बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली न्युजिल्यान्ड दबाबमा

शुक्रबार, २१ मङ्सिर २०८१, ११ : २८
शुक्रबार, २१ मङ्सिर २०८१

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन शुक्रबार घरेलु टोली न्युजिल्यान्ड दबाबमा देखिएको छ । वेलिङ्टनमा जारी दोस्रो टेस्टको पहिलो दिनको खेल सकिँदासम्म न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा केवल ८६ रनमा पाँच महत्वपूर्ण विकेट गुमाइसकेको छ ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा दुई सय ८० रन बनाएको थियो । पहिलो पालीमा किविज टोलीका ब्याट्सम्यानहरुले निकै निराशाजनक प्रदर्शन गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान केन विलियम्सन ३७ रन बनाउँदै पेभेलियन फर्किए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान टम लाथम १७ र अर्का ओपनर डेभोन कनवे ११ रन बनाउँदै आउट भए ।

युवा ब्याट्सम्यान रचिन रविन्द्र पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । ड्यारल मिचेल ६ रन बनाउँदै पेभेलियन फर्किए । पहिलो दिनको खेल सकिँदा घरेलु टोलीका लागि विल ओ’रुर्क शून्य रनमा अविजित छन् ।

विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेल भने अविजित सात रन बनाउँदै क्रिजमा छन् । पहिलो पालीमा इङ्ल्यान्डका बलर ब्राइडन कार्सले दुई विकेट लिए । क्रिस वाक्स, गस एट्किन्सन र बेन स्टोक्सले पनि एक–एक विकेट हात पारे । पहिलो दिन दुबै टोलीको गरेर कुल १५ विकेट खस्यो ।

त्यसअघि, इङ्ल्यान्डका लागि पहिलो पालीमा ह्यारी ब्रुकले शतकीय योगदान गरेका थिए । ब्रुकले टोलीका लागि एक सय २३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले यसक्रममा एक सय १५ बलको सामना गरी पाँच छक्का र ११ वटा चौका पनि हिर्काएका थिए । २५ वर्षीय ब्रुकले टेस्ट क्रिकेटमा बनाएको यो आठौँ शतक हो ।

इङ्ल्यान्डका लागि ओली पपले पनि अर्धशतकीय पाली खेले । छैटौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान ओली पपले ६६ रन बनाए । उनले ७८ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । २६ वर्षीय ओली पपले टेस्ट क्रिकेटमा बनाएको यो १५ औँ अर्धशतक हो ।

पहिलो पालीमा इङ्ल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने बिर्सनलायक रह्यो । ओपनर ज्याक क्रावली १७, ज्याकब बेथल १६ र क्रिस वाक्स १८ रन बनाउँदै आउट भए । इङ्ल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इङ्ल्यान्डले अतिरिक्त रुपमा २२ रन पाएको थियो । पहिलो पालीमा न्युजिल्यान्डका बलर नाथन स्मिथले चार विकेट लिए । उनले ११.४ ओभरमा एक मेडन राख्दै ८६ रन खर्चिए । 
विल ओ’रुर्कले तीन र म्याट हेनरीले दुई विकेट हात पारे । तीन टेस्टको शृंखलामा इङ्ल्यान्ड १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई आठ विकेटले हराएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप