एसिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको छ : शक्ति गौचन
काठमाडौँ । नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले एसिसी यु–१९ एसिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको बताएका छन् ।
संयुक्त अरब इमिरेट्(युएई) भएको यु–१९ एसिया कप खेलेर फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक गौचनले भ्रमणमा हार मात्र नभएको र युवा टोलीबाट आशा गर्नसक्ने धेरै पक्षहरू रहेको बताएका हुन् । साथै सो अवसरमा उनले नेपाल प्रिमियर लिग (एनपीएल) मा रहेका यु–१९ क्रिकेटरले यसलाई राष्ट्रिय टोलीमा पुग्ने राम्रो माध्यम सिर्जना गर्ने आशा गरेका छन् । एसिया कप खेलेको अनुभवले युवा खेलाडीले एनपीएलमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।
उनले मार्टिन गप्टिल, शिखर धवन र बेन कटिङ जस्ता टेस्ट प्लेइङ नेसन्सबाट आएको अनुभवी क्रिकेटरबाट आफ्ना युवा क्रिकेटरले र राष्ट्रिय टोलीकै सदस्यले पनि धेरै कुरा सिक्ने पाउने भएकाले एनपीएल राम्रो माध्यम हुने बताए ।
यु–१९ टोलीका कप्तान हेमन्त धामीले आगामी यु–१९ विश्वकप छनोटका लागि एसिया कप राम्रो माध्यम बनेको बताए । उनले एसिया कपमा राम्रो प्रदर्शन भए पनि मिडल अर्डरमा साथ पाउन नसक्दा दुई खेल गुमाउन पुगेको समेत उल्लेख गरे । उनले पनि एनपीएल युवा खेलाडीका लागि राम्रो माध्यम हुने आशा व्यक्त गरे ।
नेपालले संयुक्त अरब इमिरेट्(युएई) मा भएको यु–१९ एसिया कपमा तीन खेलमध्ये अफगानिस्तानसँगको खेलमा जित निकालेको हो । बुधबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको हो । नेपालले समूहमा श्रीलंकासँग ५५ रन र बंगलादेशसँग पाँच विकेटले पराजित भएपछि नेपालको यात्रा समूहचरणमा नै टुङ्गिएको हो ।