मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
समाचार

प्रधानमन्त्री अ‍ोली चीनबाट फर्केपछि प्रधानसेनापति भारत जाने

बुधबार, १९ मङ्सिर २०८१, १५ : ४५
बुधबार, १९ मङ्सिर २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि प्रधानसेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली चीनबाट भोलि बिहीबार फर्किँदै छन् भने प्रधानसेनापति सिग्देल मङ्सिर २६ गते चार दिने भारत भ्रमणमा जाँदै छन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानसेनापति सिग्देल मङ्सिर २६ गते भारत गएर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लिनका लागि उनी त्यहाँ जान लागेको बताइएको छ ।

प्रधानसेनापतिमा नियुक्त भएपछि नेपाल र भारतबिच एक अर्काको देशमा गएर मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिने चलन पहिलादेखि चल्दै आएको हो । यसअघि भारतका सेना प्रमुख उपेन्द्र द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएर मानार्थ चिन्ह लिएर फर्केका थिए ।

भारतीय सेनाध्यक्ष द्विवेदी मङ्सिर ५ गते नेपाल आएर ९ गते फर्केका छन् । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । 

भ्रमणको क्रममा भारतीय सेनाध्यक्ष द्विवेदी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न शीर्ष व्यक्तित्वहरूसँग भेटघाट गर्नुको साथै पोखरा, मुक्तिनाथमा घुमफिर गरेका थिए ।  

भारत–नेपालको सम्बन्धमा तिक्तता बढिरहेको बेला प्रधानसेनापतिको यो भ्रमणलाई अर्थपूर्ण रूपमा लिएको छ । अन्तिम समयमा बीआरआईको सहकार्य फ्रेमवर्कमा चीन र नेपालबिच सहमति भएपछि नेपालको भूराजनीति झन् पेचिलो हुँदै गइरहेको छ ।  

भारतको निमन्त्रणा नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमणमा गएका हुन् । प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । तर न प्रधानमन्त्री मोदी आफै आउने कुनै सूचना पठाए न प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमणको निम्तो नै दिए ।

चीनबाट फर्केपछि प्रधानमन्त्री ओली भारत जाने कुरा पनि चलिरहेको छ । तर भारतबाट हालसम्म त्यस्तो कुनै संकेत आइसकेको छैन । प्रधानसेनापति सिग्देल भारत भ्रमणको क्रममा दुई देशको तिक्तता मेटाउने काम गर्ने धेरैको विश्वास रहेको छ ।  

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप