बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आज कर्णाली याक्सका स्टार शिखर धवनको जन्मदिन

आफूभन्दा १० वर्ष जेठी आयषासँगको प्रेम सम्बन्ध, विवाह र सम्बन्धविच्छेदको कथा
बिहीबार, २० मङ्सिर २०८१, १४ : १८
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । चर्चित भारतीय क्रिकेटर शिखर धवन हाल नेपालमा छन् । उनी नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका हुन् । उनी कर्णाली याक्सको तर्फबाट एनपीएल खेल्दैछन् ।

भारतको राष्ट्रिय टोलीबाट दुई सय ६० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका धवनले जारी एनपीएलमा उत्कृष्ट प्रदर्शन पनि गरेका छन् । यद्यपि, उनको टोली कर्णाली याक्स आफूले खेलेको दुवै खेलमा पराजित भएको छ ।

कर्णाली याक्सको पहिलो खेलमा धवनले जनकपुर बोल्ट्सविरुद्ध १४ रन बनाएका थिए । त्यो खेलमा उनले १४ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । दोस्रो खेलमा भने उनले उत्कृष्ट अर्धशतक बनाएका थिए ।

काठमाडौँ गुर्खाजविरुद्धको उक्त खेलमा ओपनर ब्याट्सम्यान शिखर धवनले अविजित ७२ रन बनाएका थिए । त्यो खेलमा उनले ५१ बलको सामना गरी पाँच छक्का र चार चौका पनि हिर्काएका थिए । जारी एनपीएलमा सम्भवतः धवन नै सबैभन्दा चर्चित विदेशी खेलाडी पनि हुन् ।

संयोगले, धवनलाई नेपालमै जन्मदिन मनाउने अवसर पनि जुरेको छ । बिहीबार धवनको जन्मदिन हो । उनी बिहीबार ३९ वर्ष पुगेका छन् । ३९औँ जन्म दिनको अवसरमा धवनसँग जोडिएको एउटा रोचक प्रसङ्ग यहाँ उल्लेख गरिएको छ ।

शिखर धवनको पत्नीको नाम आयशा मुखर्जी हो । धवन र आयषा सन् २०१२ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । पहिलो भेटपछि नै धवन आयशाको प्रेममा परेका थिए । धवनभन्दा आयषा १० वर्ष जेठी छन् । धवनसँग भेट हुनुअघि नै आयषाको विवाह भइसकेको थियो ।

Dhawan 2

त्यतिबेला उनी दुई बच्चाकी आमा पनि थिइन् । अहिले धवन र आयषाबिच सम्बन्धविच्छेद भइसकेको छ । विवाहको नौ वर्षपछि धवन र आयषाबिचको सम्बन्धमा असहजता सुरु भएको थियो । त्यसपछि सन् २०२३ मा दुबैले आपसी सहमतिमा वैधानिक रूपमा सम्बन्ध विच्छेद गरेका थिए ।

भनिन्छ, धवन र आयषाको प्रेम सम्बन्धलाई अगाडि बढाउनुमा आफ्नो समयका प्रभावशाली खेलाडी तथा धवनका असल मित्र हरभजन सिंहको हात रहेको थियो । धवनसँग प्रेम सम्बन्धमा पर्नुअघि आयषाले अस्ट्रेलियन व्यवसायीसँग विवाह गरेकी थिइन् । आफ्नो पहिलो पतिबाट उनी दुई छोरीकी आमा बनेकी थिइन् ।

खासमा, धवन र आयषाको प्रेम कथा सामाजिक सञ्जाल फेसबुकबाट सुरु भएको थियो । किकबक्सिङ खेलमा रुचि राख्ने आयषाको जन्म भारतको पश्चिम बंगालमा भएको थियो । आयषाको पिता बङ्गाली र आमा ब्रिटिस नागरिक हुन् ।

आयषा सानै हुँदा उनको परिवार अस्ट्रेलियामा बसाइ सरेको थियो । आयषासँग विवाह भएपछि उनकी दुई छोरी रिया र आलिया पनि धवनकै रेखदेखमा थिए । धवन र आयषाको पनि एक छोरा छन् । धवन र आयषाका छोरा जोरावरको जन्म सन् २०१४ मा भएको थियो ।

समाचार जनाइए अनुसार, आयषाले अस्ट्रेलियामा रहेको शिखर धवनको सम्पत्तिमा ९९ प्रतिशत हिस्सा खोजेकी थिइन् । यसका अतिरिक्त धवनको परिवारलाई लिएर पनि यो जोडीबिच खटपट सुरु भएको थियो । आपसी असहमति बढ्दै गएपछि अन्ततः यो सुन्दर जोडी एक–अर्काबाट अलग भएको थियो ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप