जनताको विश्वासलाई शिरमा राखेर सर्केगाड बनाउने देवकीको प्रण
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष देवकी तिमल्सिनाले जनताले आफूप्रति गरेको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रण गरेकी छन् । पदभार ग्रहण पश्चात उनले आफू जनविश्वासलाई शिरमा राखेर सर्केगाडको समग्र विकासमा योगदान गर्न प्रतिबद्ध रहेको बताइन् ।
रातोपाटीसँग नवनिर्वाचित उपाध्यक्ष तिमिल्सिनाले भनिन्, ‘उपाध्यक्षको मर्यादा अनुसार काम गर्ने छु ।’ ती काम बढी सुशासनसँग सम्बन्धित हुने उनको भनाइ छ । नीति र कानुन निर्माण, न्याय सम्पादन, अनुगमन तथा मूल्याङ्कनजस्ता विषय प्रमुख रहेको बताउँदै उनले वर्तमान अवस्थामा सुधार ल्याउनुपर्ने बताइन् ।
आफूले चुनावी अभियानका क्रममा जनतामाझ भनेका अपिल पूरा गर्न क्रियाशील हुने तिमिल्सिनाको भनाइ छ । ‘समयको हिसाबले थोरै छ, गरेर देखाउनुपर्ने भएकाले अध्यक्ष र कर्मचारी साथीहरूसँग समधुर सहकार्य गरी सर्केगाडको विकास र सुशासनमा योगदान गर्ने गर्छु,’ उनले भनिन्, ‘अहिलेसम्म विभिन्न क्षेत्रमा रहेर काम गरेको अनुभव यहाँ प्रयोग गर्ने छु ।’
देवकी पूर्वपत्रकार हुन् । माओवादीले थालेको सशस्त्र युद्धकै क्रममा रेडियो गणतन्त्रबाट देशमा गणतन्त्र ल्याउने र समाजवाद हुँदै साम्यवाद पुग्ने समाचार उनी सुनाउँथिन् । पार्टीका उनको नाम समीक्षा थियो । ०६० देखि ०६३ सम्म उनले गणतन्त्र रेडियोमा काम गरिन् । उनले अन्य विभिन्न मिडियामा पनि काम गरिन् ।
पोलिटिकल साइन्समा एमएसम्म अध्ययन गरेकी उनले ग्रामीण समाजको बारेमा गहिरो अध्ययन गरेकी छन् । सर्केगाड गाउँपालिका–८, रादेउ निवासी उनले लेखक, साहित्यकारसँगै विभिन्न संघसंस्थाको विभिन्न तहमा रहेर सामाजिक रुपान्तरण, लैङ्गिक समानताका लागि काम गरेकी छन् । नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य रहेकी उनका दुई पुस्तक प्रकाशित छन् ।
एक हजार ६३७ मत ल्याएर उपाध्यक्षमा निर्वाचित देवकी तिमिल्सिनाले आफूले गर्नुपर्ने कामको सूची सार्वजनिक गरेकी छन् ।
के छन् उनका योजना ?
तिमिल्सिनाका अनुसार हुम्ला जिल्लामा भर्खरैमात्र कर्णाली करिडोरको सडक जोडिएको छ । यसको स्तरोन्नतिका लागि पहल गर्नैपर्ने छ । सबै वडासँग जोड्ने सडक निर्माण हुँदैछन् । यी काम पूरा गर्नुपर्ने छ ।
सूचना प्रविधिका कारण विश्व गाउँ बनेको छ । यसमा विकास गर्नुपर्ने छ । पर्यटनलाई केन्द्रमा राखी ‘सबैको गन्तव्य हुम्ला र हुम्लाको गन्तव्य सर्केगाड’’ बनाउनुपर्ने उनले बताइन् । ‘औषधिजन्य कृषि उत्पादन बढाउन खेतीयोग्य भूमिमा सिँचाइको व्यवस्था गर्नुपर्ने छ,’ उनले भनिन्, ‘सबै गाउँमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने छ ।’
१. सडक पूर्वाधार विकासमा कर्णाली करिडोरको खुलेको ट्र्याकमा यस वर्ष पिलुदेखि तुम्चसम्म र अर्को वर्ष तुम्चदेखि सिमकोटसम्म स्तरोन्नतिका लागि पहल गरिने छ ।
२.कवाडी–ताँजाकोट–अदानचुली हुँदै आएको सडकलाई सर्केगाडको रिपसम्म पु¥याइने छ । यसका लागि गुसा जाने सडकको निर्माणलाई तीव्रता दिइनेछ ।
३. सर्केगाड–मारघोर–खार्पुनाथ–सिमकोट सडकको ट्«याक खोल्ने कार्यलाई तीव्रता दिन लगाइने छ ।
४. ह्याप्स्या–फुचा–पंखा सडक, तुम्च–जैर सडक, सर्केगाड–बराइ–छ्यागी–घिउसी सडकको ट्र«्याक खोली सञ्चालनमा ल्याउन लगाइने छ । स्थानीय जनसमुदाय, निर्माण कम्पनी र प्रशासनिक क्षेत्रमा रहेको अवरोधलाई सहजीकरण गरिनेछ ।
५. सल्लीसल्ला, सर्केगाड र उनापानी र रिप गाउँ जोड्ने सडक पुल बनाउन पहल गरिने छ ।
६. विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि संघीय सरकारसँग पहल गरिने छ ।
७. हुम्ला कर्नाली–१ को सर्केगाड र चंखेली २३५ मेगावाट, हुम्ला कर्नाली कासकाडे ९१६ मेगावाटको बारेमा पैरवी गरिने छ । चालु साना जलविद्युत आयोजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र ऊर्जा खपत बढाउने योजना बनाइने छ ।
८. माइक्रो वेव रेडियो ट्रान्समिसनबाट मात्र हुम्ला जोडिएको हुम्लासम्म फाइबर बिछ्याउन पहल गरिने छ । फोरजी टावर यथासिघ्र सञ्चालनमा ल्याउन लगाइने छ ।
९. उत्पादन बढाउन तुम्च र रोडिकोट शेराको जीउलामा सिँचाइको व्यवस्था गरिनेछ । बराइदेखि साँयासम्म, कल्लाँसदेखि गोठीसम्मर छिडी न्हात्तामा लिफ्ट सिँचाइको सम्भाव्यता अध्ययन गर्न लगाइने छ ।
१०. उनापानी गुसाको उत्पादनलाई ‘मेड इन सर्केगाड’ को नामबाट ब्रान्डिङ गर्न लगाइने छ ।
११. यहाँको आयु बढाउन सफा चुल्हो र चर्पी तथा स्वच्छ खानेपानीमा सुधार ल्याउन विशेष पहल गरिने छ । साथै, हरेक गाउँमा लिस्नो सुधारमा जोड दिइने छ ।
१२. एकीकृत बस्ती विकासका लागि थप अध्ययन गर्न पहल गराइने छ । सर्केगाडको बजारलाई व्यवस्थित गर्न प्लानिङ गराइने छ ।
१३. बालबालिकालाई लगानी, युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षाका लागि विशेष पहल गरिने छ ।
१४. यहाँको गरिबी निवारणका लागि अनिवार्य न्यूनतम् आय आर्जन कार्यक्रम सञ्चालन गरिने छ ।
१६. सर्केगाडलाई शैक्षिक हव बनाउन हिमज्योति नमुना माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाइने छ । हिमज्योति बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार विकास गर्नुका साथै नियमित कक्षा सञ्चालन गर्ने वातावरण बनाइने छ ।
१७. कोट माध्यमिक विद्यालय रोडिकोटलाई सिमालीमा आवासीय विद्यालयका रुपमा सञ्चालन गर्न थप व्यवस्थापन गरिने छ । यसका साथै यथाशीघ्र स्थानीय पाठ्यक्रमको पठन पाठन गर्ने व्यवस्था मिलाइने छ ।
१८. शिक्षित युवाहरूलाई निजामती सेवामा प्रवेश गरुन् भन्ने हेतुले लोक सेवा पढ्ने व्यवस्था मिलाइने छ । व्यवसायिक शिक्षामार्फत रोजगारीका शाखाहरू बढाउन पहल गरिने छ ।
१९. निर्माणाधीन १५ शय्याको अस्पताल सुचारु गराउन पहल गरिने छ ।
२०. उच्च पर्वतीय खेलको विकास गर्न स्थानीय खेल जीवनको ब्रान्डिङ गरिने छ ।
२२. मानव अधिकारको रक्षा, भ्रष्टाचारको नियन्त्रण, शान्ति सुरक्षा र सुशासनका लागि जोड दिइने छ ।
२३.भू–विशेषता हेरी अर्गानिक कृषि उत्पादन गरी त्यसको व्यवसायीकरण गर्न निजी क्षेत्रसँग सहकार्य गरेर सर्केगाडमा खाद्य बैंकको स्थापना गरिने छ ।
२४. युवालाई रोजगारी दिन कृषिजन्य, पर्यटनजन्य, वनजन्य, खानीजन्य र पानीजन्य उद्योगको पहिचान र परिचालन गरिने छ ।
२५.मेथा, मालिका, गुसा, मालुवाछरा, तल्छरीझरना, नाप्ल्याथाप्ल्या, भुव्र्या लाग्ना, पोग्री पाटन, बाइथला, छिन्ट्या ढुङ्गा, शेरी भिट्टाको गुफा, थुम, दुधेदहर सबै गाउँका बाह्रदेउ चौतारालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ ।
२६. वडागत रुपमा स्थानीय पहिचानका आयोजना निर्माणमा जोड दिइने छ ।
२७. दशरा, साउनपुनी, गौरा, भूवो, भैलो र हरेलो लगायतका सांस्कृतिक पर्वलाई पालिका विशेष चाडको रुपमा स्थापित गरिने छ ।
२८. सर्केगाड गाउँपालिकालाई जिल्लाको अर्को मिलन केन्द्रको रुपमा स्थापित गर्ने प्रयास गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा तुरुन्त ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन