बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाल प्रिमियर लिग क्रिकेट

लुम्बिनी लायन्सले बनायो एनपीएलको उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य

बुधबार, १९ मङ्सिर २०८१, १४ : ३८
बुधबार, १९ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ ।

टस हारी ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको हो । जारी एनपीएलमा बनेको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि विराटनगर किङ्सविरुद्ध नै सुदूरपश्चि रोयल्सले सात विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उक्त खेलमा लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले ४६ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले आक्रामक पाली खेल्दै केवल २९ बलमा दुई छक्का र चार चौका पनि हिर्काए ।

लुम्बिनी लायन्सले ६४ रनको कुल स्कोरमा आफ्नो दोस्रो विकेट गुमाएको थियो । त्यसपछि कप्तान रोहित र थोमस जेम्स मुरेसले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डका बायाँहाते ब्याट्सम्यान मुरेसले ३० रन बनाए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका मुरेसले १७ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए । २८ वर्षीय मुरेस १४औँ ओभरको चौथो बलमा दूर्भाग्यपूर्ण तरिकाले रन आउट भई पेभेलियन फर्किएका थिए ।

त्यसअघि ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र अर्जुन साउदले २३ रनको साझेदारी गरेका थिए । आशुतोषले १३ बलमा एक छक्का र दुई चौकाको मद्दतले १५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पनि १७ रन बनाए । उनले १९ बलमा तीन चौका पनि प्रहार गरे ।

सन्दीप जोरा भने १३ बदमा १२ रन बनाउँदै आउट भए । साद बिन जाफरले पनि टोलीको खातामा १५ रन थपे । उनले १३ बलको सामना गरी एक छक्का हिर्काए । बेन कटिङले ६ बलमा एक चौकाको मद्दतले ६ रन बटुले ।

आठौँ नम्बरमा क्रिज समाल्न आएका विवेक यादवले टोलीका लागि अविजित १९ रनको योगदान गरे । उनले केवल सात बलमा तीन छक्का प्रहार गरे । रामोन सिमोन्ड्स दुई रनमा अविजित रहे । लुम्बिनी लायन्सले अतिरिक्त रुपमा पनि २९ रन पायो । विराटनगर किङ्सका बलर सन्दीप लामिछाने, इस्मात आलम र राजेश पुलामीले एक–एक विकेट लिए ।

लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल खेलेको हो । विराटनगर किङ्सले भने आफ्नो तेस्रो खेल खेलेको हो । विराटनगर किङ्स यसअघि खेलिएको दुवै खेलमा पराजित भएको थियो । विराटनगर किङ्सलाई पहिलो खेलमा जनकपुर बोल्ट्सले आठ विकेटले र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ९० रनले हराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप