सीके राउतको पहिलो चीन भ्रमण, भन्छन्– चीनको विकास देखेर चकित भएँ
चीन । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा.चन्द्रकान्त राउत (सीके राउत) ले नेपाली भाषा पढ्ने चिनियाँ विद्यार्थीसँग पछिल्लो नेपालको राजनीतिक अवस्था र विकासका अवसरका बारेमा छलफल गरेका छन् । युनान प्रान्तको राजधानी खुम्निङगस्थित युनान विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रले आयोजना गरेको समसामयिक छलफल कार्यक्रममा डा राउतले पछिल्लो दशकमा चीनले गरेको अभूतपूर्व विकासलाई प्रत्यक्ष देखेर आफू अचम्मित भएको अनुभव सुनाएका हुन् ।
निजी भ्रमणको सिलसिलमा पहिलोपटक चीन भ्रमण गरेका डा राउतले भने, ‘चीन प्रतिको मेरो पहिलेको धारणा र सोचमा परिवर्तन भएको छ । चीनको बारे सुनेको र पढेको कुरालाई आफैँले प्रत्यक्ष देख्ने अवसर पाएँ । अब चीनले गरेको विकासका योजनालाई नेपालको मधेस प्रदेशसँग जोडने काममा लाग्ने छु ।’
‘पहिलो पटक चीनमा आउँदा चिनियाँ मित्रहरूबाट पाएको सम्मान, मित्रतापूर्ण व्यवहार, चीनका सहरदेखि गाउँसम्म भएका विकास अभियानले आफूलाई धेरै कुरा सिकाएको छ,’ डा राउतले भने, ‘नेपाली भाषा साहित्य, संस्कृति पढ्दै गरेका चिनियाँ विद्यार्थीहरूलाई मधेस प्रदेशको भाषा, साहित्य र संस्कृति अध्ययनका लागि अनुरोध गर्दछु ।’
उनले मधेस प्रदेशमा चिनियाँ भाषा अध्ययनका लागि पहल गर्ने पनि बताए । डा राउतले भने, ‘चीन र मधेससँगको ऐतिहासिक सम्बन्ध छ, त्यसबारे अध्ययन अनुसन्धानका लागि नेपाली र चिनियाँ विद्यार्थीहरू बिच सहकार्य गर्न पहल गर्नेछु ।’
‘म जापान बसेर पढ्दा चिनियाँ सहपाठी विद्यार्थीहरूको राष्ट्र प्रेमबाट निकै प्रभावित भएको थिए । चिनियाँहरूले गर्ने मेहनत र उनीहरूको कार्यशैलीबाट मैले पनि धेरै कुरा सिकेको थिएँ,’ डा राउतले भने, ’म पनि चिनियाँ नागरिकको जस्तै राष्ट्रप्रेम र देश विकासको अभियानका लागि विश्व सम्पन्न देश अमेरिकामा प्राप्त सुख सुविधा छोडेर मधेस र मधेसी जनताको सेवामा लागि स्वदेश फकिएको हुँ ।’
‘म अहिले राजनीति पार्टी र राजनीति कार्यकर्ता भएर देशको सेवा गर्दैछु । चीनमा भएका विकासका नमुनाहरूलाई मधेस प्रदेशमा कहाँ कसरी के गर्न सकिन्छ भनेर काम गर्ने मेरो योजना छ । चीन भ्रमण मेरो लागि निकै उपलब्धिमूलक भएको छ,’ डा राउतले आफ्ना चीन अनुभव सुनाउँदै भने, तपाई नेपाली भाषा पढ्नेहरूको साथ र सहयोग चाहिन्छ ।’
चीन भ्रमणमा आउँदा नेपाली भाषा बोल्ने चिनियाँ मित्रहरू तथा नेपाली भाषा पढ्ने चिनियाँ विद्यार्थीहरूलाई आफ्नो अनुभव सुनाउने अवसर पाउँदा निकै खुसी अनुभव गरेको उनको भनाई थियो । चीनको युनान प्रान्त भित्रका विकास परियोजना, आधुनिक कृषि क्षेत्र र औद्योगिक क्षेत्रको भ्रमण अवलोकनका गरेका डा राउतले भने, ‘नेपालमा चिनियाँ आधुनिक प्रविधि र ज्ञानबाट नेपालमा कसरी फाइदा लिने बारे सरकारीस्तरमा छलफल गर्नेछु ।’
‘जनमत पार्टीले वर्तमान नेपालको सरकारलाई समर्थन दिएको छ,’ हालै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट पनि चीनको विकास परियोजना बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको भन्दै डा राउतले भने, ‘अब चिनियाँ आधुनिक विकास र प्रविधि नेपालीमा भित्राइने छ।’
नेपाल र युनानको हावापानी र भूबनोट समेत एकै खालको भएकाले कृषि र प्रविधि साझेदारीमा सहकार्यका लागि आफूले पहल गर्ने उनले बताए । यसैगरी, युनान विश्वविद्यालय एसियाली भाषा विभाग, एवं नेपाल अध्ययन केन्द्रका प्रमुख, नेपाली भाषा विशेषज्ञ प्राध्यापक डा।वाङ चुङले नेपाली भाषा, साहित्य, संस्कृति र चिनियाँ प्रविधि मार्फत नेपालकाको विकासमा साझेदारी काम गर्न अध्ययन केन्द्र स्थापना भएका जानकारी दिए । प्रा वाङले भने, ‘दुई देश बिचको विकास साझेदारीका लागि भाषा र संस्कृति सिक्नु र सिकाउनु पहिले काम हुनेछ ।’
सन् १९९० मा त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषामा एमए गरेका प्राध्यापक डा वाङचुङ विगत ३४ वर्षदेखि चिनियाँहरूलाई नेपाली भाषा, साहित्य र संस्कृति अध्यापनमा संलग्न छन्। युनान विश्वविद्यालयमा नेपाली भाषामा स्नातक,(बीए), स्नातकोत्तर (एमए) अध्ययन गर्ने चिनियाँ विद्यार्थी र युनानमा विद्यावारिधि अध्ययनरत नेपाली विद्यार्थीहरू राजन कार्की, मदन खड्का र युनान विश्वविद्यालयका कार्यरत सहप्राध्यापक वैज्ञानिक डा.चन्द्र सिंह लगायतले नेपाल र चीन बिचको सम्बन्धमा भाषा, विकास र पछिल्लो समय चीनको प्रविधि र शैक्षिक विकासका बारेमा डा राउतसँग छलफल गरेका थिए ।
नेपाली भाषा अध्ययनरत चिनियाँ छात्रछात्राहरूले आफूहरूले नेपाली भाषा अध्ययन गरेर दुई देश बिचको सम्बन्ध, विकासका साझेदारी अभियानमा सहयोगी बन्नका लागि नेपाली भाषा अध्ययन गरेको अनुभव सुनाएका थिए ।
साताव्यापी निजी भ्रमणका लागि चीन आएका डा राउत आज स्वदेश फर्कँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास