बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
औषधि खरिदमा बेथिति

आर्थिक वर्षको अन्त्यमै किन हुन्छ करोडौँको औषधि खरिद ?

स्वास्थ्यमन्त्री भन्छन्– अब त्यो गल्ती हुन दिँदैनौँ
बिहीबार, २० मङ्सिर २०८१, १६ : ३०
बिहीबार, २० मङ्सिर २०८१

विराटनगर । कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले गत बिहीबार (मंसिर १३ गते) पत्रकार सम्मेलन गरी आर्थिक वर्षको अन्त्यमा औषधि खरिद गर्ने प्रक्रिया गलत भएको बताए । उनले सार्वजनिक गरेको विवरणमा पनि आर्थिक वर्षकोे अन्तिम महिना असार, त्यसमा पनि महिनाको अन्तिमतिर करोडौँको औषधि खरिद गरिएको उल्लेख छ ।

उक्त विवरण सार्वजनिक भएपछि पत्रकारले मन्त्री राईलाई ‘लेनदेनमा औषधि खरिद हुन्छ । २० प्रतिशत लगानी गरेर ८० प्रतिशत कमिसन खाने गरेको हल्ला छ । यो विषय के हो ?’ भन्ने प्रश्न गरे ।

उक्त प्रश्नको जवाफ दिँदै मन्त्री राईले भने, ‘यो गल्ती अब जसको–जसको पालामा जे गरे पनि त्यसको जिम्मा मैले पनि लिनुपर्छ । यो राम्रो प्रक्रिया होइन । औषधि खरिद गर्ने, सामान खरिद गर्ने प्रक्रियामा ढिलाइ गर्ने, प्रक्रियालाई ढिलो गर्नुपर्ने कुनै पनि कारण छैन ।’

सार्वजनिक खरिद ऐनमा सम्पूर्ण व्यवस्था रहेको भन्दै उनले त्यो व्यवस्था अनुसार जाने हो भने २÷३ महिनाभित्र टुङ्गो लाग्ने जिकिर गरे । ‘अब यो प्रक्रियालाई टुङ्गो लगाउन म पहल गर्छु,’ मन्त्री राईले भने, ‘आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न म क्रियाशील छु । अब चाँडै औषधि खरिद प्रक्रियालाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दछु ।’

मन्त्री राईले भनेजस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले आर्थिक वर्षको अन्त्यमा करोडौँको औषधि खरिद गर्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १३ वटा फर्मबाट ७ करोड २६ लाख ९८ हजार ८१९ रुपैयाँको औषधि आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको पाइएको हो । जसमध्ये करिब आधा औषधि २०८१ असार ४ देखि २४ गतेसम्म खरिद गरेको छ । केन्द्रले ७ वटा सप्लायर्सबाट सो मितिमा ३ करोड ७१ लख ५२ हजार १४९ रुपैयाँको औषधि खरिद गरेको देखिएको छ ।

असारमा काठमाडौँको टीआर सप्लायर्स प्रालिबाट ५ लाख ५० हजार, एमटेस मिड प्राइभेट लिमिटेड मोरङबाट ४ लाख ८९ हजार २०, द सोलुसन मेडिटेक प्रालिबाट २५ लाख २१ हजार ४२०, भक्तपुरको सोहन मेडिहेल्थबाट २ करोड २५ लाख ९५ हजार ८२१ रुपैयाँको औषधि आपूर्ति केन्द्रले खरिद गरेको देखिन्छ ।

यसैगरी विराटनगरको श्री गणेश ड्रग हाउसबाट १२ लाख ३८ हजार, विराटनगरको बिसु मेडिसेल्स प्रालिबाट ५ लाख ५९ हजार ८ सय ८८, कैलालीको यशोदा फार्मेसीबाट ७४ लाख ७६ हजारको औषधि आपूर्ति केन्द्रले असार महिनामा खरिद गरेको छ । केन्द्रमा काठमाडौँको एउटै फार्मेसीले तीन पटकसम्म टेन्डर पारेर औषधि आपूर्ति गरेको छ । ब्लूमून मेडिटेक फर्माले गत आर्थिक वर्षमा २ करोड ६७ लाख ३५ हजार ४३० रुपैयाँ औषधि आपूर्ति केन्द्रलाई उपलब्ध गराएको छ । उसले २०८१ वैशाख २४ गते १ करोड ९९ लाख १५ हजार ३० रुपैयाँ, जेठ २ गते १९ लाख ४९ हजार ४ सय र जेठ १७ गते ४८ लाख ८४ हजार ५ सयको औषधिको टेन्डर पारेको थियो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका सूचना अधिकारी चन्द्रकान्त ठाकुरले निर्देशिका ढिलो गरी मन्त्रालयले बनाएका कारण खरिद प्रक्रियामा ढिलाइ हुने गरेको बताए । ‘मन्त्रालयबाट निर्देशिका बनेर आएपछि आपूर्ति केन्द्रले आवश्यकता अनुसार औषधि खरिदको लागि बोलपत्र आह्वान गर्दछ,’ उनले भने, ‘त्यसको समय ३० दिन हुन्छ । यसरी सम्पूर्ण प्रक्रिया पूरा हुँदा करिब ७० दिन समय लाग्छ ।’

Ausadhi Kharid Bare bibaran 2080.2081

आर्थिक वर्षको अन्त्यमा म्याद गुज्रन लागेका औषधि खरिद गर्ने गरेको स्रोतको दाबी छ । त्यस्तो औषधि खरिदमा ७० प्रतिशतसम्म कमिसन आउने भएकाले म्याद सकिन लागेको औषधि खरिद गर्ने गरेको गुनासो पनि मन्त्री राईसम्म पुगेको छ । औषधि खरिद गर्ने आपूर्ति केन्द्रले भने टेन्डर गर्दा कम्तीमा पनि १८ महिना म्याद भएको औषधिमात्रै खरिद गर्ने गरेको बताएको छ ।

कोशी प्रदेशमा ९५ प्रकारको औषधि खरिदका लागि आपूर्ति केन्द्रमा प्रत्येक वर्ष ७ करोडभन्दा बढी बजेट विनियोजन हुने गरेको छ ।

चालु आर्थिक वर्ष आधारभूत सेवाका लागि २ करोड ३३ लाख, मानसिक रोगको औषधिका लागि ५० लाख र ४५ लाख रुपैयाँको टेन्डर आपूर्ति व्यवस्थापन केन्द्रले आह्वान गरिसकेको छ । संघीय सरकारले निःशुल्क वितरण गर्ने ९२ प्रकारको औषधि तथा प्रदेशले ५६ प्रकारको औषधि आपूर्ति केन्द्रमार्फत खरिद हुने गरेको छ । आपूर्तिले खरिद गरेको औषधिहरू जिल्ला अस्पतालहरू, आधारभूत र स्वास्थ्य चौकीहरूमार्फत बिरामीलाई निःशुल्क वितरण हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप