बामे सर्दै बागमती विश्वविद्यालय
मकवानपुर । बागमती प्रदेश सरकानले स्थापनाकालदेखि नै महत्त्वपूर्ण आयोजनाको रूपमा बागमती विश्वविद्यालय निर्माणलाई अघि बढाए पनि प्रगति निकै सुस्त देखिएको छ ।
राजनीतिक सहमतिको अभाव तथा कानुनी उल्झनका कारण विश्वविद्यालय स्थापनाको कामले लामो समय गति पाउन सकेको छैन । प्रदेश सरकार स्थापनाको ७ वर्षमा जसोतसो विश्वविद्यालय गठनको काम सुरु भएको छ ।
प्रदेश सरकारले २०७८ मा ऐन जारी गरी प्रदेश विश्वविद्यालय स्थापनाको तयारी थालेको थियो । तयारी थालेको २ वर्षपछि प्रदेश उच्च शिक्षा परिषदको कार्यालय स्थापना गरिएको थियो भने ३ वर्षपछि बागमती विश्वविद्यालय नामकरण गरी कार्यालय स्थापना गरिएको छ । विश्वविद्यालयका लागि भौतिक संरचना अभाव हुँदा हेटौंडा–५ मा भाडाको घरमा कार्यालय खडा गरिएको छ भने बोर्ड अफ ट्रष्टीको कार्यालय सामाजिक विकास मन्त्रालयसँगैको अस्थायी भवनमा राखिएको छ ।
प्रदेश सरकारले विश्वविद्यालयका लागि आवश्यक जमिन, भौतिक संरचना तथा प्रशासनिक कार्यालयहरूको व्यवस्थापन गर्न सकेको छैन ।
सङ्काय निर्धारणमा केन्द्रित
बोर्ड अफ ट्रष्टीमा ६ जना सदस्य नियुक्त भइ हाल पाठ्यक्रम निर्माणका लागि छलफल भइरहेको विश्वविद्यालयका उपाध्यक्ष कुशुमराज सुवेदीले जानकारी दिए । विश्वविद्यालयको अध्ययन अध्यापनका लागि आवश्यक भौतिक संरचना तथा क्याम्पसहरूको व्यवस्था भइनसकेको उनले बताए । यद्यपि, विश्वविद्यालयमा अध्यापन गराउने सङ्काय निर्धारणको काम भइरहेको उनको भनाइ छ ।
सुवेदीका अनुसार केही दिन अघि हेटौंडामा व्यवसायी तथा उद्योगीहरूसँग आवश्यक जनशक्ति तथा सङ्कायका विषयमा बोर्ड अफ ट्रष्टीले छलफल गरेको थियो भने सो लगत्तै हेटौंडामा पूर्वमुख्यमन्त्रीहरूसँग छलफल गरेको थियो ।
मंसिर १५ गते मुख्यमन्त्रीसहित बोर्ड अफ ट्रष्टीका सदस्यको टोलीले प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनका विषयमा विश्वविद्यालय अनुदान आयोगको पदाधिकारी र विज्ञहरूसँग छलफल गरेको थियो ।
काठमाडौंमा भएको छलफल विश्वविद्यालयको पाठ्यक्रम तथा दीर्घकालीन सञ्चालनका विषयमा केन्द्रित थियो । विश्वविद्यालयको व्यवस्थित, मर्यादित, आधुनिक, वैज्ञानिक र प्रविधिमैत्री शिक्षालाई पाठ्यक्रमसँग जोड्दै युवा पुस्ताको माग र आवश्यकताको शिक्षा प्रणाली निर्माणका विषयमा छलफल भएको थियो ।
व्यावहारिक शिक्षा प्रणाली विकास तथा व्यावसायिकतामा आधारित सीपमूलक शिक्षा प्रदानमा विश्वविद्यालयको योजना निर्माणका विषयमा पनि छलफल भएको बताइएको छ ।
विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर पाठ्यक्रमको खाका निर्माण भइरहेको सुवेदीले बताए । विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहको कानुन सङ्काय, व्यवस्थापन सङ्कायतर्फ सार्वजनिक क्षेत्र व्यवस्थापन, प्राविधिकतर्फ फोहोर व्यवस्थापन, सामुदायिक नर्सिङ लगायतका विषयहरू अध्ययन गराउने तयारी भइरहेको उनको भनाइ छ ।
उत्पादन र उत्पादकत्व वृद्धि, व्यावसायिक शिक्षामा जोड दिँदै विश्वविद्यालयले पाठ्यक्रमको मोडलसमेत परिवर्तन गरेर प्राविधिक क्षेत्रका अन्य विषय अध्ययन गराउने गरी काम गरिरहेको सुवेदीले जानकारी दिए ।
उनका अनुसार विश्वविद्यालय सञ्चालनका लागि पूर्वतयारीका काम भइरहेको छ । कानुनी प्रक्रिया पूरा गर्ने र आवश्यक नियम, नियमावली निर्माणको काम चलिरहेको उनले बताए । विश्वविद्यालयको शैक्षिक कार्यक्रम आगामी आर्थिक वर्षबाट सुरु गर्ने गरी जग्गा तथा भवन निर्माणका लागि छलफल भइरहेको उनको भनाइ छ ।
विश्वविद्यालयले अध्ययन अध्यापनका लागि आङ्गिक कलेजहरू छनोट गर्नेगरी प्रक्रिया अघि बढाएको उपाध्यक्ष सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म
-
राष्ट्रपति ट्रम्पलाई रास्वपाले दियो शुभकामना