बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

शिखरको शानदार ब्याटिङ, कर्णाली याक्सले दियो १५० रनको लक्ष्य

बुधबार, १९ मङ्सिर २०८१, १० : ३३
बुधबार, १९ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको हो ।

कर्णाली याक्सका लागि अनुभवी ब्याट्सम्यान शिखर धवनले अर्धशतक बनाए । ओपनर ब्याट्सम्यान धवनले टोलीका लागि अविजित ७२ रनको योगदान गरे । सुरुमा सुस्तमा प्रस्तुत भएर त्यसपछि एकाएक आक्रामक बनेका धवनले केवल ५१ बलमा पाँच छक्का र चार चौका पनि प्रहार गरे ।

karnali vs kathmandu (3)

धवन भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । जारी एनपीएलमा बनेको यो छैटौँ अर्धशतक हो । यसअघि चितवन राइनोजका रवी बोपरा, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार कर्णाली याक्सका ब्याट्सम्यानले गतिलो सुरुवात गर्न सकेका थिएनन् । कर्णाली याक्सले पहिलो ओभरमै विकेट गुमाएको थियो । पहिलो ओभरको तेस्रो बलमै ओपनर देब खनाल शून्य रनमा पेभेलियन फर्किएका थिए ।

दोस्रो विकेटका रुपमा पेभेलियन फर्किनुअघि तेस्रो नम्बरका ब्याट्सम्यान चाडविक वाल्टनले २१ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान वाल्टनले १५ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । उनी आउट हुँदा टोलीको स्कोर २६ रन थियो ।

karnali vs kathmandu (4)

अनुभवी खेलाडी बाबर हायात पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी १८ बलमा एक छक्काको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा टोलीको स्कोर केवल ४९ रन रहेको थियो ।

राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका गुल्सन झा पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । चौथो विकेटका रुपमा पेभेलियन फर्किनुअघि उनले १९ बलमा एक चौका प्रहार गरे । उनी आउट हुँदा कर्णाली याक्सको स्कोर ७९ रन थियो ।

त्यसलगत्तै कर्णाली याक्सले आफ्नो पाँचौँ विकेट गुमाएको थियो । पाँचौँ विकेटका रुपमा अर्जुन घर्ती केवल चार रन बनाउँदै आउट भएका थिए । १४.३ ओभरमा अर्जुन आउट हुँदा कर्णाली याक्सको स्कोर ८४ रन रहेको थियो ।

karnali vs kathmandu (5)

त्यसपछि शिखर धवन र सातौँ नम्बरका ब्याट्सम्यान जिसन मक्सुदले टोलीको स्कोरलाई एक सय ४९ रनको स्थितिसम्म डोर्‍याएका थिए । जिसन मक्सुद १४ रनमा अविजित रहे । उनले ११ बलको सामना गरी एक चौका पनि हिर्काए ।

कर्णाली याक्सले अतिरिक्त रुपमा पनि १३ रन पायो । काठमाडौँ गुर्खाजनका बलर जेरहार्ड एरास्मसले दुई विकेट लिए । उनले चार ओभरमा २९ रन खर्चिए । करण केसी, नाथन स्वटर र दीपेन कँडेलले पनि एक–एक विकेट हात पारे ।

karnali vs kathmandu (2)

जारी एनपीएलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज दुबैले आफ्नो दोस्रो खेल खेलेका हुन् । यी दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाज चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो ।

कर्णाली याक्स भने आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । त्यसैले बुधबारको खेलमा यी दुबै टोली पहिलो जितको खोजिमा छन् । नेपाल क्रिकेट संघ (क्यान) द्वारा पहिलो पटक आयोजित एनपीएलमा आठ टोलीको सहभागिता रहेको छ ।

बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच खेलिने छ । जारी एनपीएलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो खेल खेल्न लागेको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले भने तेस्रो खेल खेल्न लागेको हो ।

विराटनगर किङ्स यसअघि खेलिएको दुबै खेलमा पराजित भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किङ्सलाई जनकपुर बोल्ट्सले आठ विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा विराटनगर किङ्स दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो । 

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप