सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

नयाँ शक्तिले विकल्प दिन नसक्दा राज्यसत्तामा पुरानै शक्तिको दबदबा

बिहीबार, २० मङ्सिर २०८१, १२ : १५
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । मंसिर १६ गते स्थानीय तहका रिक्त विभिन्न पदका लागि भएको उपनिर्वाचनमा परम्परागत शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै दबदबा रह्यो ।

आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरूले जमानतसमेत जोगाउन सकेनन् ।

स्थानीय तह उपनिर्वाचनमा २२ स्थानमा उम्मेदवारी दिएको रास्वपाले काठमाडौँ–१६ मामात्र जित निकाल्यो । २१ स्थानमा उसका उम्मेदवारको जमानत जफत भयो । मिसन–०८४ को तयारीमा लागेका पुराना र नयाँ दलहरूले यस निर्वाचनलाई मत सर्वेक्षणका रूपमा हेरेका थिए ।

पुराना पार्टीको दबदबा अन्त्य गर्न दुई वर्षअघि राजनीतिमा होमिएका पूर्वसञ्चारकर्मी रवि लामिछाने अहिले सहकारी रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा छन् । लामिछानेको ब्राण्डबाट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा २१ सिट जित्न सफल भयो । संगठन विस्तार नगरी काठमाडौँ लगायत सहरी क्षेत्रबाट यो पार्टीले आश्चर्यजनक मत ल्यायो । अघिल्लो निर्वाचनमा देशभरबाट रास्वपाले ११ लाख ३० हजार भोट ल्याएर संसदमा चौथो दलका रूपमा आफूलाई स्थापित ग-यो ।

निर्वाचन लगत्तै प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री भए । नागरिकता प्रकरण, दोहोरो राहदानी प्रकरण, सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनी स्वार्थ बाझिने मन्त्रालयमा गएकोमा निकै आलोचित भएका थिए । सहकारीको बचत रकम हिनामिनामा कातिक २ गते पक्राउ परेका उनीमाथिको अनुसन्धान अझै सकिएको छैन । तर पछिल्लो चुनावी परिणामले रास्वपाप्रतिको भरोसा जनतामा टुट्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

स्थानीय तहको चुनावी परिणामलाई लिएर रास्वपाका नेताहरूले निष्पक्ष ढंगले समीक्षा गर्नुपर्ने बताएका छन् । संघीय सांसदसमेत रहेका नेता विराजभक्त श्रेष्ठले काठमाडौँमा मात्र मतदाताबाट अनुमोदन भएर नपुग्ने भन्दै बाहिर अनुमोदन नभएको ठाउँको बारेमा पनि एउटा निष्पक्ष हिसाबले समीक्षा गरेर जानुपर्ने बताएका छन् ।

‘भएका कमी–कमजोरी सुधारेर जानुपर्छ । स्थानीय तहको निर्वाचनमा नेपाली जनताले हामीलाई राम्रो सन्देश दिएको छ’, उनले भने, ‘काठमाडौँ–१६ ले हामीप्रति अभूतपूर्व आशा देखाएको छ । तर, एक ठाउँमा जितेर २६ ठाउँमा हारेको विषयमा तुलनात्मक हिसाबले अघि बढ्न सके राम्रो अवस्था रहन्छ ।’

कांग्रेस र एमालेबिच भएको सात बुँदेको जगमा बनेको केपी ओली नेतृत्वको संयुक्त सरकार अप्रिय बनिरहेको छ । साढे अठार महिना सत्तामा बसेर माओवादी प्रतिपक्ष बेञ्चमा पुगेको छ । पुरातन पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुराना दलहरूमाथि नागरिकस्तरमा देखिएको असन्तुष्टिलाई क्यास गर्दै सडक सङ्घर्षमा उत्रिएको अवस्थामा भएको निर्वाचनलाई सबैले चासोपूर्वक हेरेका थिए । चुनावी परिणामले वैकल्पिक शक्तिका रूपमा उदाएका पार्टीलाई निराश बनाएको छ । पुराना शक्तिको विकल्प नभएको रूपमा चुनावी परिणामलाई कांग्रेस, एमाले र माओवादीका नेताहरूले अर्थ्याएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले केही स्थानलाई छाडेर अधिकांश स्थानमा पुरानै शक्ति नै एक अर्काको विकल्प बनेको टिप्पणी गरेका छन् । पुराना दलप्रति जनताको असन्तुष्टि भए पनि विकल्प दिन नसक्दा तिनै दल रोज्न जनता बाध्य भएको उनको विश्लेषण थियो ।

‘केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेका छन् । यसको सोझो अर्थ हो– जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्’, मंगलबार सामाजिक सञ्जालमा भट्टराईले लेखेका थिए ।

नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आ–आफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन नसके जनताले अर्कै विकल्प खोज्न बाध्य हुनेतर्फ उनले सचेत गराएका थिए ।

दुई वर्षमै मतदाताको मुड फेरिएको उदाहरण उपनिर्वाचनको नतिजाबाट बुझ्न सकिन्छ । किनकि २०७९ को निर्वाचनमा सम्बन्धित क्षेत्रमा जितेका दल यो उपनिर्वाचनमा पराजित भए भने यसअघि हारेको ठाउँमा अहिले जित्न सफल भएका छन् । भट्टराईले यो अवस्थालाई पनि गम्भीर रुपमा लिन जरुरी रहेको जनाएका छन् ।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले यस निर्वाचनमा एक स्थानमा पनि जित्न सकेन । १० वर्षे जनयुद्धका प्रमुख नेतामध्येका एक रहेका भट्टराई २०७२ साल असोजमा माओवादी पार्टी परित्याग गरी वैकल्पिक शक्ति निर्माणमा लागेका थिए । २०७३ साल जेठको अन्त्यतिर आफ्नै नेतृत्व नयाँ शक्ति नेपाल गठन गरेका उनले परम्परागत शक्तिको विकल्पमा सो दललाई उभ्याएका थिए । तर २०७४ सालमा भएको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा उनको पार्टीले लज्जास्पद हार व्यहो-यो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिले ११० स्थानमा विजयी भएको थियो । प्रदेश सभामा प्रत्यक्षतर्फ २ र समानुपातिक १ गरी ३ सिट जित्यो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कांग्रेससँग सहकार्य गरी भट्टराईले मात्र जित्न सफल भए । त्यतिबेला नयाँ शक्तिले पाएको सिट संख्याको जम्मा ०.३२ प्रतिशत हो ।  

चुनावी परिणामले पार्टीको अस्तित्व नै समाप्त हुने देखेपछि भट्टराईले उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरी नयाँ शक्तिको अस्तित्व नै मेटाए । त्यसछि जनता जमाजवादी हुँदै उनले नेपाल समाजवादी पार्टी गठन गरे । उनले २०७९ को निर्वाचनअघि माओवादीसँग एकता गर्ने सहमति गरेका थिए ।

तर आफूलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्र राय यादवसँग पार्टी एकता गर्ने सहमति प्रचण्डले गरेपछि भट्टराई बिच्किए । पार्टी पुनर्गठन गरी माघमा महाधिवेशन गर्ने तयारीमा भट्टराई छन् ।

नेसपा (नयाँ शक्ति)मात्र होइन, ०७४ सालमा परम्परागत दलहरूलाई चुनौती दिँदै उज्ज्वल थापा नेतृत्वको विवेकशील पार्टी र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबिच एकता भइ बनेको विवेकशील साझा पार्टीले ३ प्रदेश सभा सदस्य जितेको थियो । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचनमा यो पार्टीले एक सिट पनि जित्न सकेन । तीनै तहको निर्वाचनमा विवेकशील साझाले पाएको जम्मा सिट संख्या प्रतिशत ०.०१ हो । पार्टीभित्र मिश्र र मिलन पाण्डेबिचको शक्ति संघर्षका कारण पार्टीको अस्तित्व नै समाप्त भएको छ । ०७९ को निर्वाचनमा यो पार्टीले एक सिट पनि जित्न सकेन । पार्टीलाई पुनर्गठन गरी समीक्षा बाँस्कोटा अध्यक्ष भए पनि पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन ।

यस्तै नयाँ क्षेत्रीय शक्तिका रूपमा उदाएका जपा र नाउपाले समेत पुरानै सत्ताधारी दलसँग सहकार्य गर्ने बाहेक विकल्प दिन सकेनन् । एमाले–कांग्रेससँग मिलेर मधेस प्रदेशमा मुख्यमन्त्री पाएको जपाले ओली सरकारलाई समेत समर्थन गरेको छ । नाउपा पनि कहिले प्रचण्ड र कहिले ओली–देउवासँग मिलेर सत्ता सुविधा प्राप्तिमा लागेको आरोप लाग्दै आएको छ ।

राजनीतिक विश्लेषक डम्बर खतिवडाले नयाँ वैकल्पिक भनिएका दलहरू पुरानै शक्तिसँग मिलेर सत्ता लिप्सा देखाएकाले विफल भएको टिप्पणी गरे ।

‘विवेकशील–साझा, नयाँ शक्ति, रास्वपा, जनमत, नाउपा लगायतका मूल नेतृत्वकै नैतिक संकट देखियो । पुरानैसँगको गठजोड–गठबन्धन, सत्तालिप्सा, अधैर्यता र गलत कदमको कारण फ्लप भएका हुन् । यी उदाहरणले नागरिक विकल्प चाहँदैनन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप