बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

७६ वर्षीय अभिनेत्री चैत्यदेवी भन्छिन्– सर्ट फिल्म निर्देशन इच्छा छ

शनिबार, २२ मङ्सिर २०८१, ०७ : ४०
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौंँ । चैत्यदेवी सिंह नेपाली फिल्म क्षेत्रकी दिग्गज अभिनेत्री हुन् । ७६ वर्षको उमेरमा पनि उनी कलाकारितामा सक्रिय छिन् । उनको सक्रियता र योगदानलाई कदर गर्दै सरकारले केही दिन अगाडि आयोजित ‘राष्ट्रिय पुरस्कार’ समारोहमा ‘दीर्घसाधना सम्मान’ प्रदान गर्‍यो ।

राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्राप्त उक्त सम्मान कलाक्षेत्रको अनवरत साधनाको प्रतिफल भएको सिंह बताउँछिन् । सम्मानले अझै केही गर्न प्रेरणा मिलेको उनको धारणा छ ।

६/७ वर्षको उमेरदेखि नै रङ्गमञ्च हुँदै फिल्मसम्मको यात्रा तय गर्न सफल उनको अहिले एउटा सपना छ । त्यो हो– सर्ट (छोटो) फिल्म निर्देशन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदर्शन गर्ने ।

यिनै अभिनेत्री चैत्यदेवी सिंहसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

हालै आयोजित राष्ट्रिय पुरस्कारमा ‘दीर्घ साधना सम्मान’ प्राप्त गर्नुभयो । सम्मान प्राप्त गर्दा कस्तो महसुस भयो ?

कलाकारले प्राप्त गर्ने शिखर सम्मान भनेको राष्ट्रले दिने सम्मान हो । त्यो सम्मान मैले अहिलेसम्म पाएको थिइनँ । अहिले ७६ वर्षको उमेरमा राज्यले मलाई यो सम्मानको हकदार सम्झियो । म एकदमै खुसी छु । अझै केही गर्नुपर्छ भन्ने प्रेरणा पनि मिलेको छ ।

राष्ट्रिय पुरस्कारमा यो सम्मान दिन्छन् भन्ने कल्पना थियो त ?

म रङ्गमञ्चबाट कलाकारितामा होमिएकी हुँ । ६/७ वर्षको उमेरदेखि सुरु भएको मेरो कलाकारिता यात्रा अहिले ७६ वर्षको उमेरसम्म पनि निरन्तर छ । मैले अहिलेसम्म जे गरेँ, यसै क्षेत्रमा गरेकी छु । ढिला होला, तर एक दिन कर्मको फल मिल्छ भन्ने थियो ।

chaitanya2

तपाईंजस्ता दिग्गज कलाकारको लागि राज्यले दिने यो सम्मान पर्याप्त हो त ?

पुरस्कार र सम्मान एउटा महत्त्वपूर्ण उपलब्धि हो । त्यो पनि राष्ट्र प्रमुखको हातबाट थाप्न पाइयो । यो चानचुने कुरो होइन ।

अर्को कुरा, राज्यले हामीजस्ता कलाकारका लागि कलाकारिताकापछि पनि बाँच्न सक्ने आधार सिर्जना गरिदिनुपर्छ । स्वस्थ्य बीमा, औषधि उपचार लगायत केही सुविधा त दिएको छ ।

केही वर्ष यता तपाईं पर्दामा देखिनु भएको छैन नि ?

हो, विगत ५/६ वर्षदेखि म धेरै अवार्ड, पुरस्कारलगायतको  समारोहमा निर्णायक, अतिथि लगायतको भूमिकामा सक्रिय छु । यो पनि कलाक्षेत्रसँग सम्बन्धित नै हो । अहिले केही म्युजिक भिडियोमा अभिनय गर्ने कुरो भएको छ ।

फिल्म अभिनयको अफर पनि आउँछ कि ?

अफर किन नआउनु ! पछिल्लो समय अभिनय नगर्नुको कारण फिल्मका छायाङ्कन उपत्यका बाहिर हुनु हो । मेरो उमेर धेरै भइसक्यो । अब उपत्यका बाहिर गएर काम गर्न स्वास्थ्यले साथ दिँदैन । उपत्यकामै छायाङ्कन गर्ने फिल्मबाट अफर आए काम गर्छु ।

कस्तो अभिनय गर्न मन छ ?

अहिले मन लागेर हुँदैन । मेरो उमेर धेरै भयो । अहिले मलाई सुहाउने भनेको आमा, हजुरआमाको भूमिकामा हो ।  राम्रो कथाको, राम्रो युनिटको फिल्मबाट अफर आयो भने यस्तो भूमिकामा अभिनय गर्छु ।

केही अगाडिसम्म अभिनय सिकाउनु हुन्थ्यो । त्यो अहिले पनि जारी छ कि ?

केही अगाडिसम्म रङ्गमञ्चमा अभिनय सिकाउँथेँ । बिचमा स्वास्थ्यले साथ नदिएर छोडेँ । अहिले फेरि सिकाउनुपर्छ भन्ने लाग्छ ।

राज्यले विशिष्ट चलचित्रकर्मी भनेर वर्गीकरण गरिदिएको छ । सेवा सुविधा भने नदिएको गुनासा छन् नि ?

केही पहिलेसम्म राज्यले कलाकारका लागि केही गरेको थिएन । अहिले कलाकार पनि विशिष्ट व्यक्ति हुन् भनेर पहिचान दिएको छ । विभिन्न सेवासुविधा दिने कुरा पनि उठिरहेका छन् । पहिलेको तुलनामा राज्यको ध्यान कलाकारप्रति गएको छ । बिस्तारै कलाकारलाई सेवासुविधा पनि दिन्छ । यो मेरो विश्वास हो ।

chaitanya3

अहिले फिल्म कति हेर्नुहुन्छ ?

अहिले निर्माण भएका प्रायः फिल्म हेरेकी छु । कतिपयले फिल्मको प्रिमियरमै बोलाउनुहुन्छ । त्यहाँ गएर हेर्छु । कतिपय फिल्म आफैँ हलमा गएर हेर्छु ।

अहिले बनेका फिल्म कस्तो लाग्छ ?

अहिले धेरै राम्रा फिल्म बन्न थालेका छन् । पछिल्लो समय भित्रिएको डिजिटल प्रविधिले फिल्मको गुणस्तर बढाएको छ । काम गर्न सजिलो बनाएको छ । फिल्मले करोडौँ कमाउन थालेका छन् । कलाकारको पनि राम्रो आम्दानी र चर्चा छ । पहिले कलाकार बन्छु भन्दा घरपरिवारले गाली गर्थे । अहिले सपोर्ट गर्छन् ।

कलाकारितालाई लिएर केही सपना अझै बाँकी छन् कि ?

जीवनको अन्तिम क्षणसम्म पनि कलाकारिता गरिरहन पाउँ भन्ने छ । आर्थिक रूपमा राम्रो भयो भने सर्ट फिल्म निर्देशन गर्ने इच्छा छ । फिल्ममा नआएका नेपालका राम्रा राम्रा धेरै विषय छन् । ती विषयहरूमा छोटो फिल्म निर्देशन गरेर देश तथा विदेशमा पुर्‍याउने रहर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप