बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कैलारी गाउँपालिकाको प्रवक्ताविरुद्ध प्रहरीमा उजुरी दर्ता, नाउपा र कांग्रेसबिच आरोप–प्रत्यारोप

बिहीबार, २० मङ्सिर २०८१, २० : १६
बिहीबार, २० मङ्सिर २०८१

धनगढी । कैलालीको कैलारी गाउँपालिकाका वडा नं. ७ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता दीपेन्द्र बमविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश समिति सदस्य भीष्म चौधरीले वडा अध्यक्ष बमलगायत विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा ठाडो उजुरी दिएका हुन् । आफूमाथि वडा अध्यक्ष बमसहितकाले कुटपिट गरेको चौधरीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले ठाडो उजुरी परिसकेपछि दुई वटै पक्षलाई छलफलका लागि शुक्रबार झिकाइने जानकारी दिए ।

पालिकाका प्रवक्ता समेत रहेका बम, कांग्रेसकै स्थानीय नेता राजु बराल, पालिका अध्यक्ष राजसमझ चौधरीका स्वकीय सचिव जितेन्द्र चौधरी लगायतले आफूमाथि कुटपिट गरेको भीष्म चौधरीको भनाइ छ ।

उनले भने, ‘मेरो कसैसँग कुरै भएको थिएन । एक्कासी आएर मलाई तथानाम गाली गर्दै कुटपिट गरे ।’  कुटपिटबाट आफ्नो ओठ समेत काटिएको उनको भनाइ छ ।

यसैबिच नागरिक उन्मुक्ति पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै कुटपिटको भर्त्सना गरेको छ । नाउपाका कैलारी गाउँपालिका समिति अध्यक्ष शंकर प्रसाद चौधरीले दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् ।

Nagrik press relise

उता नेपाली कांग्रेसले पनि विज्ञप्ति जारी गर्दै नाउपामाथि भ्रामक कुरा सार्वजनिक गरिएको आरोप लगाएको छ । कांग्रेसका कैलारी सभापति कृष्ण प्रसाद चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाम्रक तथा गलत नियतले प्रेसित विज्ञप्तिको हामी घोर भर्त्सना गर्दछौँ । उक्त विज्ञप्तिमा सत्यता विपरित दादागिरी तथा गुण्डागर्दी सांघातिक आक्रमणको आरोप लगाउँदै गलत सूचना प्रवाह गरिनु खेदजनक छ ।’

Congress press relises

वडाध्यक्ष बमले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । सामान्य विषयलाई लिएर राजनीतिक रङ दिएको उनको भनाइ छ ।

यद्यपि, प्रत्यक्षदर्शीहरूले चुनावको समयमा प्रयोग भएको गाडीको भाडा बापत दुई पक्षबिच विवाद बढेपछि हात हालाहालको अवस्था सिर्जना भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप