आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन् : अध्यक्ष सिंह

शनिबार, २२ मङ्सिर २०८१, १६ : ५४
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको वृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन् । यसै पनि पछिल्लो समय सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन सकेको छैन । त्यो अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरू थप अन्यायमा परेको उनको भनाइ छ । 

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालन : सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् । 

सिमेन्टको मूल्य वृद्धिको विषयमा सरकारले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढेको छ । यसले निर्माण व्यवसायीहरू अन्यायमा परेका छन्,’ उनले भने, ‘यसमा सरकारको ध्यान जान आवश्यक छ ।’

यस्तै, उनले निर्माण व्यवसायीको बाँकी भुक्तानी तत्काल निकासा हुनुपर्ने उनले बताए । यसमा अर्थ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । 

यसै गरी निर्माण व्यवसायीले तिर्नुपर्ने ऋणको सावाँ र व्याज तिर्ने अवधि पनि थप गर्नुपर्ने उनले बताए । ‘राष्ट्र बैंकले ऋणको साँवा र व्याज तिर्ने अवधि मङ्सिर मसान्तसम्म थप गरेको थियो । तर, अहिलेसम्म हामीले भुक्तानी पाउन सकेको छैनौँ । त्यो अवस्थामा मङ्सिर भित्र ऋण तिर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले भुक्तानी तत्काल गर्ने सङ्केत गरेको छैन । राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामा यस विषयमा कुनै उल्लेख गरेको छैन । त्यो अवस्थामा मङ्सिर भित्र हामीले ऋण तिर्नुपर्ने दबाब छ । यसमा सरकारको ध्यान दिनुपर्छ ।’

मङ्सिर भित्रै ऋण तिर्न नसकेमा निर्माण व्यवसायीहरू कालोसूचीमा पर्नेछ । त्यसपछि निर्माण व्यवसायीले काम गर्न नसक्ने र समग्र निर्माण कार्य प्रभावित हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप