विद्यार्थीको सिकाइ सुधारका त्रिपक्षीय रणनीति
आर्थिक वर्ष २०८१/०८२ मा नेपाल सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये विभिन्न शैक्षिक कार्यक्रम कार्यान्वयन गर्न २ खर्ब ०३ अर्ब ६६ करोड शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि छुट्ट्याइएको छ । यस आवको बजेटका उद्देश्यमध्ये एक हो— मानव संसाधन विकास गर्नु ।
मोफसलका सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर रहेको चर्चा प्रायः भइरहन्छ । उनीहरूको सिकाइमा सुधार ल्याउन तीन पक्ष (विद्यालय प्रशासन, शिक्षक र अभिभावक)ले अपनाउन सकिने रणनीतिमा यो आलेख केन्द्रित छ ।
एकातिर विज्ञान–प्रविधिको विकास र अर्कोतिर राजनीतिक परिवर्तनले समाजलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले पहिलेको तुलनामा हिजोआजका बालबालिका तथा किशोरकिशोरीले सोच्ने तरिका, समय व्यतीत गर्ने तरिका, साथीभाइ भेटघाट गर्ने तरिका, मनोरञ्जनको तरिका तथा अध्ययनको तरिकामा धेरै परिवर्तन आएको छ ।
एक त प्रत्येक विद्यार्थीको रुचि, क्षमता तथा उद्देश्य अर्कोको भन्दा फरक हुन्छ, यसमाथि हाम्रोजस्तो सांस्कृतिक, भौगोलिक लगायत विविधता भएको देशमा एउटै कक्षाकोठामा विभिन्न रहनसहन, रीतिरिवाज, परम्परा, संस्कार आदि मान्ने परिवारबाट विद्यार्थी आएका हुन्छन् । सबै विद्यार्थीलाई सहज वातावरण सिर्जना गरेर सिकाउनु चानचुने कुरा निश्चय नै होइन । त्यसैले विद्यार्थीको सिकाइमा सुधार ल्याउन निम्न त्रिपक्षीय रणनीति अपनाउन आवश्यक देखिन्छ ।
- विद्यालय प्रशासनको रणनीति
विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, प्राविधिक तथा प्रशासनिक पक्षहरू सुधार गरी उपयुक्त वातावरण निर्माणमा विद्यालय प्रशासनको महत्त्वपूर्ण भूमिका हुन्छ । विद्यार्थीको सिकाइमा सुधार गर्न विद्यालय प्रशासनले निम्न रणनीति अपनाउन सक्छ ।
१) सकारात्मक र स्वस्थ वातावरण निर्माण
द्यालयमा अध्ययन गर्ने विद्यार्थी प्रायः साना उमेर (तीन–चार वर्षदेखि १६–१७ वर्षसम्म)का हुन्छन् । उनीहरूलाई विद्यालयको वातावरणले थोरै समयमा धेरै प्रभाव पारेको हुन्छ । त्यस कारण विद्यालय प्रशासनले स्वच्छ, शान्त, भयरहित र बालमैत्री वातावरण निर्माण गर्नुपर्छ । विद्यार्थीलाई सजिलै आफ्ना विचार व्यक्त गर्न सक्ने, साथी–साथी बिचमा आत्मीयता तथा विषयवस्तुको ज्ञान साटासाट गर्ने वातावरण बनाउनुपर्छ ।
कले अर्कोलाई गिज्याउने, जिस्क्याउने, चिमोट्ने, खिल्ली उडाउने तथा पिट्नेजस्ता गतिविधि गर्न दिनु हुँदैन । कथंकदाचित् उनीहरूलाई केही अप्ठेरो परेमा तुरुन्त साथी तथा शिक्षकबाट सहयोग प्राप्त हुने वातावरण निर्माण गर्नुपर्छ । विद्यार्थीलाई सही र सकारात्मक क्रियाकलाप प्रदर्शन गर्न प्रोत्साहन गर्नुपर्छ । विद्यार्थीमा सानालाई माया र ठुलालाई आदर गर्ने स्वभावको विकास गराउनुपर्छ ।
विद्यालयको वातावरणले थोरै समयमा धेरै प्रभाव पारेको हुन्छ । त्यस कारण विद्यालय प्रशासनले स्वच्छ, शान्त, भयरहित र बालमैत्री वातावरण निर्माण गर्नुपर्छ । विद्यार्थीलाई सजिलै आफ्ना विचार व्यक्त गर्न सक्ने, साथी–साथी बिचमा आत्मीयता तथा विषयवस्तुको ज्ञान साटासाट गर्ने वातावरण बनाउनुपर्छ ।
२) साझा दृष्टिकोण निर्धारण
विद्यार्थीका रुचि र क्षमता फरक हुने भएकाले प्रशासनले उनीहरूमाझ केही साझा दृष्टिकोण प्रस्तुत गर्नुपर्छ । जिल्लामै उत्कृष्ट जीपीए ल्याउने, विद्यालयका सबै विद्यार्थी परीक्षामा सफल हुने, विद्यालयमा विशेष किसिमको करेसाबारी तथा बगैँचा निर्माण गर्ने आदि लक्ष्य वा कार्यमा सबै विद्यार्थीलाई गम्भीर बनाउन सक्नुपर्छ ताकि सबै विद्यार्थी लक्ष्य प्रप्तिका लागि एकजुट हुने सम्भावना हुन्छ । यसले उनीहरूमा सकारात्मक सोचको विकाससँगै परिश्रम गर्ने स्वभावमा समेत वृद्धि हुन सक्छ ।
३) विद्यालयमा अभिभावक
विद्यार्थीको पारिवारिक वातावरण र विद्यालयको वातावरण बिल्कुलै भिन्न हुन्छ । त्यसैले बेलाबेला अभिभावकहरू विद्यालय आई विद्यालयको वातावरण बुझ्नुपर्छ । कक्षाकोठा र विद्यालयभित्र रहँदा गर्ने गतिविधिबारे जानकार भएमा अभिभावकले आफ्ना बालबालिकालाई सोही अनुरुपका सहयोग गर्न सक्छन् । अर्थात् घरमा पनि बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्न सक्छन् । र, कतिपय अतिरिक्त क्रियाकलापमा समेत अभिभावकको सहयोग चाहिने कुरा बुझ्न सक्छन् ।
- शिक्षकको रणनीति
विद्यार्थीको सिकाइमा सुधार ल्याउन सबैभन्दा महत्त्वपूर्ण भूमिका शिक्षकको हुन्छ । शिक्षकले निम्न रणनीति अपनाएमा विद्यार्थीको सिकाइमा सुधार आउन सक्छ ।
१) कमजोर हुनुको कारण खोतल्ने
विद्यार्थीले सिक्न नसक्नु वा कुनै विषयमा ठिकठिकै र कुनै विषयमा अति कमजोर हुनुका पछाडि विभिन्न कारण हुन सक्छन् ।
कक्षाकोठामा पढाइमा ध्यान नदिनु, घरमा पर्याप्त अभ्यास नगर्नु, कुनै महत्त्वपूर्ण पाठ कुनै कारण पढ्न छुट्नु आदि कारण विद्यार्थीको सिकाइमा समस्या आउन सक्छ । यी र यसबाहेका पनि कारण पत्ता लगाएर शिक्षकले सिकाउनुपर्ने हुन्छ । सिक्न नसकेका विद्यार्थीसँग बारम्बार सहज रुपमा छलफल गर्नुपर्छ ।
२) नघोकाई अवधारणा बुझाउने
कतिपय अवस्थामा विद्यार्थीले आफैँ सिक्ने प्रयास गरिरहेका हुन्छन् । पुस्तकहरू मिहिनेतका साथ अध्ययन गर्ने र जान्ने प्रयास गरिरहेका हुन्छन् । उनीहरूले चाहे अनुसारले सिकाइ उपलब्धि हासिल गर्न सकिरहेका हुँदैनन् । अर्थात् उनीहरूमा सिक्ने तथा अध्ययन गर्ने सीप राम्रो नहुँदा अध्ययनमा गरिएको परिश्रम अनुसारको सिकाइ उपलब्धि भइरहेको हुँदैन । विषयवस्तु बुझ्नुको सट्टा घोक्नमा विद्यार्थीले समय व्यतीत गर्यो भने यस्तो समस्या आउन सक्छ ।
कतिपय अवस्थामा उपयुक्त शैक्षिक सामग्रीको अभाव हुनुका साथै विषयवस्तु अध्ययन विधि नमिलिरहेको हुन सक्छ । यस्तो अवस्थामा शिक्षकले विद्यार्थीलाई अवधारणा घोकाउने भन्दा पनि बुझाउने प्रयास गर्नुपर्छ । उपयुक्त शैक्षिक सामग्री उपलब्ध गराई उपयुक्त सिकाइ विधि र प्रविधिको तौर–तरिका अपनाइ सिकाइ उपलब्धि बढाउन सकिन्छ । विद्यार्थीलाई विषयवस्तु अध्ययन गराउन, बुझाउन र उनीहरूको मस्तिष्कमा स्मरण गराई आवश्यक परेको समयमा व्यवहारमा उतार्ने बनाउन सकिन्छ ।
३) विद्यार्थीसँग छलफल
कतिपय सिकाइमा व्यापक छलफल आवश्यक हुन्छ, छलफलबाटै विद्यार्थी बुझ्न सक्छन् । त्यसैले विषयवस्तुसँग सम्बन्धित छलफल गर्ने वातावरण शिक्षकले बनाउनुपर्छ ।
एकोहोरो पढाइ रहने र गृहकार्य दिने गरिएमा उनीहरूले शिक्षकले भनेको कुरा मात्र गर्छन् । उनीहरूमा सो विषयवस्तुमा फरक ढंगले सोच्ने सिर्जनात्मक क्षमताको विकास हुन सक्दैन ।
पढिरहँदा विद्यार्थीमा अनेक जिज्ञासा पलाउँछन् । शिक्षक र विद्यार्थीबिच छलफल हुँदा कतिपय जिज्ञासाको जवाफ खोजिन्छ । निर्धक्कसँग आफ्ना जिज्ञासा शिक्षकसमक्ष राख्ने वातावरण भयो भने विद्यार्थीले विषयवस्तुलाई फराकिलो किसिमले बुझ्छन् ।
- अभिभावकको रणनीति
वर्षको लगभग आधाआधी दिनहरू बालबालिका पूरा समय घरमा रहेका हुन्छन् । विद्यालय खुलेका दिनमा पनि १५–१६ घन्टा बालबालिकाले घरमै समय व्यतीत गर्छन् । अभिभावकले निम्न रणनीति अपनाई बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्न सकिन्छ ।
१) वातावरणको सिर्जना
घरमा बालबालिकालाई अध्ययनका लागि छुट्टै कोठा वा स्थान व्यवस्था गरी अध्ययनको समय निर्धारण गर्न सकिन्छ । योसँगै उनीहरूलाई अध्ययनका आवश्यक शैक्षिक सामग्रीको व्यवस्था मिलाउन पनि अभिभावकै दायित्व हुन्छ । यसमा अभिभावकले ध्यान दिने हो भने विद्यार्थीको सिकाइमा सुधार आउन सक्छ ।
२) मनोबल बढाउनु
बालबालिकाको आवधिक परीक्षाको नतिजा आएपछि अभिभावकको भूमिका विशेष रहन्छ । नतिजा जस्तो आए पनि सन्तानलाई अध्ययनप्रति उत्प्रेरित गर्नैपर्छ । विद्यार्थीको पढाइबारे जानकार नभएका अभिभावकले पनि सहज वातावरणमा छलफल गर्दै सन्तानलाई पढ्नका लागि अभिप्रेरित गरिनुपर्छ ।
छोराछोरीको पढााइबारे आफूलाई जानकारी छैन भने अन्य विश्वासिला आफन्तसँग पनि आफ्ना छोराछोरीको पढाइबारे छलफल गर्न सकिन्छ ।
३) शैक्षिक प्रगतिमा संलग्नता
अभिभावक विद्यालयका शिक्षकसँग नियमित सम्पर्कमा रहनुपर्छ । यसले उनीहरूका बालबालिकाका सबल पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी हुने गर्दछ ।
बालबालिकालाई आफैँ समस्या समाधान गर्न दिने तर केही समस्या देखिएमा सहजीकरण गरिदिने गर्नुपर्छ । उनीहरूको सानो शैक्षिक प्रगतिलाई पनि महत्त्व दिने र थप प्रगतिका लागि हौसला दिन सकियो भने यसले पनि सिकाइमा सुधार ल्याउँछ ।
यस प्रकार माथि उल्लेख गरिएका त्रिपक्षीय रणनीति बनाई विद्यालयमा कार्यान्वयन गर्न सकिएमा विद्यार्थीको सिकाइमा सुधार आउन सक्छ र विद्यार्थीको कक्षा छोड्ने दर कम हुन्छ ।
सकारात्मक सोच भएका, उत्पादनमुखी, उद्यमशील र सीपयुक्त नागरिक तयार गर्न सरोकारवाला पक्षले ध्यान दिनैपर्छ ।
(लेखक अर्याल वालिङ– १४ स्याङ्जास्थित श्री जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म