१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. प्रधानमन्त्रीको चीन भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बहुप्रतिक्षित बीआरआई (बेल्ट एण्ड रोड इनिसियटिभ)को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । नेपालले बीआरआईमा संलग्न हुने भन्दै ७ वर्षअघि नै सम्झौतामा हस्ताक्षर गरिसकेको थियो । तर, मोडालिटी र फ्रेमवर्कमा समझदारी हुन नसकेपछि लामो समयसम्म कार्यान्वयन हुन सकेको थिएन ।
२. स्थानीय तह उपनिर्वाचन
मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । २०७९ साल वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका ४२ जनप्रतिनिधिका लागि भएको उपनिर्वाचन परिणामको लेखाजोखा भइरहेको छ । स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले अघिल्लो निर्वाचनको तुलनामा १ हजार ४०८ मत कम पाएको छ । निर्वाचन भएका ४२ स्थानमा एमालेले यसपटक कुल ३८ हजार ९९८ मत पाएको देखिन्छ । जबकि २०७९ सालको निर्वाचनमा ती स्थानमा एमालेले ४० हजार ४०६ मत पाएको थियो ।
३. प्रदेश संरचना
बागमती प्रदेश सरकारले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न भन्दै बोर्ड तथा परिषद्हरू गठन गरे पनि तिनले प्रशासनिक खर्च बढाउनबाहेक खासै योगदान दिएका छैनन् । बागमती सरकार अन्तर्गत रहेका प्रदेश सहकारी बोर्ड, दुग्ध विकास बोर्ड, प्रदेश युवा परिषद्, खेलकुद परिषद्, यातायात बोर्ड लगायतले अपेक्षा अनुसार काम गर्न नसकेका हुन् । यसबिचमा यातायात बोर्डको अस्तित्व नै समाप्त भइसकेको छ भने बाँकी कार्यालयका लागि प्रशासनिक संरचना, कर्मचारीका लागि मासिक ठुलो रकम खर्च हुँदै आएको छ ।
४. गुटगत झगडा
सत्ताको साझेदार दल नेपाली कांग्रेसभित्रको गुटगत झगडा पुनः सतहमा आउन थालेको छ । महाधिवेशनको समय नजिकिँदै जाँदा पार्टीभित्र गुटगत मतभिन्नता र समानान्तर गतिविधि हुन थालेका छन् । कोशी प्रदेशमा देखिएको पछिल्लो विवाद यसैको उदाहरणको रूपमा बुझिएको छ ।
५. माटोको उर्वराशक्ति
माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास बढ्दो छ । यसो हुनमा प्राङ्गारिक मलको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु हो ।
६. सहकारी ठगी प्रकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले रातोपाटीलाई बताए ।
७. पासाङलाई उपाध्यक्ष
नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । बिहीबार बस्ने नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले बतायो ।
८. धरहरा निर्माण
सरकारले धरहरा सञ्चालनमा ल्याए पनि अझै पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छैन । धरहरा परिसरमा रहेको सुन्धारा, पुरानो धरहरा संरक्षणको काम अझै सुरु नभएको सहरी विकास मन्त्रालय कामु आयोजना निर्देशक प्रकाश अर्यालले बताए ।
९. उत्कृष्ट विद्यालय
परमानन्द नाथ २०७८ साल असोजमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बाँगफाँटामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आउँदा विद्यालयमा १५० जना विद्यार्थी थिए । कक्षा १२ सम्म पढाइ हुने सामुदायिक विद्यालयमा १५० जना विद्यार्थी एकदमै न्यून हो ।
१०. विद्यालयमा माओवादी जनयुद्धबारे पाठ्यसामग्री समावेश
गोरखाको अजिरकोट गाउँपालिकाले आधारभूत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामग्री समावेश गरेको छ । २०५२ सालदेखि नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोहबारे पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने बहस भइरहँदा अजिरकोट गाउँपालिकाले जनयुद्धसम्बन्धी सामाग्री आधारभूत तहको पाठ्यपुस्तकमा समावेश गरेको हो ।
११. गाजा तनाव
प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिक रूपमा स्वतन्त्र प्राविधिक सदस्यहरूको कमिटी नियुक्त गर्न निकै नजिक रहेको बताएका छन् । यसले हमासको शासनलाई प्रभावकारी रूपमा अन्त्य गर्नेछ र इजरायलसँग युद्धविराम वार्तालाई अगाडि बढाउन मद्दत गर्नेछ ।
१२. नेपाल प्रिमियर लिग
विराटनगर किङ्सले नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । विराटनगर किङ्सले बुधबार खेलिएको आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको हो । बुधबार खेलिएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराएको छ । जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो पहिलो जित हो भने कर्णाली याक्सको लगातार दोस्रो हार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?
-
कटहरियामा १२ हजार विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित
-
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु