जाडोयाममा किन खराब हुन्छ काठमाडौँ उपत्यकाको वायु ?
काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकाको वायुमण्डल तुवाँलोले भरिएको छ । यसले उपत्यकाको वायु गुणस्तर खराब भएको देखाउँछ । उपत्यकाको वायु गुणस्तर पछिल्लो पटक अस्वस्थकर सूचीमा पुगेको हो । बिहीबार बिहान १० बजेको आईक्यू एयरको मापन अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको नवौँ स्थानमा रहेको थियो ।
गत साताको बिहीबार (मङ्सिर १३ गते) अपराह्न काठमाडौँ उपत्यका विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा परेको थियो । सो दिनको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यू एयर) का अनुसार वायु गुणस्तर सूचकाङ्क १५५ एक्यूआई थियो । शुक्रबार ( मङ्सिर १४ गते) बिहान १०ः२८ बजे काठमाडौँको विश्वको प्रदूषित सहर सूचकाङ्कको चौथौँ स्थानमा देखिएको थियो । सो दिन वायु गुणस्तर सूचकाङ्क १६५ एक्यूआई थियो । यो साता मङ्सिर १६ गते वायु गुणस्तर सूचकाङ्क १५० एक्यूआई पुगेको थियो । यस्तै, मङ्सिर १७ गते वायु गुणस्तर सूचकाङ्क १५२ एक्यूआई, मङ्सिर १८ गते वायु गुणस्तर सूचकाङ्क १४४ एक्यूआई र मङ्सिर १९ गते वायु गुणस्तर सूचकाङ्क ८५ (साँझ ५ः३१ बजे) एक्यूआई थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआइ हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत हो ।
एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको कणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
यसरी दैनिक काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर खराब हुनुमा जाडोको समयमा सामान्य अवस्थामा तातो हावा माथि जाने र चिसो हावा तल रहने भएकाले धुवाँलाई फैलिन मद्दत गर्ने भएकाले जाडोमा काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्ने वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास बताउँछन् । ‘जाडोयाममा विषेशगरी रातको समयमा पृथ्वीको सतह छिटो चिसो हुन्छ, जमिन नजिकको हावा पनि चिसिन्छ, चिसो हावा माथिल्लो तातो हावाभन्दा भारी हुने भएकाले तलै रहन्छ,’ उनले रातोपाटीसँग भने, ‘यसले गर्दा प्रदूषित हावा माथि उठेर जान सक्दैन र वायु प्रदूषण बढाउँछ ।’
डा. दासका अनुसार जाडोयाममा बाक्लो तुवाँलो लाग्ने गर्दछ । तुवाँलोको कणहरूले सूर्यको प्रकाशलाई रोक्दछ । जसले गर्दा तल्लो वायुमण्डल झनै चिसो हुन गई प्रदूषण बढ्छ । यसका साथै कृषि अवशेष जलाउनु पनि वायु प्रदूषणको मुख्य कारण रहेको डा. दास बताउँछन् । ‘यो सिजनमा कृषि अवशेष जलाउनु प्रदूषण बढ्नुको मुख्य कारणहरू मध्ये एक हो,’ उनी भन्छन्, ‘जाडो बढ्दै जाँदा फोहोरे बालेर आगो ताप्ने, टायर बाल्ने, दाउरा, कोइला बाल्ने लगायत कारण पनि छ ।’
डा. दासले उद्योग, सवारी साधनले वर्षभर नै वायु प्रदूषण हुने तर अहिलेको सिजनमा कृषि अवशेषका कारण वायुको गुणस्तर थप खस्किएको उल्लेख गरे । वर्षभर हुने वायु प्रदूषणको ५० प्रतिशत हिस्सा अप्रिल महिनाले ओगट्ने उनले सुनाए ।
उत्तरपश्चिम र दक्षिण पश्चिमबाट काठमाडौँ उपत्यकामा हावा प्रवेश गर्ने हावा उडेर पूर्वमा साँखुबाट बाहिरिन्छ । तर हावा नचल्ने, पानी नपर्ने भएकाले उपत्यकाको वायु गुणस्तर झनै खराब भएको हो । ‘एक पटक काठमाडौँ उपत्यकामा वायु प्रवेश गरेपछि यहाँबाट हावा निस्कान नसक्ने हुन्छ,’ डा. दासले भने, ‘काठमाडौँ उपत्यकामा माथिल्लो तहमा हावाको वेग चल्ने तर तलको भागमा नचल्ने भएकाले हावा निस्कन सक्दैनँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणमा आउन पानी पर्नुपर्ने हुन्छ ।’
काठमाडौँ उपत्यकामा पछिल्ला समय वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुगेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गर्दछ । कृषि अवशेष जलाउनु, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण भएको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द प्रसाद लामिछानेले बताए । ‘काठमाडौँ उपत्यका कचौरा आकारको भएकाले यहाँ हावा सजिलै आए पनि निस्किन सक्दैन,’ उनले भने, ‘त्यसैले यहाँ प्रदूषण बढेको हो ।’
नेपालमा विशेष गरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको विभागले उल्लेख गरेको छ ।
- जोगिन के गर्ने ?
वायु प्रदूषणका कारण दिन प्रतिदिन मानव स्वास्थ्यमा असर पर्दछ । यस्तो अवस्थामा सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्नुपर्ने हुन्छ ।
विशेषतः काठमाडौँ उपत्यका लगायत देशभर नै वायु प्रदूषण बढेको छ । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनसमेत सम्बद्ध अधिकारीहरूको सुझाव छ ।
वायुको गुणस्तर खस्किएसँगै मास्कको अनिवार्य प्रयोग गर्न फिजिसियन डा. पुष्पमणि खरालले सुझाए । ‘वायु प्रदूषणबाट जोगिन मास्कको प्रयोग सबैभन्दा राम्रो उपाय हो ।’ उनले भने, ‘वातावरण प्रदूषण बढेको छ, सबैले अनिवार्य मास्क लगाउनुस् ।’
उनले वायु प्रदूषणबाट जोगिन कार्यालय, घर वरिपरि सफा राख्न सुझाए । वातावरणीय प्रदूषणसँगै घरभित्रको प्रदूषण काम गर्न दाउराको आगो र कोइलाको प्रयोग कम गर्नुपर्ने उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो
-
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य