काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम महिला’को तेस्रो शृङ्खला बुधबार साँझ ७ः३० बजे प्रसारण भएकाे छ । गत बुधबार प्रसारण भएको दोस्रो शृङ्खलामा पौराणिक महाविदुषी विभूषण पाएकी गार्गीमाथि चर्चा गरिएको थियो । यो पटक राष्ट्रिय विभूति भृकुटीमाथि चर्चा गरिएको सामग्री छ ।
यस्तो छ कार्यक्रमको विस्तृतमा विवरण
पात्र : भृकुटी
जन्म मिति :वि.सं. ६८०
जन्मस्थान : काठमाडौँ
माता : अज्ञात
पिता : अंशुवर्मा
नेपालको इतिहासमा अद्वितीय नाम हो– भृकुटी । राष्ट्रिय विभूतिमध्ये प्रथम ऐतिहासिक नेपाली महिला हुन्– भृकुटी । नेपालबाट विवाह भई पराई मुलुकमा गएर त्यहाँ अपार सम्मान मात्रै होइन, ‘हरिततारा’का रूपमा पुजनीय समेत हुनु उनको ठुलो विशेषता हो । उनका सम्बन्धमा भृकुटी, चिजु, हरिततारा आदि नाम भेटिन्छ । विस्तृत रूपमा प्रामाणिक उल्लेख भने कमै पाइएका छन् ।
नेपाली इतिहासकारहरू प्रायः सबैले भृकुटीलाई अंशुवर्माकी छोरीका रूपमा चर्चा गरेका छन् ।
अंशुवर्मा राजा शिवदेवका भान्जा हुन् ।
राजा शिवदेवले आफ्नी बहिनीका छोरा अंशुवर्मालाई निकै अधिकार दिएका थिए ।
विधिसम्मत ढङ्गमा अंशुवर्मा राजा नभए तापनि उनको हैसियत राजाभन्दा तल तर महासामन्तभन्दा उच्च रहेकाले ‘महाराज’ उपाधिबाट परिचित थिए ।
इतिहास अनुसार तिनताक सामन्तहरूलाई ‘महाराज’ उपाधि दिने चलन थियो ।
अंशुवर्माको नामका विशेषणका रूपमा ‘भट्टारक महाराजाधिराज’ उपाधि जोडिएका शिलालेखहरूले यसै तथ्यलाई उजागर गरेका छन् ।
शिवदेव प्रथमपछि अंशुवर्मा राजा हुन पुगे ।
पहिले राजा शिवदेवसँग सम्बद्ध रही द्वैधशासनमा सक्रिय अंशुवर्मा राजा भएपछि उनले कैलाशकूट भवन बनाउन लगाएर त्यही दरबारमा बसेको उल्लेख पाइन्छ ।
अंशुवर्माको शासनकालमा नेपालको चौतर्फी विकास भएको देखिन्छ ।
‘कथं प्रजा मे सुखिना भवेत्’ धारणा बोकी नेपाल र नेपालीको उत्थानमा समर्पित अंशुवर्माले जनतालाई नानाथरीका करबाट मुक्त पनि गरेका थिए ।
उनले लिच्छवि तथा तिब्बतीबीच जनस्तरमै राम्रो र बलियो सम्बन्ध कायम गरे ।
‘पशुपतिपादानुगृहीत’ उपाधिधारी अंशुवर्माले बौद्ध धर्मको विस्तारमा पनि निकै सहयोग पुर्याएका छन् ।
उनको शासनकाल (सन् ६०५–६२१) का बखत भारतमा हर्षबर्द्धन र तिब्बत (त्रिविष्टप) मा स्रोङ चङ गम्पोको शासन रहेको थियो ।
दुवै छिमेकी देशसँग सौहार्द सम्बन्ध कायम गरी उनले मुलुकको चौतर्फी विकास गरेकाले उनको शासनकाललाई स्वर्णिम युग मानिएको छ ।
विराट हृदय, दूरदर्शिता र कुशल राज्य सञ्चालक भएकै कारण आफ्नो ख्याति फैलाउन सफल अंशुवर्मा विद्वान् पनि थिए ।
उनले ‘व्याकरण’को रचना गरेका थिए ।
दक्षिणतिर मावली भएका अंशुवर्माले उत्तरतिर ज्वाइँ बनाएर गहिरो कूटनीतिक सफलता हासिल गरेको सन्दर्भ आजको दुनियाँका लागि पनि प्रासङ्गिक छ ।
भृकुटीको विवाह तिब्बती राजा स्रोङ चङ गम्पोसँग भएपछि नेपालको अवस्था माथि उक्लिएको वर्णन पनि इतिहासमा पाइन्छ ।
टुक्रा–टुक्रामा विभाजित तिब्बतलाई एकीकरण गरेर ‘ह्लासा’ राजधानी बनाउने श्रेय राजा ‘गम्पो’लाई प्राप्त छ ।
इत्सिङद्वारा लिखित ताङ वृत्तान्तका अनुसार उनले नै भृकुटीको हात मागेकाले १६ वर्षीया भृकुटीको विवाह (वि.सं. ६९६) भएको हो ।
१२ वर्षको उमेरमै राजा भएका स्रोङ चङ गम्पोको बखान प्राचीन तिब्बती इतिहासमा पाइन्छ ।
प्रतापी राजासँग विवाह भएर गएकी भृकुटीले त्यहाँ महारानीको सौभाग्य पाउनु स्वाभाविक हो ।
तिब्बतमा बोन्पो दर्शन मान्ने प्रचलन थियो । भृकुटीले नै त्यस ठाउँमा बौद्ध धर्मको प्रचार–प्रसारमा अपूर्व भूमिका खेलेकी हुन् ।
बौद्ध धर्मको विस्तारसँगै उनले त्यहाँ सबैको न्यानो स्वागत र अपार श्रद्धा पनि हासिल गरिन् ।
आधुनिक तिब्बतका जन्मदाता गम्पोको दोस्रो विवाह चिनियाँ थाङवंशी सम्राट ताई सोङकी छोरी राजकुमारी बेचुङ (बेनचेङ गन्चु) सित भयो ।
उनी पनि धर्मानुरागी भएको उदाहरण दुवै रानी मिलेर बौद्ध धर्मको विस्तारमा पुर्याएको योगदानबाट आकलन गर्न सकिन्छ ।
भृकुटी ‘हरिततारा’ कहलाए जस्तै बेचुङ ‘श्वेततारा’ नामले विख्यात भइन् ।
हरिततारा र श्वेततारा दुवै बौद्धकथामा वर्णन गरिएकी देवी हुन् ।
महायानी बौद्ध तन्त्रपरम्परामा देवीको स्थान अत्युच्च तथा अपरिहार्य रहेकाले महारानीको सम्मानमा दुवैका मूर्ति कमलदलका आसनमा सिंगारेर राखिएका छन् ।
भृकुटी अलि काली–काली अथवा हरियो–हरियो वर्णकी भएकीले हरिततारा र बेचुङ चाहिँ सेती–सेती भएकीले श्वेततारा नाम रहेको हुनसक्ने अनुमान गरिएको छ ।
स्रोङ चङ गम्पो चाहिँ ‘लोकेश्वर’का रूपमा अद्यापि पूजित छन् । उनको राज्यकाल वि.सं. ६८६ देखि ७०७ सम्म रहेको इतिहासमा उल्लेख छ ।
भृकुटीलाई कसैले अंशुवर्मा, कसैले शिवदेव त कसैले उदयदेवकी छोरी मानेका छन् ।
कत्तिले त भृकुटी साधारण व्यक्तिकी छोरी हुन् र उनलाई ‘राजकुमारी’ भनेर गम्पोलाई झुक्याई विवाह गराइएको समेत जनाएका छन् ।
यस सन्दर्भमा डा. राजाराम सुवेदीको भनाइ छ– ‘ऐतिहासिक तिथिमिति मिलाउँदाखेरि उनी अंशुवर्माका जेठान वा साला उदयदेवकी छोरी, नरेन्द्रदेवकी दिदी र शिवदेवकी नातिनी देखापर्छिन् ।’
भृकुटीका कसकी छोरी हुन् ? उनको जन्मस्थल कहाँ हो ? उनले जीवनमा के–कस्ता काम गरिन् ? उनको इहलीला कहिले, कहाँ समाप्त भयो ? उनका सन्तान के–कति भए ? जस्ता प्रश्नको प्रामाणिक उत्तर उपलब्ध छैन । केही तथ्यहरू चाहिँ यसी बुझौँ ।
भृकुटीको तिब्बती नाम ‘ख्रिस्चुङ’ हो । तिब्बती इतिहासमा कतै उनलाई ‘ट्रिचुङलाची’ पनि भनिएको देखिन्छ भने उनका बावु ‘देवल्हा’ भएको उल्लेख पाइन्छ ।
डा.सुवेदीका अनुसार भृकुटीको चिनियाँ नाम ‘ख्रिस्तुङ’ हो र यसको अर्थ ‘आँखी भौँ जोडिएको’ वा ‘आँखी भौँ जोडिन खोजेको’ हुन्छ । यसैका आधारमा नेपालीकरण गरिँदा ‘भृकुटी’ नाम जुर्न पुगेको हो ।
तिब्बतमा भृकुटी ‘बल्मो जा ट्रोचुन’ (बल्चा ठ्रीचुन) वा ‘ठ्रीचुन’ नामले समेत चिनिन्थिन् ।
भृकुटीलाई ‘बेसा’ वा ‘बेल्सा’ तथा वेनचेङलाई ‘ग्यासा’ भनिन्थ्यो ।
भृकुटी भेल्सा त्रित्सुन अर्थात नेपाली पत्नी अथवा बस ख्रिब तिसन् अर्थात राजकीय महिला) कहलाएकी थिइन् ।
भृकुटीको एक नाम ‘गोचा’ पनि हो । उनको वास्तविक नाम चाहिँ अज्ञात नै छ ।
बौद्ध दर्शनमा अनुरक्त भृकुटीले दाइजोका रुपमा आफूसँग अक्षोम्य, मैत्रेय, बोधिसत्व, आर्यतारा, बुद्ध आदिका धातु तथा बास्नादार श्रीखण्डका मूर्ति पनि सँगै लगेकी थिइन् ।
केही समयपछि बौद्ध धर्मको प्रचारका निम्ति उनले यहाँका विद्वान् शीलमञ्जु तथा नेपाली कालिगड झिकाइन् ।
तिब्बतमा बौद्ध धर्मको प्रचार, प्रसार तथा नेपाली वास्तु एवं ललितकलाको विस्तारमा उनको ठुलो योगदान छ ।
नेपाली कालिगडले ह्लासाको रातो महल बनाएका थिए ।
त्यही महललाई पाँचौँ दलाई लामाले पुनर्निर्माण गराएको र हाल त्यही महल पोताला दरबारका नाममा कहलिएको उल्लेख पाइन्छ ।
तिब्बतको साम्ये गुम्बामा भएका ‘तब वान्ग्’ आदि मूर्ति पनि नेपाली कालिगडबाटै बनाइएका हुन् ।
मिक्यो दोर्जे, रामोच्छे छुन्ग्या समेत भनिने यी मूर्ति अहिले पनि ह्लासाका मन्दिरमा सुरक्षित छन् ।
भृकुटीले तिब्बतमा जोखानसहित तीन मन्दिर बनाएकी थिइन् भने एउटा मन्दिर भुटानमा बनाइएको थियो ।
भनिन्छ, यी चारैवटा मन्दिरका मोहडा नेपालतर्फ अभिमुख छन् ।
तामाङ समुदायमा भृकुटी ‘डोल्मा’ र वेनचेङ ‘डोल्कर’ नामले प्रख्यात छिन् ।
तामाङका थाङ्का चित्रमा पद्मसम्भव (गुरु रिम्पोछे) झैं डोल्मा र डोल्कर अवश्य रहेका हुन्छन् ।
आर्य अवलोकितेश्वर, महांकाल, बुद्धको जीवनीका घटनावली आदि पनि चित्रमा समेटिएका हुन्छन् नै ।
प्राचीन गुम्बामा अवस्थित भृकुटीका चित्रहरूले गौरवशाली इतिहास बयान गरिरहेका छन् ।
भनिन्छ, लिच्छविकालमै काठमाडौँ उपत्यकाभन्दा पूर्वतर्फ ६ वटा ठुला गुम्बा निर्माण भएका हुन् ।
तिनमा सिन्धुपाल्चोकको लिसंखु (ह्रिस्याङ्गोस्थित छ्योइकेल कुन्देलिङ) गुम्बा, दोलखाको चरिघ्याङ गुम्बा, रामेछापका पोङदी गुम्बा तथा ढोङमे गुम्बा, काभ्रेपलाञ्चोकका नाङरे गुम्बा र बाङथली गुम्बा रहेका छन् ।
जङ्गलमा भएको लिसंखु गुम्बा वि.सं. १९९० सालको भूकम्पमा ग्रस्त भएको थियो, त्यही गुम्बा ७३ वर्षअघि तल भञ्ज्याङमा सारिएको भनाइ छ ।
भृकुटीका सम्बन्धमा फ्रान्सेली प्रोफेसर सिल्भा लेवीले पत्ता लगाएका हुन् ।
ताङ वृत्तान्तमा उनका बारेमा विशद बयान रहेको छ ।
डा. सुवेदी थप्छन्– सिल्भा लेवी वीरशमशेरका पालामा पहिलोचोटि नेपाल आएका हुन् ।
चन्द्रशमशेरका पालासम्म उनी पटक–पटक यहाँ आए र ‘नेपाल’ सम्बन्धी कृति तयार पारे ।
नेपालकी महान् विभूति भृकुटीका सम्बन्धमा विस्तृत तथा प्रस्ट जानकारी प्राप्त नहुनु खट्कँदो पक्ष बनेको छ । उनको वास्तविक नाम समेत थाहा नहुनुले पनि धेरै कुरा अन्धकारमै रहेको छर्लङ्ग हुन्छ । यस वस्तुस्थितिमा इतिहासकारहरूबिच भृकुटीबारे सर्वसम्मति नदेखिनु स्वाभाविक हो । आशा गरौँ– राष्ट्रिय विभूति भृकुटीका सम्बन्धमा बढीभन्दा बढी जानकारीका साथ प्रामाणिक इतिहास छिटै अगाडि ल्याउनेतर्फ नवोदित इतिहासकार सफल हुनेछन् । यस दिशामा इतिहासकारहरूलाई प्रेरित तथा प्रोत्साहित तुल्याउन राज्यका तर्फबाट सक्रियता जरुरी छ ।
प्रतिक्रिया