पाइला मेटिए पनि दिलैमा छ दार्खा
दार्खा, मेरो जन्मभूमि । मैले पहिलोपल्ट धर्ती टेकेको र धर्ती मात्र होइन, जूनघामसमेत पहिलोपल्ट देखेको ठाउँ ।
मेरो हजुरबा घनश्याम सिम्खडाको हजुरबा गोपीलाल छिमेकी गाउँ (वर्तमानको गङ्गा जमुना गाउँपालिकास्थित) साल्दुमबाट आफ्ना छोरा रामनाथसहित दार्खामा बसोबास गर्न आउनुभएको रहेछ, जहाँ हजुरबा घनश्यामका साथै बुबा बाबुराम सिम्खडा र मेरो जन्म भयो । दार्खामा तीन पुस्ता– गोपीलाल, रामनाथ र घनश्यामको मरण भयो । यसरी पाँच पुस्तामध्ये दार्खामा जन्मेर दार्खामै मर्ने चैँ मेरो हजुरबा घनश्याम मात्र । २०३९ साल फागुनको एउटा सुनौलो बिहानमा हामी स्वेच्छाले दार्खा छाडेर बाराको जितपुर सिमरामा बसाइँ सरेका थियौँ । दुई दशकपछि हामी त्यहाँबाट पनि काठमाडौँ सर्यौँ । त्यसैले बुबा र मैले अब दार्खामा मृत्युवरण गर्ने स्थिति नआउला !
हामीले छोड्दा दार्खा स्वतन्त्र स्थानीय निकाय थियो– दार्खा गाउँ पञ्चायतको नाममा । त्यसपछि म दुईपल्ट पुगेँ दार्खा, २०४७ र २०५१ सालमा । त्यतिखेर पनि दार्खा स्वतन्त्र स्थानीय निकाय नै थियो– दार्खा गाउँ विकास समितिको नाममा ।
मध्य धादिङका गाउँहरू सलाङसँगै नलाङको, खरीसँगै मैदीको, ढोलासँगै पुर्सुको नाम जोडेर सलाङ–नलाङ, खरी–मैदी, ढोला–पुर्सु भनिएजस्तै उत्तरी धादिङका लापा र खादिङ, सेर्तुङ र तिप्लिङ अनि दार्खा र खनियाबासको नाम पनि संयुक्त रूपमै लिइन्छ; लापा–खादिङ, सेर्तुङ–तिप्लिङ, दार्खा–खनियाबास भनेर । राज्यको पछिल्लो पुनर्संरचनापश्चात् दार्खा स्वतन्त्र स्थानीय निकायको रूपमा पनि रहेन, संयुक्त रूपमै नाम लिइने खनियाबास गाउँपालिकामै समेटिएकोछ !
स्वतन्त्र स्थानीय निकायको रूपमा नरहे पनि अनि मैले झन्डै तीन दशकदेखि त्यो रमणीय भूमि नटेके पनि मेरो दिलमा भने हरदम रहेको छ दार्खा ।
०००
यात्रा नै त हो जिन्दगी, हामी एउटा यात्रामा थियौँ । साङकोसमा ठुल्दिदीकहाँ बास बसेका थियौँ— मेरा मित्र गोपाल गुरागाईं र म । गोपालजी अहिले उज्यालो नेटवर्कको अध्यक्ष छन् ।
ठुल्दिदीको घरबाट बिहान सखारै बाटो लाग्यौँ हामी, मेरो जन्मभूमि दार्खाका लागि । दार्खा पुग्न दिनभरि हिँड्नुपर्थ्यो, अहिलेजस्तो सडक सुविधा थिएन ।
पचघरे पुगेर चिया खाँदै थियौँ । रेडियो नेपालबाट बिहान ७ बजेको समाचार आयो । वीर अस्पतालमा उपचाररत ५१ वर्षीय नारायणगोपालको अघिल्लो रात (२०४७ मङ्सिर १९ गते राति ९ बजे) निधन भएछ l उफ् !
नेपाली साङ्गीतिक आकाशको ध्रुवतारा दैहिक रूपमा अस्ताएको सुन्दा मैले झलझली सम्झिएँ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना र नारायणगोपालको स्वरको गीत:
‘ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ।’
गोपालजी र म खिन्न मनसहित बाटो लाग्यौँ । पचघरे र सेउले बजारबिचको भञ्ज्याङको देउरालीमा नारायणगोपालको नाममा हामीले पातीको मुन्टा चुँडेर चढायौँ । त्यतिखेर रेडियो नेपालबाट पनि नारायणगोपालकै गीत प्रसारण भइरहेको पो थियो कि ?
‘दुइटा फूल देउरालीमा साथै राख्यौँ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ... ।’
सल्लाघारीको बिचैबिच छ, सेउलेबजारदेखि केरुन्जासम्मको बाटो । हामी नारायणगोपालका बारेमा कुरा गर्दै थियौँ, सल्लाले विरह सुसाइरहेको थियो ।
केरुन्जा डाँडा पुग्यौँ हामी । त्यहाँबाट उत्तरतिर गणेश हिमाल फेदको दार्खा गाउँ देखिन्छ । मैले गोपालजीलाई हाम्रो गन्तव्य त्यही हो भनेर देखाएँ ।
‘तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो, वनकुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा ।’
युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मस्थल ओखलढुङ्गाको महिमागान लेखेजस्तै मैले दार्खाको लेख्न त सक्तिनथेँ । माटोको माया ओतप्रोत त्यो कवितालाई नारायणगोपालले मथिङ्गल नै हल्लाउने गरी गाएझैँ दार्खाको गीत गाउन पनि असमर्थ थिएँ म। त्यसैले टाढाबाटै किन नहोस्, वर्षौंपछि देखेको मेरो प्यारो दार्खालाई प्रणाम गरेँ ।
केरुन्जा डाँडाबाट दार्खा तरत्त देखिए पनि बाटो लामो थियो । बाटो काट्ने क्रममा महाभारतदेखि हिमालयसम्म फैलिएको एकमात्र जिल्ला धादिङका विशेषताहरू मैले जे जानेबुझेको थिएँ, गोपालजीलाई बताएँ ।
बाटोबाट सल्यानकोट देखिँदा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’मा समेत उल्लेख भएको कोटकी भगवती त्रिपुरासुन्दरीको महिमागान र न्वागी जात्रामा हुने रौनक सुनाएँ ।
राजा महेन्द्रले २०१७ सालमा सैन्यबलमा संसदीय व्यवस्था अपदस्थ गर्दा बनाएको एउटा निहुँ, मेरै घर–परिवार र गाउँसमेत प्रभावित भएको ‘पश्चिम १ नम्बर लुटपाट काण्ड’को बेलिबिस्तार पनि लगाएँ ।
सल्लाघारीको बिचैबिच छ, सेउलेबजारदेखि केरुन्जासम्मको बाटो । हामी नारायणगोपालका बारेमा कुरा गर्दै थियौँ, सल्लाले विरह सुसाइरहेको थियो । केरुन्जा डाँडा पुग्यौँ हामी । त्यहाँबाट उत्तरतिर गणेश हिमाल फेदको दार्खा गाउँ देखिन्छ । मैले गोपालजीलाई हाम्रो गन्तव्य त्यही हो भनेर देखाएँ ।
गोपालजीबाट मैले भूमिगतकालीन नेकपा मालेको अन्तरङ्ग कहानीहरू सुन्न पाएँ । केही महिनाअघि मात्र ‘पार्टी प्रवक्ता’का रूपमा प्रकट भएका मदन भण्डारी भर्खरभर्खरै मालेको महासचिव भनी चिनिएका थिए ।
मदन भण्डारी र विद्या पाण्डेको विवाह प्रसङ्ग पनि गोपालजीबाट सुनेँ । त्यतिबेला विद्या–मदनको विवाहबारे जानकार थोरै मान्छेमध्ये एक रहेछन् उनी ।
गोपालजी भोजपुरको, विद्या पनि भोजपुरकी । पढाइको सिलसिलामा दुवै विराटनगरमै । ताप्लेजुङबाट मोरङ बसाइँ सरेका मदन भूमिगत रूपमा विराटनगरमा नै सक्रिय । उनीसँग पनि हिमचिम रहेछ गोपालजीको । त्यहीबेला विद्या–मदनको जनवादी शैलीमा विवाह भएको रहेछ ।
पछि माले र मार्क्सवादी मिलेर बनेको नेकपा एमालेको पनि महासचिव बने मदन । नेपाली कांग्रेसका कार्यवाहक सभापति एवं अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौँ–१ को चुनावमा हराएर तहल्का मच्चाएका मदन २०५० जेठ ३ गते चितवनको दासढुङ्गानेर त्रिशूलीमा खसेको जिप दुर्घटनामा मारिए ।
त्यसयता नेपालको राजनीतिमा धेरै ‘त्रिशूली’ बगे । माओवादी जनयुद्ध र संयुक्त जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते गणतन्त्र नेपाल घोषणा भयो । रामवरण यादवपछि मदनकी जीवन सङ्गिनी विद्या दोस्रो राष्ट्रपति बनिन् र अहिले दोस्रो कार्यकाल समेत पूरा गरी अवकाशको जिन्दगी बिताइरहेकी छन् ।
अँ, त्यो साँझ हामी लखतरान हुँदै दार्खा पुग्यौँ । कुनैबेला गाउँको सिरानका कुरी र बिर्चेतदेखि पुछारको किन्ताङफेदीसम्मका जग्गाजमिन अनि घर सबै नै अब केवल स्मृतिशेष थिए l त्यसैले कृष्णकाकाको स्वामित्वमा रहेको मेरो जन्मघरमा बास बस्यौँ हामी।
दार्खा दोभानस्थित हाम्रो मरणघाटमा एउटा लासको खुट्टा गणेशकुण्डदेखि बग्दै आएको आँखु खोला (नेत्रावती नदी) को पानीमा चोपलेर राखिएको रहेछ । चिता पनि तयार रहेछ । अनि मलामीहरू कवि माधव घिमिरेको रचना र नारायणगोपालको स्वरमा रहेको गीत कोरस गाइरहेका थिए–
‘आजै र राति के देखेँ सपना मै मरी गएको
बतासबिनु हाँगाको फूल भुइँ झरी गएको ।
मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादलभित्र म रोइरहेको... ।
गीत पूरा हुँदानहुँदै म झसङ्ग ब्युँझिएछु । त्यो लास मेरै थिएछ रे ! तर आफ्नै जन्मभूमिमा म मरेको, पुर्ख्यौली मरणघाटमा सद्गत हुन लागेको र मलामीले नौलो शैली अपनाएर कोरस गीत गाएको त्यो सपना मलाई रमाइलो पो लाग्यो !
०००
बिहान खाना खाएर गोपालजी र म पनि कृष्णकाकासँगै घरमाथिको गणेशकुण्ड स्कुलमा गयौँ ।
मेरो हजुरबा ४१ वर्षको हुँदा उहाँले नौ वर्षकी बालिकालाई कान्छी श्रीमती बनाएर भित्र्याउनुभएको रे ! ती बालिका हुर्केर जन्मिनुभएका मेरा बुबा २०१७ सालको पश्चिम १ नम्बर लुटपाट काण्ड हुँदा मोरङ माल अड्डाको जागिरे हुनुहुँदो रहेछ । जेठी हजुरआमापट्टिका बाहरू छुट्टाभिन्न भएर अर्कै गाउँ (धोकलपुर)मा बसोबास गर्न जानुभएको रहेछ । घरपरिवार त्यस्तो विपत्मा परेका बेला जेठोबाठो छोरा जागिर खाएर हिँड्न मिल्दैनथ्यो, उहाँ मालको जागिर छाडेर घर–व्यवहार सम्हाल्न गाउँ फर्कनुभएछ । हो, त्यसैबेला मेरो बुबाको अगुवाइमा खोलिएको रहेछ, गणेशकुण्ड स्कुल ।
बुबाले त्यो कार्यमा गाउँका गन्यमान्य हेमप्रसाद सिम्खडा, पञ्चसिंह वाइबा, भोजप्रसाद सिम्खडा, मानबहादुर सापकोटा, खड्गप्रसाद सिम्खडा, टङ्कबहादुर पौडेल, भीमबहादुर सिम्खडा, दुर्गप्रसाद सिम्खडा, जितमान तामाङ (थुम्बुली), वीरबहादुर तामाङ (ग्याम्दी)को सरसल्लाह र गाउँलेको समेत साथ–सहयोग जुटाउनुभएछ । भोजप्रसाद सिम्खडाले गाउँको बिचमा रहेको दामी जग्गा सित्तैँमा दिनुभएछ । अन्य गन्यमान्य र सर्वसाधारणले पनि जे सक्दो नगद र जिन्सी सरसहयोग गरेछन् ।
त्यसरी २०१८ साल पुसमा खुलेको गणेशकुण्ड प्राथमिक स्कुल अहिले उच्च माध्यमिक विद्यालय बनिसकेको छ । तर त्यतिबेला गणेशकुण्ड स्कुल प्राथमिक नै थियो ।
गोपालजीलाई हाम्रो गाउँघर मन प-यो । हामी तीन–चार दिन त्यहीँ बसेर नेपाल वातावरण पत्रकार समूहका लागि केही ‘स्टोरी’ तयार पार्यौँ ।
थपमा गोपालजीले एक रोचक पात्र (गोरखा मसेलका तर मामाघरकै आश्रयमा रहनुभएका मेरो भानिजबा टङ्कप्रसाद ढकाल)माथि एक ‘स्टोरी’ लेखे, जुन पछि ‘प्रतिपक्ष’ साप्ताहिकमा छापियो ।
हाम्रा पुर्खाले घरनजिकै एउटा ठुलो पखेरो नुन छरेर गौचरण बनाएका रहेछन्, जसलाई हामी बाँझो बारी भन्थ्यौँ । बाँझो बारीलाई पहिरोले दाह्रेको थियो । गोपालजी र मैले त्यस ठाउँमा वृक्षरोपण गर्न गाउँका गन्यमान्य पञ्चसिंह वाइबा र मेरा माइलाबा हरिप्रसाद सिम्खडालाई उक्सायौँ ।
तीन व्यक्ति (रामेछापका नवराज सुवेदी, रोल्पाका बालाराम घर्ती मगर र धादिङका ‘मिस्टर’ हरिबहादुर थापा)ले निरन्तर राष्ट्रिय पञ्चायत सदस्य रहेर पञ्चायतको रजत जयन्ती मनाउन पाएका थिए । तर १०१९ सालमा भएको पहिलो राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा पञ्चसिंह ठुलोबा ‘मिस्टर’ थापासँग दुई भोटले नहार्नुभएको भए इतिहासको यो घटना मात्र होइन, धादिङको राजनीतिक इतिहास पनि बेग्लै रूपमा लेखिन्थ्यो होला ।
माथियास क्रिगर आफ्नो युनिभर्सिटी पढाइका क्रममा स्थानीय तहमा शक्ति हस्तान्तरण (विकेन्द्रीकरण) मा नेपाली अभ्यासको बारेमा थेसिस लेख्न आएका थिए । उनले छानेका नेपालका २१ वटा स्थानीय निकायमध्ये दार्खा पनि एक थियो ।
हामी सानो छँदा पञ्चसिंह ठुलोबा प्रधानपञ्च हुनुहुन्थ्यो । पञ्चायत भवन बनेको थिएन, गाउँमा कुनै समस्या आउँदा वा गाउँलेबिच झैझगडा हुँदा हाम्रै घर आँगनमा पञ्चायती बस्थ्यो, न्याय–निसाफ हुन्थ्यो । वास्तवमा पञ्चसिंह ठुलोबा ‘डी जुरे’ प्रधानपञ्च र ‘डी फ्याक्टो’ प्रधानपञ्च मेरो बुबा नै हुनुहुन्थ्यो भन्न मिल्थ्यो । पटकपटक प्रधानपञ्च भए पनि पञ्चसिंह ठुलोबा प्रजातान्त्रिक आन्दोलनमा लाग्न पुग्नुभएको थियो ।
बीपी कोइराला २०३३ पुस १६ मा ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर भारत प्रवासबाट स्वदेश फर्किए पनि राजाको सक्रिय नेतृत्वको पञ्चायती सरकारले बीपीविरुद्ध मृत्युदण्डसमेत हुनसक्ने सातवटा मुद्दा लगायो । त्यसैमध्ये एक मुद्दामा पञ्चसिंह ठुलोबा पनि प्रतिवादी हुनुहुन्थ्यो । यो मुद्दामा पञ्चसिंह ठुलोबासँगै दार्खाकै टेकबहादुर तामाङ पनि मुछिएका थिए । प्रजातन्त्रका लागि प्रवासी जीवन बिताइरहेका दामन पाख्रिनको साक्खै साला भए पनि टेकबहादुर जनमत सङ्ग्रहमा बहुदलको पक्षमा लागेनन्, निर्दल जिताउन लागिपरे । दार्खाकै डा. शम्भुराम सिम्खडा दाइ राजदूत हुनुभयो तर राजनीतिमा लागेर सबैभन्दा ठुलो ओहदामा पुग्ने दार्खाली भने टेकबहादुर नै हुन् । उनी २०४३ सालको स्थानीय निर्वाचनमा धादिङ जिल्ला पञ्चायतको उपसभापति निर्वाचित भए । जनपक्षीय उम्मेदवार बनेर सभापति जितेका राजेन्द्रप्रसाद पाण्डे निलम्बनमा परेपछि टेकबहादुरले नै कार्यबाहक सभापति भएका थिए ।
बीपीले सातवटै मुद्दा जितेकाले पञ्चसिंह ठुलोबालाई पनि हाइसन्चो भएको थियो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्स्थापना भएपछि गाउँमा पञ्चसिंह ठुलोबाको प्रतिष्ठा झनै बढेको थियो ।
०००
प्रतिनिधि मण्डलका सदस्यहरूले परिचय दिँदै जाँदा केहीले आफ्नो थर सिम्खडा बताएपछि, नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाले बिचैमा भने रे, ‘धादिङका सिम्खडाहरूमा दुईजना केटा मात्र कांग्रेस थिए, होइन र ?’
कांग्रेसको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनले निर्दलीय पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था पुनर्स्थापना गराएपछि पूर्वपञ्चहरू कांग्रेसमा प्रवेश गर्ने लहरै चलेको थियो । तिनलाई त्यतिखेर ‘चैते कांग्रेस’ भनिन्थ्यो । धादिङ कांग्रेसको त्यो प्रमण्डलमा त्यस्ता ‘चैते’हरू पनि रहेछन् ।
त्यो भेटमा सहभागी तत्कालीन तामाङखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण सिम्खडाले सुनाउनुभयो, ‘खै गोरु जुधाउने ती दुई सिम्खडा केटा आएका छैनन् भनेर सोध्नुसमेत भयो गिरिजाबाबुले ।’
हो, २०३७ सालको हिउँदमा शैलेन्द्र सिम्खडा र मैले एउटा कार्यक्रम सफल पार्ने जुक्तिका रूपमा हाम्रो गाउँ दार्खामा गिरिजाबाबुलाई गोरु जुधाएर देखाएका थियौँ । तर २०४७ सालको त्यो प्रमण्डलमा हामी सामेल थिएनौँ । त्यतिखेर शैलेन्द्र सिम्खडा कलाकारितामा हुनुहुन्थ्यो, म पत्रकारितामा ।
सुविख्यात कलाकार एवं हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिम्खडा पछि नेपाल प्रज्ञा प्रतिष्ठानको नाटक विभागको निर्देशक हुनुभयो र अहिले अवकाशको जिन्दगीमा पनि कला र साहित्यकै क्षेत्रमा समर्पित हुनुहुन्छ ।
शैलेन्द्र सिम्खडा कान्छाका नाति, म जेठाको पनाति । नाताले काका–भतिज तर जन्म केही महिनाको मात्र अन्तर । उहाँ भरतशमशेर राणा दलबलसहित घोडा चढेर चुनाव प्रचारका लागि दार्खा पुगेकै दिन जन्मनुभएको र म त्यसको नौ महिनापछि पहिलो जननिर्वाचित सरकार बीपी कोइरालाको शासनकालमा । घर पनि वल्लो र पल्लो । मामाघरसमेत एकाघर, नुवाकोट तारुकाको चन्दनी मुन्तिरको आमचौर गाउँको बाँकेघर, हाम्रो मामाघर । बाबु उहाँको मामा, छोरा मेरो मामा । उहाँको आमा फुपू, मेरी आमा भदै ।
हामी दुवै कांग्रेस कार्यकर्ता परिवारको सदस्य । उहाँको दाइ तुलसीप्रसाद सिम्खडा र मेरो बुबा बाबुराम सिम्खडा दुवै २०१५ सालमा भएको आमचुनावमा नेपाली कांग्रेसको प्रचारक, चारतारे झन्डा बोकेर रुखलाई भोट माग्दै हिँड्नुभएका । तत्कालीन १०७ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार जगतप्रकाशजङ्ग शाह (त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नवीनप्रकाशजङ्ग शाहका पिता) र अर्को शक्तिशाली पार्टी गोर्खा परिषद्का अध्यक्ष भरतशमशेरको भिडन्त भएको रहेछ । चुनाव भरतशमशेरले जितेछन्, जो संसद्मा प्रमुख प्रतिपक्षी नेतासमेत बने । त्यहाँ हारे पनि १०९ क्षेत्रमध्ये ७४ क्षेत्रमा जितेर कांग्रेसले सरकार बनाइएछ ।
तर हामी आफ्नै पार्टीको सरकार रहेका बेला भएको पश्चिम १ नम्बर लुटपाट काण्डका पीडित । शिशुकालमै आन्तरिक शरणार्थी, एक–डेढ वर्ष नपुग्दै वयस्कहरूसँगै कैदी बनाइएका । २०१७ साल पुस १ गते राजा महेन्द्रले सैन्यबलमा जननिर्वाचित प्रधानमन्त्री बीपीलाई जेलमा कोचेपछि हामी चैँ जेलमुक्त ।
हामीले बाल्यकालका रमाइला दिनहरू सँगै बितायौँ, किशोर वयका उपद्रवहरू सँगै गर्यौँ । सँगसँगै डाँडापखेरा चहार्यौँ, घामपानी बेहोर्यौँ । सँगै मेला भर्यौँ, जात्रा हेर्यौँ । गणेशकुण्ड प्राथमिक विद्यालयमा सँगै पढ्यौँ । सँगै कांग्रेसलाई सराप्यौँ, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ सँगसँगै पढ्यौँ । हामी माध्यमिक शिक्षाका लागि २०३० सालमा काठमाडौँ पनि सँगै आयौँ । दसैँमा घर जाँदा गणेशकुण्ड स्कुलको प्राङ्गणमा सँगै नै नाटकसहितका सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गर्यौँ । कतिसम्म भने उही क्या सलाङ–नलाङ, खरी–मैदी, दार्खा–खनियाबास भनेजस्तै मान्छेहरू हामीलाई जिबेन्द्र–शैलेन्द्र वा शैलेन्द्र–जिबेन्द्र नै भन्थे ।
राजनीति बुझिनसक्नुको हुन्छ । २०१८ सालमा भारत प्रवासबाट सशस्त्र क्रान्ति चलाउने सुवर्णशमशेर २०२५ सालमा ‘राजालाई सभक्ति सघाउने’ वक्तव्य निकालेर स्वदेश फर्केछन् । त्यही वक्तव्यको समर्थन गर्दै कारामुक्त भएका बीपी र गणेशमान सिंह चाहिँ भारत प्रवासमा गएछन् । प्रजातन्त्र पुनर्स्थापनाका लागि सशस्त्र क्रान्तिको नीति लिएछन् ।
त्यो नीति कार्यान्वयनका क्रममा विराटनगरबाट ३० लाख भारतीय रुपियाँ बोकेको प्लेन अपहरण गर्न सफल भए पनि ओखलढुङ्गा आक्रमणमा व्यापक क्षति बेहोर्नुपरेछ भने दार्खा–खनियाबासमा फेरि लुटपाट गर्ने योजना पनि गर्भमै तुहिएछ ।
समग्रमा सशस्त्र सङ्घर्ष असफल भएपछि २०३३ साल पुस १६ गते बीपी र गणेशमान पटनाबाट ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएछन् । तर हवाईजहाज ल्यान्ड हुनेबित्तिकै बीपी र गणेशमानलाई गिरफ्तार गरेर सुन्दरीजल जेलमा लगिएछ र विशेष अदालत गठन गरेर मृत्युदण्डसमेत हुनसक्ने अभियोगका सातवटा मुद्दा लगाइएछ ।
त्यसैताका स्याङ्जाका भूपति ढकाल ‘कमल’ र डिल्लीरमण ढकाल तथा सङ्खुवासभाका सुनील दाहाल (२०१५ सालको आमनिर्वाचनमा धनकुटा र सङ्खुवासभा समेटिएको निर्वाचन क्षेत्रमा सूर्यबहादुर थापालाई हराएका कांग्रेस नेता लीलानाथ दाहालका छोरा)ले निर्दलीय पञ्चायतको निन्दा र प्रजातन्त्रको प्रशंसामा अनेक तर्क र तथ्य सुनाएर हामी स्कुले विद्यार्थी (शैलेन्द्रकाका र म) लाई आफ्नो ‘आस्था’बाट विचलित तुल्याउने प्रयास गरिरहनुभएको थियो । तर हामी पञ्चायतको पक्षमा सतिसाल सरह ठिङ्ग थियौँ ।
जेलमा रहेकै बेला, २०३४ साल जेठमा बीपीले राजा वीरेन्द्रको ‘दर्शन भेट’ पाएछन् । त्यसपछि राजाले बिरामी बीपीलाई खर्चबर्चसमेत दिएर अमेरिका उपचार गर्न पठाए । पञ्चहरूलाई राजाको त्यो उदारता मन परेको थिएन । त्यसैले कात्तिक २३ गते बीपी अमेरिकाबाट भारतको पटना हुँदै काठमाडौँ फर्कंदा विमानस्थलमा विरोध प्रदर्शन गर्ने भयो, त्यो दिन हामी पनि गौचरण गयौँ । भूपतिकाका, रमणदाइ र सुनीलदाइहरू ‘वीर’ बीपीको स्वागत गर्न र हामी ‘अराष्ट्रियतत्त्व’ बीपीलाई कालो झन्डा देखाउन सँगै पुगेका थियौँ त्यहाँ । तर त्यहाँ न हामीले बीपीको विरोध गर्न पायौँ न त उहाँहरूले स्वागत गर्न नै ! पर हवाईजहाज ल्यान्ड हुनेबित्तिकै बीपीलाई गिरफ्तार गरेर फेरि सुन्दरीजल जेलमै लगियो ।
बरु विमानस्थलमा बीपीको स्वागत गर्न पुगेकाहरूमाथि पञ्चायतका मण्डलेले गरेको लछारपछार र हातपात प्रत्यक्ष देखियो। छ्या ! कति घृणित थियो, भक्तपुरका दिनेश श्रेष्ठको मुक्का प्रहारबाट तनहुँका गोपाल पराजुली (जो कालान्तरमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश भए) को दाँत भाँचिएको र रगतको भल बगेको त्यो कुरूप दृश्य ! भूपतिकाका, रमणदाइ र सुनीलदाइहरूले निर्दलीय पञ्चायतको निन्दा र प्रजातन्त्रको प्रशंसामा दिने गरेका अनेकौँ तर्क र तथ्यभन्दा त्यो घीनलाग्दो दृश्य हामीलाई पञ्चायती कित्ताबाट प्रजातान्त्रिक पक्षधर बनाउने प्रमुख कारक बन्यो । त्यो दिनबाट हामीले भूपतिकाका, रमणदाइ र सुनीलदाइका कुरा गम्भीरतापूर्वक लिन थाल्यौँ ।
खोजीनिती गर्दै जाँदा के पनि थाहा पायौँ भने पश्चिम १ नम्बर लुटपाट काण्डको नेतृत्व गरेका बेला दामन पाख्रिन स्वयम् कांग्रेस कार्यकर्ता नभई छुट्टीमा घर आएका भारतीय गोर्खा सैनिक मात्र रहेछन् । सानो झिल्कोले डढेलो लगाउँछ भनेझैँ त्यो लुटपाट घटनाको निहुँ पनि सानै रहेछ ।
खनियाबासमा एकजना रिजालको खेतबाट धान चोरी भएछ । खेतबाट धान चोरेको अभियोग लगाउँदै एक निर्दोष तामाङलाई यातना दिइएछ, जुन हक्की स्वभावका दामनले सहन नसकेर प्रतिवाद गरेछन् । तर खनियाबासका टाठाबाठाहरूले एउटा ‘लाहुरे ठिटो’लाई महत्त्व दिएनछन् । यही इखले दामन छुट्टी सकिए पनि जागिरमा फर्किएनछन् । आफ्ना समुदायका सेक्के तामाङ, काजिमान तामाङ लगायत युवा सङ्गठित गरेर खनियाबासका रिजालहरूमाथि जाइलागेछन् ।
रिजालहरूले प्रशासन गुहारे तर वास्ता गरिएनछ । प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेरको निर्वाचन क्षेत्र भनेर कांग्रेस सरकार तर्किने । भरतशमशेर थोरै सङ्ख्याका रिजालको पक्ष लागेर बहुसङ्ख्यक तामाङलाई चिढ्याउन नचाहने । यही स्थितिको फाइदा उठाएर दामन नेतृत्वको समूहले असारसम्म खनियाबासमा पूरै लुटपाट मच्चाएछ ।
हामीले पश्चिम १ नम्बर लुटपाट काण्ड भएका बखतका प्रधानमन्त्री बीपी कोइराला र गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई पनि भेटेर उक्त घटनाको सत्यतथ्य सम्बन्धमा सोधखोज गर्यौँ । जवाफले चित्त बुझेपछि हामी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)मा आबद्ध भयौँ ।
त्यसपछि वनमा डढेलोको लप्का फैलिएझैँ खनियाबास लुटपाटको लपेटमा छिमेकी गाउँहरू दार्खा, गुम्दी, मार्पाक र टक्सारसम्म परेछन् । (गुम्दीमा भने लुटपाटको नेतृत्व प्रमुख प्रतिपक्षी दल गोरखा परिषद्मा सक्रिय ‘मिस्टर’ हरिबहादुर थापाले गरेका रहेछन् ।) के पनि साँचो हो भने, मुलुकमा जहानियाँ राणाशासन अन्त्य र प्रजातन्त्र आएको एक दशक भए पनि तामाङ बाहुल्य ती गाउँमा सामन्ती शासनका बेला समाजमा हुँदै आएका शोषणको अवशेष बाँकी नै थियो, गरिब गाउँलेहरू धनी किसानहरूको शोषणको चपेटामा परिरहेका थिए । गुम्दी र दार्खामा सिम्खडा, मार्पाकमा अधिकारी, टक्सारमा सापकोटा र खनियाबासमा रिजालहरू धनी किसान थिए ।
अन्ततः पश्चिम १ नम्बरको त्यो लुटपाट घटना राजा महेन्द्रका लागि संसदीय व्यवस्था खारेज गर्ने अनेक निहुँमध्ये एउटा प्रमुख निहुँ नै बन्न पुगेछ ।
२०१७ पुस १ को घटनापछि दामन पाख्रिन पक्राउ परेका र भेटिएजति कांग्रेसका नेता कार्यकर्ता पनि जेलमा कोचिएका । शत्रुको शत्रु मित्र भनेझैँ भएछ । कांग्रेसका नेता कार्यकर्ताको सङ्गतले उनी पनि कांग्रेस बनेछन् ।
हामीले पश्चिम १ नम्बर लुटपाट काण्ड भएका बखतका प्रधानमन्त्री बीपी कोइराला र गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई पनि भेटेर उक्त घटनाको सत्यतथ्य सम्बन्धमा सोधखोज गर्यौँ । जवाफले चित्त बुझेपछि हामी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)मा आबद्ध भयौँ ।
बीसको दशकमा हाम्रा अग्रजहरूले खोलेको पश्चिम १ नम्बर छात्र सङ्घ ब्युँताउने अभियानमा लाग्यौँ हामी । पश्चिम १ नम्बरमा नुवाकोट, रसुवा र धादिङ जिल्ला समेटिन्थे । नुवाकोटका मुकुन्द सिटौला, प्रकाशशरण महत, रामेश्वर उपाध्याय, केदार नर्सिङ केसीहरू, धादिङका हरि अधिकारी, मोहन तिमिल्सिना, तारानाथ गौतम, डीपी अर्याल, बलराम कोइराला, कृष्णप्रसाद पौडेल, शैलेन्द्र सिम्खडा र मलगायत साथीहरू त्रिचन्द्र कलेजमा भेला भएर पश्चिम १ नम्बर छात्र सङ्घ ब्युँतायौँ । सङ्घमा रसुवाको प्रतिनिधित्व हुन सकेको थिएन, नुवाकोटका मुकुन्द सिटौला (जो पछि, २०४९ सालमा भएको स्थानीय निर्वाचनमा नुवाकोट जिल्ला विकास समितिको सभापति चुनिए) अध्यक्ष बने, धादिङको म महासचिव भएँ ।
शैलेन्द्रकाका र म यसरी कांग्रेस समर्थक भएको घटना हाम्रो परिवारमा अस्वाभाविक र अपाच्य थियो नै, सिङ्गै धादिङ जिल्लामा पनि अचम्मका रूपमा लिइयो । कुकुर भुक्दै गर्छ, हात्ती लस्किरहन्छ भनेझैँ हामी पञ्चायतविरोधी आन्दोलनमा लागिरह्यौँ । शैलेन्द्रकाका सडक कविता क्रान्तिमा विशेष सक्रिय हुनुभयो भने म विद्यार्थी आन्दोलनमा ।
विद्यार्थी आन्दोलन चर्कंदै जाँदा राजा वीरेन्द्र २०३६ जेठ १० गते निर्दल कि बहुदल रोज्ने जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य भए । उनले २०३७ वैशाख १ गते राजनीतिक नेता कार्यकर्तालाई आममाफीको घोषणा पनि गरे । घोषणापछि भारत प्रवासमा रहेका कांग्रेस नेता गिरिजाप्रसाद कोइराला, दामन पाख्रिनहरू स्वदेश फर्किएका थिए ।
जनमत सङ्ग्रहमा दार्खामा हामीले बहुदललाई जितायौँ । समग्र मुलुकमा भने अनेकौँ तिकडम गरेर बहुदल हारेको र निर्दलले जितेको नतिजा सुनाइयो ।
जनमत सङ्ग्रहको झेली नतिजा सुनाइएको केही महिनापछि २०३७ सालको हिउँदमा गिरिजाबाबु कांग्रेसको सङ्गठन विस्तारमा मद्दत पुग्छ भनेर नुवाकोट र धादिङ भ्रमणमा जाने हुनुभयो । त्यसका लागि दामनदाइले अगुवाइ गर्दै आउने र शैलेन्द्रकाका र म दार्खाको कार्यक्रम सफल पार्न केही दिनअघि नै त्यहाँ पुग्ने सल्लाह भयो । त्यसैअनुरूप हामी पहिल्यै दार्खा पुग्यौँ र कार्यक्रम भव्य बनाउन गिरिजाबाबुले दार्खामा एउटा आमसभालाई सम्बोधन गर्ने तय गर्यौँ ।
आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भनेजस्तो भयो । पञ्चहरूले कार्यक्रम असफल पार्ने प्रपञ्च रचेर अफवाह फैलाएछन्— हामीले जनमत सङ्ग्रहमा जितिसकेकाले अब अराष्ट्रियतत्त्व कांग्रेसको आमसभामा सहभागी भए पुलिसले दुःख दिन्छ, पक्रन्छ ।
मामाघरमा तारुकामा गोरु जुधाएको रौनक देखेका हामी तारुकेका भान्जाहरू शैलेन्द्रकाका र मैले त्यो अफवाह चिर्ने जुक्ति निकाल्यौँ– गोरु जुधाउने । लौ है, आज माझगाउँमा फलानो फलानोको गोरु जुधाइन्छ भनेर हल्ला फिँजाउन बहुदलका पक्षमा काम गरेका देवीस्थानका मानबहादुर तामाङसहितका साथीभाइ परिचालित गर्यौँ, त्यसपछि के चाहियो र ! त्यो रमिता हेर्न सारा गाउँले उर्लिएर आए ।
दुईवटा साँढे दुईतिर बाँधेर राख्यौँ र बिचमा गिरिजाबाबुलाई प्रमुख अतिथि बनाएर आमसभा गरायौँ, सभाको समापनमा गोरु जुधायौँ । गिरिजाबाबु र उनको भ्रमण दलमा सम्मिलित सुशील कोइराला, मच्छिन्द्र पाठक, दलसिं कामी, वीरेन्द्र दाहाल, शरद उप्रेती (धादिङ कांग्रेसका सभापति भरत उप्रेतीका भाइ), दामन पाख्रिन आदिले पनि साँढे जुधाएको रमाइलो हेरे ।
गिरिजाबाबुहरू दार्खाबाट सल्यानटार, चैनपुर हुँदै सदरमुकाम धादिङबेँसी निस्कने कार्यक्रम तय भएको थियो, हामीले किन्ताङफेदीसम्म पुगेर उहाँहरूलाई बिदा गर्यौँ ।
बुबा सिमरामा किनेको जग्गामा खेतीपातीमा लगाउन जानु भएकाले २०३९ सालको बर्खामा म दार्खामै थिएँ । साउन ६ गते पूर्वप्रधानमन्त्री एवं प्रतिबन्धित नेपाली कांग्रेसका नेता बीपी कोइरालाको निधन भएछ ।
गिरिजाबाबुको त्यो भ्रमण नुवाकोट र धादिङका रमणीय दृश्यावलोकन र गोरु जुधाइजस्तो रमाइलो हेर्नमा मात्र सीमित रहेन, धादिङका शिथिल कांग्रेसजन र समर्थकहरूमा उत्साहको रक्तसञ्चार गर्न सफल रह्यो । प्रतिबन्धित पार्टी नेपाली कांग्रेसका खुला नेताहरूमा सङ्गठन निर्माणमा खट्नुपर्ने रहेछ भन्ने तत्त्वबोध गरायो ।
त्यतिबेला धादिङ कांग्रेसको सङ्गठन निर्माणमा भीमसेनकुमार श्रेष्ठ र चिजकुमार श्रेष्ठको खटाइ तथा लगानी स्तुत्य थियो । उसो त, धादिङका शम्भुकुमार श्रेष्ठ, डिल्लीरमण आचार्य, बद्रीप्रसाद दाहाल, कृष्णप्रसाद दाहाल, अर्जुनबहादुर रिजाल, कृष्ण सिम्खडा, गाउँले बलदेव अधिकारी, सुदर्शन बर्सौला, लेखनाथ थापा, बाबुराम अधिकारी, हरिराम बुर्लाकोटी, विष्णु सिलवाल, बुद्धिसागर सापकोटालगायत शिक्षकहरू पनि जिल्लाका विभिन्न विद्यालयमा प्रजातन्त्रको पक्षमा क्रियाशील जो हुनुहुन्थ्यो। स्याङ्जाबाट आएर धादिङमा अध्यापन गरिरहनुभएका जयप्रसाद पौडेल जिल्लाभरकै प्रजातन्त्रवादी शिक्षकको मियो र हाम्रा भाइ-बहिनी पुस्ताका लागि मार्गदर्शक हुनुहुन्थ्यो ।
अदालतको जागिर छाडेर जनमत सङ्ग्रहमा बहुदलको पक्षमा खटेका जुझारु युवक रामनाथ अधिकारीको अगुवाइमा एसएलसी दिने विद्यार्थीका लागि सञ्चालित निःशुल्क ट्युसन कक्षाजस्तो रचनात्मक क्रियाकलाप सङ्गठन निर्माणमा महत्त्वपूर्ण हुने नै भयो । साँच्चै भन्दा, जय सर र रामनाथजीले धादिङमा कांग्रेसको रुख हुर्काउन नेविसङ्घको ब्याड नै तयार पार्नुभएको थियो ।
कांग्रेस महामन्त्री गिरिजाबाबु त्यो भ्रमणबाट फर्केको ६ महिना बित्दानबित्दै कांग्रेसका अर्का महामन्त्री परशुनारायण चौधरी भने ‘सही बाटो’ भन्दै २०३८ सालको बर्खामा निर्दलीय पञ्चायतमा हेलिए । परशुनारायणलाई पछ्याउँदै दामनदाइ पनि पञ्चायतमा पस्नुभयो । तर परशुनारायणले जस्तो उहाँले कांग्रेसको खेदो खन्ने काम कहिल्यै गर्नुभएन, प्रजातन्त्रप्रतिको आस्था कायम नै राख्नुभएको थियो र २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागितासमेत जनाउनुभयो ।
बुबा सिमरामा किनेको जग्गामा खेतीपातीमा लगाउन जानु भएकाले २०३९ सालको बर्खामा म दार्खामै थिएँ । साउन ६ गते पूर्वप्रधानमन्त्री एवं प्रतिबन्धित नेपाली कांग्रेसका नेता बीपी कोइरालाको निधन भएछ । रेडियो नेपालले सानो समाचार दियो । राजा वीरेन्द्रले ‘समवेदना’ नदिएको भए, त्यो समाचार पनि रेडियो नेपालले दिन्थ्यो कि नाइँ, थाहा छैन ।
नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्त्व बीपी कोइरालाको निधन भएको समाचार बीबीसी रेडियोले भने राम्रै ‘कभरेज’ ग-यो ।
कुनै बेला जुध्न नाम कमाएको हाम्रो गोठे गोरुलाई सुमारेर साँच्चै गोरु बनाइसकेका थियौँ । सेर्लाङ गोरुसँग उसको राम्रो हल जमेको थियो । म तिनै गोरुलाई घाँस हाल्दै थिएँ, काठमाडौँबाट शैलेन्द्रकाकाको चिठी आइपुग्यो । निकै लामो त्यो चिठीमा बीपीको मलाममा काठमाडौँमा उर्लेको जनसागरको वर्णन पनि थियो । चिठी पढेर म निकै भावुक भएँ- अब के कस्ता खिचडी पाक्ने हुन् नेपाली राजनीतिमा भनेर ।
०००
दार्खाको अर्को यात्रामा थियौँ हामी । बहुदलीय व्यवस्था पुनर्स्थापना भएको आठ महिना पुग्नै लाग्दा गोपालजी र म दार्खा गएका थियौँ नि, हो त्यसको ठीक चार वर्षपछि ।
गोपालजी र म दार्खा गएका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारका प्रधानमन्त्री हुनुहुन्थ्यो । दामनदाइ उत्तर धादिङबाट सांसदको टिकटको आकांक्षी हुनुहुन्थ्यो । गिरिजाबाबु कांग्रेसको महामन्त्री मात्रै । अनि गोपालजी र म दुवै स्वतन्त्र पत्रकार ।
२०५१ साल पुसको पहिलो साता हामी दार्खा पुग्दा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी भर्खरै प्रधानमन्त्री हुनुभएको थियो । किसुनजी मात्र होइन, गिरिजाबाबु पनि पूर्वप्रधानमन्त्री भइसक्नुभएको थियो । दामनदाइ पनि कांग्रेसको पूर्वसांसद भइसक्नुभएको थियो, पूर्वपञ्च बुद्धिमान तामाङसँग पराजित भएर । म कान्तिपुर दैनिकको समाचार सम्पादक थिएँ ।
यात्रामा मेरा दुई साथी थिए– तेह्रथुमका किरण सुब्बा र स्विडेनका माथियास क्रिगर । अनि हामीले एक गोलीले दुई सिकार गरेका थियौँ, मेरो ‘पूजा’ र माथियासको ‘पाठ’ दुवै भ्याएर ।
हामी पहिले साल्दुम गयौँ । प्रत्येक बिजोर सालको धान्य पूर्णिमामा साल्दुममा हामी सिम्खडाहरूको कुलदेवताको पूजा हुन्छ । साल्दुम गाउँको शिरको त्यो रमणीय थुम्कोमा सिम्खडाहरू पूजा सामग्री, ध्वजापतका, बाजागाजासहित फूलको डोली, बोका (नीमको, बढाइ र भाकलका) लिएर ठुलो सङ्ख्यामा जम्मा हुन्छन् नै, सिम्खडाका इष्टमित्र र साथीभाइहरू पनि त्यहाँको रमाइलो हेर्न पुग्छन् । अढाई तीन सय बोका काटिन्छ, सेल रोटी, खिरलगायत मिष्ठान्न पकाइन्छ ।
त्यो जात्रा भरेर भोलिपल्ट हामी दार्खा तर्यौँ र कृष्णकाकाको घर अर्थात् मेरो जन्मघरमा गएर बस्यौँ । माथियास क्रिगर आफ्नो युनिभर्सिटी पढाइका क्रममा स्थानीय तहमा शक्ति हस्तान्तरण (विकेन्द्रीकरण) मा नेपाली अभ्यासको बारेमा थेसिस लेख्न आएका थिए । उनले छानेका नेपालका २१ वटा स्थानीय निकायमध्ये दार्खा पनि एक थियो ।
उनको काम सकिएको दिन अपराह्नतिर किरण र माथियासलाई लिएर पञ्चसिंह ठुलोबालाई भेट्न गएँ म । पञ्चसिंह ठुलोबाको घर बाँझो बारीको बाटो भएर जानुपर्थ्यो । गोपालजी र मैले पञ्चसिंह ठुलोबा र हरि माइलाबालाई वृक्षरोपण गर्न उक्साएको तारो निसानामै लागेछ । पहिरोले दाह्रेको बाँझो बारी हराभरा भएको रहेछ, वृक्षरोपण गरिएका बिरुवाहरू हलक्क बढ्दै रहेछन् । अहा ! म खुसीले फुर्फुर भएँ ।
पञ्चसिंह ठुलोबाको घरमा पुगेपछिको एउटा घटनाले भने हामी थप दुई दिन दार्खामै बस्नुप-यो । पञ्चसिंह ठुलोबाले मलाई ‘ठुले, कोदोको एकदम राम्रो जाँड छ, तिम्रा साथीहरूले खान्छन् कि ?’ भनेर सोध्नुभयो । किरण जातैले लिम्बु नाइँ भन्ने कुरै थिएन, माथियास पनि तम्सियो । मिठो भन्दै माथियासले अर्को डबका पनि दन्कायो ।
माथियासले कोदोको कडा जाँड पचाउन सकेन । काकाको घरमा आएर निस्लोठ परेर सुत्यो, हामीले घरेलु विधिका उपचार गरायौँ । पर्सिपल्ट दिउँसोतिर मात्र माथियास अलिअलि तङ्ग्रियो । त्यसको भोलिपल्ट मात्र हामी काठमाडौँका लागि बाटो लाग्यौँ । १४ वर्षअघि गिरिजाबाबु त्रिशूलीबाट हर्कपुर, देउराली, किन्ताङ, खनियाबास हुँदै दार्खा आउनुभएको थियो, हामी खनियाबास, किन्ताङ, देउराली, हर्कपुर हुँदै त्रिशूली पुग्यौँ ।
त्यही यात्रा हालसम्म मेरा लागि दार्खाको ‘मैजारो यात्रा’ भइरहेछ ।
०००
दार्खाबाट अन्तिमपल्ट फर्केको आठ वर्षपछि, म राजधानी दैनिकको सम्पादक थिएँ, मेरा सहकर्मी रोशन श्रेष्ठ माओवादी सशस्त्र द्वन्द्वको रिपोर्टिङ गर्ने सिलसिलामा दार्खा जाने भए । मैले रोशनलाई मेरो जन्मघरमा पनि पस्न र घर–आँगनको अलिकति माटो ल्याइदिन भनेँ । उनले एक मानाजति माटो ल्याइदिएछन् ।
त्यो माटोमध्ये केही मैले काठमाडौँ रानीवनमा घर बनाउँदा जगमा हालेँ । पछि अलिकति माटो अमेरिकाको मेरिल्यान्डस्थित मेरो जेठो छोराको घरबारीमा छरिदिएँ । एकमुठीजति माटो अस्ट्रेलियाको मेलबर्नस्थित कान्छा छोराको घरबारीमा छर्न साँचेको छु ।
लाग्न सक्छ, यसको के अर्थ ?
मेरो प्रतिजिज्ञासा छ:
जुम्ला सदरमुकाम खलङ्गानजिकै तिमल्सेनाहरूको बस्ती भएको एउटा सानो गाउँ छ– सिम्खाडा । पुस्तौँ पुस्ताअघि त्यहीँबाट धादिङ आएका हाम्रा पुर्खाले सिम्खडा थर लेख्न थालेका हुन् । पैतृक भूमिप्रति यसरी सम्मान जनाउने पुर्खाको सन्तति मैले मातृभूमिको माटोप्रति यस्तो मोह राख्नु के अस्वाभाविक भयो त ?
राजधानी दैनिक होस् कि अन्नपूर्ण दैनिक वा अहिले कार्यरत रातोपाटी अनलाइनको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका बेला मेरो परिचयमा ‘धादिङ दार्खाका जिवेन्द्र सिम्खडा...’ नछुटाई लेख्न लगाएको थिएँ मैले ।
अफसोसको कुरा– मैले ती सञ्चारमाध्यममा दार्खाका सुखद समाचार लेख्न र छाप्न कहिल्यै पाइनँ ।
हो, दार्खा पहिलेजस्तो विकट छैन अहिले, अँध्यारो पनि छैन । सडक गाउँमै पुगेको छ, गणेशकुण्ड स्कुल उच्च माध्यमिक विद्यालय बनिसकेको छ, घरघरमा बिजुली पुगेको छ, तैपनि दार्खाबाट समाचार आउँछ– हत्याहिंसाको मात्र । माओवादी सशस्त्र द्वन्द्वकालमा मात्र होइन, त्यसपछि पनि दार्खाका छोराहरूले आपसी रिस, डाह र कलहमा सुन्दर जीवन गुमाएका छन् । उफ्, कहिलेसम्म भोग्नुपर्ने होला दार्खाले यस्तो नियति ? कहिलेसम्म सहनुपर्ने हो दार्खाले यस्ता दुःख र दर्द !
०००
जाग जाग अब जाग न जाग
लाग उन्नति विषे अब लाग ।
घोर निद अब ता परित्याग
भो भयो अति सुत्यौ अब जाग ।।
धोउ धोउ मनको अब मैलो
फालिदेऊ डरको अब थैलो ।
बेर धेर अझ हो कति गर्ने ?
रिस डाह गरी नै कति मर्ने ?
जे भए पनि भयो अब भैगो
बित्नु हो जति थियो बिती गैगो ।
घोर निद अब ता परित्याग
भो भयो अति सुत्यौ अब जाग ।
जाग जाग अब जागन जाग
लाग उन्नति विषे अब लाग ।।
राणाशासनको कालरात्रिमा कवि धरणीधर कोइराला (१९४९ माघ २४ – २०३६ माघ २६) द्वारा रचित ‘जाग जाग’ शीर्षकको कविताका केही पङ्क्ति हुन् यी । सात सालको जनक्रान्तिले जहानियाँ राणाशासन फालेर प्रजातन्त्र ल्यायो । सत्र सालमा राजा महेन्द्रले प्रजातन्त्र मासेर निर्दलीय पञ्चायती व्यवस्था लादे, छयालिस सालको जनआन्दोलनले निर्दलीय पञ्चायत मिल्काएर बहुदलीय प्रजातन्त्र पुनर्स्थापना ग-यो । अन्ठाउन्न सालको दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्था अतिक्रमण गर्दा त्रिसट्ठी सालको जनआन्दोलनले उनलाई ठेगान लगायो l जननिर्वाचित संविधानसभाले पैँसठ्ठी सालमा राजतन्त्र फालेर नेपाल गणतान्त्रिक मुलुक बनायो । यी प्रत्येक परिवर्तनपछिका हाम्रा प्रत्येक शासनमा कवि धरणीधरका यी पङ्क्ति सान्दर्भिक नै रह्यो र आज पनि सान्दर्भिक छ– दार्खाको सन्दर्भमा समेत ।
दार्जिलिङ नेपाली साहित्यको एउटा केन्द्र रहँदै आएको छ । इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँला (तिलविक्रम नेम्बाङ)ले दार्जिलिङबाटै नेपाली साहित्यमा आयामेली आन्दोलन (तेस्रो आयाम) थालनी गरेका हुन् । योभन्दा अघिल्लो पुस्ताका तीनजना साहित्यकार पनि दार्जिलिङमा त्रिरत्नका रूपमा स्थापित र सम्मानित थिए । त्रिरत्न अथवा सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान)ले नेपाली भाषासाहित्यको संस्थागत संरचनाका लागि महत्त्वपूर्ण काम गरेका थिए ।
सूधपाले नै आजभन्दा एक सय दुई वर्षअघि १९७८ सालमा दार्जिलिङमा नेपाली साहित्य सम्मेलनको स्थापना गरेका थिए । कलकत्ता विश्वविद्यालयमा नेपाली भाषा पठनपाठनको प्रारम्भ सूधपाकै सत्प्रयासको परिणाम थियो । सुधपाले नै २००९ सालमा दार्जिलिङ पुगेका कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई त्रिमूर्ति उपाधि प्रदान गरेका थिए ।
तिनै सूधपामध्येका एक धरणीधर कोइराला देहान्त हुनु केही महिनाअघि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा साहित्यिक प्रवचन दिँदै हुनुहुन्थ्यो । प्रवचनपछि प्रश्नोत्तरका बेला एक जिज्ञासुले सोधे– कविवर, नेपालभित्र रहेका नेपाली साहित्यकारभन्दा प्रवासका नेपाली साहित्यकारमा बढी देशभक्ति देखिन्छ, यसो हुनुको कारण के होला ?
सेताम्य लामो दाह्री पालेका ऋषितुल्य कवि धरणीधरले हल्का मुस्कुराउँदै जवाफ दिनुभएको थियो– ‘आमाको काखमा रहेको बालकले यदाकदा काखैमा फोहोर गरिदिन पनि सक्छ तर काखमा नरहेको बालकले त्यस्तो फोहोर पार्दैन, आमालाई माया मात्र गर्छ । त्यस्तै हो कि यो पनि ।’
४४ वर्षअघिको त्यही जिज्ञासा र जवाफ सम्झँदै समापनमा यी दुई हरफ–
संसारै चाहरे पनि छुटेको छ दार्खा
पाइला मेटिए पनि दिलैमा छ दार्खा ।
(नीलकण्ठ प्रज्ञा प्रतिष्ठान, धादिङद्वारा प्रकाशित प्रज्ञा-प्रवाहबाट साभार ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वोच्चले लगायो रोक, जीवनरामलाई धक्का
-
समितिमा विधेयक होल्ड भएकाले समयसीमा तोक्न नियमावली संशोधन गर्ने तयारी
-
रवि लामिछानेसँग ३ घण्टा बयान, शुक्रबार पनि हुने
-
शुक्रबार र शनिबार वर्षासहित हिमपात हुने
-
सर्वोच्च अदालतमा कति छन् पुराना मुद्दा ?
-
मास्टरसेफ साहको पहलमा बोल्न र सुन्न नसक्नेलाई निःशुल्क हस्पिटालिटी तालिम