बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जलवायु परिवर्तनका कारण वैदेशिक रोजगारमा जाने संख्या बढ्यो : अध्ययन

कृषि कर्म छाडेर वैदेशिक रोजगारीमा धकेलिँदै
बुधबार, १९ मङ्सिर २०८१, १५ : २३
बुधबार, १९ मङ्सिर २०८१

काठमाडौँ । नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसान कृषि कर्म छोड्दै वैदेशिक रोजगारीमा धकेलिएको पाइएको छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको भूगोल केन्द्रीय विभागको अनुसन्धान अनुसार जलवायु परिवर्तनबाट कृषि उत्पादन घटेको, लागत मूल्य बढेको, बालीनालीमा रोग तथा किराहरूको संक्रमण बढेको, बेमौसमी अधिक वर्षा हावाहुरी र असिनाले बालीनालीमा क्षति पुर्‍याउँदै गएकाले कृषि पेसा छोडेर वैदेशिक रोजगारमा जाने संख्या बढेको हो ।

जलवायु परिवर्तनको प्रभाव र घरपरिवारको अनुकूलन क्षमता र चुनौतीका बारेमा पहिलोपटक गरिएको चार देशीय अनुसन्धान प्रतिवेदन अनुसार किसानहरू श्रमिकको रूपमा बिदेसिँदा जमिन बाझिँदै गएको र यसबाट खाद्य सुरक्षामा असन्तुलन देखापरेको अध्ययन प्रतिवेदनमा औँल्याइएको छ ।

त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्रा.डा. प्रेमसागर चापागाईँको नेतृत्वमा नेपाल, भारत, चीन र बंगलादेशका पाँच विश्वविद्यालयका अनुसन्धानकर्ताले ‘दक्षिण एसियाको विविध सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्याङ्कन’ शीर्षकमा तीन वर्ष (सन् २०२२ – २०२४) लगाएर गरेको अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचामा परिवर्तन र खडेरी, बाढी तथा पहिरो जस्ता विषम मौसमी घटनाहरूको बढ्दो आवृत्तिले नेपालमा कृषि उत्पादकत्वमा असर गरिरहेको औँल्याइएको छ । ‘बढ्दो खडेरी र मनसुनको ढिलाइको कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर पारेको छ र उत्पादकत्व घटेको छ,’ अध्ययनमा उल्लेख छ ।  

सो अध्ययनमा भारत तथा बांगलादेशमा बाढी तथा डुबान बढेको, नदी तटीय कटान भई ठुलो संख्यामा घरपरिवार विस्थापित भएको र खेतीयोग्य जमिन नाश भएको उल्लेख छ ।

बंगलादेशमा हिउँदमा नदीको गहिराई कम हुन थालेको छ । नदीका बिचमा बालुवाका टापुहरूको उत्पत्ति भएर माछाको बासस्थानमा नकारात्मक असर पर्न गएको देखिएको छ । माछाको प्रजाति र उत्पादन दुवै घट्दै गएकोले मत्स्य व्यवसायमा आबद्ध किसानहरूको जीविकोपार्जनमा चुनौती थपिएको छ ।

अनुसन्धानका क्रममा जलवायु परिवर्तनले जीविकोपार्जनमा ल्याएको संकटासन्नताको अवस्थाका बारेमा पनि दक्षिण एसियाका विभिन्न देशहरूको तुलनात्मक अध्ययन गरिएको चापागाईँले बताए । साथै, किसानहरूको जलवायु अनुकूलन क्षमतालाई प्रभाव पार्ने तत्त्वहरूको बारेमा विस्तृत रूपमा अनुसन्धान गरिएको छ ।

जलवायु परिवर्तनको सकारात्मक प्रभाव पनि पाइएको छ । नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भूभागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ । तर यी क्षेत्रमा खेतीयोग्य भूमि र सिँचाइ सुविधा सीमित हुँदा उत्पादन न्यून छ ।

अनुसन्धान अन्तर्गत नेपाल खण्डको छुट्टै प्रतिवेदन तयार पारिएको उनले जनाए । ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल’ शीर्षकको नेपाल केन्द्रित प्रतिवेदनमा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू भविष्यमा अझ तीव्र हुने प्रक्षेपण गरिएको छ । प्रतिवेदनमा जलवायु परिवर्तनको अवस्था र यसले कृषिमा पारेको प्रभाव, अनुकूलनका उपायहरू तथा नेपालका विभिन्न भौगोलिक क्षेत्रका किसानहरूको अनुकूलन क्षमतामा प्रभाव पार्ने प्रमुख कारक तत्त्वहरू र नीतिगत सवाललाई समेटिएको चापागाईँको तर्क छ ।

नेपाल खण्ड अन्तर्गत रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्की जिल्लाका २ सय ११ घरधुरी नमुना  लिई अध्ययन गरिएको ३० वर्षमा तापक्रम बढेको पाइएको छ । साथै, वर्षा केही मात्रामा घटेको, खाद्य चक्रमा प्रभाव पर्दा आन्तरिक र बाह्य बसाइँ सर्ने क्रम बढेको पाइएको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम र कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत, घरपरिवार, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसम सम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानका क्रममा नेपालमा तापक्रम परिवर्तनको दर भौगोलिक क्षेत्र अनुसार फरक छ । तराईमा औसत वार्षिक ०.००४२ डिग्री सेन्टिग्रेड, पहाडमा ०.०९२१ डिग्री सेन्टिग्रेड र हिमालमा ०.०२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको तथ्य पनि उजागर भएको छ । यसैगरी वार्षिक वर्षा हिमाली क्षेत्रमा १३.१२ मिलिमिटर, पहाडी क्षेत्रमा ९.३९ मिलिमिटर र तराईमा ५.०२ मिलिमिटर घटेको सो अध्ययनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप