नेपाली कसरी शुद्ध लेख्ने ?
जुद्धशमशेरका पालामा एकजना हजामले आफ्नो पसलमा साइनबोर्ड राख्न चाहे, ‘गणेश एन्ड ब्रदर्स’ ।
त्यतिबेला कुनै पुस्तक छाप्नुपरे मात्रै होइन, साइनबोर्ड (सूचनापाटी) राख्नुपरे पनि ‘नेपाली भाषा प्रकाशिनी समिति’मा जँचाउनुपथ्र्यो । यसै समितिको पूरक अड्डा ‘नेपाली भाषानुवाद परिषद्’ले ती हजामले भनेजस्तो साइनबोर्ड राख्न दिएन, उसले भाषानुवाद गरिदियो— ‘गणेश र भाइहरू’ ।
त्यसपछि ती हजाम जुद्धशमशेरलाई बिन्ती बिसाउन पुगे, तर सुनुवाइ भएन । ‘गणेश र भाइहरू’ नाममै साइनबोर्ड राख्न उनी बाध्य भए । काठमाडौँको नयाँ सडकमा धेरै पछिसम्म यो साइनबोर्ड रह्यो । यो सन्दर्भ माधवप्रसाद पोखरेल र सुमन ढकालले सम्पादन गरेको पुस्तक ‘जनकलाल शर्माका संस्मरण’मा उल्लेख छ ।
त्यतिबेलै कलकत्ताबाट दाँतको बारेमा पढेर नेमबहादुर श्रेष्ठ आफ््नो घर (ललितपुरको पाटन) फर्केका थिए । काठमाडौँमा निजी चिकित्साकेन्द्र खोली ‘डेन्टल सर्जन नेमबहादुर श्रेष्ठ’ लेख्ने उनको धोको थियो, तर ‘डेन्टल सर्जन’लाई भाषानुवाद परिषद्ले अनुवाद गरिदियो— ‘दन्तचिकित्सक’ भनेर । जुद्धशमशेरकहाँ पुगेर उनले भने, ‘त्यत्रो खर्च गरेर लिएको पदवी डेन्टल सर्जनको बेइज्जत भयो ।’
मर्कै परेको कुरा अरुबाट पनि जाहेर भएपछि उनले भने ‘डेन्टल सर्जन’ लेख्न पाए ।
राणाकालको उत्तराद्र्धमा हामीकहाँ भाषाको लेख्य रूपलाई लिएर राज्य तहबाट हस्तक्षेप मात्रै भएन, लेख्य रूप र प्रकाशनका सम्बन्धमा अड्डा नै खोलेर काम पनि भए । चन्द्रशमशरेले १९७० सालमा खोलेको ‘गोरखा भाषा प्रकाशिनी समिति’ले भाषा र व्याकरणका विषयमा चासो राख्न थालेको थियो ।
नेपाली भाषा संस्कृत, त्यसको प्राकृत रूप र अपभ्रंश भाषाकै कुनै लेख्य वा साहित्यिक रूपबाट विकसित नभएर बोलचालको पश्चिमोत्तरीय (बाल्हीकीय) प्राकृत भाषाबाट विकसित भएको देखिन्छ, (जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास– पहिलो ठेली (प्रधानसम्पादक डा. माधवप्रसाद पोखरेल, कार्यकारी सम्पादक : डा. चूडामणि बन्धु, डा. दयानन्द श्रेष्ठ) ।
नेपाली भाषाले ‘नेपाली भाषा’ भनी नाम पाएको पनि १८औँ शताब्दीको सुरुमा हो— खस भाषा, मल्ल भाषा, पर्वते भाषा, पहाडी भाषा, गोरखा भाषा हुँदै । यद्यपि नवौँ वा दशौँ शताब्दीदेखि नै नेपाली भाषाले राजकीय भाषाको मान्यता पाइसकेको थियो, (मोहनप्रसाद खनालको पुस्तक : नेपाली भाषाका हजारवर्ष) ।
गोरखा भाषाबाट नेपाली भाषा बनाउनका लागि आन्दोलन भने भारतीय नेपालीभाषीले गरे । सुरुमा कलकत्ता विद्यालयले गोरखा भाषालाई नेपाली भाषा भनी मान्यता थियो । त्यसपछि नै ‘गोरखा भाषा प्रकाशिनी समिति’लाई ‘नेपाली भाषा प्रकाशिनी समिति’ बनाइयो ।
१९९१ सालमा आएको ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ नामक पुस्तिकाको सुरुमै ‘श्री : सूचना’ भनेर लेखिएको छ, ‘सम्वत् १९९२ सालदेखिको परीक्षामा यही नियम बमोजिम शुद्धाशुद्धि जाँचिनेछ ।’
नेपाली भाषामा व्याकरणको आवश्यकता टड्कारो रूपमा महसुस गरिएको गोरखापत्र (१९५८ साल) पछि नै हो । सुरुवाती चरणमा नेपाली भाषा र व्याकरणमा विदेशी खोजकर्ताले चासो देखाएका थिए, जसमध्ये राल्फ लिले टर्नरको योगदान महत्त्वपूर्ण छ । सन् १९२१ बाट नेपाली भाषाका नमुना संकलन गर्दै उनले सन् १९३१ (वि.सं. १९८८) मा ‘अ कम्पेरेटिभ एन्ड इटिमोलजिकल डिक्सनेरी अफ् द नेपाली ल्याङ्ग्वेज’ प्रकाशन गरेका थिए ।
यसपछि १९९१ सालमा ‘नेपाली भाषा प्रकाशन समिति’को पहलमा ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ पुस्तिका आयो ।
यस पुस्तिकाको सुरुमै ‘श्रीः सूचना’ भनेर लेखिएको छ, ‘सम्वत् १९९२ सालदेखिको परीक्षामा यही नियम बमोजिम शुद्धाशुद्धि जाँचिनेछ— श्री प्र प्र. गो. द. बा; मे.ज. मृगेन्द्रसम्शेर ज.ब.रा । एम.ए; डाइरेक्टर जनरल अफ पब्लिक इन्सट्रक्सन । नेपाल ।’
यो पुस्तिका निकाल्नमा बालकृष्ण समको विशेष भूमिका थियो । उनले यसको ‘प्रस्तावना’मा लेखेका छन्, ‘यता छात्रवर्ग र उता आचार्य एम.ए.हरूले पनि दिन परदिन नेपाली भाषाको शोभा बढाउन लागेकै छन् । हिजो–आज सबबाट एक मुखको माग यही भइरहेछ— सिद्धान्तकौमुदीका सूत्रजस्तै गरी नेपाली व्याकरण हामी घोक्न सक्तैनौँ, तसर्थ ज्यादै सजिलो, ज्यादै छोटकरी, ज्यादै उदार कुनै नियम भए हाम्रो लेखाइमा एकता होला । तसर्थ श्री प्र प्र. गो. द. वा. मान्यवर गुरुराज हेमराज पण्डितज्यू सि.आई. इ विरचित व्याकरणचन्द्रिकाबाट केवल पदविचार प्रकरणको मात्र सार खिंची उहाँबाट सजिलोको निम्ति राय बक्सेबमोजीम एक दुइ शब्दको परिवर्तन पनि गरी यो पुस्तिका तयार गरिएको छ ।’
समले यस पुस्तिकाले ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न र व्याकरणका अनेकानेक वाक्यविचारको भाँडामा बिर्को लगाउन नसक्ने’ समेत उल्लेख गरेका छन् । विशेष बोधका लागि ठुलो नेपाली व्याकरणचन्द्रिका र नेपाली कोष पल्टाउन उनको आग्रह थियो ।
यस पुस्तिका विशेषतः अन्य भाषाबाट नेपाली भाषामा मिसिन आइपुगेका शब्दलाई कसरी लेख्ने भन्नेमै केन्द्रित छ । ‘जुनसुकै भाषाबाट हाम्रो भाषामा मिल्न आएका तत्सम (जस्ताको त्यस्तै) शब्द उही भाषाको अनुसार प्रयोग गरिन्छन्, जस्तैः शक्ति, खुशी, रीति, शहर, वीर, वर्षा, बमोजीम, मुताबिक, तर्कारी, कति, मति, बुद्धि, पङ्क्ति, विन्दु, हुकूम, इत्यादि,’ पुस्तिकामा उल्लेख छ ।
नेपाली भाषामा व्याकरणको प्रयोग सम्बन्धमा आन्दोलन र आवाज उठ्दै आएका छन् । खासगरी हलन्त बहिष्कार आन्दोलन (१९६५), व्याकरण संशोधन अभियान (२०१२) र झर्रोवादी आन्दोलन (२०१३) प्रमुख रहेका छन्, (जगदम्बा नेपाली साहित्य बृहत् इतिहास) ।
यिनै आन्दोलनका दस्ताबेज स्वरूप प्रज्ञा प्रतिष्ठानले २०४० सालमा बृहत् शब्दकोश निकाल्यो । जसमा विशेषतः आगन्तुक शब्दलाई नेपालीकरण गरियो । अर्थात् शब्दको सुरु र बिचमा ह्रस्व अन्त्यमा दीर्घ गरियो । तालव्य ‘श’को ठाउँमा दन्त्य ‘स’राखियो । जस्तो : सहिद, गरिब, सहर आदि ।
पञ्चायतकाल भएकाले यो शब्दकोशको विरोध भएन । जब बहुदल हुँदै गणतन्त्र आयो, नेपाली भाषामा वर्णविन्यासको बहसले क्रमशः चरम रूप लिँदै आयो ।
प्रा.डा. माधवप्रसाद पोखरेलका अनुसार, २०५८ सालमा आएर प्रज्ञा प्र्रतिष्ठानले शब्दकोशमा आगन्तुक शब्दलाई विकल्पका रूपमा जस्ताको तस्तै नराखी नेपालीकरण गरिएका शब्दमा मात्रै राखेपछि वर्णविन्यासको बाटोमा दुर्घटना सुरु भएको हो । प्रा.डा. पोखरेल भन्छन्, ‘अहिलेको सारा विवादको मूल मैले ०५८ सालको शब्दकोशलाई मान्छु । आगन्तुक शब्दलाई हेर्नुस् भनेर जस्ताको तस्तै राखेको भए समस्या हुने थिएन ।’
अर्कोतिर ‘नेपाली भाषा प्रयोगकर्ता समूह’ले २०६९ सालमा ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ नामक सानो पुस्तिका जारी गरेको छ । यसले अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेख्ने भनेको छ ।
०५८ सालको शब्दकोश आउँदा राजतन्त्र भएकाले विरोधका आवाज त्यति उठेनन् । जब गणतन्त्र आयो, फेरि वर्णविन्यासको बहसले चरम रूप लियो । प्रा.डा. पोखरेलका शब्दमा, कसैले कसैलाई नटेर्ने अवस्था आयो ।
०७३ सालमा (हेमाङ्गराज अधिकारी विभागीय प्रमुख हुँदा) प्रज्ञाको शब्दकोशमा संयुक्ताक्षर टुक्र्याएर लेखिएको थियो । जस्तो : द्वन्द्व विद्यालय । यो शब्दकोशलाई सच्याएर २०७५ सालको शब्दकोश आयो ।
प्रा.डा. हेमाङ्गराज अधिकारीका अनुसार, प्रज्ञा प्रतिष्ठानको गोष्ठी (२०६७) ले संयुक्त अक्षरलाई स्पष्ट छुट्टिने गरी लेख्न प्रोत्साहन गर्ने निर्णय गरेको थियो ।
तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मालाई पाठ्यक्रम विकास केन्द्रले २०६९ साउन १७ गते नेपाली व्याकरणसम्बन्धी शैली पुस्तिका प्रस्ताव गर्यो । जसलाई शिक्षामन्त्री शर्माले २०६९ साउन २२ मा सदर गरे । यस शैली पुस्तिकामा विशेषतः संयुक्ताक्षरलाई छुट्ट्याएर (जस्तै : द्वन्द्व) लेख्ने र पुरानो क्षतिपूर्ति दीर्घीभवनको नियमलाई हटाएर नेपालीकरण वा ह्रस्व गर्ने भन्ने थियो । जस्तो : संस्कृत शब्द ‘दुग्ध’ नेपालीकरण भई दुध भएको छ, यसमा आधा ग (ग्) लोपको क्षतिपूर्ति स्वरूप दीर्घ (दूध) लेख्ने भन्ने पुरानो नियम थियो । यसैका विरुद्ध २०७३ भदौमा सर्वोच्चमा रिट पर्यो । सर्वोच्चले शिक्षामन्त्रीद्वारा सदर गरिएको टिप्पणी आदेश वा निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरिदियो ।
अर्कोतिर ‘नेपाली भाषा प्रयोगकर्ता समूह’ले २०६९ सालमा ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ नामक सानो पुस्तिका जारी गरेको छ । यसले अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेख्ने भनेको छ । जस्तै : जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेसन, शेक्सपियर, सीट, भूल, छूट आदि ।
यो पुस्तिका प्रज्ञाको वर्तमान शब्दकोशसँग मिल्दैन । खासगरी यहाँनेर नेपाली जनजिब्रोको उच्चारण र आगन्तुक शब्दको सही उच्चारणमा विवाद देखिन्छ ।
‘नेपाली भाषाको ध्वनि व्यवस्थाको प्रयोगात्मक विश्लेषण’ विषयमा विद्यावारिधि गरेका प्रा.डा. पोखरेल सामान्यतः एउटा कुनै मातृभाषाका शब्दलाई अर्को कुनै मातृभाषीले सहजै र दुरुस्तै उच्चारण गर्न नसक्ने बताउँछन् । सामान्यतः नेपाली जनजिब्रोले दन्त्य स र ह्रस्व नै उच्चारण गर्ने उनको भनाइ छ । ‘हरेकले आफ्नो भाषा आफ्नै किसिम वा लबजमा उच्चारण गर्छन् । चिनियाँ भाषामा एउटै ‘मा’ शब्दले आमा, गाजा, घोडा र गालीको अर्थ दिन्छ । उनीहरू यसलाई भिन्न–भिन्न लबजमा उच्चारण गर्छन्,’ प्रा.डा. पोखरेल भन्छन्, ‘अरुका शब्द ल्याएर हाम्रो भाषामा प्रयोग गर्दा त हाम्रै ढंगले उच्चारण गरिन्छ ।’
‘नेपाली कारक व्याकरण’ विषयमा विद्यावारिधि गरेका प्रा.डा हेमाङ्गराज अधिकारी ‘आगन्तुक शब्द अनेकौँ भाषाबाट आएका हुनाले तिनलाई जस्ताको तस्तै लेख्ने कुरा गर्नु भनेकै नेपाली व्याकरण विपरीत भनाइ’ भएको बताउँछन् । ‘किनभने नेपाली व्याकरण भनेको मूलतः यसको आफ्नो उच्चारण व्यवस्था, रूपावली व्यवस्था र वाक्य व्यवस्थामा आधारित हुन्छ । यी व्यवस्थासँग नमिल्दा कुरालाई नेपाली व्याकरणमा मान्यता दिनु भनेको आफ्नो भाषाको मौलिक पहिचान नष्ट गर्नु हुन जान्छ,’ प्रा.डा. अधिकारीले रातोपाटीसँग भने ।
प्रयोगकर्ता समूहमा रहेका भाषाविद् शरच्चन्द्र वस्ती अरुका शब्दलाई हाम्रो तरिकाले उच्चारण गर्ने भन्ने जुन भाष्य छ, यो सुन्दा राम्रो लागे पनि वाहियात भएको बताउँछन् । ‘किनभने कुनै पनि शब्द आउँदा आफ्नो डीएनएसहित आउँछ । ऊसँग आफ्नो इतिहास र परम्परा हुन्छ,’ उनी भन्छन्, ‘अंग्रेजीमा तपाईंले फिश (माछा) उच्चारण गर्दा पातलो स (दन्त्य) उच्चारण गर्नुभयो भने धेरैले बुझ्दैनन् र हाँस्छन् ।’
शिक्षकलाई पढाउन सजिलो बनाउनका लागि भाषा वा वर्णविन्यास नचलाई बरु पढाउने सजिलो तरिका खोज्नुपर्ने उनको भनाइ छ ।
यही प्रज्ञा र पैरवीको पृष्ठभूमिलाई सम्बोधन गर्दै अब एउटा मानक शब्दकोश बनाउनुपर्नेछ तर प्रश्न छ— त्यस्तो शब्दकोश कसरी बनाउने ?
प्रा.डा. पोखरेल पछिल्लो समय प्रकाशित सामग्रीको घानबाट बढी चलनचल्तीका शब्द छानी निष्कर्षमा पुग्न सकिने बताउँछन् । यसको जिम्मा कम्प्युटरलाई दिनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘कम्प्युटरलाई फ्रिक्वेन्सीका आधारमा गरिब र गरीबमध्ये एउटा छान भन्न सक्छौँ । उसले एउटा छान्छ, त्यसैमा सहमति गरौँ, थप विद्वता नछाटौँ । एकरूपताका लागि एउटा उपाय यो हुन सक्छ तर शब्दकोशमा भने दुवै (मूल र नेपालीकरण भएका) शब्द राख्नुपर्छ किनभने शब्दका बारेमा पाठकले जानकारी पाउनुपर्छ ।’