शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रविलाई भेटेपछि ज्ञानेन्द्रले भने, ‘मदिरा सेवन गरेका प्रहरीद्वारा रातारात पोखरा ल्याइएको छ, छानबिन हुनुपर्छ’

प्रेसरको औषधिसमेत नदिएको जिकिर
शनिबार, २२ मङ्सिर २०८१, १६ : ४३
शनिबार, २२ मङ्सिर २०८१

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्दा  मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जिकिर गरेका छन् । सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेपछि शाहीले सो कुरा बताएका हुन् ।

रातोपाटीसँग कुराकानी गर्दै सांसद शाहीले लामिछानेलाई मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याइएको पनि बताए । उनले भने, ‘कानुनी राज्यमा छौँ, कानुन सबैले मान्नुपर्छ । तर यहाँ मानवअधिकारको गम्भीर उल्लङ्घन भएको छ । मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याएको भन्नुभएको छ । यो गम्भीर घटना हो । सत्यतथ्य छानबिन गर्नुपर्छ ।’

लामिछानेले आफूलाई चितवनमा अमानवीय व्यवहार गरिएको कुरा पनि सुनाएको शाहीले बताए । ‘जसले मानव अधिकार उल्लङ्घनको काम गरेको छ, उनीहरूलाई कारबाही गरिनुपर्छ,’ उनले भने ।

प्रेसरमा भएको मान्छेलाई औषधिसमेत नदिएर गलत गरिएको उनको भनाई छ । ’केही भइहालेको भए को जिम्मेवार हुन्थ्यो ?,’ उनले प्रश्न गरे । उनले गलत गर्नेलाई कारबाही नभए सडक र संसद्बाट जवाफ माग्ने उद्घोषसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप