बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
कांग्रेसमा किचलो

कोइराला नगरीमा कोइराला क्याम्पमाथि नै संस्थापनको धावा

जब आङ्देम्बे मञ्चमा भक्कानिए...
शनिबार, २२ मङ्सिर २०८१, १९ : ००
शनिबार, २२ मङ्सिर २०८१

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बिहानै विराटनगरस्थित कोइराला निवास पुगे । त्यहाँ उनी बीपी पुत्र सशांक कोइराला लिएर त्यहाँ पुगेका थिए । 

कोइराला निवास त्यही हो, जो नेपाली कांग्रेसको स्थापनाकालदेखिको विरासतसँग जोडिएको छ । उक्त निवास कृष्णप्रसाद कोइरालाले बनाएका हुन् । यस्तै बीपी कोइराला, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला लगायतले पनि त्यही बसेर राजनीति गरेका थिए । 

उक्त निवास अहिले भने डाक्टर शेखर कोइरालाको हो । तर, घरमा डा.शेखर कोइराला भने थिएनन् । डाक्टर शेखर भने चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए । देउवालाई भने शेखरकी पत्नी पुनम कोइरालाले स्वागत गरिन् । उनले चिया दिइन् । चिया पिएर देउवा फर्किएका थिए । 

Congress Bare News (2)

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा भाग लिन देउवा विराटनगर आइपुगेका हुन् । सम्मेलन हुनुअघि कोइराला निवास गएका देउवासँग कांग्रेसका अन्य नेताहरू पनि थिए । 

तर, जब कांग्रेसको प्रदेश सम्मेलन सुरु भयो । त्यहाँ डाक्टर शेखर कोइराला समूहमाथि प्रहार सुरु भए । कार्यक्रममा सांसद, केन्द्रीय सदस्य, पूर्व पदाधिकारी तथा वर्तमान पदाधिकारीदेखि सभापतिसम्मले मन्तव्य राखेका थिए । 

नेपाली कांग्रेसको विरासत बोकेको विराटनगर महानगर (कोइराला नगरी)मा आयोजित कार्यक्रममै कोइराला माथि संस्थापन पक्षले एक हिसाबले ‘हमला’ गरे । सम्मेलनमा प्रतिरक्षाको स्वर भने सानो सुनिएको थियो । 

संस्थापन पक्षले शेखर पक्षलाई आक्रमण गर्नुको मुख्य कारण भने गत १८ गते केन्द्रको अनुरोध विपरीत पालिका सभापतिहरूको भेला राखेको विषय हो । पालिका सभापतिहरूको भेला नराख्न केन्द्रले गरेको पत्रको अवज्ञा गर्दै कोइराला पक्षले भेला राखेको थियो । उक्त भेला विधान विपरीत र अनुशासन विपरीत भन्दै नेताहरूले चर्को आलोचना गरे । 

कोइराला पक्षका डा.सुनिल शर्मा, नेता राजीव कोइराला, सरिता प्रसाईँ लगायतले शेखर कोइराला कार्यक्रममा सहभागी नबन्दा खल्लो भएको बताएका थिए । कतिपय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पराजय बेहोरेको भन्दै असन्तुष्टि जनाए । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बे भने कोइराला विरासत सम्झँदै भक्कानिए । 

  • कसले के भने ? 

सम्बोधनका क्रममा नेता ज्ञानेन्द्र कार्कीले कोइराला पक्षले विधि, विधान र अनुशासनलाई टेक्न खोजेको र आफू अनुकूल व्याख्या गरेको बताए । ‘यो विवाद गर्ने र कुण्ठा राख्ने ठाउँ होइन,’ शेखर पक्षका केही नेताले असन्तुष्टि राखेको विषयलाई इङ्गित गर्दै कार्कीले भने, ‘विधान, विधि र अनुशासनलाई टेक्न खोज्यौँ र त्यसलाई आफू अनुकूल व्याख्या गर्न खोज्नु हुँदैन ।’

Congress Bare News (1)

नेता मीन विश्वकर्माले पार्टी सञ्चालनमा अनुशासन पालना नभएको हो कि भन्ने प्रश्न गरे । ‘विधान पालना भएन कि भन्ने कुरा छ । कांग्रेसले किन राम्रो काम गरेन ? गरेको काम बारे किन भन्न सकेनौं भन्ने प्रश्न छ,’ उनले भने । अर्की नेतृ सीता गुरुङले विधानमा केन्द्रित नभएर हिँड्दा बीपीको विचार र भावनामाथि कुठाराघात हुने बताइन् । 

केन्द्रीय सदस्य राजीव ढुङ्गानाले कांग्रेस गुटमा रमाउन थालेको र आफ्नालाई च्यापेर हिँड्ने काम भइरहेको गुनासो गरे । नेता रमेशजंग रायमाझीले समस्या समाधान विधान भित्रबाटै हुनुपर्ने र विधानले समस्या दिन नसके विधान संशोधन हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले स्थानीय तहको उपनिर्वाचनमा जित हासिल गर्न नसकेको बताए । उनले कांग्रेसको पनि सङ्घीयताप्रति प्रतिबद्धता चाहिएको बताए । ‘तल्लो तहमा अधिकार दिन सकेका छैनौँ । पार्टीको तल्लो तह र माथिल्लो तहसम्म पनि राम्रो सम्बन्ध छैन,’ उनले भने । 

नेता राजीव कोइरालाले प्रदेशको प्रथम सम्मेलनमा शेखर कोइराला नहुँदा खल्लो भएको बताए । ‘यो भेलामा डा. शेखर कोइराला भएको भए पूर्ण हुन्थ्यो । ६०–४० भागबन्डा कसले चलाएको ? अहिले ८०–२० छ । २० लाई किन नसमेटेको ?,’ उनले प्रश्न गरे । 

केन्द्रीय सदस्य तारामान गुरुङले विधानलाई नै बहिष्कार गर्ने परिपाटी गलत भएको बताए । ‘नेतृत्वमा प्रतिस्पर्धा हुन्छ । तर, विधानअनुसार भएको कार्यक्रम बहिष्कार गर्नु भनेको विधानलाई बहिष्कार गरेको हो,’ शेखर कोइरालाले बहिष्कार गरेको भन्ने कुराप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘नेतृत्वमा प्रतिस्पर्धा हुन्छ । तर, विधानलाई नै बहिष्कार गर्ने परिपाटी भएको हो कि ? शेरबहादुर दाइको प्रतिस्पर्धीले बहिष्कार गर्ने कहीँ हुन्छ ? प्रतिस्पर्धीले यही आएर गरे हुन्छ । हजुरबाले घिउ खान्थे तँ हात सुँघ त भनेजस्तो अब हुँदैन,’ उनले भने । 

Congress Bare News (3)

नेतृ कल्पना चौधरीले मोरङको ग्रामथानमा उपनिर्वाचन हार्नुमा पार्टीभित्रको गुट मुख्य कारण रहेको बताइन् । ‘पार्टीमा दुई विचार बोकेर हिँड्नु गलत हो । त्यो केन्द्र मै नमिलेको कुरा हो । दुई धार भएकै कारण हामीले हारेको हो । ग्रामथानमा हार्‍यौँ । काङ्ग्रेस मुखले मिल्छ तर मनले मिल्दैनौँ । अहिले पनि प्रजातान्त्रिक कांग्रेस कि अर्को काङ्ग्रेस भनेर हेपिन्छ,’ उनले भनिन् । 

केन्द्रीय सदस्य अमृत अर्यालले पनि एक रातमा गुट परिवर्तन हुँदा समस्या बढ्दै गएको बताए । ‘धेरै अनुभव हामीले पनि भोगेका छौ । एक रातमा गुट परिवर्तन हुन्छ । अमनलाल मोदीले हामीले दिएकै आइडिया लगाएर चुनाव जिते । अहिले हामीले ७ वडा गुमायौँ । जित्यो माओवादीले । उसले भोट बढाउनु चिन्ताको विषय हो,’ अर्यालले भने । 

केन्द्रीय सदस्य लक्ष्मी परियारले कांग्रेसमा एकता हुनुपर्ने बताइन् । तर, विधान अनुसार पार्टी चल्नु पर्ने उनले बताइन् । ‘देश संविधानले चल्छ भने पार्टी विधानले चल्छ । विधान बाहिर चल्नु हुँदैन । निर्वाचनमा काङ्ग्रेसले काङ्ग्रेसलाई नै भोट नहालेको कारण हारेको हो,’ उनले भनिन् । 

केन्द्रीय सदस्य सरिता प्रसाईँले ठुलो पार्टी भए पनि कहिले केपी ओलीलाई कहिले प्रचण्डलाई बोकेर किन हिँडेको भन्ने प्रश्न गरिन् । ‘यहाँ शेखर कोइराला भएको भए राम्रो हुन्थ्यो । यहाँ गुटको कुरा आयो अहिले मात्रै गुट भएको होइन । संसद्मा ठुलो दल हामी छौँ । कहिले केपी ओलीलाई कहिले प्रचण्डलाई बोकेर हुन्छ ? यहाँ गुरु घिमिरे, शेखर खोइ ? बलबहादुर र विश्वप्रकाश खोइ ? यो पार्टी कसैको एकलौटी होइन । यहाँ सबैको योगदान छ,’ उनले भनिन् । 

शेखर कोइरालाप्रति नेता कृष्णप्रसाद सिटौला पनि रुष्ट देखिए । ‘मेरा साथी शेखर जी यही बसेर कुरा गर्नु भएको भए हुन्थ्यो । कुरा के हो ? केन्द्रीय समितिमा राखे पनि हुन्थ्यो । अब यही विषयलाई दिएर धेरै उतार चढाव नगरौँ । सम्पूर्ण पार्टीका साथीहरूबिच एकता गरेर अगाडि बढौँ,’ उनले भने । 

नेता विजयकुमार गच्छदारले सभापति शेरबहादुर देउवा कांग्रेसको पितातुल्य रहेको भन्दै सबैलाई मिलाएर लैजान सुझाव दिए । ‘१५औँ महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गराउनु पर्छ । क्रियाशीलताको विवाद सुरुमै हटाउनु पर्छ । काङ्ग्रेसभित्र एकताको आवश्यक छ । एकताको लागि ठुलो पहलको आवश्यकता छ,’ उनले भने ।

सहमहामन्त्री महेन्द्रकुमार यादवले वामपन्थी बलियो भए संसदीय व्यवस्था हट्ने दाबी गरे । उनले समावेशिता र संघीयता हटाउने विषयमा संविधान संशोधन हुन नसक्ने बताए । ‘समानुपातिक हटाउने, प्रदेश हटाउने भन्ने कुरा केन्द्रीय नेताबाटै आउँछ । तर, समानुपातिक र प्रदेश हटाएर काङ्ग्रेस ठुलो बन्दैन,’ उनले भने, ‘कोशी प्रदेशमा २९ वटा विभाग बनाउँदा किन एउटै मधेसी नराखेको ? अनि कसरी कांग्रेस ठुलो हुन्छ ? ।’

Congress Bare News (5)

  • आङ्देम्बे जब भक्कानिए...

सम्मेलनमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे भने भावुक बने । कोशी प्रदेशको पहिचानको प्रतिबद्धताहरू खाली भाषण गर्नकै लागि मात्रै होइन भन्दै उनले यसअघि १४ वटै जिल्ला सभापतिहरूले सार्वजनिक गरेको प्रतिबद्धतालाई सम्बोधन गरेर अगाडि बढ्नु पर्ने बताए । 

उनले कोइराला निवासबाट आज पनि व्यक्त भएका विचारहरूलाई समेट्नु पर्नेमा जोड दिए । त्यस क्रममा उनी भक्कानिएका थिए ।

‘यो ठाउँबाट व्यक्त गरिएका विचारहरूले मुलुक नै तरङ्गित हुन्थ्यो । आज मेरो मनमा एउटा कुरा लागिरहेको छ । विचार र समूहको रूपमा कुनै ठाउँमा अटिएको होला । तर, कार्यकर्ताको हिसाबले राम्रो र नराम्रो खुट्याउन सक्ने क्षमता म माथि छ,’ भन्दै कुरा सुरु गरेका उनले इतिहासले गौरवपूर्ण जिम्मेवारी कोइराला निवास र चाक्सीबारीलाई दिएको दाबी गरे । ‘म क्षमा चाहन्छु सभापति ज्यू । म क्षमा चाहन्छु डाक्टर शशाङ्क कोइरालाज्यू । इतिहासले बुढानीलकण्ठलाई त्यो जिम्मेवारी दिएन । इतिहासले चाबहिलले त्यो विरासत बोक्दैन । बुढानिलकण्ठमा ५ चोटि प्रधानमन्त्री होइन ६ चोटि बन्नुहुन्छ शङ्का छैन । तर, इतिहासले बुढानिलकण्ठलाई त्यो विरासत आफ्नो सम्झिएन । तर, कोइराला निवास र चाक्सीबारीलाई आफ्नो इतिहासको विरासत सम्झिएको छ,’ आङ्देम्बेले भने, ‘प्रत्येक नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफ्नो विरासत सम्झिन्छ । त्यसले गर्दा त्यो ठाउँबाट व्यक्त भएका विचारहरू कांग्रेसको किन बन्न सकिरहेको छैन । बिहानै उठेर सभापतिज्यू, पदाधिकारीज्यूहरू जसरी भाले बास्दा कोइराला निवासमा पुग्ने खुट्टाहरू आज किन अन्यत्र मोडिरहेको छ । चाक्सीबारी किन... (भक्कानिँदै) यस्तो विशेष कुरालाई बुझ्नु पर्छ । खाली विरोध बोलेर हुँदैन । हामीले त्यो विरासत जसरी इतिहासले अरूलाई दिएको छैन । कोइराला निवास र चाक्सीबारीलाई दिएको छ । त्यसलाई त्यही ढङ्गबाट राख्नका लागि त्यसको ओनरसिप लिन्छु भन्ने साथीहरूले नेताहरूले आफूलाई त्यही ढङ्गबाट प्रस्तुत पनि गर्नुपर्छ । यो कुरालाई बुझिकन अगाडि बढ्यौँ भने .... (फेरि भक्कानिँदै) राम्रो हुन्छ होला जस्तो लाग्छ ।’

उनले पुनः त्यही कुरा दोहोर्‍याउँदै भने, ‘म फेरि दोहोर्‍याउन चाहन्छु । तपाईँहरूले इतिहासको यो विरासत जहाँनेर मैले अघि पनि भने यसका संवेदनशीलताहरु जसले तुरुन्तै आगो बन्न पनि सक्छ । त्यसलाई सम्बोधन गर्ने खालको एउटा निष्कर्ष निस्कियोस् र यहाँको संवेदनशीलतालाई साँच्चै सम्बोधन गरोस् । म त्यो आग्रहका साथ क्षमा चाहन्छु । अलिअलि यो लिम्बू सारै भावुक भएको त राम्रो होइन रे भन्छ । त्यो के हो है... म क्षमा चाहन्छु । कहिलेकाहीँ यस्तो हुन्छ । मलाई किन लागिरहेको भने कोइराला निवास त्यहाँ खाएको फिक्का चिया, अलिकति खाना, अनि अलिक परतिर झापामा रामबाबु प्रसाईँद्वारा भोली तिर्छु भनेको सर्तमा लिएको २० रुपैयाँ मेरो जीवनको सम्पत्ति हो (फेरि भक्कानिन्छन्...) । त्यति भने मैले धन्यवाद !’

महामन्त्री थापाले पनि शेखरमाथि उठाए प्रश्न

सम्मेलनका क्रममा कांग्रेस महामन्त्री गगन थापाले पनि शेखर कोइराला पक्षले विराटनगरमा गरेको पालिका भेलाप्रति असन्तुष्टि जनाए । ‘पार्टीभित्र एकता अनिवार्य छ । सबैको राजनीतिक हिसाबले मिलाउनु पर्छ । केही समय अगाडि रुपन्देहीको क्षेत्रले पनि भनेको थियो म देशभरका क्षेत्रीय सभापतिहरूलाई बोलाउँछु । हामीले भन्यौँ आयोजक केन्द्रीय समिति बन्छ । संयोजन गर्ने हो भने ठिक छ । कास्की जिल्लाले पनि सबै जिल्लाका सभापतिको भेला राख्छु भनेको थियो । तर, हामीले केन्द्रीय समितिको आयोजना र जिल्लाको व्यवस्थापनमा हो भने ठिक छ भन्यौ,’ थापाले भने, ‘विराटनगरको आयोजनामा प्रदेशमा पालिका भेला गरियो । यो पनि ठिक भएन भन्ने लागेको हो । भोली विराटनगरको एउटा वडाले सबै वडाध्यक्ष बोलाएर गर्छु भन्यो भने महानगरले के गर्छ ? त्यो भेला गर्ने कि नगर्ने ? त्यस कारण सबै मिलेर सम्हालिएर अगाडि बढौँ ।’

नेता डाक्टर प्रकाशशरण महतले भने गठबन्धन नगर्ने भन्ने कुरामा सैद्धान्तिक सहमति भए पनि ७४ मा के भयो भन्ने प्रश्न गरे । ‘गठबन्धन गर्ने होइन । एक्लै जाने कुरा सैद्धान्तिक कुरा ठिक छ । तर, आफैँ भित्र गठबन्धन नगर्ने समस्या कसरी हल गर्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘हामीले ७४ मा गठबन्धन गरेनौँ २४ सिट ल्यायौँ । तर, ७९ मा ६१ त ल्यायौँ नि । त्यो ठिक भयो कि भएन ?’ पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस ठिक बाटोमा नगएको बताए । ‘हामी कुन बाटोमा गइराखेका छौँ । हामी ठिक बाटोमा छैनौँ,’ उनले बीपीको उदाहरण दिँदै भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप