सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

प्राधिकरणमा ऊर्जामन्त्रीको कार्यकक्ष : कांग्रेसको समर्थन, माओवादीको विरोध, एमाले भन्छ– परिणाम हेर्नुपर्छ

बिहीबार, २० मङ्सिर २०८१, १४ : ३५
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले बुधबार नेपाल विद्युत् प्राधिकरणको कार्यकक्षमा पुगेर आफ्नो नवनिर्मित कार्यकक्षमा केही समय बिताए । विभागीय मन्त्रीले प्राधिकरणको कार्यालयमै आफ्नो कार्यकक्ष राखेर बसेको यो पहिलो पटक हो । मन्त्री खड्काले मंगलबार राति आफ्नो कार्यकक्ष प्राधिकरणमा पनि बनाउन लगाएका थिए । ऊर्जामन्त्री नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति अध्यक्ष हुने व्यवस्था छ । अध्यक्षको नेमप्लेटसहित ऊर्जामन्त्रीले त्यहाँ कार्यकक्ष बनाएको ४० वर्षको प्राधिकरणको इतिहासमा यो पहिलो हो । 

यसो त यतिबेला प्राधिकरणको नेतृत्व र ऊर्जा मन्त्रालयको नेतृत्वबिच हार्दिकताको सम्बन्ध छैन । प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङ र ऊर्जामन्त्री दीपक खड्काबिच डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउने विषयमा कुरा मिलेको छैन । घिसिङ जसरी हुन्छ बक्यौता उठाउने पक्षमा छन् भने खड्का टीओडी मिटरका आधारमा मात्रै उठाउने र महसुल उठाउँदा उद्योगीलाई मर्का पर्न दिन नहुने पक्षमा छन् । यही कारण ऊर्जामन्त्री खड्काले सञ्चालक समिति बैठकबाट बत्ती नकाटी महसुल उठाउने निर्णय मात्रै गराएका छैनन्, समिति बनाएर टीओडी मिटरको डाटा अध्ययन समेत गराइरहेका छन् । 

यही बेला आफ्नो कार्यकक्षसमेत प्राधिकरणमा बनाएपछि राजनीतिक दलहरू पनि यसमा फरक धारणा राख्न थालेका छन् । पूर्वऊर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही ऊर्जामन्त्री खड्काको कदमलाई समर्थन गर्न नसकिने बताउँछन् । ‘मन्त्रीले मन्त्रालयमा बसेर नीतिगत रूपमा देश चलाउने हो, कुनै कार्यालयमा गएर कार्यकक्ष बनाएर होइन,’ उनले भने, ‘यसरी प्राधिकरणमा कार्यकक्ष बनाउनु राजनीतिक, प्रशासनिक, नैतिक कुनै पनि कोणले उपयुक्त होइन । यो गलत भयो ।’ शाहीले प्रतिप्रश्न गरे, ‘मन्त्रालय मातहत कयौँ विभाग, आयोजना, कार्यालयहरू छन्, यी सबैमा मन्त्रीको कार्यकक्ष बनाउँदा के होला ? यसले मुलुकको नेतृत्व गर्ने होइन ।’

कांग्रेस नेता एवं पूर्वऊर्जामन्त्री प्रकाशशरण महत चाहिँ यसलाई गलत नै भन्न नहुने बताउँछन् । उनले भने, ‘ऊर्जामन्त्री प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हो । त्यसकारण अध्यक्षले आफ्नो कार्यालयमा कार्यकक्ष बनाएर केही समय बिताउँछु, काम गर्छु भन्न खोज्नुलाई नराम्रो भन्न मिल्दैन ।’

पूर्वऊर्जामन्त्री एवं एमाले नेता रघुवीर महासेठ यसलाई नजितासँग जोडेर हेर्नुपर्ने बताउँछन् । ‘कुनै पनि कुरा सही र गलत भन्नुअघि त्यसको परिस्थिति नियाल्नुपर्छ, अहिलेको सन्दर्भभन्दा अब त्यसले दिने परिणाम हेरेर मात्रै मूल्याङ्कन गर्नुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भने, ‘त्यसले ऊर्जा विकास रणनीतिमा राम्रो गर्‍यो भने गलत भयो कसरी भन्नु ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप