बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

माओवादीको मत बढ्यो, कांग्रेस र एमालेको खस्कियो (विस्तृत विवरणसहित)

सबैलाई भाग पुगेको निर्वाचन
बुधबार, १९ मङ्सिर २०८१, १२ : १५
बुधबार, १९ मङ्सिर २०८१

काठमाडौँ । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । २०७९ साल वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका ४२ जनप्रतिनिधिका लागि भएको उपनिर्वाचन परिणामको लेखाजोखा भइरहेको छ ।

दलहरूले यो परिणामलाई आ–आफ्नै ढङ्गले व्याख्या, विश्लेषण गर्दै आएका छन् । उपनिर्वाचनमा नेपाली कांग्रेसले एक नगरपालिका प्रमुखसहित १७ स्थानमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले एक पालिका अध्यक्ष, तीन उपप्रमुख/उपाध्यक्ष र सात वडा अध्यक्षसहित ११ स्थानमा जितेको छ । संसदको दोस्रो ठुलो दल नेकपा एमालेले एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडा अध्यक्ष सहित ८ स्थान जितेर तेस्रो स्थानमा छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले २ स्थान जितेको छ । पहिलो पटक स्थानीय तह उपनिर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेदवारले एक/एक स्थानमा जित हासिल गरेका छन् । संसदको पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुनै पनि स्थानमा जित्न सकेन ।

यो निर्वाचन परिणामलाई २०८४ मा हुने संघीय र प्रदेश निर्वाचनको सर्भेक्षणका रूपमा समेत हेरिएको छ । त्यसैले यो निर्वाचन परिणामलाई जितको संख्याभन्दा पनि यसले दिने सन्देशका अर्थमा बढी हेरिएको छ ।

उपनिर्वाचन परिणामले कस्तो सन्देश दियो त ? यसबारे विश्लेषण गर्नुअघि निर्वाचन परिणामलाई थप नियाल्ने प्रयास गरेका छौँ । 

अहिले निर्वाचन भएका ४२ स्थानमध्ये २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले २५, नेकपा एमालेले ७ र माओवादीले ८ तथा जसपाले १, स्वतन्त्र १, स्थानमा जित हासिल गरेका थिए । यो आधारमा हेर्दा कांग्रेसले ८ स्थान गुमाएको देखिन्छ । यसरी गुमेको स्थानमध्ये माओवादीले दुई तथा एमालेले दुई, रास्वपा, जसपा, एकीकृत समाजवादी र नेपाल मजदूर किसान पार्टीले एक/एक स्थान थप गरेका छन् । स्वतन्त्र उम्मेदवारको जितको संख्या यसपटक बराबर छ ।

dat

  • मतसँगै कांग्रेसले गुमाएको विरासत

अहिले निर्वाचन भएका स्थानमध्ये २०७९ सालमा कांग्रेसले २५ स्थानमा जित हासिल गरेको थियो । यसरी जित हासिल गरेका स्थानहरूमा ४ पालिका प्रमुख, २ उपप्रमुख र १९ वटा वडाध्यक्ष थिए । 

त्यतिबेला कांग्रेसले काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष जितेको थियो । 

त्यस्तै, काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिका–१, उदयपुरको त्रियुगा नगरपालिका–१२, उदयपुरकै बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी गाउँपालिका–१, डाक्नेश्वरी गाउँपालिका–४, धनुषाको धनुषाधाम–१, रौतहटको राजपुर–६, गुल्मीको मुसीकोट नगरपालिका–११, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, तेह्रथुमको लालीगुराँस गाउँपालिका ८, नुवाकोटको ककनी गाउँपालिका–२, कपिलवस्तुको शुद्धोधन नगरपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–३, डोटीको पूर्वीचौकी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष समेत कांग्रेसले जितेको थियो । 

यसपटक कांग्रेसले पालिका प्रमुखमध्ये काठमाडौँको कीर्तिपुर नगरपालिका मात्रै जोगाउन सक्यो । यसअघि जितेका वडाहरूमध्ये पनि काठमाडौँको कीर्तिपुर नगरपालिका–१, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, रौतहटको राजपुर–६, गुल्मीको मुसीकोट नगरपालिका–११, रोल्पाको रुन्टीगढी गाउँपालिका–३, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, कञ्चनपुरको भीमदत्त नगरपालिका–६,  डोटीको पूर्वीचौकी गाउँपालिका–६ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ समेत गरी १० स्थानमा मात्रै कांग्रेसले निरन्तरता दिन सफल भयो । 

यसअघि जितेको काठमाडौँ महानगरपालिका–१६, उदयपुरको त्रियुगा नगरपालिका–१२, उदयपुरकै बेलका नगरपालिका–९, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सप्तरीको डाक्नेश्वरी गाउँपालिका–१, डाक्नेश्वरी गाउँपालिका–४, धनुषाको धनुषाधाम–१, नुवाकोटको ककनी गाउँपालिका–२, गोरखाको गोरखा नगरपालिका–५ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ समेत १० वडाध्यक्षसहित १६ वटा स्थान कांग्रेसले उपनिर्वाचनमा गुमाएको छ ।

अघिल्लोपटक नजितेका मकवानपुर उपमहानगरपालिका–१२, कीर्तिपुर नगरपालिका–४, सुनसरीको गढी गाउँपालिका–६, बझाङको सुर्मा गाउँपालिका–४, रौतहटको राजपुर नगरपालिका–६, रौतहटकै ईशनाथ नगरपालिका–७, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, जाजरकोटको कुशे गाउँपालिका–४ र दार्चुलाको दुहँु गाउँपालिका–७ गरी सातवटा वडाअध्यक्ष पद कांग्रेसले अन्य पार्टी वा स्वतन्त्र उम्मेदवारबाट खोसेको छ । 

निर्वाचन भएका ४२ स्थानमा कांग्रेसले यसपटक कुल ४४ हजार ५५७ मत ल्याएको देखिन्छ । यो २०७९ सालको निर्वाचनमा कांगे्रसले प्राप्त गरेको मतको तुलनामा ११ हजार ३११ मत कम हो । समग्र मत घटे पनि कांग्रेसको मत २१ स्थानमा बढेको र २१ स्थानमा घटेको तथ्याङ्कले देखाउँछ ।

111

एमालेको चल्न सकेन जोर

एमालेले २०७९ को निर्वाचनमा झापाको कन्काई नगरपालिका–६, रौतहटकै ईशनाथ नगरपालिका–६, गोरखाको गोरखा नगरपालिका–५, दैलेखको दुल्लु नगरपालिका–१३, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, सुनसरीको गढी गाउँपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ गरी सात वटा वडा जितेको थियो । त्यसमध्ये दैलेखको दुल्लु नगरपालिका–१३ मात्र एमालेले जोगाउन सक्यो । यसअघि जितेकामध्ये बाँकी ६ वटा वडाध्यक्ष पद एमालेले उपनिर्वाचनमा गुमायो ।

Janga-shahi_CJ8GemqoMg-768x447

तर, अघिल्लो निर्वाचनमा पराजित भएको एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदमा ‘कमब्याक’ गर्दा एमाले ८ स्थानसहित तेस्रो भएको छ । सो पार्टीले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, बाजुराको स्वामी कार्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ र ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ का वडाध्यक्ष पद अन्य पार्टीबाट खोस्न सफल भएको हो ।

निर्वाचन भएका ४२ स्थानमा एमालेले यसपटक कुल ३८ हजार ९९८ मत ल्याएको देखिन्छ । यो २०७९ सालको निर्वाचनमा एमालेले प्राप्त गरेको मतको तुलनामा १ हजार ४०८ कम हो । समग्र मत घटे पनि एमालेको मत २२ स्थानमा बढेको र १९ स्थानमा घटेको तथ्याङ्कले देखाउँछ । एउटा स्थानमा भने एमालेले उम्मेदवारी फिर्ता लिएको थियो । 

222

  • प्रतिपक्षमा पुगको माओवादीले गरेको प्रगति

कांग्रेस–एमालेको सत्ता सहकार्यसँगै संसदको प्रतिपक्षी बेञ्चमा पुगेको माओवादी केन्द्रले यसपटक उत्साहजनक परिणाम ल्यायो । माओवादीले २०७९ को निर्वाचनमा दुई उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ८ स्थान जितेको थियो । यसरी जितेका स्थानहरूमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका १२, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, जाजरकोटको कुशे गाउँपालिका–७, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२, कालीकोटको तिलागुफा नगरपालिका–४ र दार्चुलाको दुहुँ गाउँपालिका–५ थिए ।

यसपटक पहिले जितेकोमध्ये पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा पुथाउत्तरगंगा–२ को वडाध्यक्ष समेत गरी तीन पद माओवादीले जोगाएको छ । कालिकोटको तिलागुफा नगरपालिका–४, हेटौंडा उपमहानगरपालिका–१२, दार्चुलाको दुहँु गाउँपालिका–५, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र जाजरकोटको कुशे गाउँपालिका–७ समेत गरी पाँच वटा वडाध्यक्ष पद भने माओवादी केन्द्रले गुमाएको छ । 

यसको सट्टामा माओवादीले एक पालिका प्रमुख एक, एक उपप्रमुख तथा ६ वटा वडाध्यक्ष अरुबाट खोसेको छ । यसमध्ये मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, उदयपुरको त्रियुगा नगरपालिका–१२, उदयपुरकै बेलका नगरपालिका–९, धनुषाको धनुषाधाम–१, नुवाकोटको ककनी गाउँपालिका–२, गोरखाको गोरखा नगरपालिका–५ र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पद माओवादी केन्द्रले उपनिर्वाचनमार्फत अरुबाट खोस्न सफल भएको हो ।

यस पटकको निर्वाचनमा माओवादीले कुल ३५ हजार ६९९ मत ल्याएको देखिन्छ । यो २०७९ सालको निर्वाचनमा सो पार्टीले प्राप्त गरेको मतको तुलनामा १० हजार २५४ मत बढी हो । माओवादीले उम्मेदवारी दिएकामध्ये २२ स्थानमा मत बढाएको र १९ स्थानमा गुमाएको देखिन्छ ।

3333

  • सबैलाई भाग पुगेको निर्वाचन

यस पटकको निर्वाचन पार्टीगत हिसाबले समावेशी समेत देखियो । सानो दलको आशालाई नमार्नेगरी निर्वाचनको परिणाम आएको देखिन्छ । पहिलोपटक चुनावमा भाग लिएको रास्वपाले काठमाडौँ–१६ आफ्नो पोल्टामा पार्दै मिसन–०८४ का लागि उत्साह भर्ने काम गरेको छ । त्यसो त रास्वपाले झापाको कन्काईमा जितेका स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो दाबी गर्दै आएको छ । 

जसपाले सप्तरीको डाक्नेश्वरी गाउँपालिका–१, डाक्नेश्वरी गाउँपालिका–४ का दुवै पद जितेर आफ्नो इज्जत जोगाएको छ । यसअघि जितेको रौतहटको गढीमाई–८ गुमाए पनि पार्टीका अध्यक्ष उपेन्द्र यादवको गृहजिल्लाका दुई वडा जितेर सप्तरीको जनमत फर्काएको सन्देश जसपा नेपालले दिएको छ । संघीय निर्वाचनमा सप्तरीमा यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएसँगै त्यहाँ जसपा नेपालको प्रभाव घटेको रूपमा हेरिएको थियो ।

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको गढीमाई–८ मा उक्त पार्टीले जितेको छ । यसले रौतहटमा माधवकुमार नेपालको प्रभावलाई जबरजस्त पुष्टिसमेत गरेको देखिन्छ । त्यस्तै, भक्तपुरमा मात्रै प्रभावक्षेत्र रहेको मानिने नेपाल मजदुर किसान पार्टीले कालीकोटको तिलागुफा–४ खोसेर आफ्नो प्रभाव उपत्यका बाहिरसमेत रहेको पुष्टि गरिदिएको छ । झापाको कन्काईमा यसअघि पनि उठेर हारेका लक्ष्मीप्रसाद ओलीले चुनाव जित्दा स्वतन्त्र उम्मेदवारको पनि सम्भावना कायमै छ भन्ने सन्देश दिएको छ ।

यद्यपि राप्रपा र जनमत पार्टीलाई भने यो निर्वाचनको परिणामले सुखद सन्देश दिएन । राप्रपा कुनै पनि स्थानमा प्रतिस्पर्धामै आउन सकेको देखिएन । मधेसमा जबरजस्त उपस्थिति बनाएको जनमत पार्टीले पनि कुनै पनि स्थानमा जित हासिल गर्न नसक्नुले उक्त पार्टीको माहोल गुमेको हो कि भन्ने आशंका गर्ने ठाउँ देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप
शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप