मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

ओली सरकारविरुद्ध सातै प्रदेशमा खबरदारी गर्ने तयारीमा माओवादी

पदाधिकारी बैठकका के–के भयो छलफल ?
बिहीबार, २० मङ्सिर २०८१, १३ : ४५
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । भर्खर सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको नतिजाबाट निकै उत्साहित भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट जनपरिचालनका विस्तृत कार्यक्रम ल्याउने भएको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले चुनावी नतिजाबारे रिपोर्टिङसहित प्रारम्भिक समीक्षा गरेको हो । निर्वाचनको नतिजा उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

‘आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको छ,’ बैठकपछि सापकोटाले भने,  ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’

यसअघि पार्टीले जितेका रुकुम पूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय मतका हिसाबले दोस्रो हुनुलाई माओवादीले उपलब्धिको रूपमा लिएको छ । भएभरका सबै दलहरू मिलेर गठबन्धन गर्दा पनि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरू लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौँको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

  • सबै पालिकामा खबरदारी सभा गर्ने

मङ्सिर १२ गते बसेको पदाधिकारी बैठकले ७५३ वटै पालिकामा  सम्मेलन गर्न कार्यविधि बनाएर पठाएको थियो । सम्मेलन र खबरदारी सभाका कार्यक्रम सँगसँगै लैजाने सापकोटाले बताए । प्रत्येक पालिकामा केन्द्रीय नेताहरू सहभागी भएर व्यवस्थित ढंगले सरकारलाई खबरदारी गर्ने उनले योजना सुनाए । स्थानीय तह उपनिर्वाचनको नतिजाले एक्लै चुनाव जित्न सक्ने आधार दिएकाले पार्टीले अब मिसन–०८४ को अभियान थाल्ने सापकोटाले बताए ।

‘खबरदारी सभाबारे स्थायी समिति र केन्द्रीय समिति बैठकमा बृहत् छलफल गरी कार्यक्रम बनाएर जान्छौँ । मिसन ०८४ मा होमिनेछौँ । यसका लागि निकै मेहनतसाथ तयारीमा लाग्छौँ । स्थानीय तहको चुनावी परिणामले आधार दिएको छ । बिचमा हामी केही अलमलिएका हौँ, केही बरालिएका हौँ । अहिले आएर जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो भएको छ,’ उनले भने ।  

माओवादीले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री नभई विज्ञ मन्त्रीको एजेण्डासहित विचार, राजनीति  र कार्यदिशा लिएर जाने तयारीमा रहेको उनको भनाइ छ । 

पार्टीको आगामी कार्यदिशा, कार्यक्रमबारे छलफल गर्न माओवादीले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको छ । यसअघि बसेको बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । खबरदारी सभा गर्ने जिम्मा प्रदेशलाई दिएको छ ।

  • ओली सरकार शून्य प्रभावकारी भएको निष्कर्ष

समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकालेको छ । तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै अडान दोहोर्‍याएको छ ।  

ओली सरकार दिन प्रतिदिन अलोकप्रिय हुँदै गएको, भ्रष्टाचारी, बिचौलियालाई संरक्षण गरेको, इमानदार राष्ट्रसेवक कर्मचारीमाथि बदनियतपूर्ण व्यवहार गरेकाले प्रधानमन्त्री स्वदेश फर्किएपछि सदन र सडक संघर्षलाई सशक्त बनाउने सापकोटाको भनाइ छ ।

‘हाम्रो अध्यक्षले स्पष्टरुपमा भनिरहनुभएको छ, अहिले हामी सरकार फेरबदलमा लाग्दैनौँ बरु ०८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ,’ उनले भने, ‘जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरूले थप अस्थिरता निम्त्याउन नपाउन् भनेर पनि हाम्रो पार्टी ०८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’

  • विद्युत् प्राधिकरणमाथि सरकारको हस्तक्षेपको विरोध

माओवादी केन्द्रले विद्युत् प्राधिकरणमा सरकारले गरिरहेको हस्तक्षेपको विरोध गरेको छ । प्राधिकरणले बक्यौता महसुल उठाउन जोड गरिरहे पनि त्यसलाई रोक्न उर्जामन्त्री दीपक खड्काले प्राधिकरणमै कार्यकक्ष खोलेर अवरोध गरिरहेको आरोप लगाएको छ ।

‘जसरी प्राधिकरणले बक्यौता महसुल उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत् प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ । सरकारले बिचौलिया र भ्रष्टाचारीहरूलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रूपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ’, सापकोटाले भने ।  

  • विद्यार्थीको सम्मेलन स्थगित

चुनावी परिणामले उत्साहित भएको माओवादी आफ्नै विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलन टुङ्ग्याउनेबारे अनिर्णीत देखिएको छ । असोज १० देखि १४ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलन उमेरहद विवादका कारण स्थगित भएको थियो । स्थगित सम्मेलन फेरि गर्न पार्टीसँग परामर्श गरी संगठनका नेताहरूले यही २३ र २४ गते आ–आफ्ना प्रदेशमा सम्मेलन गर्ने  निर्णय गरेको थियो । 

तर नेतृत्व छनोटको विषयलाई शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि यो मुद्दा पेचिलो बन्दै गएको छ । पदाधिकारी बैठकले सम्मेलनबारे कार्यविधि बनाएर स्थायी समिति बैठकमा पेस गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘विद्यार्थी सम्मेलनको विषयमा आज कुनै निर्णय भएन । त्यसका लागि २७ गते स्थायी समिति बैठक बोलाउने निर्णय भएको छ । विवादित विषयमा मोडालिटी तयार गरेपछि सम्मेलनको अर्को मिति घोषणा हुन्छ,’ रातोपाटीसँग उनले भने ।

  • बीआरआई फ्रेमवर्क सम्झौताबारे अध्ययनपछि मात्र प्रतिक्रिया दिने

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई विस्तृत अध्ययन गरेर मात्र आफ्नो धारणा अगाडि सार्ने नीति लिएको छ । नेपाल र चीनबिच भएको ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसन सम्झौतामा मङ्सिर १९ गते सम्झौता भएको थियो । तर यसबारेमा बैठकमा प्रश्न उठे पनि थप छलफल नभएको  उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘बीआरआईबारे केही छलफल भएन । बैठकमा प्रश्न उठेका थिए । तर यस विषयमा अध्यक्षले थप अध्ययन र बुझेर मात्र जवाफ दिने भनेपछि अरू छलफल भएन,’ गजुरेलले भने ।

  • नन्दकिशोर र अमिक शेरचनलाई भित्र्याउने तयारी

बैठकमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पदाधिकारीमा ल्याउनेबारे निर्णय भएन । पदाधिकारी बैठकले पुन र शेरचनलाई उपाध्यक्ष बनाउने तयारी गरेको थियो । तर आजको बैठकमा यसबारे छलफल नभएको गजुरेलले जानकारी दिए ।

‘उपाध्यक्ष मनोनीत गर्नेबारे मङ्सिर २७ गते बस्ने स्थायी समिति बैठकमा छलफल हुन्छ । आजको बैठकमा स्थगित भएको विद्यार्थी सम्मेलनलाई प्रक्रियामा लैजाने, प्रतिनिधिको टुङ्गो लगाउने र स्थानीय तह उपनिर्वाचनको विषयमा रिपोर्टिङ मात्र भयो’, उनले भने ।

त्यस्तै, विचार र एजेण्डा मिल्ने दलहरूसँग एकता गर्नका लागि केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने तयारीमा माओवादी रहेको छ । तत्काल पार्टी  एकताका लागि नेत्रविक्रम चन्द विप्लव र बाबुराम भट्टराईबाट चोइटिएको नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भइसकेको छ । त्यसका लागि पार्टीको विचार, सिद्धान्त, कार्यदिशा, सांगठनिक संरचना, नाम, चुनाव चिन्ह, लोगो लगायत विषय केन्द्रीय समिति बैठकले टुङ्ग्याउने गजुरेलले बताए । गजुरेलका अनुसार पुन र शेरचनलाई जिम्मेवारी दिने विषय केन्द्रीय समिति बैठकमा पुग्न सक्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप