बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
गुटगत झगडा

कोशीमा छचल्कियो कांग्रेसभित्रको झगडा : शेखरले देउवालाई टक्कर दिन थालेका हुन् ?

बुधबार, १९ मङ्सिर २०८१, १९ : ००
बुधबार, १९ मङ्सिर २०८१

काठमाडौँ । सत्ताको साझेदार दल नेपाली कांग्रेसभित्रको गुटगत झगडा पुनः सतहमा आउन थालेको छ । महाधिवेशनको समय नजिकिँदै जाँदा पार्टीभित्र गुटगत मतभिन्नता र समानान्तर गतिविधि हुन थालेका छन् । कोशी प्रदेशमा देखिएको पछिल्लो विवाद यसैको उदाहरणको रूपमा बुझिएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेशले यही मंसिर २२ गते मोरङको विराटनगरस्थित बरगाछी चोकमा रहेको मनास्लु पार्टी प्यालेसमा प्रदेश सम्मेलन बोलाएको छ । तर, त्यसको केही दिन अघि अर्थात् १८ गते पार्टीको इतर समूहले विराटनगरमै नेपाली कांग्रेस प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम–२०८१ आयोजना ग¥यो ।

इतर समूहको नेतृत्व गरिरहेका डा शेखर कोइरालाको समूहले उनकै प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘कार्यक्रम नराम्रो हैन । तर, शेखर डाक्टरसापको समूहले प्रदेश सम्मेलनको केही दिन अघि गरेको उक्त कार्यक्रमलाई समानान्तर गतिविधिकै रूपमा केन्द्रले हेरेको छ,’ एक पदाधिकारीले रातोपाटीसँग भने, ‘जसलाई विधानले चिन्दैन । नहुनुपर्ने काम भयो ।’

कार्यक्रम सुरू हुनु अगावै केन्द्रले परिपत्र गर्दै शेखर समूहको भेलालाई रोक्न प्रयास गरेको थियो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर निर्देशन पठाउँदै भेला नगर भन्ने घुमाउरो चेतावनी दिएका थिए । यसरी विवादका बिच इतर समूहले विराटनगरमा आफ्नो गुटका पालिका सभापतिहरूको प्रशिक्षण कार्यक्रम गरिछाड्यो ।

डा. शेखर कोइरालाले उदघाटन गरेको उक्त कार्यक्रममा कोशी प्रदेशका १३७ मध्ये ११३ जना पालिका सभापतिको उपस्थिति रहेको उक्त समूहको दाबी छ । जसलाई अझै पनि केन्द्रले अवैधानिक भेलाको संज्ञा दिइरहेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार संस्थापन पक्षमात्र होइन, उक्त भेला रोक्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रयास गरेका हुन् । महानगर समितिले महानगरस्तरीय कार्यक्रम आयोजना गर्न पाउने व्यवस्था विधानमा भए पनि पालिका सभापतिहरूको प्रशिक्षण आयोजना गर्न नमिल्ने पौडेल बताउँछन् ।

‘त्यस्तो कार्यक्रम नगर्नुहोस् भनेर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र मैले पनि भनेको हो । विधान विपरीत उहाँहरूले कार्यक्रम गर्नु भनेको पार्टीको मूल मर्म विपरीत हो,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘महानगरको सभापतिले महानगरस्तरीय कार्यक्रम गर्न पाउँछ । त्योभन्दा माथि गएर कार्यक्रम गर्न पाउँदैन । त्यसैले त्यो भेला विधान विपरीत हो ।’

  • समूहको चेतावनी : सातै प्रदेश र ७५३ वटै स्थानीय तहमा कार्यक्रम हुनसक्छ

कोशीमा यो समूह निरन्तर संस्थापन पक्षको पेलानमा परेको गुनासो सुनिँदै आएको छ । कोशी शेखरको गृह प्रदेश पनि हो । गृह प्रदेशमै नेता कोइरालालाई संस्थापन पक्षले निरन्तर ‘कर्नरमा पार्ने काम’ भएकाले पनि घटनाक्रमले समानान्तरजस्तै देखिने कार्यक्रम गर्न परेको शेखर समूहका नेताहरू बताउँछन् ।

विशेष गरेर नेकपा माओवादी केन्द्रसँगै सत्ता गठबन्धन हुँदा यहाँ शेखर पक्षले विद्रोह गर्दै एमालेसँगको सहकार्यमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो । तर, एमालेसँग कांग्रेसको सत्ता सहकार्य भएपश्चात शेखर समूह यहाँ पेलानमा प‍¥यो । यतिसम्म कि समूहले कसैलाई पनि मन्त्री बनाएर पठाएन । यसबाहेक पनि पार्टीभित्र संस्थापन पक्षबाट निरन्तर कर्नरमा पारिनु, विभाग तथा विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थामा पनि भने जति भाग नपाउनु लगायत कारणले कोशीमा प्रदेश सम्मेलन अघि ‘काउन्टर सम्मेलन’ भएको बुझिएको छ ।

मोरङ जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बू पार्टीको गतिविधि नभएको समयमा राम्रो काम गरेको भनेर धन्यवाद दिनुपर्नेमा उल्टै आलोचना गर्नु लज्जास्पद भएको टिप्पणी गर्छन् ।

‘नेता आउने अनि सधैँ हामीले ताली पड्काइदिनुपर्ने, न टिकट बाँड्ने बेला सोध्छन्, न गाउँ आउने बेला हामीलाई खोज्छन् । अनि सङ्गठन गरेर बसेका हामीलाई सोधखोज र स्पेस तथा भूमिका नदिएपछि कार्यक्रम गर्नुपरेको भनेर पालिका सभापतिहरुले भन्नुभएको छ,’ उनले भने ।

मोरङ जिल्लाको १७ पालिका अध्यक्ष मिलेर कोशी प्रदेशका पालिका सभापतिहरूलाई बोलाएर प्रशिक्षण गर्दा आफूहरूलाई दबाब र झन् किनारा पार्ने काम हुन्छ भने यस्ता गतिविधि देशैभर हुने तर्क उनको छ ।

‘हामीले गुट भेला हैन, पालिका सभापतिहरूलाई बोलाएको हो । यसलाई पोजेटिभ लिए ठिक छ,’ लिम्बूले भने, ‘तलमाथि भए सातै प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै पालिका र ६ हजार ७४८ वटै वडामा यस्ता प्रशिक्षण कार्यक्रम आयोजना हुन्छ ।’

लिम्बूले प्रदेशमा रहेका १३७ पालिका अध्यक्षहरू आउन चाहे पनि धेरैलाई संस्थापन पक्षले फोन गरेर धम्क्याउने तथा त्यो कार्यक्रममा नजानु भनेर दबाब दिएको दाबी गरे ।

कार्यक्रममा विभिन्न जिल्लाका पूर्व र वर्तमान सभापति तथा पार्टीका केन्द्रीयस्तरका नेताहरूको सहभागिता थियो । डा मिनेन्द्र रिजाल, गुरु घिमिरे, सरिता प्रसाई, राजीव कोइरालादेखि बहालवाला केन्द्रीय सदस्य तथा नेताहरू कार्यक्रममा सहभागी भएर मन्तव्य राखेका थिए । कार्यक्रम उदघाटन समारोहमा शुभकामना मन्तव्य दिनेहरूले शेखर कोइरालालाई १५औँ महाधिवेशनबाट पार्टी सभापति बनाउने र ०८४ को आमनिर्वाचनपछि प्रधानमन्त्री बनाउने सम्मको प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेसमा अहिले देखिएको समस्या र देशमा देखिएको समस्याका समाधान उनै शेखरले गर्ने उनीहरूको दाबी थियो ।

कार्यक्रममा सहभागी भएका केन्द्रीय सदस्य राजीव कोइराला पालिका सभापतिहरूले बोलाएको कार्यक्रमलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । राम्रो उपस्थितिमा भएको कार्यक्रमलाई केन्द्रले फरक दृष्टिकोणले हेर्न नमिल्ने उनको भनाइ छ ।

‘पार्टीलाई चलायमान बनाउने र विगतदेखि हुँदै आएको कार्यक्रमलाई समानान्तर गतिविधि भन्न मिल्दैन,’ कोइरालाले भने, ‘पहिले पहिले ६०–४० भन्दै हिँड्ने को हो, बुझौँ न । आफू पदमा भएपश्चातचाहिँ पार्टी हितमा हुने कार्यक्रमलाई खेद्न मिल्दैन ।’

  • संस्थापन पक्ष भन्छ–  घाटा उहाँलाई नै भयो

संस्थापन पक्षको विचारमा शेखर समूहले आफ्नो शक्ति प्रदर्शन गर्दै कोशीमा अवैधानिक भेला गरेको हो । जसको कारण प्रतिष्ठाको लडाइँ भएको संस्थापन पक्षको दाबी छ । शेखरलाई वरिष्ठ नेताको मान्यता दिनुपर्ने, प्रदेश सम्मेलनमा उपसभापतिहरू भन्दा माथि आसन ग्रहण गराइनुपर्ने लगायत विषय पनि उठेको शेखर समूहको दाबी छ ।

संस्थापन समूह नेता कोइराला आफैँले भन्दा पनि अरूले उचालेको भरमा उचालिएको आरोप लगाउँछ । पार्टीको आधिकारिक विधान विपरीत भएको कार्यक्रममा गएर शेखरलाई घाटा भएको तथा सभापति देउवासँगको सम्बन्धमा पनि असर पर्ने एक नेताले बताए । विशेष गरेर कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की र उनको समूहको उक्साहटमा कार्यक्रम भएको बुझाइ उनको छ ।

‘पार्टी शेखर दाईलाई जिम्मा लगाउन शेरबहादुर पोजेटिभ बन्दै गएको बेला यस्तो हर्कतले कसरी सम्बन्ध सुमधुर होला र,’ ती नेता भन्छन् ।

प्रदेश समितिले २२ गतेका लागि आयोजना गरेको सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवादेखि उपसभापति तथा महामन्त्री लगायत केन्द्रीय पदाधिकारी तथा शीर्ष नेताहरू विराटनगर जाँदैछन् । पार्टीका कोशी प्रदेश उपाध्यक्ष तथा नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका पूर्वनेता रमेशजंग रायमाझी मंगलबारको कार्यक्रमलाई प्रदेश कमिटीले मान्यता नदिएको र कसको कार्यक्रम हो, थाहा नभएको बताउँछन् ।

‘पार्टी सभापतिको निर्देशनमा हुन लागेको प्रदेश सम्मेलन २२ गते हो,’ उनले रातोपाटीसँग भने, ‘पार्टीको वैधानिकता बाहिर गएर मंगलबार भयो भनिएको कार्यक्रममा प्रदेश कमिटीको सहभागिता थिएन र यसलाई हामीले चिन्ने कुरा पनि भएन ।’

  • सभापति र महामन्त्रीको छलफल, एक्सन लिने तयारी

यस विषयमा सभापति, उपसभापति तथा महामन्त्रीबिच छलफल भएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् । पार्टीको विधान विपरीत तथा केन्द्रीय कार्यालयलाई जानकारी नदिइ गरिएको कार्यक्रमविरूद्ध एक्सन लिने तयारी भएको उनले बताए ।

‘पार्टीले नोटिसमा लिएको छ । केन्द्रीय कार्यालयमा मुख्य सचिवले हस्ताक्षर गरेर पत्र पठाएर कार्यक्रम सम्बन्धी स्पष्ट पार्नुभएको छ,’ विश्वकर्माले भने, ‘सभापति, महामन्त्री र पदाधिकारीहरूले यसबारे छलफल गर्नुभएको छ । अफिसियल धारणा बनाएपछि हामी अघि बढ्छौँ ।’

विश्वकर्माले डा शेखरप्रति इंगित गर्दै भने, ‘प्रमुख अतिथि हुने व्यक्तिले भेला गराउनुभएको हो । त्यसलाई सभापतिहरूको भेला नभनिदिएको भए हुने थियो । जुन कुरा केन्द्रीय समितिको निर्णय पनि हैन, विधानको व्यवस्था पनि हैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप