सिजनमै सिमेन्टको मूल्य किन बढाइयो ? छडको पनि बढाउने तयारी
काठमाडौँ । मङ्सिर महिनादेखि निर्माणका गतिविधिले तीव्रता पाउँछन् । यही बेला अर्थात् सिजनमै सिमेन्टको मूल्य वृद्धि भएको छ । बजारमा प्रतिबोरा ५० देखि बढीमा २५० रुपैयाँसम्म मूल्य बढेको निर्माण व्यवसायीहरूले बताएका छन् । निर्माणको सिजनमै सिमेन्ट उद्योगीले नाफा कमाउने उद्देश्यले कार्टेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि गरेको निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहाल बताउँछन् ।
त्यसैगरी छड उद्योगीले पनि छडको मूल्य प्रतिकिलो १० रुपैयाँ बढाउने तयारी गरिरहेको उनले बताए । यतिबेला छडको मूल्य वृद्धि गर्नुपर्ने कारण नभएको उनको भनाइ छ । ‘यो निर्माण कार्यको पिक आवर हो । वर्षात् र चाडपर्वको कारण रोकिएका सम्पूर्ण कामहरू अगाडि बढाउनुपर्ने बेलामा नियोजित रुपमा कार्टेलिङ गरेर मूल्य बढाइएको छ,’ दाहालले भने, ‘मूल्य वृद्धि गर्ने कुनै कारण नै नभइकन बढाइएको छ । न डलरको भाउ बढेको न डिजेल पेट्रोलको भाउ बढेको छ । आन्तरिक न बाह्य कुनै कारणले मूल्य वृद्धि गर्नुपर्ने स्थिति छैन तर सबै उद्योगहरू मिलेर सिमेन्ट प्रतिबोरा १५० देखि २५० भन्दा माथिसम्म बढाइएको छ ।’
मागभन्दा कम उत्पादन कम गरेर मूल्य बढाइरहेको उनको भनाइ छ । दाहालका अनुसार अहिले सिमेन्ट उद्योगीले उत्पादन घटाउँदै गएका छन् । बजारको माग अनुसार सिमेन्ट पाइएको छैन । ‘यसरी सिमेन्टमा अहिले कालोबजारी गरिएको छ,’ उनले भने ।
व्यवसायी भन्छन्– प्रतिबोरा ५० रुपैयाँ बढाइएको हो’
नेपाल उद्योग परिसंघका सभापति तथा पाल्पा सिमेन्ट उद्योगका अध्यक्ष राजेशकुमार अग्रवाल सिमेन्ट प्रतिबोरा ५० रुपैयाँ मात्रै बढाइएको बताउँछन् । विद्युत् प्राधिकरणले उद्योगको विद्युत् कटौती गर्दा दैनिक उत्पादनमा कमी आएसँगै मूल्य वृद्धि गरिएको अग्रवालको भनाइ छ ।
प्राधिकरणले सिमेन्ट उद्योगलाई आवश्यक पर्नेभन्दा कम पावर विद्युत् पठाउँदा दैनिक ८ घण्टा सिमेन्ट उत्पादनमा अवरोध भइरहेको उनले बताए । ‘यो सिमेन्ट उत्पादन बढाउनुपर्ने बेला हो । तर प्राधिकरणले यही बेलामा विद्युत् रेस्टिक्सन गरेर उत्पादनमा समस्या भएको छ । यही कारण अर्कातिर मेशिनरी उपकरण बिग्रिने र उत्पादन लागत बढेकाले मूल्य बढाएका हौँ,’ अग्रवालले भने । बिहान ४ घण्टा र बेलुका ४ घण्टा उद्योगमा आवश्यक पर्नेभन्दा कम पावर पठाएर समस्या भइरहेको उनको भनाइ छ । अग्रवालकाअनुसार गत वर्ष पनि प्राधिकरणले दैनिक १२ घण्टा विद्युत् कटौती गरिदिएको थियो ।
मूल्य बढेपछि छलफल गर्दै सरकार
उद्योग मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीले सिमेन्टको मूल्य वृद्धि गर्नको कारण आफूहरूलाई जानकारी नभएको बताएको छ । विभागका महानिर्देशक राजन पौडेलले उद्योगीहरूले के कारण सिमेन्टको मूल्य वृद्धि गरेको भन्ने विषय आफू जानकार नभएको बताए ।
‘अहिले उद्योगीहरूले सिमेन्टको मूल्य बढाएको गुनासो आएको छ । यस विषयमा अनुगमन गरिरहेका छौँ । के कारणले मूल्य बढ्यो कारण माग गर्दै हामीले उद्योगीहरूलाई छलफलमा बोलाएका छौँ,’ उनले भने । सिमेन्ट उद्योगीहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरी मूल्य वृद्धि गर्नुको कारण सोधपुछ गरिने महानिर्देशक पौडेलले बताए ।
सिमेन्ट निर्यात बढ्दो रुपमा
नेपालमा वार्षिक साढे ३ करोड टन सिमेन्ट उत्पादन क्षमता रहेको छ । तर अहिले कुल क्षमताको ४० प्रतिशतमात्रै सिमेन्ट उत्पादन हुने गरेको छ । वार्षिक १ करोड टन सिमेन्ट स्वदेशमा खपत हुन्छ । सानो परिमाणमा भारततर्फ निर्यात पनि हुने गरेको छ ।
तर पछिल्लो समय निर्यात बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा साढे ६६ करोड मूल्य बराबरको सिमेन्ट निर्यात भएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६६ करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको दुई लाख ६८ हजार ७०५ टन सिमेन्ट क्लिङ्कर र सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ । जसमध्ये ४९ करोड ६८ लाख ६३ हजार रुपैयाँको दुई लाख ३८ हजार ८५४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यसैगरी १६ करोड ९० लाख ९ हजार रुपैयाँको २९ हजार ८५१ टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ८५ करोड २८ लाख २४ हजार रुपैयाँको २८ लाख ३९ २१७ टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । जसमध्ये १ अर्ब ९७ करोड ८ लाख १७ हजार रुपैयाँको सिमेन्ट र १ अर्ब ८८ करोड २ लाख ८ हजार रुपैयाँको क्लिङ्कर निर्यात भएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ९३ लाख ५ हजार रुपैयाँको १० लाख ४० हजार २३ टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । जसमध्ये ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँको सिमेन्ट र ४२ करोड ३ लाख ५५ हजार रुपैयाँको क्लिङ्कर निर्यात भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा १२ लाख ९३ हजार रुपैयाँको १५ हजार १८९ टन सिमेन्ट निर्यात भएको थियो, भने आर्थिक वर्ष २०७७/७८मा ८३ हजार रुपैयाँको ११ टन सिमेन्ट निर्यात भएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा अन्यको भाउ कति ?
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?