आर्थिक समस्याका कारण महिला राष्ट्रिय लिग फुटबलबाट बाहिरियो कोशी प्रदेश
काठमाडौँ । एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको ‘सुपर लिग’ चरणमा प्रवेश गरेको कोशी प्रदेशको टोलीले अन्ततः आर्थिक समस्याका कारण प्रतियोगिता नखेल्ने निर्णय लिएको छ । चरम आर्थिक समस्याका कारण आफूहरु राष्ट्रिय महिला लिगमा सहभागितालाई निरन्तरता दिनसक्ने अवस्थामा नरहेको कोशी प्रदेश फुटबल संघका अध्यक्षक्ष किशोर राईले बताए ।
‘हामीले सक्दो प्रयास ग¥यौँ । क्षमताले भ्याएसम्म दुःख गरेर सुपर लिग चरणसम्म पनि पुग्यौँ । यसका लागि खेलाडीले पनि निकै दुःख गरे । तर, अब आर्थिक समस्याका कारण अगाडि बढ्न सक्ने अवस्था रहेन,’ राईले रातोपाटीसँग भने । राईले प्रदेश लिग हुँदै राष्ट्रिय लिग खेल्दासम्म १२ लाख रुपैयाँ ऋण लागिसकेको बताए । सबैतिर प्रयास गर्दा पनि आर्थिक स्रोत जुटन नसकेपछि आफूहरुले बाध्य भएर सुपर लिग नखेल्ने अप्रिय निर्णय लिनु परेको उनले बताए ।
राईले सुपर लिगका लागि आर्थिक स्रोत जुटाउन आफूहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई समेत गुहारेको जानकारी पनि दिए । एन्फाबाट पनि आफ्नो माग सम्बोधन नभएपछि बाध्य भएर आफूहरु सुपर लिगबाट बाहिरिनुपरेको उनको कथन छ ।
‘सुपर लिगसम्म पुग्न हाम्रा खेलाडीले नसोचेको दुःख गरेका छन् । सिमित सुविधामा पनि उनीहरुले उत्कृष्ट प्रदर्शन गरे । त्यसैले खेलाडीको मनोबल गिर्न नदिन हामीले आर्थिक स्रोतका लागि एन्फालाई पनि गुहार्यौँ । तर, सकारात्मक जवाफ पाएनौँ,’ उनले भने ।
उनले एन्फासँग आफूहरुले १० लाख रुपैयाँ आर्थिक सहयोग माग गरे पनि नपाएको जानकारी दिए । ‘हामी अहिले नै १२ लाख रुपैयाँ ऋणमा छौँ । त्यसको जिम्मेबारी मैले लिएको छु । त्यसपछि एन्फासँग १० लाख रुपैयाँ माग ग¥यौँ । तर, एन्फाले उपलब्ध गराउन नसक्ने जवाफ फर्कायो,’ उनले भने ।
एन्फाबाट सहयोग प्राप्त नभएपछि आफूहरुले सौहार्दपूर्ण वातावरणमा सुपर लिग नखेल्ने निर्णय लिएको जानकारी अध्यक्ष राईले दिए । ‘हामीले आर्थिक सहयोग माग गरेपछि एन्फाले उपलब्ध गराउन नसक्ने जवाफ दियो । हामी लिगबाट बाहिरिए छैटौँ स्थानमा रहेको टोलीलाई सुपर लिग खेलाउने जवाफ एन्फाले दियो । त्यसपछि सौहार्दपूर्ण तरिकाले नै हामी सुपर लिगबाट बाहिरिएका हौँ,’ उनले भने ।
प्रदेश लिग र राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेर सुपर लिगसम्म पुगेका आफ्ना खेलाडीले आर्थिक समस्याका कारण अगाडि बढ्ने अवसरबाट बञ्चित हुनु पर्दा आफूहरु मर्माहत भएको पनि अध्यक्ष राईले बताए ।
‘यो स्थानसम्म पुग्न हाम्रा खेलाडीले निकै मेहनत गरेका थिए । आर्थिक समस्याका कारण काठमाडौँमा हाम्रा २५ जना खेलाडीले सामान्य होटलमा एउटै शौचालय प्रयोग गरेर बस्नु पर्ने बाध्यता पनि आयो । तर, कहिल्यै खेलाडीले गुनासो गरेनन् । अहिले आएर खेल्ने अवसरबाट बञ्चित हुनु पर्दा निकै दुःख लागेको छ । तर, हामी निरीह छौँ । म आगामी दिनका लागि खेलाडीको प्रगतिको कामना पनि गर्छु,’ उनले भने ।
कोशी प्रदेशको टोलीले सुपर लिग नखेल्ने भएपछि अब प्रारम्भिक चरणमा छैटौँ भएको बागमती युथ क्लबले उसको स्थान लिने सम्भावना छ । प्रारम्भिक चरणको लिग तालिकामा एपीएफ क्लब पहिलो, त्रिभुवन आर्मी क्लब दोस्रो, नेपाल पुलिस क्लब तेस्रो, वालिङ नगरपालिका चौथो, कोशी प्रदेश पाँचौँ, बागमती युथ क्लब छैटौँ, संकटा क्लब सातौँ, चन्द्रपुर नगरपालिका आठौँ, कर्णाली प्रदेश नवौँ र सुदूरपश्चिम प्रदेश दशौँ भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्देनले ‘बच्चा जन्माउन अमेरिका गएको’ भनेर मविरुद्ध अभिव्यक्ति दिएजस्तै अर्को गल्ती गरे : रेखा थापा
-
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
-
कोशी प्रदेशमा पदाधिकारीको मतगणना सम्पन्न, हेमन्त राईलाई फराकिलो अग्रता
-
१८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
श्रीमती र दाइको हत्या गरेको अभियोगमा दुई जना पक्राउ
-
हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी