण
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्दा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जिकिर गरेका छन् ।

४. महासचिव मोडल
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले महासचिवको मोडल अपनाउने भएको छ । काठमाडौँमा जारी पार्टी महाधिवेशनले ’महासचिव मोडल’ लाई पारित गरेको हो ।

५. कांग्रेसमा किचलो
नेपाली कांग्रेसको विरासत बोकेको विराटनगर महानगर (कोइराला नगरी)मा आयोजित कार्यक्रममै कोइराला माथि संस्थापन पक्षले एक हिसाबले ‘हमला’ गरे । सम्मेलनमा प्रतिरक्षाको स्वर भने सानो सुनिएको थियो । 

६. हमाललाई मस्तिष्कघात
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो ।

७. लाभांश घोषणा
धितोपत्र दोस्रो बजारमा सूचीकृत ५६ वटा कम्पनी तथा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो अवधिमा बजारमा सूचीकृतमध्ये ३६ वटा कम्पनी तथा २० वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/०८१ को कारोबारमा आधारित तथा त्यो अवधिसम्मको सञ्चित नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

८. गढीमाई मेला
बाराको वरियारपुरस्थित गढीमाईको पञ्चवर्षीय मेलामा दर्शनार्थीहरूको घुइँचो बढ्न थालेको छ । 

९. फोटोफिचर
काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा निर्माण गरिएका खुला व्यायामशालामा सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । काठमाडौंवासीलाई स्वस्थ राख्न महानगरले व्यायामशाला बनाएको छ । 

१०. महाभियोग विफल
दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ ।  नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो ।

११. आइवार्ट 
रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) नेपाल शाखाको आयोजनामा ‘पाँचौँ आइर्वाट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न भएको छ ।

१२. नेपाल प्रिमियर लिग
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा टोलीले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो । शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय २६ रनमा सीमित बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप