बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

विभाजनबिच स्थानीय तहमा एक सिट थपेको जसपा नेपाल उत्साहित

बिहीबार, २० मङ्सिर २०८१, १७ : ३०
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल स्थानीय तहको उपनिर्वाचनको परिणामले उत्साहित देखिन्छ । २०७९ को स्थानीय तहको चुनावमा पाएको सिटमा एक सिट थप्न सफल भएकोमा जसपा नेपाल उत्साहित देखिएको हो ।

उपनिर्वाचन भएका सिटमध्ये जसपा नेपालले २०७९ को निर्वाचनमा जितेको एउटा सिट पनि थियो । तर उपनिर्वाचनमा जसपा नेपालले दुई वटा वडा जित्दै एउटा थप्न सफल भएको हो ।

गत स्थानीय चुनावमा रौतहटको गढीमाई नागरपालिका वडा नम्बर ८ मा जसपा नेपालका निर्वाचित वडा अध्यक्षको निधन भएपछि त्यो ठाउँमा भएको उपचुनावमा आफ्नो विरासत जोगाउन नसके पनि जसपा नेपालले सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ को वडा अध्यक्ष जितेको छ ।

‘यो उपनिर्वाचनले जसपा नेपाल नाफामा रह्यो,’ सो पार्टीका महासचिव रामकुमार शर्माले भने, ‘उपनिर्वाचनले जसपा नेपाललाई उत्साहित बनाएको छ र संगठनका लागि अझै मेहनत गर्न अभिप्रेरित गरेको छ ।’

स्थानीय तहको उपनिर्वाचन परिणामले मधेस प्रदेशमा जसपा नेपाललाई मधेसी जनताले प्रमुख शक्तिकै रूपमा स्वीकार गरेको दाबी गर्दै महासचिव शर्माले बाँकी मधेस केन्द्रित दलहरू जनमत र लोसपा नेपाललगायतलाई पूर्णरुपमा अस्वीकार गरेको जिकिर गरे ।

जसपा नेपालको जन्म स्थानीय तहमा केही सिट, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यमा सीमित रहनका लागिमात्र नभएर पहिचानसहितको समृद्ध संघीयता, समावेशी लोकतन्त्र, सामाजिक न्याय र समाजवादी व्यवस्था स्थापना गर्न भएको दाबी गर्दै उनले अहिले नै खुसी भइहाल्ने अवस्था नरहेको बताए ।

मधेस केन्द्रित दल लोसपा नेपालले उपनिर्वाचनमा उम्मेदवारी नै दिएन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले केही स्थानमा उम्मेदवारी दिए पनि कहीँ जित्न सकेन । उपनिर्वाचनमा जनमत पार्टीले १६ स्थानमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये कुनै पनि सिटमा प्रतिस्पर्धामै आउन सकेन ।

गत वैशाखमा अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएको थियो । विभाजनका कारण जसपा नेपाल कमजोर भएको आकलन गरिएको थियो तर विभाजनले पार्टीमा कुनै असर नगरेको उपनिर्वाचनको परिणामले पुष्टि भएको सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

‘विभाजनले पार्टीमा कुनै असर गरेको छैन । बरु त्यसले झन् उत्साह बढेको कुरा यो उपनिर्वाचनको परिणामले पुष्टि भएको छ,’ सुमनले भने, ‘अरू अरू पार्टीको मत घटेको छ तर समग्रमा जसपा नेपालले सन्तोषजनक मत ल्याएको छ ।’

  • जित्यो दुई सिट

सप्तरीको डाक्नेश्वरी–१ मा २०७९ को चुनावमा जसपा नेपाल ४३८ मतसहित तेस्रो स्थानमा थियो । अहिले त्यहाँ ६५२ मत ल्याएर जसपा नेपालका उम्मेदवार विजयी भए ।

सोही पालिकाको ४ नम्बर वडामा गत चुनावमा २६९ मत ल्याएर दोस्रो बनेको जसपा नेपालले यो उपनिर्वाचनमा ३७२ मत ल्याएर जितेको छ ।

  • अधिकांश ठाउँमा घट्यो मत

धनुषाको धनुषाधाममा–१ मा जसपा नेपालले आफ्नो मत बढाएको छ । गत चुनावमा ३२४ मत ल्याएर चौथो बनेको यो पार्टी उपनिर्वाचनमा ४९९ मत ल्याएर तेस्रो बनेको छ । महोत्तरीको रामगोपाल–२ मा जसपा नेपालको अवस्था निराशाजनक रह्यो । यहाँ जसपा नेपालका उम्मेदवारले ३८ मतमात्र प्राप्त गरे । गत चुनावमा सोही वडामा जसपा नेपाल ३४२ मत ल्याएर तेस्रो बनेको थियो ।

रौटहटको गढीमाई नगरपालिका वडा नम्बर ८ मा जसपा नेपाल २०७९ को निर्वाचनमा विजयी भएको थियो । त्यतिबेला जसपा नेपालका उम्मेदवारले ७६४ मत ल्याएका थिए । यस पटक जसपा नेपाल त्यहाँ २५८ मतमा सीमित रहँदै चौथो स्थानमा पुगेको छ ।

गत चुनावमा जसपा नेपाल कपिलवस्तुको शुद्धोधन–१ मा ३८२ मत ल्याएर चौथो बनेको थियो । तर यो उपनिर्वाचनमा जसपा नेपालले यहाँ ३४१ मतमात्र प्राप्त गर्‍यो ।

गत चुनावमा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा जसपा नेपालले उम्मेदवारी दिएको थिएन । तर उपनिर्वाचनमा पालिका अध्यक्ष पदमा जसपा नेपाल ४७ मत ल्याएर दशौँ स्थानमा रह्यो ।

काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा जसपा नेपाल २७ मत ल्याएर सोह्रौँ स्थानमा पुगेको छ ।

रौतहटको ईशनाथ–७ मा ७ मत ल्याएर जसपा नेपाल आठौँ नम्बरमा गएको छ भने काठमाडौँको कीर्तिपुर नगरपालिका–४मा ७ मत ल्याएर नवौँ स्थानमा पुगेको छ ।

जसपा नेपाल मकवानपुरको हेटौँडा–१२ मा १० मत ल्याएर आठौँ, ओखलढुंगाको मोलुङ–५ मा ३ मत ल्याएर छैटौँ स्थानमा पुगेको छ ।

  • स्थानीय तहमा जसपा नेपालको शक्ति

२०७९ को स्थानीय चुनावमा जसपा नेपालले विभिन्न पद गरी ४५५ स्थानमा चुनाव जितेको थियो । त्यसमध्ये कोशीमा अध्यक्षमा दुई, उपाध्यक्षमा दुई, वडाध्यक्षमा २०, महिला सदस्यमा १९, दलित महिला सदस्यमा २४, वडा सदस्यमा ४५ जना जितेका थिए ।

मधेस प्रदेशमा जसपा नेपालले प्रमुखमा सात, अध्यक्षमा १७, उपप्रमुखमा नौ, उपाध्यक्षमा १६, वडाध्यक्षमा २१२, महिला सदस्यमा २१६, दलित महिला सदस्यमा २१३, वडा सदस्यमा ४३१ जनालाई जिताएको थियो । बागमती प्रदेशमा वडा अध्यक्षमा एक र सदस्यमा दुई जनालाई मात्र जिताउन सफल भएको थियो ।

गण्डकी प्रदेशमा जसपा नेपालले वडा सदस्य तीन, महिला सदस्य तीन, दलित महिला सदस्य तीन, खुला सदस्यमा ६ जनालाई जिताएको थियो । त्यस्तै, लुम्बिनी प्रदेशबाट सो दलले प्रमुख एक, अध्यक्ष दुई, उपप्रमुख दुई, उपाध्यक्ष एक, वडाध्यक्ष ४२, महिला सदस्य ३९, दलित महिला सदस्य ३६ र खुला सदस्यमा ७२ जनालाई जिताएको थियो ।

सुदूरपश्चिम प्रदेशमा जसपाले वडाध्यक्ष दुई, महिला सदस्य तीन, दलित महिला सदस्य दुई, वडा सदस्य दुई जना जिताएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप