स्थानीय तह उपनिर्वाचनमा एमाले : २२ ठाउँमा मत बढ्दा १९ मा घाटा (सूचीसहित)
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले अघिल्लो निर्वाचनको तुलनामा १ हजार ४०८ मत कम पाएको छ । निर्वाचन भएका ४२ स्थानमा एमालेले यसपटक कुल ३८ हजार ९९८ मत पाएको देखिन्छ । जबकि २०७९ सालको निर्वाचनमा ती स्थानमा एमालेले ४० हजार ४०६ मत पाएको थियो ।
समग्र मत घटे पनि २२ स्थानमा एमालेको मत बढेको छ भने १९ स्थानमा घटेको तथ्याङ्कले देखाउँछ । ४२ मध्ये एउटा स्थानमा भने एमालेले उम्मेदवारी दिएर पनि फिर्ता गरेको थियो ।
- कहाँ घट्यो, कहाँ बढ्यो ?
कीर्तिपुर नगरपालिकामा एमालेले यो पटक ४ हजार ३३७ मत पाएको छ । जबकि २ वर्षअघि उसले यहाँ ५ हजार ५०७ मत पाएको थियो । यो आधारमा कीर्तिपुरको मेयरमा एमालेको एक हजार १७० मत घटेको देखिन्छ ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि भएको उपनिर्वाचनमा एमालेले २ हजार ५४२ मत पाएको देखिन्छ । यसअघि ३ हजार ३९३ मत पाएको एमालाई यो पटक ८५१ मत घाटा लागेको देखिन्छ ।
त्यसैगरी दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेले उपनिर्वाचनमा ३ हजार १२७ मत पाएको छ जबकि अघिल्लो पटक २ हजार ५१९ मत पाएको थियो । यसपटक त्यहाँ एमालेलाई ६०८ मत बोनस प्राप्त भएको छ ।
त्यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेले एक हजार ७४० मत पाएको छ । २०७९ को निर्वाचनमा यहाँ उसले एक हजार ३३७ मत पाएको थियो । यस आधारमा त्यहाँ ४०३ मत बढाएको देखिन्छ ।
मोरङको ग्रामथानमा एमालेको मत घटेको छ । अघिल्लो निर्वाचनमा ६ हजार ९३ मत पाएको एमालेले यसपटक ४ हजार १५९ मत पाउँदा एक हजार ९३४ मत घाटा लागेको छ ।
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा एमाले र कांगेसको संयुक्त गठबन्धनमा एक हजार ८१२ मत ल्याएको छ । यसअघि त्यहाँ एमालेको उम्मेदवारी थिएन ।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा २ हजार ८०५ मतसहित निर्वाचित भएको एमालेले अघिल्लो पटक ३ हजार २८१ मत ल्याएको थियो । जिते पनि यहाँ एमालेको ४७६ मत घटेको देखिन्छ ।
हुम्लाको सर्केगाडमा यसअघि एमालेले पाएको मत एक हजार ६४ थियो तर अहिले एक हजार १३२ मत पाउँदै ६८ मत बढाएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा पनि एमालेको मत घटेको देखिन्छ । जबकि अघिल्लो निर्वाचनमा ३ हजार ३१० मत पाएकोमा अहिले २ हजार २२० मात्र पाउँदा १ हजार ९० मत घाटा भएको छ । मकवानपुर उपमहानगरपालिका वडानम्बर १२ मा यो पटक मत बढाएको एमालेले पहिले एक हजार ३२५ मत पाएकोमा अहिले एक हजार ३९८ पुर्याउँदा ७३ मत बढाएको छ । कीर्तिपुर नगरपालिका–१ मा पनि एमालेको ८४ मत घटेको देखिन्छ । त्यहाँ पहिला ५८२ मत ल्याएको एमालेले अहिले ४९८ मत पाएको हो ।
कीर्तिपुर–४ मा पनि एमालेको मत घटेको छ । अघिल्लो पटक २३६ मत ल्याएको एमालेले अहिले १५४ मा चित्त बुझाउनुपर्दा ८२ मत घाटा भएको हो ।
त्यस्तै एमालेको मत घटेको अर्को वडा झापाको कन्काई–६ हो । २०७९ को स्थानीय तह निर्वाचनमा ५०८ मत ल्याएको एमालेले अहिले यहाँ ३५६ मतमात्र पाएको छ । यहाँ एमालेलाई १५२ मत घाटा भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा एमालेले आफ्नो मत बढाएको छ । अहिले ६०८ मत पाएको एमालेले पहिले ४०८ मत पाएको थियो । यहाँ यसपटक उसले २ सय मत बोनस पाएको छ ।
उदयपुरको बेलका ९ मा ३४९ मत बढाएको एमालेले अघिल्लो निर्वाचनमा १७६ पाएको थियो । अहिले यहाँ उसले ५२५ मत पाएको छ ।
सप्तरीको डाक्नेश्वरी–१ मा एमालेको मत घटेको छ । उपनिर्वाचनमा २६५ मत ल्याएको एमालेले अघिल्लो पटक ४६९ मत पाएको थियो । यस अर्थमा एमालेलाई यहाँ २०४ मत घाटा भएको छ ।
डाक्नेश्वरी–४ मा एमालेले यसपटक उम्मेदवार नै उठाएन । जबकि अघिल्लो पटक यहाँ उसले २५ मत पाएको थियो । धनुषाको धनुषाधाम नगरपालिका–१ मा एमालेले ३६५ मत पाएको छ भने अघिल्लो पटक ३७७ मत पाएको थियो । यहाँ एमालेको १२ मत घटेको देखिन्छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा ६३१ मत पाएको एमालेले अघिल्लो पटक २८८ मत पाएको थियो । यहाँ एमालेको ३४४ मत बढेको देखिन्छ । रौतहटको ईशनाथ नगरपालिका–७ मा १०८ मत घाटा बेहोरेको एमालेले अघिल्लोमा ६८३ मत ल्याएकोमा अहिले ५७५ मतमा चित्त बुझाएको छ ।
रौतहटकै गढीमाई–८ मा ६१७ मत ल्याएको एमालेले अघिल्लो पटक उम्मेदवार नै उठाएको थिएन । रौतहटकै राजपुर–६ मा ४३१ मत पाएको एमालेले अघिल्लो निर्वाचनमा २८२ मत पाएको थियो । यहाँ १४७ मत बढाउन एमाले सफल भएको छ ।
त्यसैगरी गोरखा नगरपालिका–५ मा एमालेले आफ्नो १०८ मत घटाएको छ, जहाँ पहिला ४५३ मत पाएकोमा अहिले ३४५ मा सीमित भएको छ । गुल्मीको मुसिकोट–१ मा ९३० मत पाएको एमालेले अघिल्लो पटक एक हजार १४३ मत पाएको थियो । अघिल्लो मतसँग तुलना गर्दा यहाँ एमालेको २१३ मत घटेको देखिन्छ ।
बर्दियाको ठाकुरबाबा–४ मा ३३७ मत पाएको एमालेले अघिल्लो चुनावमा ५८० मत पाएको थियो । यहाँ अघिल्लो निर्वाचनको तुलनामा अहिले एमालेको २४३ मत घटेको देखिन्छ । दैलेखको दुल्लु–१३ मा पनि एमालेको मत घटेको छ । जहाँ यसअघि ८२२ मत पाएको एमालेले अहिले ५७४ मत पाउँदा २४८ मत घाटा भएको हो ।
कालिकोटको तीलगुफा–४ मा अघिल्लो पटक ४ मत पाएको एमालेले अहिले ७८ मत पाउँदा ७४ मत फाइदा भएको देखिन्छ ।
डोल्पाको त्रिपुरासुन्दरी–५ मा ११६ मत पाएको एमालेले अघिल्लो पटक १०८ मत पाएको थियो । अघिल्लो निर्वाचनको तुलनामा उपनिर्वाचनमा एमालेले ८ मत बढाएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा अहिले ४८७ मत पाएको एमालेले अघिल्लो पटक ६९८ पाएको थियो । यहाँ एमालेको २११ मत घटेको छ ।
तप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा पहिला ३९९ मत ल्याएको एमालेले यसपटक ३५३ मतमात्र पाउँदा ४६ मत घाटा खाएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिकामा अघिल्लो पटक ४१३ मत पाएको एमालेलाई अहिले ३६० मत पाउँदा ५३ मत घाटा लागेको छ । सुनसरीको गढी गाउँपालिका–६ मा ७७० मत पाएको एमालेले पहिला ७१२ मत पाएकोमा ५८ मत बढाउन सफल भएको छ । त्यसैगरी ओखलढुंगाको मोलुङ–५ मा ३९९ मत ल्याएको एमालेले अघिल्लो पटक ३७० मत पाएको थियो । यहाँ एमालेको २९ मत बढेको देखिन्छ ।
नुवाकोेटको ककनी गाउँपालिका–२ मा एमालेले १३६ मत बढाएको छ । उसले यहाँ अघिल्लो पटक २०५ मत पाएकोमा अहिले ३४१ मत बटुलेको हो । त्यसैगरी कपिलबस्तुको शुद्धोधन गाउँपालिका–१ मा एक हजार १५० मत ल्याएको एमालेले अघिल्लो पटक ८८९ मतमात्र पाएको थियो । यहाँ एमालेले २६१ मत बढाएको देखिन्छ । रोल्पाको रुन्टीगढी–४ मा ५३५ मत पाएको एमालेले अघिल्लो पटक ४८० मत पाएको थियो । यहाँ एमालेले ५५ मत बढाएको छ ।
रुकुमपश्चिमको सानीभेरी–५ मा पहिला उम्मेदवार नउठाएको एमालेले अहिले ५३७ मत पाएको छ ।
जाजरकोटको कुशे–७ मा १०४ मत बढाएको एमालेले अहिले २५२ मत पाएको छ । यहाँ अघिल्लोपटक १४८ मतमा एमाले सीमित थियो । बझाङको सुर्मामा अहिले एमालेले ४७८ मत पाएकोमा यसअघि ६२९ मत पाएको थियो । यहाँ एमालेको १५१ मत घटेको देखिन्छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अहिले ३०१ मत पाएको एमालेले यसअघि ३८७ मत पाएको थियो । यहाँ एमालेलाई ८६ मत घाटा भएको छ । दार्चुलाको दुहुँ–५ मा अहिले ३५८ मत पाएको एमालेले पहिला ३०२ मत पाएको थियो । यहाँ एमालेको ६५ मत बढेको देखिन्छ ।
- ४१ मध्ये ८ पदमा सीमित
यो पटक मतदान भएका ४१ मध्ये नेकपा एमाले एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडा अध्यक्षसहित ८ पदमा सीमित बनेको छ ।
उपनिर्वाचन भएका ४२ स्थानमध्ये २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले २५, नेकपा एमालेले ७ र माओवादीले ८ तथा जसपाले १, स्वतन्त्र १, स्थानमा जित हासिल गरेका थिए ।
- यी स्थान गुमायो
एमालेले २०७९ को निर्वाचनमा झापाको कन्काई नगरपालिका–६, रौतहटकै ईशनाथ नगरपालिका–६, गोरखाको गोरखा नगरपालिका–५, दैलेखको दुल्लु नगरपालिका–१३, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, सुनसरीको गढी गाउँपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ गरी सात वटा वडा जितेको थियो । त्यसमध्ये दैलेखको दुल्लु नगरपालिका–१३ मात्र एमालेले जोगाउन सक्यो । यसअघि जितेकामध्ये बाँकी ६ वटा वडा अध्यक्ष पद एमालेले उपनिर्वाचनमा गुमायो ।
तर, अघिल्लो निर्वाचनमा पराजित भएको एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदमा ‘कमब्याक’ गर्दा एमाले ८ स्थानसहित तेस्रो भएको छ ।
- अरुबाट एमालेले खोसेका स्थान
सो पार्टीले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, बाजुराको स्वामी कार्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ र ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ का वडाध्यक्ष पद एमालेले अन्य पार्टीबाट खोस्न सफलता पाएको हो ।
- तेस्रो स्थान अस्वीकार
उपनिर्वाचन भएकामध्ये पद संख्याका आधारमा आएको नतिजामा नेकपा एमाले तेस्रो देखिन्छ । तर नेकपा एमालेका महासचिव शंकर पोखरेल यो स्वीकार गर्न तयार छैनन् ।
‘अहिलेको निर्वाचन परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्ष त्योभन्दा भिन्न देखिन्छ’, महासचिव पोखरेलले उपचुनावको परिणाम र शिक्षा भन्दै सामाजिक सञ्जालमा मंगलबार लेखेका छन् ।
उनले उपचुनावको परिणाम एमालेका लागि सुधारोन्मुख भएको पनि दाबी गरेका छन् । ‘जहाँसम्म नेकपा एमालेको परिणामको विषय छ, विगतमा जितेका ७ वडा अध्यक्षका ठाउँमा उसले एक अध्यक्ष, दुई उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेको छ’, महासचिव पोखरेलले भनेका छन्, ‘गुमेको २ वडा अध्यक्षका ठाउँमा १ अध्यक्ष र २ उपाध्यक्षसहित ३ पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले नेकपा एमालेका लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ ।’
पोखरेलले परिणाम सुधारोन्मुख भने पनि अपेक्षा अनुरुप नभएको बताएका छन् । ‘विशेषगरी राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन’, पोखरेलले भनेका छन्, ‘अझै पनि सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिँदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।’
त्यस्तै पहिले जितेका सिटमा देखिएको परिवर्तनलाई आश्चर्यजनक भन्दै पोखरेलले स्थानीय जनप्रतिनिधिबाट स्थानीय जनता सन्तुष्ट हुन नसकेको विश्लेषण गरेका छन् ।
‘यसबाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको/गरेको देखिन्छ । यसबाट जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ’, महासचिव पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान