मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध
पाटन । ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम भएको छ । महानगरका प्रतिनिधिसहित मुस्ताङ पुगेका नगरप्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा आज हस्ताक्षर गरेका छन् ।
घरपझोङ गाउँपालिकाको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । समझदारीपत्रमा हस्ताक्षरपछि उनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए ।
“प्रकृतिले यस पालिकालाई अमूल्य वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रूपमा जोडिने छौँ”, उनले भने । महानगरप्रमुख महर्जनले विना ‘टेन्डर’ महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने बताए ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए । आफ्नो निमन्त्रणालाई स्वीकार गरेर महानगरप्रमुख सहितको प्रतिनिधिमण्डल पालिकामा आएर भगिनी सम्बन्ध स्थापित गर्न पाएकामा खुसी व्यक्त गरे । हिमालपारिको यस जिल्लामा गर्नुपर्ने काम धेरै भए पनि वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको उनको भनाइ थियो ।
ललितपुर महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरूपता रहेको बताए । ललितपुर महानगरले घरपझोङसहित पाँचवटा पालिकासँग भगिनी सम्बन्ध कायम गरेको बताउँदै प्रवक्ता महर्जनले भगिनी सम्बन्धले पालिकाहरूबीच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राखे । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि विकासमा साझेदारी र असल अभ्यासको अनुकरण र अनुसरण गर्न सहज हुने विश्वास व्यक्त गरे ।
विसं २०७३ को स्थानीय निर्वाचनअघि मुस्ताङ जिल्ला साबिकका मार्फा, टुकुचेको दुईवटा वडा र जोमसोस गाउँ समितिलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको थियोे । यो गाउँपालिकामा पाँचवटा वडा छन् । तथ्याङ्कअनुसार यहाँ तीन हजार एक सय ८४ जनसङ्ख्या रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा