बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

६ महिनाभित्रै ग्रामथानमा सरकार छ भन्ने अनुभूति दिलाउँछु : माझी

बिहीबार, २० मङ्सिर २०८१, ०८ : ०७
बिहीबार, २० मङ्सिर २०८१

विराटनगर । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी बने नमोनारायण माझी । २०७९ को निर्वाचनमा मोरङको ग्रामथानमा तेस्रो स्थानमा रहेको माओवादीबाट उम्मेदवार बनेका माझीले उपनिर्वाचन जित्नु धेरैका लागि अनपेक्षित लागिरहेको छ । देशभर अहिले पनि ग्रामथानमा माओवादीले चुनाव जित्नुको कारण के हो भन्ने विषयमा चर्चा–परिचर्चा भइरहेको छ ।

उक्त पालिकाको २०७९ को निर्वाचनमा माओवादी केन्द्रका विजयकुमार सरदारले जम्मा २ हजार ७२७ मत पाएका थिए । अहिले ४२२४ मत थप गरेर ६ हजार ९६९ मत प्राप्त गर्दै माझी विजयी बने । उनले जित निकाल्दा ग्रामथानमा कांग्रेसले २ हजार २७२ मत गुमायो भने एमालेले १ हजार ९२४ मत गुमायो ।

गत निर्वाचनमा कांग्रेसका जयप्रसाद गच्छदार ७६०६ मतसहित विजयी बन्दा एमालेका शिवनारायण माझीले ६०९३ मत पाएका थिए । पहिलो र दोस्रो दल प्रतिस्पर्धामा आउने ठानिरहेको बेला तेस्रो दलबाट विजयी बन्न कसरी सम्भव भयो ? यही विषयमा हामीले नवनिर्वाचित अध्यक्ष माझीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश :

तपाईं यसअघिको निर्वाचनमा वडाध्यक्षमा हार्नुभयो । अहिले पालिकाको अध्यक्षमा लोकप्रिय मतका साथ जित्नु भएको छ । के भन्नुहुन्छ ?

राजनीति भनेको हारेपछि असफल हुने, जितेपछि सफल भन्ने हुँदैन । राजनीति भनेको जनतासँगको सम्बन्ध हो । मैले हारे पनि, जिते पनि जनताको काम गरेँ । जुनसुकै कार्यक्रममा सहभागी भएँ । म घरमा बसिनँ । जहिल्यै पनि जनताकै लागि मैले काम गरेको छु । वडाध्यक्ष हुँदा कार्यक्षेत्र अलग थियो । अहिले म पालिकाको सरकार प्रमुखको रुपमा उपस्थित भएको छु । वडाको कार्यक्षेत्र र पालिकाको क्षेत्र फरक छ । म अध्ययन गर्छु, हेर्छु । कानुन र संविधानमा भएको व्यवस्था अनुसार अगाडि बढ्छु ।

अब मैले पार्टीको हकहित भन्दा बढी जनताको हकहितमा लाग्नुपर्छ । मेरो काँधमा ठुलो जिम्मेवारी आएको छ । मैले मेरो बचनबद्धता पूरा गर्नुपर्ने छ । मेरालागि दुई वर्ष धेरै लामो समय हो । म ५–६ महिनाभित्रमा ग्रामथानमा सरकार छ भन्ने अनुभूति दिन चाहन्छु । त्यसका लागि ग्रामथानमा भएको संयन्त्रलाई प्रयोग गरेर सेवा प्रवाहमा कुनै कसर बाँकी राख्ने छैन । आउने समस्यालाई पनि हल गर्दै अगाडि बढ्छु ।

तपाईंले कसरी जित्नु भयो ?

कांग्रेस र एमालेका साथीहरूको जनतासमक्ष राख्ने एजेण्डा केही थिएन । उहाँहरू पुरानै एजेण्डा लिएर हिँड्नु भयो । साथै मलाईमात्रै गाली गरेर हिँड्नु भयो । मैले अन्य १५ जना उम्मेदवारलाई कहिल्यै गाली गरिनँ । बरु मैले गर्नसक्ने योजना र कामहरूको बारेमा प्रतिबद्धता जाहेर गरेर गएँ । जनताले मलाई रुचाए ।

त्यसका साथै मलाई जिताउन यहाँका संघीय सांसद तथा पूर्वमन्त्री अमनलाल मोदीज्यू, पूर्वमन्त्री विजय विश्वासज्यूहरू लाग्नु भयो । गत भदौ २९ गते पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रचण्डज्यू नै ग्रामथानमा आउनुभयो र मलाई पार्टी प्रवेश गराउनुभयो । यस्तै पार्टीका धेरै नेता कार्यकर्ता खटेर लागेको कारण पनि जित निकाल्न सहज भयो ।

तपाईंका प्राथमिकताहरू के–के छन् ?

मैले निर्वाचनताका जनतासँग जुन बचनवद्धता जाहेर गरेको थिएँ, ती बचनबचता गर्नसक्ने खालका मात्रै थिए । गाउँपालिकामा भ्रष्टाचार छ भने त्यसलाई अन्त्य गर्छु । विकास, निर्माणको गतिरोधलाई हटाउँदै तीव्रता ल्याउने छु । यहाँ भएका बेथिति, विसङ्गतिलाई अन्त्य गर्दै सुशासनलाई जनतामाझ प्रत्याभूति दिन्छु । स्वास्थ्य समस्यालाई स्वास्थ्य बीमा कार्यक्रममार्फत ग्रामथानवासीको घरघरसम्म पहुँच पुर्‍याउने छु । शिक्षामा भएका कमीकमजोरीलाई अध्ययन गर्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने छु ।  सामुदायिक स्कुलप्रति अभिभावकको निराशापन र अविश्वासलाई हटाउँदै विश्वासको वातावरण बनाउने छु । कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरी उत्पादकत्वलाई बढाउनका लागि विशेष किसिमको कार्यक्रम ल्याउने छु । सुकुमवासी समस्यालाई समाधान गर्नेछु । हरेक जात, जाती, धर्ममा रहेकाले समुदायस्तरबाट संरक्षण र सम्बर्द्धनको काममा गाउँपालिकास्तरबाट कार्यविधि बनाउने छु । उनीहरूको कला, संस्कार, संस्कृति र सम्पदा संरक्षणका लागि कार्यविधि निर्माण गर्नेछु । २०७२ सालमा साविकको तेतरिया गाविस नेपालको पहिलो बालमैत्री घोषणा भएपश्चात अहिलेसम्मको सूचकहरूको अवस्थाबारे अध्ययन गर्दै ग्रामथान गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्न विशेष योजना बनाइने छ ।

मेरो २ वर्षको कार्यकालमा मोरङ जिल्लाको १७ वटा स्थानीय तहमध्ये ग्रामथानलाई उत्कृष्ट बनाउनका लागि पहल गर्नेछु । गाउँपालिकाभित्र रहेका कर्मचारीलाई म आह्वान गर्न चाहन्छु– अब तपाईंहरूले सही अभिभावक पाउनु भएको छ । तपाईंहरूसँग सहकार्य गरेर हामी जनप्रतिनिधिले नीति निर्माण गरेर  कार्यान्वयनका लागि राम्रो वातावरण बनाउने छ ।

Namonarayan (2)

कर्मचारीलाई भयरहित वातावरणबाट काम गर्ने वातावरण दिलाउने छु । समग्र रुपमा ग्रामथानको समृद्धिको लागि सबैसँग सहकार्य गरेर विज्ञहरूको सल्लाह, सुझाव अनुसार पालिकाको अग्रगामी सोच, विकास र समृद्धिको काम गर्नेछु ।

पालिकामा तपाईंको पार्टीको जम्मा १ जना वडाध्यक्ष हुनुहुन्छ । तपाईंले अध्यक्ष जित्नु भएको छ । अन्य पार्टीबाट जितेका जनप्रतिनिधिलाई कसरी मिलाएर लानुहुन्छ ? काममा बाधा अवरोध होला नि ?

२०७२ को संविधान अनुसार स्थानीय सरकारमा पक्ष र विपक्षको परिकल्पना गरेको छैन । पूरै गाउँपालिका नै सरकार हो । यहाँ पक्ष र विपक्ष हुँदैन । हाम्रो काम कारबाहीको लेखाजोखा गर्ने अधिकार जनतालाई मात्रै छ । गाउँपालिकामा पक्ष र विपक्ष हुँदैन । जनतामुखी कार्यक्रम ल्याउँदा पक्कै पनि एमाले, कांग्रेस भए पनि त्यो पार्टीबाट निर्वाचित भएपश्चात पार्टीको नेता नभएर जनप्रतिनिधि हो । म पनि माओवादीको नेता, कार्यकर्ता भए पनि अब जनताको प्रतिनिधि भएको छु । सारा जनता हाम्रा हुन् । कुन पार्टी, के पार्टी, फलानालाई भोट दियो, फलानाले भोट दिएन भनेर भेदभाव गर्ने छैनौँ । समग्र ग्रामथान गाउँपालिकाको विकासको लागि पार्टीको स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा निर्णय लिँदा सबै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूले काँधमा काँध मिलाएर अगाडि बढ्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।

तपाईंको शपथग्रहणमै उपाध्यक्ष अनुपस्थित भएको देखियो । कतिपय वडाध्यक्षहरू पनि देखिएन । यसलाई कसरी हेर्नुहुन्छ ?

उहाँहरू कुनै कार्यव्यस्तताले नआउनु भएको होला । उहाँसँग सहकार्य हुन्छ । उहाँ किन आउनु भएन म बुझ्छु । सहकार्य गर्छु । उहाँ पनि ग्रामथानको हितका लागि निर्वाचित हुनुभएको छ । दुई वर्ष कार्यकाल पूरा गरिसक्नु भएको छ । उहाँलाई पनि ग्रामथानको विकास कसरी हुन्छ भन्ने पक्कै थाहा छ । उपाध्यक्षको दायित्व के हो ? अध्यक्षको दायित्व के हो ? वडाध्यक्षको दायित्व के हो ? त्यो सबैलाई थाहा छ ।

ग्रामथानमा बेरुजु बढेको छ । भ्रष्टाचार छ । सेवा प्रवाहमा समस्या छ भन्ने कुरा विभिन्न प्रतिवेदनका साथै जनता र तपाईंले पनि भन्दै आउनु भएको थियो । अब त्यसलाई कसरी कन्ट्रोल गर्नुहुन्छ ? के छ योजना ?

हामीले राज्यको कानुन, संविधान, विधि र पद्धतिलाई मानेर देश चलाउने हो । विगतमा म जनता थिएँ । अब जनप्रतिनिधि भएको छु । स्थानीय सरकार सञ्चालन ऐनमा निर्दिष्ट गरेका विषय छन् । संविधान छ । त्यसले निर्दिष्ट गरेका व्यवस्था अनुसार म अगाडि बढ्छु । बेरुजु हुन नदिने, समयमै काम सम्पन्न नभएर बजेट फ्रिज हुने अवस्थालाई रोक्नेछु । बजेट तथा कार्यक्रमहरू थप ल्याउन प्रयत्न गर्नेछु । सुशासन कायम गर्न प्रयत्न गर्नेछु ।

तपाईंले कतिपय विकास निर्माणको कामको माग गर्दै यसअघि आन्दोलनसमेत गर्नुभएको थियो । अब ती काम हुन्छन् ?

जनताले आन्दोलन गर्नुपर्ने खालको काम मबाट हुने छैन । जनताको समस्या, जनताको मागलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने कुरा म बस्तीस्तरबाटै गर्नेछु । डेलिगेसनका लागि आउनु पर्ने अवस्था म अन्त्य गर्छु । कुनै काम गर्नका लागि आन्दोलन गर्नुपर्दैन । जनतालाई कन्भिन्स गर्नुपर्छ । विश्वास गर्नुपर्छ । भएको बजेटलाई पारदर्शी बनाउनु पर्छ । के गर्न सकिन्छ, के गर्न सकिँदैन भन्ने विषयमा जनतासँगै छलफल गरेर अगाडि बढ्ने हो । स्थानीय सरकार सञ्चालन ऐनमा पनि प्रस्ट व्यवस्था छ ।

हरेक योजना र बजेट दिँदा पनि जनताकै राय सल्लाह अनुसार गर्ने हो । सार्वजनिक सुनुवाइ गरेर योजना छनोट गर्दा कहीँबाट आन्दोलन गर्नुपर्दैन । आएको बजेटलाई समयमै सदुपयोग गर्ने र समयमै काम गर्ने हो भने जनता असन्तुष्टि हुने अवस्था नै हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप