मंसिरमा किन नेपाली फिल्मको अभाव ?
काठमाडौंँ । नेपाली बक्सअफिसमा यतिबेला फिल्म ‘पूर्णबहादुरको सारङ्गी’कै चर्चा छ । गत कात्तिक १५ मा रिलिज भएको फिल्मले समाचार तयार गर्दासम्म स्वदेशी बक्सअफिसमा ४६ करोड रुपैयाँको व्यवसाय गरिसकेको छ ।
कात्तिकमै रिलिज भएको अर्काे फिल्म ‘ह्रस्व दीर्घ’ले पनि राम्रो व्यवसाय गरेको बताइन्छ । यो फिल्मले साढे ८ करोड कमाएको दाबी निर्माण युनिटको छ ।
गत असोजमा रिलिज भएका ४ फिल्म ‘बेहुली फ्रम मेघौली’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ले पनि व्यावसायिक सफलता हात पारे । तीमध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ त ‘ब्लकबस्टर’ नै साबित भए ।
मंसिरको पहिलो साता रिलिज दुई फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनरत छन् । तर, गत शुक्रबार (मंसिर १४)देखि हलमा नयाँ नेपाली फिल्मको अभाव देखिएको छ । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा मंसिरको दोस्रो सातादेखि अन्तिम सातासम्म रिलिजका लागि नयाँ नेपाली फिल्मको अभाव देखिएको छ ।
मंसिरमा फिल्मको अभाव देखिनुमा विविध कारण औँल्याइएको छ । कतिपयले जाडो र धान भित्र्याउने समयको कारण देखाएर नयाँ फिल्म नआएको तर्क गरिरहेका छन् । कतिपयले भारतीय फिल्म ‘पुष्पा २’ का कारण दर्शक कम पाउने भएर नयाँ नेपाली फिल्म नल्याइएको बताउँदै आएका छन् ।
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ मंसिर २० मा रिलिज हुँदैछ । यो फिल्मसँग भिड्दा नेपाली फिल्मको व्यवसाय नहुने डरले मंसिरमा नयाँ फिल्म नराखेको हुनसक्ने निर्माता, वितरक तथा प्रदर्शक गोपाल काजी कायस्था बताउँछन् ।
‘अहिले नेपाली निर्माता फिल्म रिलिजको डेट फिक्स गर्दा पहिले हिन्दी फिल्म के–के आउँछ, त्यो हेरेरमात्र अगाडि बढ्छन्’, कायस्थाले भने, ‘मंसिरमा अभाव देखिनुमा 'पुष्पा २' कै प्रभाव हो ।’
‘पुष्पा २’पछि पनि सलमान खानको फिल्म आउन लागेको उनले सुनाए । ‘मंसिर र पुस पहिलेदेखि नै फिल्म रिलिजका लागि राम्रो मानिँदैन । त्यसमा राम्रो हिन्दी फिल्म आएपछि कसले नेपाली फिल्म जुधाउँछ र ?’ कायस्थाले थपे ।
तर निर्माता तथा वितरक करण श्रेष्ठ यो तर्कसँग सहमत छैनन् । उनी राम्रो नेपाली फिल्म आए हिन्दी फिल्मले असर नगर्ने बताउँछन् ।
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ रिलिजको समय ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ हिन्दी फिल्म आएको उदाहरण दिँदै श्रेष्ठले भने, ‘हिन्दी फिल्मलाई पछि पार्दै 'पूर्णबहादुरको सारङ्गी'ले राम्रो व्यवसाय गर्यो ।’
हिन्दी फिल्मको प्रभावभन्दा पनि मंसिर र पुस चिसो महिना, हलमा दर्शक जाँदैनन् भन्ने मान्यताले फिल्म अभाव देखिएको श्रेष्ठको धारणा छ ।
अघिल्ला वर्ष मंसिरमा आफूले केही फिल्म रिलिज गरेको उनले सुनाए । ‘चचहुई’, ‘लभ यु हमेसा’ लगायत केही फिल्म आफूले मंसिर महिनामै रिलिज गरेको भन्दै उनले मंसिरमा छोटो दिन हुने, चिसो महिना हुनाले पनि हलमा दर्शक जाँदैनन् भनेर निर्माताको रोजाइमा नपर्ने गरेको बताए ।
श्रेष्ठले भने, ‘मंसिरमा फिल्म नै रिलिज नहुने त होइन, तर यो वर्ष भने अहिलेसम्म हेर्दा अभाव देखियो ।’