हिज्जे बिग्रनुमा अखबार बढी जिम्मेवार
भाषाविद्हरूले भाषा बिगारे, व्याकरण बिगारे भनिएको छ । जसले यस्तो भनिरहेका छन्, उनीहरूले व्याकरण वा भाषा जे भने पनि उही हिज्जे वा वर्णविन्यासकै कुरा गरिरहेका छन् ।
विशेष गरी उनीहरू भनिरहेछन् कि हिज्जेमा एकरूपता भएन । सर्वसाधारणको लेखनमा एकरूपता नहुनु सामान्य नै भयो, तर विद्वान्हरूकै बिच लेखनमा एकरूपता भएन । विश्वविद्यालयका भाषाकै प्राध्यापकहरू एकनासको हिज्जे लेख्दैनन् । शब्दकोशहरूमा पनि एकनासका हिज्जे छैनन् । यो खालको स्थिति दुर्भाग्यपूर्ण हो । यसो हुँदा सबैभन्दा गाह्रो नेपाली सिकाउने गुरु र सिक्ने विद्यार्थीलाई भइरहेको छ । नेपाली भाषा प्रयोग गर्नेलाई पनि कुन सही हो भन्ने अन्योल रहेकै छ ।
नेपाली भाषामा लेखेर समाचार प्रवाह गर्ने पत्रिपत्रिकाले पनि एकनासको हिज्जे प्रयोग गरिरहेका छैनन् । हामीकहाँ थुप्रै पत्रपत्रिका छन्, छापादेखि अनलाइनसम्म तर एकरूपता छैन । पत्रपत्रिकामा एकरूपता नहुँदा पनि जनतामा अन्योल छाइरहेको छ ।
हामी भाषाविज्ञानका मान्छेहरू यो हिज्जेलाई व्याकरण मान्दैनौँ । यो व्याकरण होइन, भाषा पनि होइन । जानाजान भाषा बिगार्ने त पढे–लेखेका मान्छेले हो । जस्तो : कसैले भन्यो, ‘मैले त आफ्नो लाइफमा एक वर्ड पनि इङ्लिस युज गरेको छैन ।’ यसरी हो भाषा बिग्रने । यस वाक्यलाई नेपाली भन्ने कि अंग्रेजी !
नेपाली बोल्दा वा लेख्दाखेरि अंग्रेजी शब्द प्रयोग गर्दा इज्जत बढेको अनुभव गर्ने पनि हामीकहाँ छन्, यो मूर्खता हो किनभने आफ्नो भाषामा अंग्रेजी शब्द मिसाउँदा इज्जत बढेको ठान्नेले अंग्रेजी बोल्दा नेपाली मिसाएर बोल्दैनन् । अंग्रेजीलाई चोखो राख्नुपर्छ ।
हिज्जेमा तल–माथि हुनुलाई त्यति ठुलो रूपमा भाषा बिग्रेको भनिँदैन । नेपाली भाषामा संस्कृत भाषाका थुप्रै शब्द प्रयोग भएका छन् ।
हामीकहाँ म अंग्रेजीमा जानेको छु भनी फुटानी लगाउन यस्तो खालको नेपाली बोलिन्छ— ‘इफ् यु एग्री मलाई केही समस्या छैन, तँ मान्छस् भने आई ह्याभ नो प्रोब्लेम’ । अंग्रेजीमा यस्तो चल्दैन तर हामीकहाँ जे गरे पनि चल्छ । हामी यसैलाई भाषा बिगारेको भन्छौँ ।
हिज्जेमा तल–माथि हुनुलाई त्यति ठुलो रूपमा भाषा बिग्रेको भनिँदैन । नेपाली भाषामा संस्कृत भाषाका थुप्रै शब्द प्रयोग भएका छन् । संस्कृतमा अनेकरूपता छैन, संस्कृत शब्द संस्कृतमा जस्तो लेखिन्थ्यो, नेपालीमा पनि त्यस्तै लेखिनुपर्छ । संस्कृत शब्द संस्कृतजस्तै हुनुपर्छ भन्नेमा सबै सहमत छन् । खालि नेपाली भाषाका केही शब्द र धेरैजसो आगन्तुक शब्दमा हिज्जे विवाद हो ।
- विवादको पृष्ठभूमि
२०३४ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अनिवार्य नेपाली विषय समितिले पद्मकन्या क्याम्पसमा अधिराज्य भरका अनिवार्य नेपाली पढाउने गुरुको एउटा सामूहिक राष्ट्रिय अधिवेशन गर्यो ।
त्यो राष्ट्रिय अधिवेशनद्वारा देशभर नेपाली भाषा सिकाउने गुरुहरूलाई भेला गरेर सहमति गरियो— तत्सम (संस्कृत)मा समस्या छैन, संस्कृत शब्द जस्ताको तस्तै लेख्ने । नेपाली शब्द (तद्भव)मा केही असहमति छन्, तिनलाई सरलीकरण गर्ने वा एकरूपता ल्याउने । अबदेखि आगन्तुक शब्दको नेपालीकरण गर्ने । अर्थात् नेपाली शब्दमा अगाडि र बिचमा ह्रस्व अनि शब्दको अन्तिममा दीर्घ लेख्ने जुन नियम छ, सोही अनुसार गर्ने ।
विशेष गरी आगन्तुक शब्दलाई नेपालीकरण गर्ने सहमतिकै दस्ताबेजका रूपमा २०४० को शब्दकोश आयो । त्रिभुवन विश्वविद्यालय नेपाली विभाग र प्रज्ञा प्रतिष्ठानको सहकार्यमा यो शब्दकोश आएको थियो । त्यतिबेला बालकृष्ण पोखरेल एकेडेमीका सदस्य थिए भने वल्लभमणि दाहाल अनिवार्य नेपाली विषय समितिका अध्यक्ष थिए । यी दुवै त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान पढाउने प्राध्यापक थिए । खासगरी यी दुईको सहमतिले २०४० सालको शब्दकोश आएको थियो ।
त्यतिबेला नेपाली भाषामा झर्रोवादको कुरा पनि आयो । बालकृष्ण पोखरेल, वल्लभमणि दाहाल, चूडामणि रेग्मीहरूले बनारसमा सँगसँगै जस्तो पढेका हुन् । यिनीहरू त्यस बेला कम्युनिस्ट थिए । यिनीहरूलाई लाग्यो— संस्कृत शब्द जस्ताको तस्तै भएको ठिक छ । तद्भव शब्दमा पनि समस्या भएन । आगन्तुक शब्द (गरीब, शहर, शहीद आदि) जुन भारतमा चल्छन्, यिनीहरूलाई किन हिन्दीजस्तो लेख्ने ? यसलाई नेपालीजस्तै बनाउनुपर्छ भन्नेमा उनीहरू पुगे । यसरी २०४० सालमा नेपाली भाषाको हिज्जे लेखनमा आगन्तुक शब्दलाई मात्रै परिवर्तन गरिएको थियो ।
त्यतिबेला शब्दकोशमा ‘शहर’ (तालव्य) र ‘सहर’ (दन्त्य) दुवै राखिएको थियो तर ‘शहर’को अर्र्थ नदिई ‘हेर्नुस्— सहर’ लेखियो भने शब्दार्थ ‘सहर’ शब्दमा राखियो ।
गणतन्त्रपछि वा भनौँ उत्तरआधुनिक नेपालमा हिज्जेको बहस चर्कियो । राजसंस्था गएसँगै कसैले कसैलाई नमान्ने जस्तो परिस्थिति सिर्जना भयो ।
त्यतिबेलाको शब्दकोशमाथि तत्कालै विरोध भएन, यो पञ्चायती व्यवस्थासम्मै चल्यो । ०४६ को परिवर्तन र विशेष गरी ०६२/६३ को परिवर्तनपछि आएर भाषा बिग्रेको बहस उठ्यो ।
२०५८ सालमा प्रज्ञा प्र्रतिष्ठानले शब्दकोश छाप्यो । त्यसमा आगन्तुक शब्दलाई जस्ताको तस्तै राखिएन । अर्थात् शहर, गरीब आदि शब्द हटाइयो; नेपालीकरण गरिएका (सहर, गरिब, सहिद आदि) मात्रै राखिए । यहीँबाट दुर्घटना सुरु भएको हो ।
शब्दकोश भनेको शब्दकोश बनाउनेका लागि मात्र होइन, पाठकका लागि हो । पुराना पुस्तक पढ्ने नेपाली पाठकले शहर, गरीब, शहीद आदि आगन्तुक शब्द शब्दकोशमा पाउने भएनन् । पाठकले यसको अर्थ के रहेछ भनेर खोज्ने त शब्दकोशमै हो । अहिलेको सारा विवादको मूल मैले ०५८ सालको शब्दकोशलाई मान्छु । आगन्तुक शब्दलाई हेर्नुस् भनेर जस्ताको तस्तै राखेको भए समस्या हुने थिएन । २०४० सालको शब्दकोशले ‘शहर’लाई गलत भनेको थिएन । त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा पढाउँदा नेपालीकरण गरिएको आगन्तुक शब्द मात्रै पढाउने भनिएको थियो । अरुले दुई (आगन्तुक जस्ताको तस्तै र नेपालीकरण गरिएको)मध्ये जुनसुकै शब्द प्रयोग गर्न सक्थे ।
गणतन्त्रपछि वा भनौँ उत्तरआधुनिक नेपालमा हिज्जेको बहस चर्कियो । राजसंस्था गएसँगै कसैले कसैलाई नमान्ने जस्तो परिस्थिति सिर्जना भयो । यतिखेरै हिमाल पत्रिकामा शरच्चन्द्र वस्तीले काम गर्थे । वस्ती काशीको सम्पूर्णानन्द विश्वविद्यालयबाट संस्कृत व्याकरणमा गोल्डमेडलिस्ट हुन् । त्यसैले वस्ती काशीमा जस्तो देखियो, त्यस्तै गरी आगन्तुक शब्दको प्रयोग हुनुपर्छ भन्नेमा गए । काशीमा शहर (तालव्य) हुन्छ भने यहाँ किन सहर (दन्त्य) हुने ? यसबारे उनले मदन पुरस्कारका कमलमणि दीक्षितसँग कुराकानी गरे । कमल दीक्षितले आगन्तुक शब्दलाई जस्ताको तस्तै पढेका थिए, १९९२ सालमा छापिएका ‘नेपाली कसरी शुद्ध लेख्ने’ पुस्तिका अनुसार । वस्तीको कुरामा कमल दीक्षितको पनि चित्त बुझ्यो ।
उनीहरूले के निर्णय गरे भने बालकृष्ण पोखरेललाई फकाएर बदल्न सकियो भने कुरा मिल्छ । उनीहरूले पोखरेललाई मनाए । पोखरेल पनि बदलिए, त्यतिबेलासम्म पोखेरल कम्युनिस्ट थिएनन्, कांग्रेसतिर ढल्किसकेका थिए । २०४० पछि निस्किएको संस्करणमा उनलाई पनि सामेल गरेको वा उनीसँग सर–सल्लाह लिएको भए आफूले हुर्काएको वृक्ष (शब्दकोश)लाई जोगाउनमै उनी दृढ हुन्थे तर त्यसो गरिएन । उनको भावनाको बेवास्ता गरेर प्रज्ञा प्रतिष्ठानले हिज्जे मनपरी बदलिदिएपछि बालकृष्ण पोखरेलको चित्त दुखेको हुनुपर्छ । त्यसपछि नै उनी कमलमणि दीक्षित, वस्तीसँग सहमत हुन पुगेका हुन् । ‘मैले शब्दकोशमा हिज्जे परिवर्तन गरेर पाप गरेँ, आजदेखि पखालेँ’ भन्ने अवस्थामा पोखरेल पुगे । त्यसपछि नेपाली भाषा प्रयोगकर्ता समूहको ‘नेपाली कसरी शुद्ध लेख्ने’ भन्ने पुस्तिका आयो, २०६९ मा ।
- क्षतिपूर्ति दीर्घीभवन र संयुक्ताक्षर
वल्लभमणि दाहालले हेमाङ्गराज अधिकारीलाई सुरुदेखि नै अनिवार्य नेपाली विषय समितिको सदस्य बनाउँथे । हेमाङ्गराज अधिकारी कम्युनिस्ट होइनन् तर उनी बालकृष्ण पोखरेल, वल्लभमणि पोखरेलहरूले बनाएको २०४० सालको शब्दकोशकै पक्षमा छन् ।
नेपाली भाषाको हिज्जे परिवर्तन वा बहसहरूमा म पनि साक्षी छु । मेरो जानकारीमा भए अनुसार, यो शब्दकोशमा हिज्जे परिवर्तनको एउटा नियम पनि अधिकारीले बनाएका छैनन् । दुईवटा कुरा उनले गरे ।
पहिले क्षतिपूर्ति दीर्घीभवन भन्ने थियो । यो भनेको के भने संस्कृतको दुग्धबाट दूध बनेको हो, नेपालीमा यो शब्द आउँदा दुध भयो तर बिचको आधा ग (ग्) उड्यो, ग शब्द नरहेको क्षतिपूर्ति स्वरूप अगाडिको अक्षर दीर्घ लेख्ने नियम (जस्तो : दूध) नै क्षतिपूर्ति दीर्घीभवन हो । यस्तै, ‘तिक्त’बाट ‘तीतो’ बनेको थियो, यसमा पनि बिचको आधा क (क्) उडेको छ । क्षतिपूर्ति दीर्घीभवनको नियम हटाउन हेमाङ्राज अधिकारीको भूमिका छ । क्षतिपूर्ति स्वरूप लेखिने दीर्घ हट्यो, जस्तो : ‘तीतो’लाई ‘तितो’ लेखिन थालियो ।
अर्को २०६९ सालमा नयाँ ‘नेकशुले’ (नेपाली कसरी शुद्ध लेख्ने) भनेर कमलमणि दीक्षितले, खासगरी पाठ्यक्रम विकास केन्द्रको शैली पुस्तिकाको विरोधी समूहले पुस्तिका निकाल्यो, जुन मदन पुस्तकालयले जारी गरेको छ ।
दिनानाथ शर्मा शिक्षा मन्त्री हुँदा पाठ्यक्रम विकास केन्द्रको जुन शैलीपुस्तिका आयो, त्यसमा यी नियमहरू परेपछि विवाद बढ्यो, अदालतमा मुद्दा नै पर्यो । आधारभूत रूपमा हिज्जे विवादको कथा यही नै हो ।
यतिखेर ‘नेपाली कसरी शुद्ध लेख्ने’ (नेकशुले) भनेर दुइटा पुस्तिका भए । एउटा १९९२ सालको जुद्धशमशेरको पालाको, जसमा सबैभन्दा बढी काम बालकृष्ण सम र पुष्कर शमशेरले गरेका थिए । यसको कथा के हो भने, १९७० सालमा (चन्द्रशमशेरका पाला) गोर्खा भाषा (गोभा) प्रकाशिनी समिति बनेको थियो । यस समितिबाट छापिने पुस्तकमा एक प्रकारको हिज्जेको नियम चाहियो, लेखाइमा अनेकरूपता हुनुभएन । एकरूपता ल्याउनकै लागि १९९२ सालमा ‘नेकशुले’ आएको थियो । राणाशासन भएकाले त्यसलाई सबैले माने, त्यतिबेला त्यसको विरोधमा कोही विद्वान् निस्केनन् । त्यतिबेला त साइनबोर्ड राख्न पनि गोभा समितिलाई जँचाउनुपथ्र्यो । त्यतिबेला एकजनाले कपाल काट्ने सैलुनको नाम ‘गणेश एन्ड ब्रदर्स’ राख्न चाहेका थिए । गोभा समितिले त्यस्तो हुँदैन भनी ‘गणेश र भाइहरू’ बनाइदियो । यो प्रसंग ‘जनकलाल शर्माका संस्मरण’ भन्ने पुस्तकमा छ ।
अर्को २०६९ सालमा नयाँ ‘नेकशुले’ (नेपाली कसरी शुद्ध लेख्ने) भनेर कमलमणि दीक्षितले, खासगरी पाठ्यक्रम विकास केन्द्रको शैली पुस्तिकाको विरोधी समूहले पुस्तिका निकाल्यो, जुन मदन पुस्तकालयले जारी गरेको छ ।
पञ्चायतकाल जुद्धशमशेरको जस्तो कडा थिएन, अलि मत्थर थियो तर पनि राजाको शासन थियो । एकेडेमीका संरक्षक वा कुलपति राजा नै हुन्थे । त्यसैले २०४० सालको शब्दकोशको विरोध भएन । अहिले ०६२/६३ को आन्दोलनपछि कुनै पनि कुरा स्थापित हुन पाएको छैन, जेमा पनि झगडा भइहाल्छ ।
- नेपाली उच्चारण
अंग्रेजी वा संस्कृतमा उच्चारण नमिल्दा अर्थ नै परिवर्तन हुन्छ तर नेपालीमा त्यस्तो छैन । तितो भने पनि उही हो, तीतो भने पनि उही हो । त्यसैले नेपालीमा अगाडि र बिचमा सबै ह्रस्व लेख्ने; पछाडि छुन सकिने चिज भए दीर्घ लेख्ने र छुन नसकिने चिज भए ह्रस्व लेख्ने । जस्तो : पानीलाई छुन सकिन्छ र दीर्घ लेखियो, ‘पनि’ छुन सकिने विषय भएन र ह्रस्व भयो ।
मैले नै नेपालका ६९ वटा अलिखित भाषाको वर्णमाला बनाएको छु । त्यहाँ भने उच्चारण अनुसार ह्रस्व–दीर्घ छ तर नेपालीमा उच्चारण अनुसार हिज्जे हुँदैन, नेपालीको हिज्जेभित्र कुनै नियम छैन तर जे विवाद भइरहेको छ, यो एक प्रकारको जुँगाको लडाइँजस्तो मात्रै हो ।
अरुका शब्द ल्याएर हाम्रो भाषामा प्रयोग गर्दा त हाम्रै ढंगले उच्चारण गरिन्छ ।
यहाँको प्रश्नजस्तै यसमा जुँगाको लडाइँ गर्नुपर्दैन भन्ने मेरो तर्क के हो भने, २०४० सालको शब्दकोशको विरोध भएको थिएन, ०५७ मा आएर विकल्प (हेर्नुस् भनी आगन्तुक शब्दलाई जस्ताको तस्तै लेख्ने विकल्प) झिकिदिएपछि विवाद सुरु भएको हो । अहिले त शब्दकोशमा विकल्प छन्, त्यसैले विरोध गर्नुपर्ने कारण छैन ।
जहाँसम्म शहीद वा सहिद, शहर वा सहर, गरिब वा गरीब आदि आगन्तुक शब्दमा तालव्य–दन्त्य र ह्रस्व–दीर्घ उच्चारण छ; नेपाली जनजिब्रोले यसलाई पछ्याइरहेको छैन । सामान्यतः नेपाली जनजिब्रोले दन्त्य र ह्रस्व नै उच्चारण गर्छन् । अर्को कुरा, कुनै पनि मातृभाषाका शब्दलाई हामीले उनीहरूले जसरी नै उच्चारण गर्न सक्दैनौँ, उनीहरूको आफ्नै किसिमको उच्चारण र लबज हुन्छ । चिनियाँ भाषामा ‘मा’ चार किसिम वा लबजले उच्चारण हुन्छ र अर्थ फरक–फरक दिन्छन् । उनीहरूको एउटै ‘मा’ले आमा, गाजा, घोडा र गालीको अर्थ दिन्छ ।
अरुका शब्द ल्याएर हाम्रो भाषामा प्रयोग गर्दा त हाम्रै ढंगले उच्चारण गरिन्छ । जस्तो : अंग्रेजीमा ‘स्कूल’ भयो, तर नेपाली भाषामा आधा स र पूरा क मिलेर बनेको शब्दै छैन । त्यसैले नेपालीकरण भएर उच्चारणमा ‘इस्कुल’ हुन्छ । संस्कृतको ‘स्नान’ पनि ‘इस्नान’ हुन्छ । यसरी नेपाली उच्चारणमा आउँदा ‘इ’ थपिनुपर्ने भयो । जहिले पनि अर्काको भाषा आफ्नो भाषामा ल्याउँदा ‘नेटिभाइजेसन’ (जातीयकरण वा मूल निवासीकरण) हुन्छ ।
- एकरूपता कसरी ?
जहाँसम्म एकरूपताको कुरा छ, यसमा सबैभन्दा पहिले सञ्चारमाध्यमहरूले अभ्यास थाल्नुपर्छ, एक र अर्कोको मानक वा शैली–पुस्तिका फरक हुनुभएन । अखबार वा सञ्चारमाध्यमबाट भाषा र व्याकरण छिटो नागरिकसम्म पुग्छन् । भाषा र व्याकरण बनाउनदेखि बिगार्नसम्म सञ्चारमाध्यमको विशेष भूमिका हुन्छ । पहिले कान्तिपुरले ‘भन्दा’ शब्द झिक्ने अभ्यास गर्यो । जस्तो : ‘दुई सय बढी माओवादी लडाकु मारिए’ लेख्न थाल्यो । यसले त यतिजना मर्नैपर्नेमा त्योभन्दा दुई सय बढी मारिए भन्ने अर्थतिर लैजान्छ । ‘दुई सयभन्दा बढी मारिए’ भनेको भए स्पष्ट हुन्थ्यो । मैले ‘भन्दाबिनाका पदावली’ शीर्षकमा कान्तिपुरमा आलेख लेखेको थिएँ । अझै पनि कतिले ‘भन्दा’ झिकेर लेखेकै छन् ।
अहिले मानक शब्दकोश बनाउन पहिलेजस्तो गाह्रो छैन, अहिले कम्प्युटरले बनाउँछ ।
अर्को कुरा, कारणको प्रयोग पनि सही छैन । ‘त्यो मान्छे लड्नुको कारण रक्सी हो’ लेखियो, यो ठिक छ तर आजको अखबारी भाषामा ‘रक्सीका कारण मान्छे लड्यो’ भनेर लेखिन्छ । रक्सीका कारण मान्छे लडेको होइन, मान्छे लड्नुको कारण पो रक्सी हो । यसरी सञ्चारमाध्यमहरूले भाषा बिगारिरहेका छन् । खगेन्द्र संग्रौलाले ‘र’पछि अल्पविराम दिएर वाक्य सुरु गर्छन् । ‘र’ संयोजक हो, अंग्रेजीमा पनि ‘एन्ड’पछि कमा दिइँदैन तर खगेन्द्र संग्रौलाले लेखे, उनका कतिपय पाठकले त्यही ठिक माने ।
हिज्जेमा एकरूपता ल्याउन सजिलो उपाय भनेकै सहमति गर्दै अगाडि बढ्नु हो । लेखकहरू, प्रकाशन गृहहरू (सरकारी वा निजी), सञ्चारमाध्यमहरू, विश्वविद्यालयका गुरुहरू, सम्बन्धित सरकारी निकायहरू मिलेर एकरूपतामा जाने सहमतिका लागि गोलमेच नै गर्नुपर्छ ।
अहिले मानक शब्दकोश बनाउन पहिलेजस्तो गाह्रो छैन, अहिले कम्प्युटरले बनाउँछ । पछिल्लो समय प्रकाशित पुस्तकहरूको वर्डफाइलदेखि अनलाइनमा रहेका थुप्रै सामग्रीको एकै घान बनाउँ र कम्प्युटरलाई छान्न दिउँ । कम्प्युटरलाई फ्रिक्वेन्सीका आधारमा ‘गरिब’ र ‘गरीब’मध्ये एउटा छान भन्न सक्छौँ । उसले एउटा छान्छ, त्यसैमा सहमति गरौँ, थप विद्वता नछाटौँ । एकरूपताका लागि एउटा उपाय यो हुन सक्छ तर शब्दकोशमा भने दुवै (मूल र नेपालीकरण भएका) शब्द राख्नुपर्छ किनभने शब्दका बारेमा पाठकले जानकारी पाउनुपर्छ ।
(प्रा.डा. पोखरेलसँग रातोपाटीकर्मी ध्रुवसत्य परियारले गरेको संंवादमा आधारित ।)