मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
अनुवाद

पश्चिमा आधुनिकताले हामीलाई अहंकारी बनायो

शुक्रबार, २१ मङ्सिर २०८१, १८ : ३०
शुक्रबार, २१ मङ्सिर २०८१

आजको दिनमा हामीले कुनै अखबार उठाएर एक झलक मात्रै हेर्दा पनि सजिलै थाहा पाउन सक्छौँ, कुनै समय हामीलाई सहजै प्राप्त भएका जस्ता लाग्ने धेरै कुरा अहिले दुरुह हुँदै जान थालेका छन् । कुनै कुनै त उल्ट्याइन थालेका छन् । सहर नै पूरै सखाप बनाउन सक्ने बाढी, एक–अर्काेलाई नामेट बनाउन आणविक हतियार नै प्रहार गर्न तयार भएजस्ता लाग्ने शक्तिका परिदृश्य लगायत अहिलेसम्म हामीले अनुभूति नगरेका खतरा हामीसामु देखा परिरहेका छन् । केही अघिसम्म सोच्नै नसकिनेजस्ता विषयमा आज बोल्नुर्ने अवस्था भएको छ । यतिसम्म कि मलाई त यो कार्यक्रम नै निर्धारित समयमा हुन्छ कि हुँदैन भन्नेमा समेत आशंका थियो ।

म यी शब्द लेख्न सुरु गर्दाको बखत इन्डोनेसियाको पूर्वीकिनारामा रहेको बान्डा द्वीप समूहमा थिएँ । यो ठाउँ जाइफल र जावित्रीजस्ता कुनै समय आकर्षणको केन्द्र बनेका उत्पादनको बोटको पुरानो थलोका रूपमा प्रख्यात छ । यी मसला कुनै समय असाध्यै मूल्यवान मानिन्थे । यो समुद्री द्वीपलाई यी मसलाले समृद्ध बनाएका थिए । युरोपेली उपनिवेशकर्ताले यही मसला हत्याउन यो भूगोलमा कब्जा गरेका थिए । यसको अगुवाइ भीओसी भनेर चिनिने गरेको डच इस्ट–इन्डिया कम्पनीले गरेको थियो । यस क्रममा सन् १६२१ मा इस्ट इन्डिजको गभर्नर जनरल जान पिटरस्जुन कोएनको आदेशमा केही हप्ताभित्रै यो पूूरै द्वीपका बासिन्दाको हत्या गरिएको थियो । केही सय मानिस भागेर अर्कै इलाकामा लुकेर बाँच्न सफल भएका थिए । तिनै बाँचेकाहरूले आजसम्म त्यहाँको भाषा र संस्कृति जोगाएर राखेका हुन् । यो आधुनिक कालको सुरुवातताकाको क्रूर नरसंहार थियो । यसले भीओसी कम्पनीलाई जाइफल र जायत्रीको व्यापारमा एकाधिकार दिलाउने काम मात्रै गरेन, खासमा यसले नेदरल्यान्डको समृद्धिमा पनि उल्लेख्य योगदान ग¥यो । यही समृद्धिको समयलाई नेदरल्यान्डको इतिहासमा सुनौलो युग भन्ने गरिन्छ ।

यो क्रूरताको छनक त्यो समयमा साहित्य र कला केहीमा पनि भेटिन्न । जे.ए. भान डर चेस नामका एकजना औपनिवेशिक प्रशासनमै काम गर्ने डच नागरिकले तयार गरेको अभिलेखमा भने त्यो नरसंहारको विवरण मसिनो गरी लेखिएको छ । यो विवरण हुँदैनथ्यो भने त्यस्तो भयानक नरसंहारको कथा इतिहासमा यत्तिकै हराएर जान पनि सक्थ्यो । भान डर चेसले यो सबै विवरण ‘द इस्टाब्लिसमेन्ट अफ डच रुल ओभर द बान्डा आइल्यान्ड’ शीर्षकमा प्रकाशन गरेका थिए । त्यही विवरण प्राप्त भएपछि नै मैले बान्डा नरसंहारबारे आफ्नो पुस्तक ‘द नटमेग कर्स’ लेख्न सकेको हुँ ।

डचहरूमा लेखनको सिलसिला जति पुरानो छ, त्यसै गरी डच उपनिवेशको आलोचनाको परम्परा पनि धेरै लामो छ । एडुवार्ड डौवेस डेक्कर तथा मुल्तातुलीजस्ता व्यक्तिबाट सुरु भएको यो विशिष्ट परम्परामा भान डर चेसलाई पनि सम्मानजनक स्थानको हकदार हुन् भन्न सकिन्छ । यो परम्परा आजपर्यन्त कायम छ । आजको दिनमा जान ब्रेमान, डिर्क कोल्फ तथा मार्जाेलिएन भान पागीजस्ता विद्वान्ले यो परम्परालाई जीवन्त राखेका छन् । म आजको दिन जुन सम्मान लिनका लागि नेदरल्यान्ड आइपुगेको छु, यसको पृष्ठभूमिले पनि त्यो परम्पराको सान्दर्भिकता र महत्त्वबारे धेरै कुरा दर्शाइरहेको पाएको छु ।

हामी इतिहासको पछिल्लो कालखण्डमा अचम्मको विरोधाभास भेट्छौँ । अचम्मको कुरा, उपनिवेशबाट मुक्तिको लहरले धेरै देशलाई स्वतन्त्र गरेलगत्तै पश्चिमा भूराजनीतिक वर्चस्व आजसम्मकै बढी उचाइमा पुग्यो ।

मुल्तातुली तथा भान डर चेसजस्ता लेखकको विरासतले हामीलाई केही शताब्दीअघि सिङ्गो धर्तीमा आफ्नो प्रभुत्व हासिल गर्दा पश्चिमा जगतले गरेको चरम हिंसात्मक गतिविधिको बारेमा निरन्तर सम्झाइरहन्छन् । हामीले ख्याल गर्नैपर्ने कुरा भनेको पश्चिमा प्रभुत्वको उदय र हिंसासँगै देखापर्न पुगेका घटना मात्रै होइनन्, त्यस्तो हिंसा नै पश्चिमा साम्राज्यहरूको केन्द्रीय तत्त्व थियो वा भनौँ हिंसाको जगमा नै पश्चिमले आफ्नो प्रभुत्वको जग राखेको थियो । अमेरिकी राजनीतिशास्त्री सामुएल हन्टिङ्टनले भनेजस्तै ‘पश्चिमा जगतले विश्वमा आफ्नो प्रभुत्व हासिल गर्दा कुनै विचार, मूल्य वा धर्मको श्रेष्ठताका कारण सफल भएको होइन, बरु संगठित हिंसाको प्रयोग गर्न सफल भएकाले हो । पश्चिमाहरू कहिलेकाहीँ यस्तो कुरा बिर्सिने गर्छन् तर गैरपश्चिमाले कदापि बिर्सिदैनन् ।’

हामी इतिहासको पछिल्लो कालखण्डमा अचम्मको विरोधाभास भेट्छौँ । अचम्मको कुरा, उपनिवेशबाट मुक्तिको लहरले धेरै देशलाई स्वतन्त्र गरेलगत्तै पश्चिमा भूराजनीतिक वर्चस्व आजसम्मकै बढी उचाइमा पुग्यो । शीतयुद्धको अन्त्यसँगै अमेरिका विश्वको एकल महाशक्ति बन्न सफल भयो । अमेरिकाको वर्चस्वमा एक्कासि यस्तो वृद्धि भयो कि अमेरिकी राजनीतिक अभिजात वर्गलाई अमेरिकाले स्थायी सर्वाेच्चता नै हासिल गरेको हो भन्ने लाग्न थाल्यो । उनीहरूले यो सर्वाेच्चतालाई आउँदा दिनमा कसैले चुनौती नै दिन नसक्ने ठान्न थाले । यो सफलतामा सिलिकन भ्यालीमा देखापरेको तीव्र प्रगति थपिएपछि त अमेरिकी प्रभुत्वशाली वर्गमा इतिहासमा कहिल्यै नभएको अहंकार पैदा हुन थाल्यो । यस्तो अवस्था त युरोपेली साम्राज्यले दिग्विजयको युग मानेको १९औँ शताब्दीका दिनहरूमा पनि देखिएको थिएन । अब आफूलाई सर्व विजयी ठानेको अमेरिका चौतर्फी आफ्ना पन्जा फैलाउन थाल्यो । पश्चिमा राजनीतिक नेता र बुद्धिजीवीहरू आफ्नो आकांक्षा अरुमा थोपर्ने निर्णय गर्न थाले । यस्तो जबर्जस्ती जुनसुकै कारण देखाएर पनि गर्ने गरिन्थ्यो । हेर्नुस् आजको दिनमा यसको परिणाम के भयो ? दुःखका साथ भन्नुपर्छ, यसले जताततै ध्वंश मात्रै दियो । यस्तो ध्वंश अफगानिस्तान, पाकिस्तान, इराक, सिरिया, यमन, लिबिया, सोमालिया हुँदै प्यालेस्टाइनसम्म जताततै खुलेआम भेट्न सकिन्छ ।

लिबियामा नेटोले गरेको बमबारी यो अवधिमा पश्चिमाले गरेको अदूरदर्शी कामको एउटा निकृष्ट उदाहरण हो । इतिहासमा लिबियाले लाखौँ एसियाली र अफ्रिकी आप्रवासीलाई रहन दिएको थियो । जब पश्चिमाले त्यहाँको सरकार विघटन गराए, लिबिया गृहयुद्धमा फस्यो । त्यसपछि ती कामदारसामु भूमध्य सागर तरेर भाग्नुको कुनै विकल्प रहेन । यी मानिस राज्यविहीन आप्रवासीका रूपमा शरणार्थी हुन पुगे । 

यसले पश्चिमा जगतमा व्यापक हलचल ल्याइदियो । आप्रवासीको समस्या राजनीतिक मुद्दाको रूपमा अगाडि आउन थाल्यो । यस्ता मुद्दालाई लिएर दक्षिणपन्थी राजनीतिले प्रभाव बढाउन थाल्यो । फलतः आजसम्म चलिरहेको राजनीतिक संकटलाई यसले हुर्काइदियो । हिजो आफैँले अमानवीय व्यवहार गरेका काला र खैरा मानिसलाई उत्पीडक घोषणा गरेर आफूूलाई पीडित देखाउँदै नव–फासिवादी आन्दोलनहरूले उचाइ लिन थाले । यथार्थमा तथ्य त त्यस्तो होइन । आज देखापरेका व्यापक बसाइँसराइहरू पश्चिमा आफैँले सिर्जना गरेका हुन् । आफू एक ध्रुवीय विश्वको रमझममा रहेका बेला विश्वभर अन्धाधुन्ध रूपमा गरिएका आक्रमण र तख्तापलटले आजको अवस्था ल्याएको हो । 

के कुनै पश्चिमा नेता, थिन्क ट्यांकलगायत स्वनामधन्य बुद्धिजीवीको कुनै समूहले यस्तो दिन आउने छनक पाएको थिएन त ? साँच्चै भन्ने हो भने त्यो बेलाको जितको हल्लाखल्ला हेर्दा हामी बुझ्न सक्छौँ, उनीहरूलाई आफ्नो गलत कामको कुनै परिणाम भोग्नुपर्ला भन्ने लागेकै थिएन । पछिल्लो अमेरिकी निर्वाचन परिणामसम्म आइपुग्दा अवस्था उस्तै रहेको छैन । अब हिजोको गल्तीको नतिजाको आभास पश्चिमा समाजले अभिव्यक्त गर्न थालेको छ । उनीहरू आफ्नै निर्वाचन क्षेत्रबाट विरोधको सामना गरिरहेका छन् । पश्चिमा जनताले अब वर्चस्वको मूल्य चुकाउन तयार नरहेको सन्देश प्रस्ट रूपमा दिन थालिसकेका छन् ।

हामीले ख्याल गर्नैपर्ने कुरा भनेको पश्चिमा प्रभुत्वको उदय र हिंसासँगै देखापर्न पुगेका घटना मात्रै होइनन्, त्यस्तो हिंसा नै पश्चिमा साम्राज्यहरूको केन्द्रीय तत्त्व थियो वा भनौँ हिंसाको जगमा नै पश्चिमले आफ्नो प्रभुत्वको जग राखेको थियो ।

आजको चरम अन्योलको माहोल पछाडिका कारणमध्ये यो पनि एक मुख्य कारण हो । अब शताब्दिऔँदेखिको पश्चिमा प्रभुत्वको अन्त्य नजिकै आएको प्रस्ट हुन थालेको छ । इजरायल, गाजा, यमन वा युक्रेनमा भइरहेका द्वन्द्वबारे हाम्रा फरक–फरक बुझाइ हुन सक्छन् तर एउटा कुरा भने स्पष्ट भएको छ कि अब पश्चिमाले हतियारको बलमा कुनै समाधान थोपर्न सक्दैनन् । पश्चिमले केही अघिसम्म दम्भसाथ प्रयोग गर्ने गरेको ‘संगठित हिंसाको प्रयोगमा सर्वाेच्चता’ गुमाइसकेको छ । निरन्तर खस्किँदो औद्योगिक तथा वित्तीय वर्चस्वले यो अधोगतिलाई अझ मलजल गरिरहेको छ । केही समयअघि मात्रै स्थापित ब्रिक्सले विश्व कुल गार्हस्थ्य उत्पादनमा जी–सेभेन भनिने मुलुकको भन्दा ठुलो हिस्सा ओगटेको तथ्य यसको प्रस्ट प्रमाण हो । तुलनात्मक रूपमा खस्किँदो सैन्य तथा वित्तीय अवस्थालाई पश्चिमको शासन प्रणालीमा देखापरेका संकटले थप दुर्घटनामा पु¥याउने दिशामा लैजाँदै गरेको तथ्य पनि हामी देखिरहेका छौँ । 

अर्काे शब्दमा भन्ने हो भने आजको दिनमा हामी भूराजनीति, वित्तीय संरचना तथा मुख्य रूपमा पर्यावरणको संकट र संक्रमणको चौतर्फी जालोमा छौँ । आज राजनीति र अर्थतन्त्र मात्रै अप्ठेरोमा छैनन्, सिङ्गो धर्ती नै प्रलयको संघारमा पुगेको छ । अब यो कुरा आश्चर्यको कुरा रहेन, आजको सबैभन्दा धेरै दोहो¥याइएको उक्तिको रूपमा एन्टोनियो ग्राम्स्कीको भनाइलाई लिन थालिएको छ—  ‘पुरानो दुनियाँ त मर्दै छ, नयाँ दुनियाँ जन्मिनका लागि संघर्षरत छ । यो समय राक्षसहरूको हो ।’ 

आज हामी यस्तो ठाउँमा आइपुगेका छौँ, जहाँ राक्षसी दुर्गुणको राज चलेको छ, पूरा जनसंख्यालाई ध्वस्त पारिएको बान्डा द्वीपमा गरिएकोजस्तो हिंसा टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेरै गरिन्छ । यो यस्तो समय छ, यहाँ केही मानिसको हत्याबारे खुलेआम कुरा हुने गर्छ । सिङ्गै सहर अपर्झट आएको बाढीले बगाएर लैजान्छ, तर बाँकी दुनियाँ हेरिरहन्छ । यस्तो समय जहाँ कर्पाेरेट अपराधीलाई भन्दा लामो जेल सजाय वातावरण संरक्षणका अभियन्तालाई दिइन्छ । जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघले आयोजना गरेको मञ्च तेल र ग्यास व्यापारको अखडा बन्न पुग्छ ।

dhos

आजको जस्तो भद्रगोलको कल्पना त स्वयं ग्राम्स्कीले समेत गरेका थिएनन् होला, किनकि उनी बाँचेको समय आजको भन्दा अलि सरल थियो । त्यो समयका खतरनाक राक्षसहरू फासिवादीजस्ता विशुद्ध राजनीतिक चरित्रका थिए । आजको समयमा फरक भनेको राक्षसहरूमा केवल राजनीतिक अतिवादीहरू मात्रै छैनन्, आज त मौसमी घटना पनि उत्तिकै भयानक छन् । ग्राम्स्कीको जीवनकालमा सोच्न नसकिने स्तरका ठुला तुफानहरू, महाखडेरी, अति वर्षाजस्ता घटना आज थपिएका छन् । त्यो समय यस्ता घटना देखिएका भए पनि यिनीहरूलाई स्वाभाविक वा ईश्वरको लीला मान्ने हुन सक्थ्यो, तर आज हामीले धेरै कुरा थाहा पाइसकेका छौँ । यी घटना न स्वाभाविक वा प्राकृतिक नै हुन्, न त कुनै काल्पनिक कथाले छल्न सकिने नै हुन् । यस्ता घटना मुठीभरको संख्यामा रहेका मानिसको फाइदाका लागि जानाजान पूरा पृथ्वीका मानिसमाथि भएको बेपर्वाह लुटको परिणाम हुन् । यी घटनाको राजनीतिक पाटो छ ।

हाम्रोअगाडि देखिएका यस्ता राक्षसी कृत्यको अन्तर्यमा यी र यस्तै असमानता छन् । हामीले भोगिरहेको कुराहरू भनेका आजको दिनमा आफूले खाइपाइ आएको जोगाउन चाहने तथा यसलाई प्रतिरोध गर्नेहरू बिचको ऐतिहासिक संघर्षका विभिन्न आयाम हुन् । अबको संघर्षको केन्द्रमा जीवाश्म इन्धन पनि आइपुगेको छ । अब यसको प्रयोगको स्वरूपमा आगामी दिनको संघर्षको परिणाम निर्भर गर्छ । त्यसैले यी प्रक्रिया केवल पर्यावरणीय वा राजनीतिक मात्रै नभएर दुवै हुन् ।

यो जटिल संक्रमणकालीन युगको विरोधाभास यो पनि हो कि यसका सबै विचित्रता कष्टप्रद मात्रै छैनन् । केहीलाई हामीले आशीर्वादका रूपमा पनि हेर्न सक्छौँ । तिनीहरूले हामीलाई विगतमा खारेज गरिएका सम्भावनामा पुनर्विचार गर्न बाटो खोलेका छन् । जस्तै कि बिरुवाहरूमा बुद्धि हुन सक्छ, चट्टानहरू संवेदनशील हुन सक्छन्, नदीहरूलाई व्यक्तिका रूपमा व्यवहार गर्न सकिन्छ वा परिदृश्यहरूमा तिनीहरूको शारीरिक बनावटभन्दा बाहिरका गुण हुन् सक्छन् भन्ने जस्ता अवधारणा हामी फेरि छलफलमा ल्याउन सक्छौँ । वा भनौँ अब प्रकृति र पर्यावरणलाई हेर्ने हाम्रा दृष्टिकोणले पनि ठाउँ पाउन थालेका छन् ।

हाम्रो समुदायमा प्राचीनकालदेखि नै मानव संस्कृतिहरूमा त्यस्ता जीवन्ततावादी अवधारणा व्यापक रूपमा प्रचलित छन् । यस्ता मान्यता अझै पनि विश्वभर विभिन्न रूपमा बाँकी रहेका छन् । पश्चिमा प्रभुत्वको समयमा सुरु भएको आधुनिक युगको प्रारम्भमा, बान्डा टापुहरूको विजयको समयमा, उपनिवेशवादमा लागेका कुलीन युरोपेली पुरुषहरूको एक सानो समूहले बनाएको दर्शनमा यी विषयहरू निःषेध भएका हुन् । उनीहरूले आविष्कार गरेको एक दर्शनले आविष्कार गरे, जसमा भावना, विचार, तर्क र ऐतिहासिक पात्रता केवल मानव जातिको मात्रै जिम्मामा पारिदियो । जसको फलस्वरूप सबै प्रकारका जीवन्ततावादी विश्वासहरूलाई प्रतिस्पर्धा, अस्वीकार र हिंसात्मक दमनमा पारियो । पछिल्ला शताब्दीमा संसारको धेरैजसो भूभागमा संसारमा पश्चिमी विजयसँगै यस प्रकारको निरपेक्ष मानव केन्द्रित सोच विश्वको जताततै फैलियो । यस्तो विचार भारत र इन्डोनेसियाजस्ता पहिले उपनिवेश भएका देशमा प्रभुत्वशाली विचारधाराको मुख्य भाग बन्यो ।

आजको दिनमा धर्तीले विश्वव्यापी तापमान वृद्धि, जैविक विविधताको क्षय, अनेक प्रजातिको विलोपीकरण र नयाँ रोग लगायत पर्यावरणीय र सामाजिक संकटहरूको सामना गरिरहेको छ । अब स्पष्ट भएको छ, आधुनिकता र यसको कल्पनाको संसार त्रुटिपूर्ण दृष्टिकोणको जगमा निर्माण गरिएको थियो । यसले मानिसलाई अन्य सबै प्रजाति र पृथ्वीभन्दा माथि राख्दा मानवता र सम्पूर्ण जीवन दुवैका लागि गम्भीर परिणाम सिर्जना भएका छन् ।

पश्चिमा आधुनिकताको फगत मानव केन्द्रित सोच आज चलिरहेको दुर्दशाको भागको रूपमा बदनाम भइरहेको छ । हामीले आधुनिकताले विकृत पार्नु अघिका विचारको महत्त्व अनुभव गर्न थालेका छौँ । पृथ्वीलाई जीवन र भावनाले भरिएको देख्न थालेका छौँ । हामीले यो ग्रहलाई सधैँ अन्य प्राणीसँग बाँडेर उपभोग गरेका हौँ । जसमा भावना र आत्मा छन् भनेर हामीले स्वीकार गरिरहेका छौँ । उच्च आधुनिकताले हामीलाई पृथ्वी निर्जीव छ र यो मानव प्रयोगका लागि खुला छ भन्ने सिकायो, तर अब हामी बुझ्न थालेका छौँ, मानवताको भविष्य सुरक्षित गर्नका लागि हामीले स्वीकार गर्नुपर्छ, हामी एक्लो होइनौँ । पृथ्वीले त हामीलाई अवलोकन गर्दै छ र न्याय गरिरहेको छ ।

यो अनुभूतिमा पुग्न मलाई धेरै समय लाग्यो । ढिलै भए पनि म यो बुझाइमा आइपुगेको छ । 

म यो अवसरमा  मेरा बच्चा लिला र नयन तथा विशेष गरी मेरी ३५ वर्षदेखिकी जीवनसाथी डेबोराले गरेको सहयोगका लागि कृतज्ञ छु । म साथीहरू र परिवारले गरेको समर्थनका लागि पनि हार्दिक आभारी छु । म सबैलाई धन्यवाद दिन चाहन्छु ।

मैले यस समारोहको आयोजनाका लागि इरास्मस पुरस्कार फाउन्डेसनका निर्देशक शान्ति भान डम र कार्यक्रम प्रशासक ब्रिट क्रुनलाई धन्यवाद दिनैपर्छ । म यस अविश्वसनीय सम्मानका लागि र आज यहाँ एम्स्टर्डमको शाही दरबारमा डच शाही परिवारको उपस्थितिमा राजा विलेम अलेक्जेन्डरबाट पुरस्कार प्राप्त गर्न अनुमति दिनुभएकामा फाउन्डेसनका सदस्य र निर्णायकलाई धन्यवाद दिन्छु ।

(प्रस्तुत मन्तव्य चर्चित लेखक अमिताभ घोषले सन् २०२४ को इरास्मस पुरस्कार ग्रहण गर्दा व्यक्त गरेका हुन् ।)

(द वायरबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमिताभ घोष
अमिताभ घोष
लेखकबाट थप