उपनिर्वाचनको परिणामले ८४ मा एक्लै प्रतिस्पर्धा गर्ने आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको छ’– बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने– ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’
यसअघि पार्टीले जितेका रुकुम पूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रूपमा लिएको छ । भएभरका सबै दलहरू मिलेर गठबन्धन गर्दा पनि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरू लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौँको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जितकै रूपमा लिएको उनले बताए ।
‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुवैको कुरा मिल्दै गएको छ’– उनले भने– ‘हाम्रो पार्टीले पनि जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीको रूपमा लिँदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको छ भने जनताले पनि हाम्रो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेका छन्, अहिले उपनिर्वाचनको सफलताको अर्थ पनि योसँगै जोडिएको छ ।’
पार्टीले केन्द्रीय कार्यालय र स्थायी समिति बैठक हुँदै देशव्यापी परामर्श बैठकमार्फत लिएको पहलकदमी र सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर खटिँदा नै उपनिर्वाचनबाट यो परिणाम प्राप्त भएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले भने– ‘यो उपनिर्वाचनले वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरूबाट पनि समीक्षा रिपोर्ट आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साह वर्द्धक भनेको छ ।’
बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरूलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरूलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकालेको छ । तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । ‘हाम्रो अध्यक्षले स्पष्टरुपमा भनिरहनुभएको छ, अहिले हामी सरकार फेरबदलमा लाग्दैनौँ बरु ८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ’– उनले भने– ‘जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरूले थप अस्थिरता निम्त्याउन नपाउन् भनेर पनि हाम्रो पार्टी ८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’
माओवादी केन्द्रले विद्युत् प्राधिकरणमा सरकारले गरिरहेको हस्तक्षेपको विरोध गरेको छ । ‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत् प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ’– प्रवक्ता सापकोटाले भने– ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरूलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रूपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ ।’
आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहङ्गम छलफल गरेर कार्यक्रमिक रूपमा नै अघि बढ्ने उनले जानकारी दिए ।