बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

लागू औषधसहित आठ जना पक्राउ

बिहीबार, २० मङ्सिर २०८१, १३ : ३६
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । विभिन्न जिल्लाबाट लागु औषधसहित ८ जना पक्राउ परेका छन् । सुनसरी, कैलाली,चितवन लगायतका जिल्लाबाट ८ जना पक्राउ परेका हुन् ।  सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकस्थित सेवारो ताप्लेजुङ होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा शहिदभूमी गाउँपालिका–४ बस्ने २६ वर्षीय रम्मिर राई र झापा भद्रपुर नगरपालिका(२ बस्ने ३६ वर्षीय दिनेश सुर्खेती (सार्की) रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपहानगरपालिका–८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २७ वर्षीय चिरन्जिवी राई, सोही ठाउँ बस्ने २७ वर्षीय असिम राई र २९ वर्षीय मन्जिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चिरन्जिवीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सृजना कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका–११ जखडीमाई मन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३० ग्राम सहित सोही नगरपालिका–११ बस्ने ४० वर्षीय कमल कुमाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट गणेशस्थानबाट खटिएको प्रहरीले सिमल ढापबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र.०६–००२ प ४०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कमललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप