१० बजे १० समाचार : बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि कांग्रेसमा गुटगत झगडासम्म
आज २०८१ मंसिर १९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- प्रधानमन्त्रीको चीन भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बहुप्रतिक्षित बीआरआई (बेल्ट एण्ड रोड इनिसियटिभ) को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । नेपालले बीआरआईमा संलग्न हुने भन्दै ७ वर्षअघि नै सम्झौतामा हस्ताक्षर गरिसकेको थियो । तर मोडालिटी र फ्रेमवर्कमा समझदारी हुन नसकेपछि लामो समयसम्म कार्यान्वयन हुन सकेको थिएन ।
- स्थानीय तह उपनिर्वाचन
मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । २०७९ साल वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका ४२ जनप्रतिनिधिका लागि भएको उपनिर्वाचन परिणामको लेखाजोखा भइरहेको छ ।
स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले अघिल्लो निर्वाचनको तुलनामा १ हजार ४०८ मत कम पाएको छ । निर्वाचन भएका ४२ स्थानमा एमालेले यसपटक कुल ३८ हजार ९९८ मत पाएको देखिन्छ । जबकि २०७९ सालको निर्वाचनमा ती स्थानमा एमालेले ४० हजार ४०६ मत पाएको थियो ।
- प्रदेश संरचना
बागमती प्रदेश सरकारले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न भन्दै बोर्ड तथा परिषद्हरू गठन गरे पनि तिनले प्रशासनिक खर्च बढाउनबाहेक खासै योगदान दिएका छैनन् । बागमती सरकार अन्तर्गत रहेका प्रदेश सहकारी बोर्ड, दुग्ध विकास बोर्ड, प्रदेश युवा परिषद्, खेलकुद परिषद्, यातायात बोर्ड लगायतले अपेक्षा अनुसार काम गर्न नसकेका हुन् । यसबिचमा यातायात बोर्डको अस्तित्व नै समाप्त भइसकेको छ भने बाँकी कार्यालयका लागि प्रशासनिक संरचना, कर्मचारीका लागि मासिक ठुलो रकम खर्च हुँदै आएको छ ।
- गुटगत झगडा
सत्ताको साझेदार दल नेपाली कांग्रेसभित्रको गुटगत झगडा पुनः सतहमा आउन थालेको छ । महाधिवेशनको समय नजिकिँदै जाँदा पार्टीभित्र गुटगत मतभिन्नता र समानान्तर गतिविधि हुन थालेका छन् । कोशी प्रदेशमा देखिएको पछिल्लो विवाद यसैको उदाहरणको रूपमा बुझिएको छ ।
- माटोको उर्वराशक्ति
माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास बढ्दो छ । यसो हुनमा प्राङ्गारिक मलको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु हो ।
- सहकारी ठगी प्रकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले रातोपाटीलाई बताए ।
- पासाङलाई उपाध्यक्ष
नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । बिहीबार बस्ने नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले बतायो ।
- धरहरा निर्माण
सरकारले धरहरा सञ्चालनमा ल्याए पनि अझै पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छैन । धरहरा परिसरमा रहेको सुन्धारा, पुरानो धरहरा संरक्षणको काम अझै सुरु नभएको सहरी विकास मन्त्रालय कामु आयोजना निर्देशक प्रकाश अर्यालले बताए ।
- उत्कृष्ट विद्यालय
परमानन्द नाथ २०७८ साल असोजमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बाँगफाँटामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आउँदा विद्यालयमा १५० जना विद्यार्थी थिए । कक्षा १२ सम्म पढाइ हुने सामुदायिक विद्यालयमा १५० जना विद्यार्थी एकदमै न्यून हो ।
- नेपाल प्रिमियर लिग
विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । विराटनगर किङ्सले बुधबार खेलिएको आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
बुधबार खेलिएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराएको छ । जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो पहिलो जित हो भने कर्णाली याक्सको लगातार दोस्रो हार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनाभित्रै ग्रामथानमा सरकार छ भन्ने अनुभूति दिलाउँछु : माझी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
‘बम बहादुर’मा रहस्यमय सौगात
-
'माटोको सुधार : परीक्षण, रेखदेख र उपचार' भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदै
-
एनपीएलमा आज पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा
-
रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो