माटोको उर्वराशक्तिमा ह्रास, सुधारका लागि के छ सरकारी पहल ?
काठमाडौँ । माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास बढ्दो छ । यसो हुनमा प्राङ्गारिक मलको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु हो ।
यति मात्रै नभई बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु पनि रहेको पाइन्छ । माटोको स्वास्थ्य बिग्रिँदै जानुमा अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भई रहनु, औद्योगिक प्रदूषणको मात्रा बढ्नु, कृषि यन्त्रको अधिकतम प्रयोगले माटो कडा बन्दै जानु, माटोको जाँच नगराउनु लगायत कारण रहेको माटोसँग सम्बन्धित विज्ञले बताएका छन् ।
डिजिटल सोयल म्याप (डीएसएम) अनुसार नेपालको खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको छ । कृषि विभागका महानिर्देशक जगनाथ तिवारीले धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने उल्लेख गरे । ‘देशका विभिन्न भागबाट लिइएको माटोको नमुना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा २३ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ भने ६५ प्रतिशतमा मध्यम र १२ प्रतिशतमा अधिक रहेको पाइएको छ,’ उनले भने, ‘प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३–५ प्रतिशत हुनु आवश्यक हुन्छ ।’
नेपालमा खेती गरिने जमिनको ५ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून, ५८ प्रतिशतमा मध्यम र ३७ प्रतिशतमा अधिक रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले जनाए । ‘माटोमा फस्फोरस तत्त्व तुलनात्मक रूपमा राम्रो पाइएको छ ।’ उनले भने, ‘जसमा ४ प्रतिशतमा न्यून, १९ प्रतिशतमा मध्यम र ७७ प्रतिशतमा अधिक रहेको छ । त्यसैगरी पोटास तत्त्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, जसमा ३ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ६९ प्रतिशतमा अधिक पाइएको छ ।’
डा. विष्टका अनुसार बाली बिरुवाको लागि आवश्यक हुने सूक्ष्म खाद्यतत्वहरू जस्तैः जिङ्क, मोलिब्डेनम, र बोरनको मात्रा पनि न्यून देखिएको छ । माटोको खाद्यतत्वको मात्र तथा सन्तुलन नमिल्दा माटोको उर्वराशक्तिमा ह्रास आएको उल्लेख गरे । माटोको खाद्य तत्त्वबारे जानकारी पाउन माटोको परीक्षण अनिवार्य रहेको बताए । ‘माटोको आयु १० हजार वर्ष हुने, विश्वभर १८ प्रतिशत मात्रै माटो जीवित छ,’ उनले भने, ‘नेपालमा करिब ६० वर्ष भएको छ, व्यवसायिक खेती गरिएको, हाम्रो माटो जीवितै छ, माटोको खाद्य तत्त्वको सन्तुलन मिलाउन सकेमा माटो जोगाउन सकिन्छ ।’
- माटोको जोगाउन के गर्ने ?
माटो जोगाउनको लागि माटोको स्वास्थ्य अवस्था जानकारी पाउन आवश्यक रहेको विज्ञहरू सुझाउँछन् । जसका लागि माटो परीक्षण अनिवार्य रहेको उनीहरूको भनाइ छ । समय, समयमा आफ्नो खेत, बारीको माटोको परीक्षण गराउने, प्रयोगशालाले परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन, प्राङ्गारिक पदार्थ र अन्य पदार्थहरूको प्रयोग गर्न डा. विष्ट सुझाउँछन् । ‘प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग गर्न सकिन्छ, जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोस्ट मल, हरियो मल, झोल मल आदिको प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्था अनुसारको सिफारिस मात्रामा प्रयोग गर्नुपर्छ ।’
माटो विज्ञ डा. चन्द्रप्रसाद रिसालले बालीचक्रको आधारमा खेती गरिनुपर्ने र बालीचक्रमा कोशेबालीको प्रयोग गर्नुपर्ने सुझाए । ‘माटो अनुसार उपयुक्त बालीहरू छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गर्नुपर्छ,’ उनले भने, ‘बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनमा मिसाउनुपर्छ, हटाउने वा जलाउनु हुँदैन ।’
भू–क्षय रोक्ने प्रविधि अपनाउनु पर्ने र पानीको निकास गरी खेत, बारीमा भल बाढी बग्न नदिने जस्ता उपाय अपनाउनु पर्ने उनीहरू सुझाउँछन् । यस्तै, औद्योगिक प्रदूषणको मात्रा न्यूनीकरण गर्नुपर्ने र नकुहिने फोहोरहरू व्यवस्थित गर्ने तथा कृषि यन्त्रको वैज्ञानिक तरिकाबाट प्रयोग गर्ने र अधिक प्रयोग घटाई माटो कडा हुन जोगाउन सकिने उनीहरूको भनाइ छ ।
- माटो सुधारका लागि सरकारी पहल
उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्नु कृषि क्षेत्रका लागि ठुलै समस्या निम्तिनु हो । यद्यपि माटो सुधारका लागि सरकारी तथा गैर सरकारी सङ्घसंस्थाबाट विभिन्न पहल भइरहेको दाबी गरिएको छ । सोही मध्येको एक हो, माटो दिवस । विगत ११ वर्षदेखि नेपालमा पनि विश्व माटो दिवस मनाइँदै आएको छ । यो वर्ष पनि मङ्सिर २० गते (५ डिसेम्बर) मा सो दिवस मनाइँदै छ । स्वस्थ माटोको महत्वबारे सचेतना जगाउन र माटोको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ । यो वर्ष ‘माटोको सुधार: परीक्षण, रेखदेख र उपचार’ नाराका साथ यो दिवस मनाइने सरकारी अधिकारीले बताएका छन् ।
माटो परीक्षण प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशालाहरू, प्रादेशिक जिल्ला स्थित कार्यालयहरू र कतिपय स्थानीय तहमा पनि परीक्षण सेवाहरू उपलब्ध रहेकोमा बर्सेनि करिब १० हजार नमुना माटोको परिमाणात्मक परीक्षण र करिब पाँच नमुना माटोको गुणात्मक परीक्षण भइरहेको कृषि विभागका महानिर्देशक तिवारीले बताए । ‘प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशालाहरूले कृषकले चाहेको बखतमा आफ्नो नजिकमा माटो परीक्षण सेवा पुगोस् भनी घुम्ती प्रयोगशालाबाट समेत माटो परीक्षण सेवा सञ्चालन गरिरहेका छन् ।’ उनी भन्छन्, ‘माटोको रेखदेख र उचित व्यवस्थापनका लागि किसानहरूलाई माटो परीक्षण पश्चात् माटो स्वस्थता प्रमाणपत्र प्रदान गर्ने र परीक्षणका नतिजाको आधारमा व्यवस्थापनका उपायबारे जानकारी प्रदान गर्ने गरिएको छ ।’
केही पालिका र प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशाला वा जिल्लास्थित कृषि हेर्ने निकायहरूले परीक्षण नतिजाको आधारमा माटोमा अम्लीयपना रहेको खण्डमा कृषि चुन प्रयोग गरी सुधार गर्न अनुदान वा ढुवानीमा अनुदान दिने जस्ता कार्यक्रम सञ्चालन गरिरहेको विभागले जनाएको छ ।
माटो विज्ञ डा. चन्द्रप्रसाद रिसालले माटोको परीक्षणबाट देशभरमा कतिपय स्थानमा सूक्ष्म खाद्य तत्त्वहरू (जिंक, तामा, र मोलिब्डेनम आदि) र क्याल्सियम, म्याग्नेसियम र सल्फर जस्ता सहायक तत्त्वहरूको कमी देखिन थालेको बताए । उनले माटो परीक्षणका लागि १५ बढी पालिकाले ल्याब सञ्चालनमा ल्याएको उल्लेख गरे । ‘किसानलाई माटो परीक्षणका लागि प्रोत्साहन गर्न स्थानीय स्तरमा भएका माटो परीक्षण केन्द्रले शिविर नै सञ्चालन गरी काम गर्दै छन्, ’ उनले भने, ‘अबको आवश्यकता वन हेल्थ पोलेसी आवश्यक छ, सम्पूर्ण विषय कृषिसँग जोडिएको र कृषि माटोसँग जोडिएकाले यो आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी