बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे,  १२ समाचार : बीआरआईले सत्तारुढ एमाले-कांग्रेसबीच खटपटदेखि मध्यरातमा रविलाई पोखरा दौडाएकोमा रास्वपा आक्रोशितसम्म

शुक्रबार, २१ मङ्सिर २०८१, २३ : ५२
शुक्रबार, २१ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. कांग्रेस- एमालेबीच खटपट 
बीआरआई सम्झौतापछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मंसिर २५ गते दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्मराज अधिकारीले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसले पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  मंसिर २४ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२. बीआरआईबारे देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हन् ।  सभापति देउवाले भने, ‘प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।’ उनले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिए । सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ ।

३. प्रहरीको प्रस्ताव अलपत्र

भिड नियन्त्रणमा आवश्यक सामग्री र साना हतियार खरिद गर्नुपर्ने प्रहरीको प्रस्ताव अलपत्र परेको छ । ८४ करोड मूल्य बराबरको हतियार खरिद प्रस्ताव दुई वर्षदेखि अलपत्र परेको प्रहरी अधिकारीहरू बताउँछन् ।
२०७८ चैत्र २ मा अर्थ मन्त्रालयले ८४ करोड मूल्य बराबरको हतियार खरिद गर्न प्रहरी प्रधान कार्यालयलाई स्वीकृति दिएको थियो । त्यसपछि प्रहरीले तयार गरेको सामान खरिद सम्बन्धी गुरुयोजना २०७९ वैशाख १९ मा गृह मन्त्रालयले स्वीकृत गरेको थियो ।

४. सर्च कमिटी
सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी)ले आवेदन दिएका मध्येबाट सर्ट लिस्ट तयार पारेको छ ।
शुक्रवार बसेको सर्च कमिटीको बैठकले ८ जनाको नाम अध्यक्षका लागि सर्ट लिस्ट तयार गरेको छ । कुल ४० जनाको नाम र सूची सर्च कमिटीले तयार पारेको प्रवक्ता खम्वबहादुर खातीले जानकारी दिए । उनका अनुसार पाँच दिनभित्र उजुरी दिन सार्वजनिक आव्हान गरेको छ ।

५. रास्वाको गुहार
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट गरेको छ । साथै रास्वपाले उक्त विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा  पुर्‍याइको घटनाप्रति आपत्ति जनाएका हुन् ।

६. नेपालमा भुटानी राजा
भारत भ्रमण सकेर भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक काठमाडौँ आएका छन् ।  आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गरेका छन् । उनी शुक्रबार नै स्वदेश फर्किए ।

७. गेम चेन्जर आयोजना
केन्द्रीकृत राज्य संरचनामा पछि परेको कर्णाली क्षेत्र संघीयतामा पनि उपेक्षित नै छ । प्रदेश सरकारको आफ्नै स्रोत–साधन नहुनु, संघ सरकारले विशेष प्राथमिकता नदिनुजस्ता कारणले कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा विकास निर्माणका दृष्टिले निकै पछाडि परेको छ ।

त्यसो त, कर्णालीमा ‘गेम चेञ्जर’भन्दै विभिन्न आयोजना सुरु नभएका होइनन् । केन्द्र तथा प्रदेश सरकारबाट कर्णाली प्रदेशभित्र निर्माणाधीन ठुला आयोजनाहरूको काम लक्ष्य अनुसार हुन सकिरहेको छैन। तिनको भौतिक प्रगति, वित्तीय अवस्था नाजुक छन् । बजेट अभावका कारण समयमै काम नहुने, कतै विवादले गर्दा त्यस्ता आयोजना अल्झिएका छन् । 

८. सेयर बजार
साताको सेयर बजार नकारात्मक देखिएको छ । एक साताको अवधिमा सेयर बजार १३।१२ अंकले घटेको छ, जुन ०.५० प्रतिशत हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछिको पहिलो सातामा सेयर बजार नकारात्मक देखिएको हो ।

९.प्रधानन्यायाधीशको धारणा
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्चमा विचाराधीन ८ वर्ष पुरानो मुद्दा यसै आर्थिक वर्षमा शून्यमा झार्ने बताएका छन् । सर्वोच्च अदालतमा पत्रकारहरूसँग कुरा गर्दै राउतले भने, ‘८ वर्ष पुराना मुद्दा यस वर्ष जिरोमा झार्ने गरी प्राथमिकतामा राखेर सुनुवाइ गरिरहेका छौँ ।’ सर्वोच्चमा ८ वर्ष पुराना १५४ वटा मुद्दा विचाराधीन अवस्थामा छन् । सर्वोच्चमा अहिले १७ न्यायाधीश कार्यरत छन् । ८ वर्ष पुराना मुद्दाको पेशी कानुन व्यवसायीहरूले सार्न नमिल्ने गरी सर्वोच्चले प्राथमिकतामा राखेको छ ।

१०. पत्रकार महासंघको चुवाव 
काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ।  निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवारी परेको हो ।

११. एनपीएल
नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पोखरा एभेन्जर्सले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । जारी एनपीएलमा कुनै पनि टोलीले विकेटका आधारमा हात पारेको यो नै सबैभन्दा ठुलो अन्तरको जित हो ।

१२. चर्किदै विवाद 
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको विरोधमा शनिवार दसौँ हजार मानिसले प्रदर्शनमा सहभागिता जनाउने सूचना आफूहरूले पाएको सियोल प्रहरीले जनाएको छ । सियोल महानगर प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शनिबार शहरको केन्द्र र येओइदो क्षेत्र (सियोलमा) मा दशौं हजार सहभागीहरू सम्मिलित ठूलो मात्रामा भेला र प्रदर्शन हुने सूचना प्रहरीले प्रप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप