बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

फिल्मको व्यवसाय उकालो लागेसँगै बढे सिनेमा हल

हल सञ्चालकको आम्दानी कति ?
बिहीबार, २० मङ्सिर २०८१, १८ : ००
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । पछिल्लो समय फिल्मको व्यवसाय बढेसँगै फिल्म हलको सङ्ख्या पनि बढेको पाइएको छ । चलचित्र विकास बोर्डका अनुसार हाल देशभर १५८ फिल्म हल सञ्चालनमा छन् ।

नेपाल चलचित्र संघ (हल सञ्चालकहरूको संगठन)ले गत जेठमा देशभर १३८ फिल्म हल सञ्चालनमा रहेको जनाएको थियो । विकास बोर्डका अनुसार गत जेठदेखि मंसिरसम्म आउँदा २० वटा फिल्म हल बढेको देखिएको छ । जेठ यता हलको सङ्ख्यामा १४ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । तीमध्ये केही नयाँ खुलेका हुन् भने केही बन्द रहेका पुराना फिल्म फेरि सञ्चालनमा आएका हुन् ।

नेपाल चलचित्र विकास बोर्डका अनुसार नेपालमा अहिलेसम्म ४४९ फिल्म हल (मल्टिप्लेक्सका प्रत्येक पर्दालाई हलको सङ्ख्यामा गणना गर्दा) सञ्चालनमा आएको रेकर्ड छ । तर, अहिले १५८ हलमात्र सञ्चालनमा छन् । 

नेपाली फिल्मको व्यवसाय उकालो लागेसँगै अहिले फिल्म हल पनि थपिएको नेपाल चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ बताउँछन् ।

‘पछिल्लो ४/५ महिनामा केही नयाँ हल थपिएका छन् । पुराना हलसमेत केही सञ्चालनमा आएका छन्’, कायस्थले भने ‘यद्यपि दर्शक अनुसार अझै हल पुगेको छैन । दर्शक अनुसार फिल्म हल र सिटको क्षमता नभएकाले राम्रो फिल्म चल्दा राति पनि शो लगाउनु परेको छ ।’

  • कुन प्रदेशमा कति हल ?

चलचित्र विकास बोर्डका अनुसार अहिले देशभर १५८ फिल्म चालु अवस्थामा छन् । त्यसमा पनि सबैभन्दा बढी बागमती प्रदेशमा ६७ र दोस्रोमा कोशी प्रदेशमा २६ फिल्म हल सञ्चालनमा छन् । 

सबैभन्दा थोरै हल सुदूरपश्चिम प्रदेशमा एउटा फिल्म हल सञ्चालित छ । त्यसपछिको थोरै कणाली प्रदेशमा जम्मा २ वटा फिल्म हल सञ्चालनमा छन् ।

सञ्चालनमा_page-0001सञ्चालनमा_page-0002सञ्चालनमा_page-0003

 

  • थपिए ७ नयाँ हल 

चलचित्र विकास बोर्डका अनुसार गत जेठदेखि मंसिर १८ सम्म नयाँ फिल्म हल ७ वटा  थपिएका छन् । थपिएका ७ हलमा ३ वटा फिल्म हल बागमती प्रदेशको काठमाडौँमा छन् । त्यस्तै दुई फिल्म हल मधेस प्रदेशमा थपिएका छन् । मधेसका जनकपुर र सिराहमा एक–एक वटा हल थपिएका हुन् ।

यस्तै एक फिल्म हल गण्डकी प्रदेशको म्याग्दीमा र एक फिल्म हल लुम्बिनी प्रदेशको बुटवलमा थपिएका छन् ।

 

नयाँ हलहरुः

hall

  • पुराना हल नवीकरण

चलचित्र विकास बोर्डका अनुसार गत जेठदेखि मंसिर १८ सम्म ३१ वटा पुराना हल नवीकरण भएका छन् । बोर्डका अनुसार अहिले सबैभन्दा बढी फिल्म हल नवीकरण बागमती प्रदेशमा भएको छ । यो प्रदेशमा १४ फिल्म हलले नवीकरण गरेका हुन् । त्यसपछि बढी नवीकरण गर्नेमा मधेस प्रदेश र लुम्बिनी प्रदेश छन् । यी दुवै प्रदेशमा ४–४ फिल्म हल नवीकरण भएका छन् ।

त्यस्तै कोशी प्रदेशमा ३ र गन्डकी प्रदेशमा पनि ३ पुराना फिल्म हल नवीकरण भएका छन् । हाल दुई हल सञ्चालनमा रहेको कर्णाली प्रदेशमा एक फिल्म हलले नवीकरण गरेको छ ।

नवीकरण भएका ३१ हलमध्ये केही फिल्म हल पुनः सञ्चालनका लागि नवीकरण भएका छन् भने केही सञ्चालनमा रहेर नवीकरण नगरी बसेका फिल्म हलले नवीकरण गरेका हुन् । सञ्चालनमा रहे पनि नवीकरण नगरी बस्ने फिल्म हललाई चलचित्र विकास बोर्डले केही अगाडि कारबाहीको चेतावनी दिएको थियो ।

नवीकरण भएका हल

2

  • ३ सयभन्दा बढीले पाए रोजगारी

फिल्म हलको सङ्ख्या बढ्दा फिल्मको व्यवसायमात्र बढेको छैन, त्यससँग सम्बन्धित थुप्रै मजदुरले रोजगारी पाएका छन् । अहिले २० फिल्म हल (पर्दा) थपिएको तथ्याङ्कलाई नै आधार मान्ने हो भने प्रतिहल करिब १५ जनाले रोजगारी पाएका छन् ।

एक हल (पर्दा) सञ्चालनका लागि काउन्टर, टिकट चेकिङ, प्रोजेक्सन लगायत विभिन्न विधामा गरी १५ कर्मचारी लाग्ने चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् । त्यो हिसाबले पनि अहिले २० हल थपिँदा ३०० सयभन्दा बढी व्यक्तिले रोजगारी पाएका उनको भनाइ छ ।

  • हल व्यवसायमा कति आम्दानी ?

नेपालका फिल्म हलको आम्दानी यति भनेर भन्न सकिने अवस्था छैन । हलको आम्दानी प्रदर्शनमा आएका फिल्मको व्यवसायमा निर्भर हुन्छ । कुनै फिल्मको प्रदर्शनबाट हलले राम्रै आम्दानी गर्छ भने कुनैबाट कर्मचारी, विद्युत् खर्चसमेत उठाउन सक्दैन ।

पछिल्लो समय निर्माता संघ (चलचित्र निर्माताहरूको छाता संगठन) र चलचित्र संघ (चलचित्र प्रदर्शकहरूको छाता संगठन) बिच  भएको सम्झौता अनुसार फिल्मको कुल व्यवसायको ५०–५० प्रतिशत हल र निर्माताले बाँड्ने भन्ने छ । जस अनुसार कुनै फिल्मबाट हलले राम्रै आम्दानी गर्छ भने कुनै फिल्मबाट सञ्चालन खर्चसमेत धान्न मुस्किल हुने गर्छ ।

प्रत्येक फिल्म हलको आम्दानी दर्शकमा भर पर्छ । पछिल्लो समय नेपाली बक्सअफिसमा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले ४७ करोडभन्दा बढी व्यवसाय गरेको  छ । यो व्यवसायको १८ प्रतिशत कर काटेर बाँकी ५० प्रतिशत हिस्सा हल सञ्चालकले पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप