काठमाडौँ गुर्खाजको पहिलो जित, खेर गयो धवनको अर्धशतक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराएको छ । जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो पहिलो जित हो भने कर्णाली याक्सको लगातार दोस्रो हार ।
टस हारी ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको काठमाडौँ गुर्खाजले भने १९.३ ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
जारी एनपीएलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज दुवैले आफ्नो दोस्रो खेल खेलेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाज चितवन राइनोजसँग पाँच विकेटले र कर्णाली याक्स जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएका थिए ।
काठमाडौ गुर्खाजनको जितमा मध्यक्रमका ब्याट्सम्यानहरुले महत्वपूर्ण योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका जेरहार्ड एरास्मसले ३८ रन बनाए । उनले २८ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरे ।
त्यसपछि छैटौँ नम्बरका ब्याट्सम्यान सुमित महर्जन र सातौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान करण केसीले टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । सुमित महर्जनले अविजित ४० रनको योगदान गरे । उनले ३७ बलमा एक छक्का र तीन चौका हिर्काए ।
कप्तान करण केसीले २८ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल १० बलमा दुई छक्का र दुई चौका प्रहार गरे । काठमाडौँका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले पनि २२ रनको योगदान गरे । उनले १९ बलमा एक छक्का र दुई चौका प्रहार गरे । कर्णाली याक्सका बलर सोमपाल कामी, नन्दन यादब, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले एक–एक विकेट लिए ।
त्यसअघि, कर्णाली याक्सका लागि अनुभवी ब्याट्सम्यान शिखर धवनले अर्धशतक बनाएका थिए । ओपनर ब्याट्सम्यान धवनले टोलीका लागि अविजित ७२ रनको योगदान गरे । सुरुमा सुस्तमा प्रस्तुत भएर त्यसपछि एकाएक आक्रामक बनेका धवनले केवल ५१ बलमा पाँच छक्का र चार चौका पनि प्रहार गरे ।
धवन भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । जारी एनपीएलमा बनेको यो छैटौँ अर्धशतक हो । यसअघि चितवन राइनोजका रवि बोपरा, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार कर्णाली याक्सका ब्याट्सम्यानले गतिलो सुरुवात गर्न सकेका थिएनन् । कर्णाली याक्सले पहिलो ओभरमै विकेट गुमाएको थियो । पहिलो ओभरको तेस्रो बलमै ओपनर देब खनाल शून्य रनमा पेभेलियन फर्किएका थिए ।
दोस्रो विकेटका रूपमा पेभेलियन फर्किनुअघि तेस्रो नम्बरका ब्याट्सम्यान चाडविक वाल्टनले २१ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान वाल्टनले १५ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । उनी आउट हुँदा टोलीको स्कोर २६ रन थियो ।
अनुभवी खेलाडी बाबर हायात पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी १८ बलमा एक छक्काको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा टोलीको स्कोर केवल ४९ रन रहेको थियो ।
राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका गुल्सन झा पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । चौथो विकेटका रूपमा पेभेलियन फर्किनुअघि उनले १९ बलमा एक चौका प्रहार गरे । उनी आउट हुँदा कर्णाली याक्सको स्कोर ७९ रन थियो ।
त्यसलगत्तै कर्णाली याक्सले आफ्नो पाँचौँ विकेट गुमाएको थियो । पाँचौँ विकेटका रूपमा अर्जुन घर्ती केवल चार रन बनाउँदै आउट भएका थिए । १४.३ ओभरमा अर्जुन आउट हुँदा कर्णाली याक्सको स्कोर ८४ रन रहेको थियो ।
त्यसपछि शिखर धवन र सातौँ नम्बरका ब्याट्सम्यान जिसन मक्सुदले टोलीको स्कोरलाई एक सय ४९ रनको स्थितिसम्म डोर्याएका थिए । जिसन मक्सुद १४ रनमा अविजित रहे । उनले ११ बलको सामना गरी एक चौका पनि हिर्काए ।
कर्णाली याक्सले अतिरिक्त रूपमा पनि १३ रन पायो । काठमाडौँ गुर्खाजनका बलर जेरहार्ड एरास्मसले दुई विकेट लिए । उनले चार ओभरमा २९ रन खर्चिए । करण केसी, नाथन स्वटर र दीपेन कँडेलले पनि एक–एक विकेट हात पारे ।
बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच खेलिने छ । जारी एनपीएलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो खेल खेल्न लागेको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले भने तेस्रो खेल खेल्न लागेको हो ।
विराटनगर किङ्स यसअघि खेलिएको दुवै खेलमा पराजित भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किङ्सलाई जनकपुर बोल्ट्सले आठ विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा विराटनगर किङ्स दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा