मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

मानवता केन्द्र निर्माणार्थ महायज्ञ, शनिवार मात्रै साढे ३६ लाख बढी सङ्कलन

शनिबार, २२ मङ्सिर २०८१, २० : ५१
शनिबार, २२ मङ्सिर २०८१

सुर्खेत । कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा शनिवार मात्रै साढे ३६ लाख रकम सङ्कलन भएको छ ।  शुक्रवारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको दोस्रो दिनमा ३६ लाख ६५ हजार रुपैयाँ नगद विभिन्न दाताहरूमार्फत सङ्कलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ । 

महायज्ञ आयोजक समितिका संयोजक डा.नराजक केसीका अनुसार महायज्ञमा एकै जना व्यक्तिले नगद १० लाख रुपैयाँसम्म दान गरेका छन् ।  महायज्ञको दोस्रो दिन नै आर्थिक दान गर्नेको लर्को लागिरहेको हो । वीरेन्द्रनगर नगरपालिकाले आश्रम भवनको एउटा ब्लक नै निर्माण गर्ने घोषणा गरेको छ । नगरपालिकाले बनाउने ब्लकमा एक करोड लागत लाग्ने अनुमान महायज्ञ मुल आयोजक समितिले गरेको छ । 

‘हामीले आश्रम भवनको एउटा ब्लक निर्माण गर्ने घोषणा गरेका छौँ,’ वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले भनिन्, ‘पैसा जति लागे पनि राजधानीको पालिका भएकाले भवनको एउटा ब्लक नै निर्माण गर्ने निर्णय गरेका हौँ ।’

महायज्ञमा वीरेन्द्रनगर नगरपालिका–६ का, समाजसेवी थिरकुमारी कार्कीले १० लाख १ सय रुपैयाँ दान गरेकी छन् । त्यस्तै डा.अर्चना कार्कीले परिवारको तर्फबाट सामूहिक ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेकी छन् ।

मुल आयोजक समितिका संयोजक समेत रहेका डा.नवराज केसीले आफ्ना स्वर्गीय बुवा नेत्र खत्रीको सम्झनामा आश्रम भवनको एउटा कोठा निर्माण गर्ने घोषणा गरेका छन् । उनले आफ्नो परिवारको तर्फबाट संयुक्त रूपमा ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेका छन् । 

यस्तै पदमबहादुर ढकालले ६ लाख ५१ हजार १२५ रुपैयाँ  दान गरेका छन् । त्यस्तै सुर्खेतकै लेकवेशी नगरपालिकाले पनि मानव सेवा आश्रम भवनको एउटा कोठा निर्माण गरिदिने भएको छ । लेकवेशीका नगर–प्रमुख उमेशकुमार पौडेलले एउटा कोठा निर्माण गरिदिने घोषणा गरेका छन् ।

नगर–प्रमुख पौडेलले शनिवार महायज्ञमै सहभागी भएर भवनको एउटा कोठाका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन् । ६ लाख भन्दा मुनिको सहयोग गर्ने दाताहरू पनि रहेका छन् । महायज्ञ मूल आयोजक समितिका संयोजक केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।

उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानव सेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ । भवन सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र राख्ने नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको रूपमा समेत विकास गरिने डा.केसीले बताए ।

भवन निर्माणका लागि प्रदेश सरकारले १ करोड रकम विनियोजन गरेको छ । महायज्ञ मङ्सिर २८ गतेसम्म लाग्ने छ । महायज्ञमा भागवत भास्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप