बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
वर्णविन्यास बहस

‘आगन्तुक भन्ने पञ्चायतकालीन भाष्य हो’

शनिबार, २२ मङ्सिर २०८१, १५ : ००
शनिबार, २२ मङ्सिर २०८१

भाषाविद् शरच्चन्द्र वस्तीलाई रातोपाटीकर्मी ध्रुवसत्य परियारले राखेका केही प्रश्न :  

१) हामीकहाँ नेपाली भाषाको वर्णविन्यास सम्बन्धमा मतभिन्नता देखिन्छन्, मूल विवाद के हो, यो कसरी सुरु भयो ?

२०१३–१४ सालतिर सुरु भएको झर्रोवादी आन्दोलनले नेपाली भाषालाई समृद्ध बनाउने गरी अरु धेरै राम्रा मान्यता ल्यायो, तर त्यस आन्दोलनले ल्याएको एउटा मान्यताले भने नोक्सान गर्‍यो । त्यो मान्यता थियो— नेपाली भाषाको लेख्य रूप वा नेपाली उच्चारणमा सुरु र बिचमा दीर्घ ऊकार र ईकार हुँदैन, ह्रस्व हुन्छ; ‘श’ र ‘ष’ उच्चारण हुँदैन, पातलो ‘स’ मात्रै उच्चारण हुन्छ; ‘व’ होइन ‘ब’ मात्रै उच्चारण हुन्छ । 

भाषा वा व्याकरणमा प्रत्येक विद्वान्ले आ–आफ्ना मान्यता वा निष्कर्षलाई प्रस्तावनाका रूपमा अगाडि ल्याउन सक्छन् । समाजले ग्रहण गर्दै गयो र समयसँगै समाजको ठुला हिस्साले प्रयोग गर्न वा लेख्य रूप दिन थाल्यो भने त्यो मान्यताले औपचारिकता पाउँछ । हामीकहाँ भने यसको ठिक उल्टो भयो । झर्रोवादी आन्दोलनले ल्याएका केही मान्यताले २०४० सालको शब्दकोशमा स्थान पाए । सरकारी निकायबाट प्रकाशित शब्दकोशमै आएपछि त्यो मान्यता ‘आदेश’जस्तै भयो । त्यसपछि आगन्तुक भनिएका शब्दहरूको सुरु र बिचमा सबै दीर्घ हटाएर ह्रस्व लेख्न थालियो । श र ष हटाएर स, व हटाएर ब मात्रै राखियो । वर्णविन्यासको मूल विवाद वा समस्या यहीँबाट सुरु भएको हो । 

यद्यपि २०४० सालको शब्दकोशले यो विवेक प्रयोग गरेको थियो कि सुरु र बिचमा ह्रस्व, ‘व’लाई ‘ब’ बनाएर बिगारिएका शब्दलाई मूल प्रविष्टि (प्राइमरी इन्ट्री)मा राखेको थियो तर अर्थ दिएको थिएन, विकल्प दिइएको थियो— हे. (हेर्नुस्) भनी मूल शब्दतिरै देखाएर । राज्यको आधिकारिक निकायबाट निस्केको शब्दकोश पठनपाठन र राजकाजको भाषामा पनि प्रयोग हुने भयो । प्रयोग गर्नेहरूले शब्दकोशमा विकल्पका रूपमा आएका शब्दलाई अप्ठेरो मानेनन् । 

त्यो शब्दकोशको नयाँ संस्करण २०५८ सालमा आयो । त्यसमा केही स्वनामधन्य व्यक्तिले वैकल्पिक रूपमा राखिएका शुद्ध रूपलाई निमिट्यान्न पारे, शब्दकोश नै ७६ पृष्ठ घट्यो, दुई हजार जति शब्दहरू घटे । यसपछि वर्णविन्यासको विवादले ठुलो रूप लियो । किनभने शब्दको शुद्ध रूप शब्दकोशमा भेटिन छाड्यो । 

भन्न त केही तद्भव र आगन्तुक शब्दमा मात्रै सुरु र बिचमा ह्रस्व बनाउने र ‘व’लाई र ‘ब’ लेख्ने भनिएको थियो तर कुन आगन्तुक, कुन तद्भव, कुन तत्सम भन्ने सबैलाई थाहा हुँदैन । प्रयोग गर्नेले यो नियम सबै शब्दमा प्रयोग गरिदिए । यसरी सजिलो बनाउने चक्करमा नेपाली भाषाको लेख्य रूप कमजोर बन्दै गयो । झट्ट हेर्दा थोरै देखिए पनि यसले नेपाली भाषाको लेख्य रूपमा थुप्रै समस्या ल्यायो । 

शिक्षकलाई पढाउन गाह्रो भयो भनेर बदल्ने विषय होइन, भाषा वा वर्णविन्यास । पढाउन गाह्रो भयो भने पढाउने सजिलो तरिका खोज्ने हो, वर्णविन्यास चलाउने होइन ।

झर्रोवादी आन्दोलन गर्नेहरू र उनीहरूका चेलाले २०४० र २०५८ सालको शब्दकोशमा प्रभाव पारेका थिए, जसमा खासगरी बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कुमारबहादुर जोशी, कृष्णप्रसाद पराजुली लगायत थिए । पछि उहाँहरू सबैले सार्वजनिक रूपमा लिखित र मौखिक रूपमै आत्मालोचना गर्नुभयो : हामीले राम्रै उद्देश्यले गर्न खोजेका हौँ तर कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा जस्तो भयो । यसले नेपाली भाषालाई डुबाउने भयो । हामीबाट गल्ती भएछ, त्यस कारण अब सच्याइनुपर्छ ।

उहाँहरूले ‘नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) २०६९’ भनेर भनेर एउटा व्यवस्था पनि ल्याउनुभएको छ । अहिले जुन मुद्दा र सर्वोच्चको फैसलाको कुरा छ, पाठ्यक्रम विकास केन्द्रले गरेको प्रस्तावमा शिक्षामन्त्रीले २०६९ सालमा तोक–आदेश गरेका थिए, सोही अनुसार पाठ्यक्रम तय भयो, यो गलत भयो भनेर २०७३ सालमा मुद्दा परेको थियो, अहिले त्यसमै फैसला आएको छ । फैसलामा मन्त्रीले कानुनी अधिकारभन्दा पर गएर तोक–आदेश गर्नु गलत हो भन्ने नै उल्लेख छ । 

sarachchandra wasti (2)

यो फैसलाले यही भनेको छ कि शब्दको सुरु र बिचमा ह्रस्व बनाउने, श र षलाई स बनाउने, व हटाएर ब मात्रै राख्ने कुरा बदर भएको छ । फैसला अनुसार, शिक्षामन्त्रीको मात्रै होइन कि प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालयले नेपाली वर्णविन्यास सम्बन्धी गरेका काम पनि बदर भएका छन् । न्यायालयले दिएको आदेशको पालना हुन अलिकति समय लाग्ला । 

अब भाषाको विवाद छलफल गर्नुपर्ने विषयका रूपमा दुई कारणले बाँकी रहेनन् । एउटा, हिजो जसले हिज्जे परिवर्तन गरेका थिए, उनीहरूले मौखिक र लिखित रूपमा आत्मालोचना गरिसकेका छन्, अब जहाँ बिग्रेको थियो, त्यसको वैधता बाँकी रहेन र बिगारिएका भनिएका शब्दहरू पुरानै शुद्ध रूपमा रहे । 

अर्को कुरा, त्यस्तो गर्ने कानुनी अधिकार पनि तिमीहरूलाई छैन, त्यसो गर्न पाइँदैन भनेर अदालतले भनिसकेको छ । यसरी दुवै तिरबाट गलत र अस्तित्वहीन भइसकेको विवादमा अब थप छलफल किन गर्ने ? तपाईंले उत्सुकता राखेकाले मैले प्रस्ट्याएको मात्रै हो । यो भाषा वा वर्णविन्यासको विवाद अब छलफलको होइन, उत्सुकताको विषयवस्तु हुन सक्छ । यसबारे थाहा नपाएकाहरूले उत्सुकता राख्न र विवादको नालीबेली बुझ्न सक्छन् । 

२) वणविन्यासलाई मानक कसरी बनाउने त ?

नेपाली भाषा स्वयंमा सुललित, प्रवाहमय र एउटा मानकताले सम्पन्न नै भाषा हो । नेपाली औपचारिक लेखाइमा ९० प्रतिशत जति संस्कृत र संस्कृत मूलका शब्द प्रयोग भएका छन् । त्यसमा समस्या होइन । आगन्तुकमध्ये केही शब्दमा विवाद हो । 

के मात्रै भयो भने, भइराखेको प्रयोगमा तीन ठाउँमा मात्रै बिगारियो । यद्यपि बिगार्ने ती नेपाली भाषा र व्याकरणका धुरन्धर विद्वान्हरूले नै प्रायश्चित गरिसकेका छन् तर बिगारिएको प्रभाव वा दुष्प्रभावहरू समाजमा रहिरह्यो । जस्तो : कानून शब्द शब्दकोश र पाठ्यपुस्तकमा ह्रस्व छ, शुद्ध चाहिँ दीर्घ हो । कानूनबाट कानुनी शब्द पनि बन्ने भयो । यसरी बिगारिएका शब्द लगभग ५५० जति छन् । अरु शब्दलाई पनि जोड्ने हो भने साढे सात सय जति होलान् । यी शब्दलाई जहाँबाट बिगारिएको थियो, त्यसलाई पुरानै रूपमा रहन दिइयो भने शुद्धता छँदै छ, त्यही नै मानक हो । त्यसैले नेपाली वर्णविन्यासलाई मानक बनाउन कसैले कुनै मेहनत गर्नैपर्दैन । कुन कुन शब्द कसरी लेख्ने भन्नेमा पुरानो शब्दकोश (बिगारिएको भन्दा अघिको) मा छँदै छ । 

sarachchandra wasti (3)

यसलाई प्रतीकका रूपमा यसरी भन्न सकिन्छ, कसैको हातमा कसैले बेसरी हिलो छ्यापिदियो भने हिलो पखालेपछि हातको स्वरूप देखापर्छ । यसरी नै शब्दकोशमा बिगारिएको वर्णविन्यासलाई हटाइयो भने पहिलेकै शुद्ध रूप रहने हो । 

अदालतले भनिसकेको अवस्थामा जसले जहाँबाट जसरी वर्णविन्यास बिगारेका हुन्, त्यहीँबाट सुधारियो भने विवाद सकिन्छ । प्रज्ञा प्रतिष्ठानले सुधारेर पुनः शब्दकोश निकाल्न सक्छ । यो अभ्यास हिजो भएकै हो । २०७३ सालमा प्रज्ञा प्रतिष्ठानले आफ्नो शब्दकोश गलत भयो भन्यो र गलत शब्दकोश किन्नेहरूलाई पनि सुधारेको नयाँ शब्दकोश दिएर वा पैसा फिर्ता गरेर पुरानो शब्दकोश लियो । अहिले पनि गल्तीलाई सच्याउने अवसर छ ।

अहिले अदालतको फैसलाको कुरा गर्दा— विद्यार्थीलाई बुझाउन असहज भएकाले त्यस्तो पाठ्यक्रम ल्याइएको तर्क आएका थिए । 

शिक्षकलाई पढाउन गाह्रो भयो भनेर बदल्ने विषय होइन, भाषा वा वर्णविन्यास । पढाउन गाह्रो भयो भने पढाउने सजिलो तरिका खोज्ने हो, वर्णविन्यास चलाउने होइन । पढाउने मान्छेले हिजो त्यही कुरा आफूले पढेर र बुझेर आएको थियो भने आज विद्यार्थीलाई बुझाउन असजिलो हुने भन्ने हुँदैन । हिजो आफूले जसरी बुझेको हो, त्यसरी नै बुझाउनुपर्‍यो । चाइनिज, जापानिज जस्ता जटिल लिपि त पढाइँदै र बुझाइँदै आइएका छन्; केही नेपाली भाषामा प्रयोग भएका संयुक्ताक्षरलाई लेख्न–पढ्न वा बुझाउन कहाँनेर समस्या भयो ? यो त अल्छीले गर्ने कुरा हो । 

भाषा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा प्रयोग हुन्छ । त्यसैले एउटा शब्दको रूप फेरिँदा त्यसले सबै क्षेत्रमा अर्थ राख्छ । 

३) कानुन, सहिदजस्ता आगन्तुक शब्द जहाँ जसरी उच्चारण गरिन्छन्, त्यसरी नै हामीले गर्ने कि हाम्रो तरिका वा जिब्रो अनुसार गर्ने ? 

सर्वप्रथम आगन्तुक शब्दलाई हामीले सम्मान गर्नुपर्छ । ती शब्द हामीकहाँ शरणार्थी बनेर बास बस्न आएका होइनन् । हाम्रो भाषामा भएका शब्दले नपुगेपछि हामीले हाम्रै भाषा समृद्ध बनाउन अन्य देश वा समुदायका शब्द लिएका हौँ । त्यसैले ती शब्दलाई आगन्तुक भन्नु पनि गलत छ । आगन्तुक भन्ने पञ्चायतकालीन भाष्य हो । आगन्तुक भनेको त अतिथि हो, जो केही दिन बसेर फिर्ता जानुपर्छ । के हामीले प्रयोग गर्दै आएका शब्द केही दिन बसेर फिर्ता जान्छन् ? त्यस्तो त होइन । 

अरुका शब्दलाई हाम्रो तरिकाले उच्चारण गर्ने भन्ने जुन भाष्य छ, यो सुन्दा राम्रो लाग्छ तर वाहियात हो । किनभने कुनै पनि शब्द आउँदा उसको आफ्नो ‘डीएनए’सहित आउँछ । ऊसँग आफ्नो इतिहास र परम्परा हुन्छ । जस्तो : हामी कलम भन्छौँ, तीन वर्ण मिलेको यस शब्दले लेख्ने कलम नै किन बुझायो ? किनभने यसरी नै बुझ्दै आएको एउटा संस्कृति वा परम्परा छ, जसलाई बिगारेर अर्थ आउँदैन । संसारभरिका सबै भाषाका शब्दका आ–आफ्ना इतिहास हुन्छन् । त्यस कारण अरुको शब्द अरुको तरिकाले बोल्ने कि मेरो तरिकाले बोल्ने भन्ने प्रश्न नै हुँदैन । अरुको शब्दलाई जस्ताको तस्तै प्रयोगमा ल्याउनुपर्छ । 

हामीकहाँ नेपाली जनजिब्रोले ‘श’ र ‘ष’को उच्चारण गर्दैन, ‘स’को मात्रै उच्चारण गर्छ भन्ने तर्क अगाडि सारिएको छ । उसो भए ‘पशुपति’ किन लेख्ने त ‘पसुपति’ लेखे भयो ! 

अरुका शब्दलाई हाम्रो तरिकाले उच्चारण गर्ने भन्ने जुन भाष्य छ, यो सुन्दा राम्रो लाग्छ तर वाहियात हो । किनभने कुनै पनि शब्द आउँदा उसको आफ्नो ‘डीएनए’सहित आउँछ ।

अंग्रेजीबाट आएका शब्दको पनि आफ्नो उच्चारण छ । जस्तो : अहिले ‘मार्कसिट’ लेख्ने चलन छ । तर ‘एसएचईईटी’बाट बन्ने शब्दलाई ‘शीट’ उच्चारण गर्नुपर्छ भन्ने त भोलिको पुस्ताले आफैँ बुझ्छ, ‘सिट’ उच्चारणले त ‘बस्नु’को अर्थ दिन्छ भन्ने उसलाई थाहा हुन्छ । 

एसएचआईटी ‘शिट’ले मल वा दिसाको अर्थ दिन्छ । यस्तै, अचेल ‘ग्रिनपार्क’ लेखिन्छ, तर आज पढे–लेखेका केटाकेटीले ‘जीआरईईएन’लाई ग्रीन भनेरै उच्चारण गर्छन्, किनभने उनीहरूलाई थाहा छ, ‘जीआरआईएन’ ‘ग्रिन’ले ‘ङिच्च गर्नु’को अर्थ दिन्छ । हामीले बनाएको ग्रिनपार्कले कतै ‘ङिच्च गर्ने’ थलोलाई बुझाउने त होइन होला ! 

अंग्रेजीमा तपाईंले फिश (माछा) उच्चारण गर्दा पातलो ‘स’ (दन्त्य) उच्चारण गर्नुभयो भने धेरैले बुझ्दैनन् र हाँस्छन् । उनीहरूले पनि मोटो श (तालव्य) र पातलो स (दन्त्य) दुवैको उच्चारण गर्छन् । ‘नेशन’ भन्दा मोटो ‘श’कै उच्चारण हुन्छ । शेक्सपियरमा पनि अगाडि मोटो श उच्चारण हुन्छ । यसमा त कुनै दुविधा छैन, गुगल ट्रासलेसनमा सुन्दा पनि स्पष्ट हुन्छ ।

हामीकहाँ सही उच्चारण गर्न सिकाइएन, सही उच्चारण बमोजिम लेख्न पनि सिकाइएन र अहिले दुई शब्दहरू वा अक्षरहरूको अन्तर हराएजस्तो भएको छ ।

अरुको शब्दलाई आफ्नो भाषामा ल्याएर आफ्नै तरिकाले उच्चारण गर्ने भन्ने पुरानो जमानाको कुरा हो, यो आजभन्दा ३०–४० वर्षअघिसम्म ठिक थियो, किनभने त्यतिखेर दुनियाँ ठुलोजस्तो थियो । नेपालमा कसरी बोलिन्छ भन्ने बेलायतलाई चासो थिएन, बेलायतले कसरी बोल्छ भन्ने नेपाललाई परको कुरा थियो । अहिले त संसारभरिका मानिससँग दोहोरो कुरा हुन्छ, त्यो पनि क्षणभरमै । अध्ययन, रोजगारी, भ्रमणका लागि पनि दोहोरो कुराकानी गर्नुपर्छ । अन्य देशका कुनै शब्दको उच्चारण बिग्रियो भने अर्थको अनर्थ हुन सक्छ । त्यसैले अरुको शब्दलाई आफ्नै तरिकाले उच्चारण गर्ने भन्ने ‘आउटडेटेड’ भइसक्यो । आज संसारका कुनै पनि भाषाका शब्द उच्चारण गर्दा उस्तै नभए पनि निकटतम हुनुपर्छ ।

अझ शुद्ध रूपमा स्थापित भइसकेका शब्दलाई कसैले एकैचोटि आदेश दिएर बिगार्न कुनै पनि तर्कबाट पाइँदैन । 

४) यहाँ अदालतको सन्दर्भ पनि आयो । भाषालाई मानक बनाउने विषयमा भाषाविद्हरूले बोल्ने हो कि अदालतले ?

वर्ण विन्यासका सम्बन्धमा अदालतले केही भनेको छैन । यहाँनेर भ्रम फैलिएको छ— भाषा अदालतले निर्णय गरिदिने भयो, व्याकरण वा वर्णविन्यासको नियम अदालतले बनाइदिने भयो । यसो भन्नु अदालतको अत्यन्तै अपव्याख्या हो । कुनै जिम्मेवार संस्थाले यसो भन्यो भने त अदालतमाथि मानहानि गरेको मुद्दा लाग्छ । 

sarachchandra wasti (4)

भाषासम्बन्धी मुद्दाको पछिल्लो फैसलामा अदालतले जम्माजम्मी यति मात्रै भनेको छ, यसो गर्ने अख्तियारलाई छैन, तपाईंले गरेको काम कानुनविपरीत हो । 

अदालतले वर्णविन्यास र व्याकरण कुन सही र कुन गलत भनेर भनेको छैन । 

अब कुरा रह्यो— भाषाशास्त्री, व्याकरणकार वा प्राध्यापकको । भाषालाई चलाउन यिनीहरूको अख्तियारभित्र पर्दैन । 

पाणिनिले भाषालाई चलाएका थिएनन् । सबैभन्दा पछिल्ला विख्यात भाषाशास्त्री नोम चोम्स्कीले पनि भाषालाई चलाउन हुन्छ भन्ने मान्यता राख्दैनन् । 

भाषा यस्तो चिज हो, जसलाई प्रयोग गर्ने नियम त्यही भाषाभित्र लुकेको हुन्छ । त्यही नियमलाई पहिचान र लिपिबद्ध गर्ने काम भाषाशास्त्री वा व्याकरणकारको हो । कुनै कुनै शब्द उनीहरूको नियम र त्यसअघि स्थापित नियममा बाँधिन सकेनन् भने पनि उनीहरूले ती शब्दको अस्तित्वलाई स्वीकार गरेर उल्लेख गरेका हुन्छन् । पाणिनिले पनि यसै गरेका थिए । उनको व्याकरण अनुसार भाषा वा शब्द बनेको होइन, वेद पहिले बनेको हो, पाणिनिको व्याकरणभित्र रहेर वेद बनेको होइन । पहिले बनेको भाषा वा शब्दहरूको नियमलाई देखेर पाणिनिले व्याकरण बनाएका हुन् । यो व्याकरणकारको कुरा भयो ।

संसारभरिका भाषाशास्त्रीले मानवीय भाषाको वैज्ञानिक अध्ययन गर्ने हो । कुन भाषा कसरी बोलिन्छ ? किन त्यही शब्द अर्को भाषामा यसरी उच्चारण हुन्छ ? यो भाषामा यस्ता नियम छन् तर ती नियम किन यी–यी शब्दमा लागु हुँदैनन् ? यो भाषा कसरी अगाडि बढिरहेको छ ? किन त्यसरी अगाडि बढ्यो ? आदिबारे भाषाशास्त्रीले अनुसन्धान गर्छ तर उसले यो ठिक र यो बेठिक भनेर लाद्दैन वा निर्देशन दिँदैन । यस्तो अभ्यास संसारभर कहीँ पनि छैन । 

बाँकी रहे, प्राध्यापक । उनीहरूको त ‘मेकानिकल’ काम हो, त्यो कुनै बौद्धिक काम होइन । उनीहरूले कसैले निर्धारित गरिदिएको विषयवस्तुलाई कुनै लक्षित समूहमा स्थानान्तरण गर्ने हो । जसलाई अहिलेसम्म बौद्धिक भनिन्छ, वास्तवमा त्यो काम बौद्धिक होइन । त्यस्ता काम त अहिले कम्प्युटर पनि गरिदिन्छ । 

तपाईंलाई लाग्ला— विश्वविद्यालयमा नयाँ–नयाँ छलफल हुन्छन्, नयाँ–नयाँ तर्कहरू आउँछन्, नयाँ–नयाँ प्रस्तुतिहरू दिइन्छन्, यस्ता काम बौद्धिक हुनुपर्छ । 

sarachchandra wasti (5)

यस्तो होइन, त्यहाँ जतिसुकै तर्क गरे पनि त्यसको निष्कर्ष पहिलेदेखि नै निर्धारित हुन्छ । अर्थात् निष्कर्ष त पहिलेदेखि नै प्राध्यापकको गोजीमै हुन्छ । त्यसभन्दा दायाँ वा बायाँ तपाईं जान सक्नुहुन्न । अनि पहिले नै निष्कर्ष तयार पारेर गरिएका लम्बा–चौडा तर्कहरूको के अर्थ रह्यो ? खेलकुदमा यस्तो काम गर्ने हो भने, त्यसलाई म्याचफिक्सिङ भनेर हतकडी लगाएर लगिन्छ । हामीले यसलाई बौद्धिक विलास मानिरहेछौँ । 

कुनै पनि विद्यार्थीको नयाँ तर्क वा सिद्धान्तलाई मान्यता दिने आँट वा ल्याकत हाम्रा विश्वविद्यालयमा अहिलेसम्म देखिएको छैन, त्यस्तो हुन्थ्यो भने त्यसलाई बौद्धिकस्तरको काम भन्न सकिन्थ्यो । 

समग्रमा के बुझ्नुपर्‍यो भने व्याकरणकार, भाषाशास्त्री र प्राध्यापकको आ–आफ्ना काम हुन्छन् । 

५) हाम्रो पूर्वतिर ‘थिएछ’ भन्ने शब्दको प्रयोग भइरहेको छ, यसलाई शब्दकोशमा राख्ने कि नराख्ने ? राखे कुन अर्थमा राख्ने ?

कुनै पनि शब्दको उच्चारण तरल हुन्छ, त्यो अवधारणासँग जोडिएको हुन्छ । 

चार–चार कोशमा भाषा बदलिन्छ भनिन्छ । कसैले ‘रहेछ’ भन्छन्, कसैले ‘रेछ’ त कसैले ‘रैछ’ भन्छन् । कसैले ‘गको रछ’ (गएको रहेछ) भन्छन्, कसैले ‘गएको थिएछ’ भन्छन् । त्यसैले एउटा खोला तरेपछि भाषा बदलिन्छ भनिएको हो । अब यी सबैलाई शब्दकोशमा राख्ने भन्ने हुँदैन । लेख्य रूप स्थिर हुन्छ । ध्वनि अवधारणासँग जोडिएको कुरा हो, लेख्य रूप भनेको चित्र वा संरचनाका रूपमा आँखासँग जोडिएको हुन्छ । लेख्य रूपमा स्थिरता भएकैले भाषा व्यापक र समृद्ध बन्दै जान्छ । 

अंग्रेजी भाषाको उच्चारणमा विभिन्नता छ । जस्तो : बसलाई भारततिर ‘बास’ पनि भनिन्छ । अब कसैले बुस भन्ला । यस्ता उच्चारण विभिन्न देशमा फरक हुन सक्छन् । जसलाई एक–अर्को ठाउँका मानिसले नबुझ्न सक्छन् । यद्यपि अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भयो । अंग्रेजी शब्द जहाँ–जहाँ जसरी उच्चारण हुन्छ, त्यही–त्यही शब्दकोशमा राख्दै आएको भए समस्या हुन्थ्यो तर उनीहरूले संसारभरि चल्ने एउटै मानक शब्दकोश बनाएका छन् । मानिसले उच्चारण जसरी गरून् तर लेख्दा शुद्ध रूपमा लेख्नुपर्छ ।

हामीकहाँ पनि एउटा लेख्य रूप शुद्ध हुनुपर्छ भन्ने बहस हुँदै आएको हो, लेख्य रूपलाई सबैले मानियो भने उच्चारण त आ–आफ्नो ढंगले गर्न सक्ने भए । औपचारिक लेखनमा शुद्ध रूप नै प्रयोग गर्नुपर्छ तर साहित्यमा वा उद्धरणमा व्यक्तिले जस्तो बोलेको छ, त्यस्तै राख्न सकियो । यस्तोमा ‘थिएछ’ शब्द पर्‍यो भने तल यसको सन्दर्भ उल्लेख गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप