लुम्बिनी लायन्स भर्सेस विराटनगर किङ्स : अन्तिम ओभरसम्मको रोमाञ्च
काठमाडौँ । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । विराटनगर किङ्सले बुधबार खेलिएको आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
टस हारी ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । जारी एनपीएलमा बनेको यो सबैभन्दा ठुलो स्कोर थियो । विराटनगर किङ्सले १९.५ ओभरमा आठ विकेट गुमाएर एक सय ९३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
विराटनगर किङ्सले बनाएको रन जारी एनपीएलमा कुनै पनि टोलीले बनाएको उच्च स्कोर हो । यसका अतिरिक्त जारी एनपीएलको एउटै खेलमा बनेको यो सर्वाधिक योगफल पनि हो । यो खेलमा दुबै टोलीले मिलेर कुल तीन सय ८४ रन बनाए ।
प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले जारी प्रतियोगितामा हात पारेको यो पहिलो जित हो । विराटनगर किङ्स यसअघि खेलिएको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले हारेको थियो ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स भने आफ्नो पहिलो खेलमै पराजित भएको हो । विराटनगर किङ्स र लुम्बिनी लायन्सबिचको खेल निकै रोमाञ्चक थियो । सम्भवतः जारी एनपीएलमा हालसम्म दर्शकलाई सबैभन्दा बढी मनोरञ्जन दिने खेल पनि यही बनेको छ ।
लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगरका लागि लोकेश बमले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ७१ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका ओपनर ब्याट्सम्यान लोकेशले केवल ४७ बलको सामना गरी ६ छक्का र तीनवटा चौका हिर्काए ।
जारी एनपीएलमा बनेको यो सातौँ अर्धशतक हो । यसअघि कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवी बोपरा, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
विराटनगर किङ्सका लागि छैटौँ नम्बरका ब्याट्सम्यान बसिर अहमदले पनि ४० रन बनाए । उनले आक्रामक पाली खेल्दै केवल २४ बलमा एक छक्का र चार चौका प्रहार गरे । टोलीका लागि मार्टिन गप्टिलले पनि २८ रन बनाएका थिए । गप्टिलले केवल १७ बलमा ६ वटा चौका प्रहार गरेका थिए ।
मार्टिन गप्टिल, बसिर अहमद र लोकेश बमले विराटनगर किङ्सका लागि जितको आधार तयार पारिदिएका थिए । जिततर्फ अग्रसर रहेको विराटनगर किङ्स खेलको अन्त्यतिर पुनः दबाबमा परेको थियो । सात विकेट गुमाइसकेको विराटनगर किङ्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक थियो ।
अन्तिम ओभर बलिङ गर्न लुम्बिनीका बलर विवेक यादव आएका थिए । उनले पहिलो र दोस्रो बल ‘वाइड’ फाले । त्यसपछि विराटनगरलाई जितका लागि ६ बलमा १३ रन आवश्यक भयो । त्यसपछिको बलमा विवेकले विराटनगरका कप्तान सन्दीपलाई आउट गराए ।
त्यसपछि विराटनगरसँग दुई विकेटमात्र बाँकी रह्यो । अन्तिम पाँच बलमा विराटनगरलाई जितका लागि १३ रन आवश्यक थियो । दोस्रो बलमा विवेकले रन दिएनन् । विवेकको तेस्रो बलमा विराटनगरका ब्याट्सम्यान क्रिस सोलले छक्का प्रहार गरे ।
त्यसपछि विराटनगरलाई तीन बलमा सात रन आवश्यक भयो । त्यस लगत्तै चौथो बलमा पनि क्रिस सोलले चौका प्रहार गरे । त्यसपछि विराटनगर किङ्सलाई अन्तिम दुई बलमा जितका तीन रन आवश्यक रह्यो । त्यस लगत्तै क्रिस सोलले फेरि चौका प्रहार गर्दै विराटनगरलाई जित दिलाए ।
क्रिस सोलले चार बलमा एक छक्का र दुई चौकाको मद्दतले अविजित १४ रन बनाए । दीपक बोहरा भने नौ रनमा अविजित रहे । लुम्बिनीका बलर दुर्गेश गुप्ताले तीन विकेट लिए । रामोन सिमोन्ड्स र साद बिन जाफरले पनि दुई–दुई विकेट हात पारे । विवेक यादवले एक विकेट लिए ।
त्यसअघि, लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रनको योगदान गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले आक्रामक पाली खेल्दै केवल २९ बलमा दुई छक्का र चार चौका पनि हिर्काए ।
लुम्बिनी लायन्सले ६४ रनको कुल स्कोरमा आफ्नो दोस्रो विकेट गुमाएको थियो । त्यसपछि कप्तान रोहित र थोमस जेम्स मुरेसले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डका बायाँहाते ब्याट्सम्यान मुरेसले ३० रन बनाए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका मुरेसले १७ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए । २८ वर्षीय मुरेस १४औँ ओभरको चौथो बलमा दुर्भाग्यपूर्ण तरिकाले रन आउट भई पभेलियन फर्किएका थिए ।
त्यसअघि ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र अर्जुन साउदले २३ रनको साझेदारी गरेका थिए । आशुतोषले १३ बलमा एक छक्का र दुई चौकाको मद्दतले १५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पनि १७ रन बनाए । उनले १९ बलमा तीन चौका पनि प्रहार गरे ।
सन्दीप जोरा भने १३ बदमा १२ रन बनाउँदै आउट भए । साद बिन जाफरले पनि टोलीको खातामा १५ रन थपे । उनले १३ बलको सामना गरी एक छक्का हिर्काए । बेन कटिङले ६ बलमा एक चौकाको मद्दतले ६ रन बटुले ।
आठौँ नम्बरमा क्रिज समाल्न आएका विवेक यादवले टोलीका लागि अविजित १९ रनको योगदान गरे । उनले केवल सात बलमा तीन छक्का प्रहार गरे । रामोन सिमोन्ड्स दुई रनमा अविजित रहे । लुम्बिनी लायन्सले अतिरिक्त रूपमा पनि २९ रन पायो । विराटनगर किङ्सका बलर सन्दीप लामिछाने, इस्मात आलम र राजेश पुलामीले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा