देउवाको घर र गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटा पक्राउ
काठमाडौँ । पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् । उनले सिन्धुलीको मतानबासस्थित नेपाल टेलिकमको टावरमा पनि विस्फोट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोप छ । उनले आफूलाई नेकपा (माओवादी)को महासचिव बताउने गर्छन् ।
चन्दा सङ्कलन गरेको भेटेपछि उनलाई पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । उनले भने, ‘चन्दा उठाउने रसिद र चन्दाको विवरण पनि बरामद गरेका छौँ ।’
२०८१ भदौ २८ मा झापाको गिरीबन्धु टी–स्टेट अगाडी विस्फोटक पदार्थ भेटियो । विस्फोटक पदार्थ राखेको ठाउँमा नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको लेटरप्याडमा ‘गिरबिन्धु टी–स्टेट कब्जा किन ?’ भन्ने पर्चा छाडिएको थियो । सो घट्नामा संलग्न मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय घर भएका धिरज माझीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
गिरिबन्धु टि स्टेटमा विस्फोटक पदार्थ राख्ने मुख्य योजनाकार गौरव भएको खुलेको छ । पर्सा जिल्लाको मुद्दा टुङ्गो लागेपछि उनलाई अनुसन्धानका लागी झापा पनि पठाइने नेपाल प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘गिरीबन्धुमा उसकै योजनामा विस्फोटक पदार्थ राखेको देखिन्छ ।’
२०८१ भदौ ९ मा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि बम भेटियो । घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो । सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी जाँदा त्यहीँ बस्छन् । त्यहाँ विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए । उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने तयारी गरेको कागजात भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
बुद्ध चित्तको रुख काट्ने समूहसँग पनि कनेक्सन
काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा २०८० चैत २९ मा एउटा समूहले बुद्धचित्त मालाको रुख काटे । रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएका थिए ।
स्थानीय ठाकुरानी तामाङको स्वामित्वमा रहेको सो बुद्ध चित्तको माला काभ्रे जिल्लामा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको थियो । रुख काट्ने समूहको नेतृत्व गर्ने सागर मैनाली अहिले पुर्पक्षको लागी थुनामा छन् । मैनालीसँग अमृतको पनि ‘कनेक्सन’ देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, सयबढी घर जोखिममा
-
पैदल यात्रीको भीडबाट गोली हान्नेलाई पक्रिन सकेन न्यूयोर्क प्रहरीले
-
'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा